अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क्यानबेरा च्याप्टरको आयोजनामा गत शनिबार क्यानबेरामा गजल तथा कविता कार्यक्रम सम्पन्न भयो।

नेपाली दूतावास उप-नियोग प्रमुख द्रुपदा सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डा. कृष्ण हमाल तथा डा. दुर्गादत्त कँडेल विशेष अतिथिको रुपमा रहनु भएको थियो । प्रमुख अतिथिले पानसमा बत्ती बालेर शुरू भएको कार्यक्रममा अनेसास क्यानबेराका अध्यक्ष चन्द्र तिवारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

बिहान ठिक ११:३० मा सुरु भएको कार्यक्रममा तुल्सा पाण्डेको गजल गायनले हल गुन्जायमान भएको थियो। कार्यक्रममा २० भन्दा बढी साहित्यिक अनुरागीहरुले आफ्नो सहभागिता जनाउनुभएको थियो भने विभिन्न उमेर समूहका दर्शकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा बाल प्रतिभा अंशु भट्टराईले पनि कविता वाचन गर्नुभएको थियो । नेपाली भाषा र परिवेशमा लेखिएको उक्त कविताको श्रोताहरूले खुलेर प्रशंसा गर्नुभएको थियो । नयाँ पुस्ताको आगमनले त्यहाँ उपस्थित सबैलाई उत्साहित तुल्याएको धारणासमेत सो अवसरमा व्यक्त गरियो ।

भट्टराईलाई सिएमएस रेडियो क्यानबेराका प्रस्तोता प्रदीप तिमिल्सिनाले उपहार प्रदान गरी हौसला प्रदान गर्नुभएको थियो । सोही क्रममा तिमिल्सिनाले विगत केही वर्षदेखि प्रत्येक शनिबार बिहान रेडियोमा नेपाली भाषाको कार्यक्रम सञ्चालन हुँदै आइरहेको कुराको पनि जानकारी गराउनुभयो ।

कार्यक्रममा अनेसास क्यानबेरालाई यो अवस्थासम्म ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै पूर्व महासचिव विनायक अधिकारीलाई खादा ओढाइ सम्मानसमेत गरिएको थियो। त्यस्तै एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष चुडामणि सापकोटा, एएनएफएसका अध्यक्ष आदर्शजंग पाण्डे, दूतावासका अन्य कर्मचारी लगायत थुप्रै व्यक्तित्वहरुको उपस्थिति पनि रहेको थियो।

कार्यक्रमका अध्यक्ष चन्द्र तिवारीले सम्पूर्ण साहित्यिक अनुरागीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोग पाउने विश्वास लिएको कुरा बताउनु भएको थियो । स्वागत मन्तब्य राख्ने क्रममा नेपाली साहित्यलाई नयाँ पुस्ताको पहुँचमा पुर्याउन क्यानबेरामा पुस्तकालय खोल्ने योजना रहेको संस्थाका सदस्य सन्तोष बरालले बताउनुभयो । उहाँले नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमहरुले नेपाली साहित्यमा अवश्य पनि योगदान गर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

त्यस्तै अ.ने.सा.स. क्यानबेरा च्यापटरकी वर्तमान उपाध्यक्ष साहित्कार कवि महता घिमिरेले २०७५ सालमा प्रकाशित आफ्नो पहिलो कविता संग्रह “प्रश्नहरूको पहाड” पनि बिक्रीमा राख्नुभएको थियो । उहाँले पुस्तक बिक्रीबाट संकलित रकममा केही रकम थपेर नेपालमा कोभिड १९ सँग जुधिरहनुभएका आर्थिक अवस्था कमजोर भएका कुनै साहित्यकारको उपचारमा खर्च गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम गोल्डन स्पुन क्याफे, फिसविकमा सम्पन्न भएको थियो। कार्यक्रममा चियापानको पनि व्यवस्था गरिएको थियो। कार्यक्रमलाई अमुक संस्था र कोकोन एजुकेशन तथा माइग्रेसनले सहयोग गरेको थियो ।