विषय प्रवेश –
नेपाली र हिन्दी दुवै भाषामा दक्षता राख्ने डा. कमला साङ्कृत्यायन( जन्म १५ अगस्ट १९२०– मृत्यु २५ अक्टुबर २००९) ले यी दुवै भाषा साहित्यमा कलम चलाएकी छन् । सुरु सुरुका उनका लेखहरू देहरादुनबाट प्रकाशित हुने जाग्रत गोर्खा (१९५४-५५, सम्पा. आनन्दसिंह थापा र वीरसिंह भण्डारी), नयाँ समाज पत्रिका(हिन्दी) जस्ता पत्रिकाहरूमा प्रकाशित भएका थिए । सन् १९५६ मा उनले आग्रा विश्वविद्यलयबाट हिन्दीका महाकवि गोस्वामी तुलसीदासको रामचरितमानस र नेपालीका आदिकवि भानुभक्त आचार्यको रामायण माझमा तुलनात्मक अध्ययन विषयमा शोधकार्य गरेर विद्यावारिधि प्राप्त गरेकी हुन् । नेपाली साहित्य सम्मेलनबाट प्रकाशित हुने दियालो पत्रिकामा १९६० र ७० को दशकतिर उनका धेरै स्तरीय लेखहरू प्रकाशित भएका थिए । यस उनका नेपाली भाषामा प्रकाशित कृतिहरू हुन्– विचार र विवेचना १४ वटा उत्कृष्ट लेखहरूको सङ्ग्रह हो, यसका निम्ति उनलाई १९८२ सालको भानु पुरस्कारले सम्मानित गरिएको थियो ।
भारतीय साहित्य एकेडेमीको तत्परतामा सुरु भएको भारतीय साहित्यका निर्माता शृङ्खला ( Makers of Indian Literature series)अन्तर्गत अङ्ग्रेजी भाषामा लेखिएका पुस्तकहरू नेपालीमा अनुवाद भएका छन् । यसै क्रममा कमला साङ्कृत्यायनको लक्ष्मीनाथ बेजबरुवा (सन् १९८७ , अनुदित कृति) प्रकाशित भयो । यसका मूल लेखक हेम बरुवा हुन् । उनको अन्तिम कृति दिव्यमणि (२००८) उपन्यास हो । । कमला साङ्कृत्यायनद्वारा हिन्दी भाषामा प्रकाशित कृतिहरू हुन् – आसाम की लोक कथाएँ, यसका निम्ति उनलाई १९७२ मा केन्द्रीय शिक्षा मन्त्रालयद्वारा गैर हिन्दी भाषी लेखिकाका रूपमा राष्ट्रिय पुरस्कारद्वारा सम्मानित गरिएको थियो । उनको अर्को महत्त्वपूर्ण पुस्तक महामानव महापण्डित हो । यो राहुल साङ्कृत्यायनको व्यक्तित्व र कृतित्वमा केन्द्रित कृति हो । यस कृतिमा १५वटा संस्मरणात्मक र मूल्याङ्कनपरक लेखहरू समाविष्ट छन् । यसबाहेक राहुल साङ्कृत्यायन के श्रेष्ठ निबन्ध र राहुल वाङ्मय – जीवन यात्रा (चार खण्ड ) लाई कमला साङ्कृत्यायनले सम्पादन गरेकी हुन् । उनले पाएका सम्मान र पुरस्कारहरू यसप्रकारका छन् – हिन्दी साहित्य सम्मेलन प्रयागबाट १९५२ मा साहित्य रत्न, १९७२ मा केन्द्रीय शिक्षा मन्त्रालयद्वरा गैर हिन्दी भाषी लेखिकाका रूपमा राष्ट्रिय पुरस्कार, १९८२मा पश्चिम बङ्गला सरकारद्वारा भानु पुरस्कार, सन् १९९३ मा महापण्डित राहुल साङ्कृत्यायन सम्मान, २००८ मा वाराणसी विद्या धर्म प्रचारिणी नेपाली समितिद्वारा मदन स्मारक सम्मान इत्यादि । साहित्यप्रति उनको योगदानलाई कदर गर्दै भारतीय साहित्य निर्माता सिरिज अन्तर्गत दुर्गाप्रसाद श्रेष्ठले कमला साङ्कृत्यायनको जीवनी लेखेका छन् ।
विषय विस्तार –
कमला साङ्कृत्यायनद्वारा लिखित दिव्यमणि उपन्यासमा स्वतन्त्रतापूर्व कालेबुङ क्षेत्रको भौगोलिक विवरण, त्यहाँको समाज र त्यस समयको ऐतिहासिक पृष्ठभूमिलाई औपन्यासिक प्रदान गरिएको छ । यस उपन्यासको समय सीमा पहिलो विश्वयुद्ध (१९१४-१५) देखि लिएर लगभग साठीको दशकसम्म रहेको छ । प्रस्तुत उपन्यासमा मूल पात्र दिव्यमणिको जन्मदेखि मृत्युसम्मका घटनाहरू, उसका जीवनमा आएका आरोह –अवरोह, जीवनका भोगाइ, जीवनका प्राप्ति –अप्राप्ति आदिको सविस्तार वर्णन गर्नका साथै इतिहासका पानामा नलेखिएका कतिपय ऐतिहासिक सत्यतथ्यलाई पनि उपन्यासमा समेटिएको पाइन्छ । उपन्यासकारको दायित्वको सम्बन्धमा राल्फ फाक्सको कथन यसप्रकारको पाइन्छ –‘ आफ्नो देशको अतीत अनि वर्तमानप्रति उपन्यासकारको विशेष उत्तरदायित्व रहेको छ । उसले अतीतबाट उत्तराधिकारमा जे प्राप्त गर्दछ त्यो महत्त्वपूर्ण छ किनभने यसबाट उसको देशको संस्कृतिक विरासतको त्यो अंश देखिन्छ जसको वर्तमानमा केही अर्थ हुन्छ; उसले वर्त्तमानको सम्बन्धमा जे भन्छ त्यो पनि महत्त्वपूर्ण छ किनकि आफ्नो समयको भावनामा जुन कुरो सर्वाधिक सजीव हुन्छ त्यसैलाई अभिव्यक्त गर्ने कल्पना उसले गर्दछ।’
प्रस्तुत लेखमा दिव्यमणि उपन्यासलाई मूलतः समाज- ऐतिहासिक उपन्यासका रूपमा समीक्षा गरिएको छ अनि यस उपन्यासकी मूल पात्र दिव्यमणिका चारित्रिक विषेशताहरूलाई पनि केलाउने प्रयास गरिएको छ ।
संरचना –
राहुल प्रकाशन, देहरादुन, उत्तराखण्डबाट सन् २००८ मा प्रकाशित दिव्यमणि उपन्यास जम्मा आठवटा शीर्षकमा विभाजित रहेको छ । यस उपन्यासलाई प्रथम पुरुष र आत्मकथात्मक शैलीमा प्रस्तुत गरिएको छ । यस्तो शैलीमा मुख्य पात्रको जीवनलाई स्पष्ट र प्रभावकारी ढङ्गमा प्रस्तुत गरिएको हुन्छ । लेखिका आफैँ मूल पात्र दिव्यमणिमा रूपायित भएर तत्कालीन घटना, परिवेश र अन्तरङ्ग अनुभूतिको अभिव्यञ्जना गरेकी छन् अर्थात् लेखिका र मुख्यपात्रमा सारूप्य स्थापित बनेको पाइन्छ । आख्यनमा कथावस्तु र अनुक्रम एकाअर्कामा अभिन्न रूपले जोडिएका हुन्छन् यो दुईको भिन्नता देखाउन आवश्यक हुन्छ किनभने पाठकले निरन्तरताका गतिशील (इनभेरियन्ट) लक्षणहरू थाहा पाउनु आवश्यक छ । यी लक्षणहरूमध्ये एउटा अनुक्रम हो । यस उपन्यासमा कथावस्तु र अनुक्रमको तालमेल मिलेको छ । उपन्यासमा सुरुदेखि अन्तसम्म दिव्यमणिको सक्रिय भूमिका रहेको छ । कथावाचकले उसका जीवनमा घटेका घटनाहरू आफू सर्वदर्शी भएर अभिव्यक्त गरेकाले उपन्यासले तृतीय पुरुष बाह्य अन्तर्गत सर्वदर्शी दृष्टिविन्दु पद्धति अँगालेको छ ।
कथासार –
यस उपन्यासकी मूलपात्र दिव्यमणि हुन् । उसको जन्मदेखि मृत्युसम्मका घटनाहरूलाई उपन्यासमा समेटिएको छ । यस कथालाई प्रथम पुरुष शैलीमा दिव्यमणिकी छोरी (म पात्र) ले पाठकसामु प्रस्तुत गरेकी छन् जसले आमाको मृत्युपछि मात्र आमाको डायरीमार्फत उनलाई चिन्न सकेकी हुन्छिन् । कालेबुङको होम्स क्षेत्रमा बसोबासो गर्ने निम्न मध्यमवर्गीय नेपाली परिवारमा यस उपन्यासकी मूल पात्रको जन्म पहिलो विश्वयुद्ध आरम्भ भएकै समयतिर भएको हुन्छ । जन्मँदै पाएको नाम छेकुडोल्मा त्यसपछि मतैदेवी, मैयाँ, मैना, दिव्यमणि हुँदै अन्त्यमा श्रीमती दिव्यमणि घोष जस्ता विभिन्न नामहरूले चिनिएकी मूलपात्र बाल्यकालदेखि नै अन्य बालबालिकाहरूभन्दा फरक, विद्रोही स्वभाव र आफ्नो अस्तित्वप्रति सचेत देखिन्छे । अति नै सुन्दरी मैनाको विवाह १५ वर्षको उमेरमै घोडावाल सोनामसित हुन्छ तर उसलाई त्यो घर काल कोठरीजस्तै लाग्छ । बिहेको वर्ष दिनमै एउटै छोरीकी आमा बने पनि मैनालाई आफ्नो सन्तानप्रति कुनै माया वा आकर्षण छैन । उसको मन आकाशमा उड्ने उन्मुक्त पक्षीझैँ हुन चाहन्छ ।
सानैदेखि उसको मन अङ्ग्रेजी मेमसाबहरू, अङ्ग्रेजी साहेबका हिन्दुस्तानी मेमहरू अनि हुनेखाने परिवारका महिलाजस्तै हुन चहान्थ्यो । ऊ तिनीहरूको जस्तै विलासी जीवन बिताउन चहान्थी । पौराणिक ग्रन्थ, मिथक आदिमा नारी सौन्दर्यलाई नारी शक्तिका रूपमा वर्णन गरिएको पाइन्छ भने कतै आफ्नो सुन्दरताको घमण्डमा चुर भएका, अभिमानले ध्वस्त भएका कथाहरू पनि पाइन्छन् । यस उपन्यासकी मूल पात्र दिव्यमणि पनि आफ्नो सौन्दर्यप्रति अभिमान गर्छे । बुद्धिको विपरीत उसका मनका मूल प्रवृत्तिहरूले स्वतन्त्रताको पक्षमा जोड दिन्छन् । ऊ सोच्छे “ममा के कमी छ? तिनीहरूभन्दा पनि म औधी राम्री छु , ….. म र तिनीहरूमा किन अन्तर छ? ….किन म चाहिँ ती सबै सुखहरूबाट वञ्चित छु ?” साँच्चै एकदिन त्यो सुख पाउने आशामा के.पी. भोटिया साहेबको ‘मिस्ट्रेस’ भएर कलकत्ता पुग्छिन् । त्यसपछि उसका जीवनमा अनेकौँ पुरुषहरू आउँछन् ; कसैले उनलाई मौन प्रेम गर्छन्, कसैले उनको सौन्दर्य सुहाउँदो नाम राखिदिन्छन्, उनको सौन्दर्यमा मुग्ध बन्नेहरू धेरै हुन्छन्, प्रेमलाल सेठले प्रेमिका बनाउँछन्; पैसा खर्च गर्छन्, सुखसुविधाको ख्याल राख्छन् तर कानुनी पत्नी भने कसैले बनाउँदैनन् । कसैबाट पनि उनले आफूले खोजेको सुख पाउन सक्तिनन् ।
अन्त्यमा लगभग चालीस वर्षको उमेरमा दिव्यमणिले कानुनी प्रक्रिया एवम् आर्य समाजी पद्धतिले कलकत्ता हाई कोर्टका रिटायर्ड जस्टिस चन्द्रमाधव घोषसित बिहे गर्छिन् । यस बिहेका निम्ति एक्लो जीवन बिताइरहेका ६० वर्षीय जस्टिस घोषले प्रस्ताव राखेका हुन्छन् । उनका छोरा र छोरी दुवै जना कलकत्तामा वकिल हुन्छन् , उनीहरूको पनि यस बिहेमा कुनै आपत्ति हुँदैन, पिताले एक्लोपनमा साथी पाएकोमा सबै जना खुसी नै हुन्छन् । यस बिहेपछि ऊ समाजमा श्रीमतीको दिव्यमणि घोषका रूपमा चिनिन थाल्छे । समाजबाट सम्मान पाएको अनुभव गर्छे । दिव्यमणिले आफ्नो बर्सौँदेखिको चाहना, सपना र अभिलाषाहरू पूरा भएको ठान्छे । वास्तवमा अभावमा बढेकी अल्पशिक्षित बालिका मैनाको अन्तर्हृदयमा बाल्यकालदेखि नै हुनेखाने परिवारका महिलाजस्तै हुने अनि तिनीहरूको जस्तै विलासी जीवन बिताउने चाहाना थियो, समय सँगसँगै उसका इच्छा आकाङ्क्षाहरू अझ प्रबल बन्दै जान्छन् तर कहिल्यै पूर्ण हुँदैनन् । यसैले समाजमा एक जना प्रतिष्ठित व्यक्तिको विवाहिता श्रीमतीका रूपमा पाएको सम्मान उसका निम्ति ठुलो प्राप्य थियो ।
जस्टिस घोषले आफूपछि दिव्यमणको भविष्य सुरक्षित बनाउनलाई केही ब्याङ्क ब्यालेन्ससहित कालेबुङको घर’ श्रीनिकेतन’ पत्निको नाममा गरिदिन्छन् । आनन्द र सुखपूवर्क दश वर्ष बिताएपछि दिव्यमणिको जीवनमा फेरि उकालीओराली आउँछन् । हृदयघातबाट जस्टिस चन्द्रमाधव घोषको मृत्युपछि सम्पत्तिका निम्ति उनका छोराछोरीले मुद्दा हाल्छन् तर जस्टिस घोष र दिव्यमणिका एडभोकेट प्रसादले उनलाई न्याय दिलाउँछन् । विशाल र भव्य श्रीनिकेतन भवनमा एक्ली भएकी दिव्यमणि मदिरा र सिगरेट सेवन गरेर अफ्नो दुःख भुल्ने प्रयास गर्छिन् । अत्यधिक मद र सिगरेटको सेवनले उनको शारीरिक अवस्था बिग्रँदै जान्छ । घरमा बस्ने आयाबाहेक छरछिमेकी कसैले उनको खोज लिँदैनन् । ल्यान्ड रेभेन्यू अफिसको नोटिस लिएर आउने एक जना पेसकारले उनीप्रति सहानुभूति राख्छन्, दिव्यमणि पनि उसलाई भाइ भनेर सम्बोधन गर्छिन्, मनका कुराहरू सुनाउँछिन् । बिमारीले शिथिल भइसकेकी दिव्यमणि पेसकार र उनका परिवारको आग्रहमा उनीहरूको परिवारसित बस्न राजी हुन्छिन् । जीवनका अन्तिम दिनहरूमा उनले एउटा परिवार पाउँछिन् । एडभोकेट प्रसादलाई बोलाएर आफ्ना भएका सबै धनसम्पत्ति, घर, गरगहना, लुगाफाटा आदि पेसकार, उनका छोरीहरू, बालसखा मनुका छोरीहरू, उनको स्याहार गर्ने आया माझमा बाँढिदिन्छिन् अनि आफ्नै छोरी जसलाई सानैदेखि ठुलीआमाले पालेकी थिइन् उसको नाममा आफ्नो ब्याङ्क ब्यालेन्स सारिदिन्छिन् अनि बहुमूल्य गरगहनाहरू आफ्नो मृत्युपछि दिनुपर्ने कागजपत्र बनाइदिन्छिन् । छपन्न वर्षको उमेरमा पेसकार भाइको काखमा दिव्यमणिले प्राणत्याग गर्छिन् ।
सामाजिक– ऐतिहासिक उपन्यासका रूपमा –
डा. कुमार प्रधान पहिलो प्रहरमा लेख्छन्- ‘इतिहास केवल घटनाहरूको इतिहास होइन, घटनाको व्याख्या इतिहासको धर्म हो ।’ इतिहासमा घटेका घटनाहरूको व्याख्याले नै तत् समयको समाज र साहित्यलाई पनि चिनाएको हुन्छ । यसैले समाज, साहित्य र इतिहासको अन्योन्याश्रित सम्बन्ध जोडिएको हुन्छ । समाजका विभिन्न चरणको विकाससँग मानव समाजको विकासको इतिहास पनि जोडेको हुन्छ । उपन्यासमा कथानकले कुनै न कुनै युग, वर्ग, समाजको जीवनलाई प्रतिनिधित्व गरेको हुन्छ । कथानककै माध्यमबाटै लेखकले त्यस युग वा समाजका विशेषताहरूसित पाठकलाई परिचय गराउँछन् । समाजको अस्तित्व सधैँ कुनै न कुनै सामाजिक संरचनाको रूपमा पाइन्छ । व्यक्ति र समाजको सम्बन्धको अध्ययन सामाजिक संरचनाअन्तर्गत निहित यथार्थ र ऐतिहासिक परिस्थितिहरूको विश्लेषणको आधारमा नै गर्न सकिन्छ । यसै प्रसङ्गमा गणेशलाल सुब्बाको विचार यस्तो छ – ‘उपन्यासले एक विशेष ऐतिहासिक युगको , एक नयाँ मानिसको,एक व्यक्तिविशेषको ऐतिहासिक कथा सुनाउँछ ; सुखान्त होस् वा दुखान्त ।’ दिव्यमणि उपन्यासमा पनि तत्कालीन ऐतिहासिक पृष्ठभूमिमा नेपाली समाजको गठन र गुम्फनबारे जानकारी पाइन्छ । यस उपन्यासमा स्वतन्त्रतापूर्वको कालेबुङको सामाजिक र ऐतिहासिक पृष्ठभूमिलाई औपन्यासकिता प्रदान गरिएको छ । यस उपन्यासमा पाइएका सामाजिक र ऐतिहासिक तत्त्वहरूलाई बुँदागत रूपमा प्रस्तुत गरिएको छ ।
(क)- विश्वयुद्धको प्रभाव –
दोस्रो विश्वयुद्धको आंशिक प्रभाव कालेबुङमा पनि परेको थियो भन्ने कुरालाई यस उपन्यासमा वर्णन गरिएको छ । रेडियो, खबरकागजका माध्यमबाट युद्धका खबरहरू सुनेर मानिसहरू आतङ्कित बन्छन् । अब खानेकुराको अभाव हुन्छ भनेर सकेको जति जोहो गरेर राख्छन् । दोस्रो विश्वयुद्धकालमा महिलाहरूलाई पनि युद्धमा भर्ना लिइन्थ्यो जसलाई ‘विमेन्स अग्जिल्यारी कर्प्स ,इन्डिया (डब्लु. ए. सी. आई ) भनिन्थ्यो । यसको एउटा निकाय कालेबुङमा पनि खोलिएको थियो जसमा धेरै स्थानीय युवतीहरू भर्ना भएका थिए तर पछि गएर यो भर्ना निकायलाई मानिसहरूले विरोध जनाएका थिए । त्यस समयको विवादास्पद ‘विमेन्स अग्जिल्यारी कर्प्स ,इन्डिया (वकाई) (W.A.C.I) को प्रसङ्ग पनि उपन्यासमा यसरी उल्लेख गरिएको छ –‘ वहाँ तलब- तनखा राम्रो दिन्छन् । बन्दुक चलाउनु, परेड गर्नु सबै कुरो मिलिट्रीको ढङ्गले सिकाइन्छ’ । फलस्वरूप १९४३-४४ सालमा धेरै किशोरी केटीहरू आफ्नो स्कुलको पढाइ छोडेर W.A.C.I) मा भर्ती भएर हिँडे । बन्दुक चलाउनु, परेड गर्नु आदिमा तिनीहरूलाई प्रशिक्षित गरियो तर केटीहरूका लागि कहीँ पनि सुरक्षा छैन । केटीहरू गोरा अफिसरहरूका वासनाका सिकार भएर घर फर्की आए । मिलिट्री युनीफर्म लगाएका तिनीहरूको फोटो उतारिन्थ्यो तर फोटोसित के लिनु दिनु र ? जब कि उनीहरूले गोरा पुरुषहरूको उग्र रूपको सामना गर्न पऱ्यो । वहाँ गएर केटीहरूले ठूलो भूल गरे । छ महिनापछि नै धेरै जस्तो केटीहरू घर फर्की आए फेरि कहिल्यै वहाँ नजाने प्रतिज्ञा गरेर ।’
(ख). व्यापार वाणिज्यका –
व्यापार वाणिज्यका निम्ति त्यसताका कालेबुङको विशेष महत्त्व रहेको थियो । ब्रिटिस इन्डिया र तिब्बत माझ व्यापारिक सम्झौता भएको थियो । जलेपलाको बाटो भएर तिब्बतका व्यापारीहरू खच्चरमा काँचो ऊन, बख्खुभित्र सुनका ढिका, चाँदीका रुपियाँहरू लिएर आउँथे अनि ताँबा- पित्तलका ठुला ठुला च्यादर, लुगाफाटा, खाद्यसामग्री आदि लिएर फर्कन्थ्ये । भारतबाट कुनै भारतीयलाई तिब्बत जाने अनुमति थिएन यसैले पुराना मानिसहरू तिब्बतलाई ‘निषिद्ध देश’(Forbidden Land) पनि भन्ने गर्छन् । त्यसताका कालेबुङ क्षेत्रमा मारवाडी व्यापारीहरूको बोलबाला रहेको चर्चा उपन्यासमा पाइन्छ । जस्तै ‘दशमाइल बजारको सडकका दुवै किनारमा काठले बनिएका धेरै घरहरू लस्करै थिए जुनमाथि मारवाडी व्यापारीहरूले आएर बिस्तारै बिस्तारै कब्जा गरिराखेका थिए । यी मारवाडी मानिसहरू कालेबुङमा आएर त्यसबेला सबभन्दा पहिले तिब्बती भाषा बोल्न सिक्दथे कारण थियो तिब्बतको भोटे व्यापारीहरूले अरू भाषा जान्दैन थिए ।’ ‘हेर्दाहेर्दै दशमाइल क्षेत्रमा मारवाडी सेठहरूका सिमेन्ट र कङ्क्रिटका अग्ला-अग्ला बिल्डिगहरू बनाइन थाले । त्यस इलाकामा काठका ससाना घरहरू अब विस्तार–विस्तार कम हुँदै गइरहेका थिए । ती सबै बिल्डिगहरू तिब्बतसँगको व्यापारको पैसाले नै बनाइएका थिए ।’
(ग). राजनीतिक चेतना –
दोस्रो विश्वयुद्धपछि नेपाली जातिमा आउन लागेको राजनीतिक चेतनाको झलक पनि उपन्यासमा पाइन्छ । एसेम्बली चुनावमा एउटै आसनका निम्ति उभिएका पहाडका दुई जना उमेदवार डम्बरसिंह गुरूङ र हरिप्रसाद प्रधानको चुनाव प्रचार मानिसहरू, हारमोनियम, तबलाका साथ गीत गाउँदै सुन्दर ढङ्गमा गरेका कुराहरूको उल्लेख पाइन्छ । जस्तै – ‘ यस एसेम्बली चुनावको मैदानमा उत्रिएका बाबु डम्बरसिंहको चुनाव चिह्न हलो र कोदालो थियो भने रायसाहेब हरिप्रसाद प्रधानको चुनाव चिह्नचाहिँ छाता थियो । दुवैतर्फका चुनाव प्रचारकहरूले यी चुनावी चिह्नमाथि गीत पनि रचिहाले । हलो र कोदालो चिह्नका निम्ति गीत थियो –
“हलोलाई चिन भाइ
हलोको गुण सबैले गाई
हालिदेऊ टिकट हलोमा आई
हलो हामीले अमूल्य पाई ।”
उता छाता चुनाव- चिह्नको गीत यसप्रकार थियो –
“हलो कोदालो बारीमा जोत्ने
रैतीलाई सुखी वर्षालाई छाताले गर्छ
सुन, हलो त नाम मात्रै
सुन, नबिर्स राय साहेबलाई।”
यहाँ न कसैलाई गाली थियो न कसैको कटु आलोचना । साँच्चै त्यस समय चुनावलाई मानिसहरू उत्सवजस्तै मान्थे ।
(घ) नेपाली समाज –
त्यस समयको नेपाली समाज आदर्श थियो । सबैले गाउँघरका छोरीचेलीहरूको ख्याल राख्थे जस्तै जोहन साहेबले भनेका वाक्य –“यदि तिमीहरू बरालिऐर हिँडेको सुने भने म नै तिमी दुवै जनाको खुट्टा भाँचिदिनेछु, यो कुरा याद राख्नू” (पृ६९)। सिलगढीमा एकदिन बास बस्नुपर्दा मनु र मैना सोच्छन् –“यहाँ कुनै पनि उस्तो चाला देखाउनु हुँदैन नत्र नेपाली ड्राइभर दाजुभाइहरूले पिटी-पिटीकन हाम्रो टुक्रा-टुक्रा बनाइदिनेछन् । आफ्ना जातका चेलीबेटीहरूले बदनामीको काम गरेको तिनीहरूलाई पटक्कै मन पर्ने छैन” (पृ७१) । दुःखसुखमा एकाअर्काको सहायता गर्ने, मर्दा-पर्दा सहयोग गर्ने, खेल ठट्टामा रमाउने जस्ता नेपाली जातिको साझा प्रवृत्तिको झलक पनि उपन्यासमा पाइन्छ । कालेबुङबाट दार्जीलिङतर्फ जाने बाटामा पर्ने टिष्टा, पेसोक, लप्चू चियाबगान, लामाहट्टा, जोरबङ्ग्ला,घुम जस्ता स्थानहरूमा मेहनती मानिसहरूको बसोबास, त्यहाँका स्थानीय विशेषता, प्राकृतिक सौन्दर्य आदिको चर्चा पाइन्छ ।
(ङ). जातीय र धार्मिक सहिष्णुता –
यस उपन्यासमा चित्रित समाजमा विभिन्न जाति, वर्ग, र धार्मिक आस्था भएका मानिसहरू एकाअर्कामा सहृदय भाव राखेर बसेका छन् । त्यसताका कालेबुङमा ‘मारवाडी, बिहारी, अधिकांश नेपाली, तिब्बती, चिनियाहरू तथा यहाँका लेप्चा आदिवासीहरू मेलमिलापसँग बसोबास गरिरहेका थिए । बङ्गालीहरूको यहाँ सङ्ख्या कमै थियो अनि सिन्धी र पञ्जाबीहरू एकदुई जना मात्र थिए । त्यतिबेला ब्रिटिस राज हुनाले अङ्ग्रेजहरूको सङ्ख्या त हुने नै भयो ’( पृ. ४५) । अङ्ग्रेजी, हिन्दू धर्मावलम्बी, बौद्ध धर्मवालम्बी, इसाई धर्मावलम्बीहरूको एकअर्कामा मेलमिलाप देखिन्छ । यसबाहेक इसाई धर्मप्रति मानिसमा आस्था रहेको पाइन्छ । ‘इसाई धर्ममा दीक्षित भए धेरै फाइदा हुन्छ,गरीबका छोराछोरीलाई सित्तैमा पढ्ने अवसर दिइन्छ’ (पृ१५४) । ‘गरिबी र अशिक्षाका कारणले यहाँका धेरै मानिसहरू ख्रिस्टान भएका छन् । ख्रिस्टान भएका मानिसहरूका निम्ति यहाँ निःशुल्क शिक्षाको व्यवस्था गरियो । अनाथहरूलाई बस्नका निम्ति मिसन कम्पाउन्डमा पनि ‘होम’ को स्थापना गरियो । उता रोमन क्याथोलिकहरूले पनि अनाथ गरीबहरूका लागि शिक्षाको व्यवस्था गर्न थाले ।'( पृ. १६०)
(च). सामाजिक / सांस्कृतिक पक्ष –
त्यसताका कालेबुङमा हुने मेला, उत्सव, सामाजिक-सांस्कृतिक कार्यक्रमहरूको चर्चा पाइन्छ । यस्ता मेला उत्सव, सांस्कृतिक कार्यक्रममा सबै वर्गका मानिसहरूको उपस्थिति रहेको देखिन्छ । टिस्टा–रङ्गीतको दोभानमा लाग्ने त्रिवेणी मेला वा बेनी मेलाको वर्णन पाइन्छ । प्रसिद्ध गायिका मेलवादेवी र उनका छोरीहरूद्वारा प्रस्तुत गरिएको साङ्गीतिक कार्यक्रमको उल्लेख उपन्यासमा पाइन्छ । मेलवादेवीले अन्य गीत, गजल, लोकगीत र भजनसँगै उनको लोकप्रिय गीत “झन् पर जान्छु बरी, झन् माया लाग्छ बरीलै । मोहनी लायौ कि ? सवारी मेरो रेलैमा ” गाएको प्रसङ्ग पाइन्छ । यस गीतको चर्चा डा. कुमार प्रधानले आफ्नो पुस्तक ‘पहिलो प्रहर’मा पनि गरेका छन् ।
(छ). सत्य / तथ्य –
उपन्यासमा सत्य र तथ्यको अङ्कन यत्रतत्र पाइन्छ । त्यस समयका गण्यमान्य व्यक्तिहरू डा. मोतिचन्द प्रधान, बाबु डम्बरसिंह गुरुङ, अडिबहादुर गुरुङ, राय साहेब हरिप्रसाद प्रधान,राधा मोहनप्रसाद, श्री के.डी प्रधान, डा. ग्रह्रम्स, म्याकडालिङ साहेब आदि; नामी व्यपारीहरू श्री रामचन्द्र, कालुराम मिन्त्री, भाजुरत्न साहू, मामचन्द्र अग्रवाल आदि; ऐतिहासिक स्थानहरू गौरीपुर हाउस, चित्रभानु होम्स, मङ्गबोल ब्याङ्क, बर्माराजाको कोठी, भोटाङका राजा दोर्जीको राजमहल आदिको उल्लेख पाइन्छ ।
चरित्रप्रधान उपन्यासका रूपमा –
चरित्रप्रधान उपन्यासमा पात्रको चारित्रिक विशेषताहरूलाई देखाइन्छ । यस्ता उपन्यासमा घटनाका साथै पात्रको चरित्रचित्रण, उसका मनोभाव ,द्वन्द्व-सङ्घर्ष आदिको प्रधानता रहेको हुन्छ । कथामा घट्ने घटनाहरू पात्रमै केन्द्रित हुन्छन् । यस्ता उपन्यासमा मनोवैज्ञानिक सिद्धान्तका आधारमा पात्रको आन्तरिक विश्लेषण गरिन्छ । उपन्यासकारले विभिन्न घटना र पात्रलाई विशेष दिक्काल (space and time) मा बुनेकी छन् । त्यसैले पाठकलाई उपन्यास पढ्दा यथार्थ घटनाझैँ लाग्छ । कथानक, चरित्र र परिवेश जस्ता त्रिकोणात्मक तत्त्वलाई उपन्यासकारले खुबै मिहिन प्रकारले उनेकी छन् । यसैले पाठकलाई यो सत्यकथा भन्ने लाग्छ, यो लेखकको दक्षता हो । प्रत्येक मानिस अर्को मानिसभन्दा भिन्न हुन्छ यही भिन्नताले उसको व्यक्तित्व निर्माण गर्दछ अर्थात् प्रत्येक मानिस नै आफ्नो स्वभावमा केही विशेषताहरू लिएर जन्मेका हुन्छन् अनि आफ्नो अनुभव, चिन्तनद्वारा ती विशेषताहरूलाई एउटा निश्चित रूप दिन्छ तब उसको व्यक्तित्व बन्दछ । मानिस स्वतन्त्र जन्मे पनि परिस्थितिले जता बगाउँछ ऊ त्यतै बग्न कर लाग्छ मानिसले आफ्नो कर्म गर्छ तर त्यसको परिणाम के हुन्छ उसलाई थाह हुँदैन दिव्यमणिलाई पनि आफ्नो जीवन कतातिर जान्छ थाहा हुँदैन ।
आफ्ना बाल्यकालदेखिका अतृप्त इच्छा,आकाङ्क्षा आदिका कारणले कुण्ठित नायिका उच्च स्तरका, धनी मानिसहरूप्रति आकर्षित हुन्छिन् र उनलाई पनि विलासी जीवन बिताउने रहर हुन्छ । अभावमा छटपटाएकी नायिकामा विद्रोह चेतले जन्म लिन्छ । आफ्नो अधिकारबारे सचेत र विद्रोही चरित्र भएता पनि ऊ ‘कुनै धनीको मिस्ट्रेस मात्र’ भएर बाँच्नुपरेको पीडा दिव्यमणिका कथनहरूबाट झल्कन्छ । उपन्यासमा पात्रको आन्तरिक वृत्ति,परिस्थितिजन्य मानसिक प्रतिक्रिया,अन्तःकरणमा उद्भव हुने विचारहरूलाई यथातथ्य वर्णन गरिएको छ । ई. एम फास्टरअनुसार कुनै पनि कृतिमा पात्र वा चरित्र तबमात्र वास्तविक रूपमा प्रस्तुत हुन सक्छ जब उपन्यासकारलाई आफ्नो पात्रसम्बन्धी पूर्ण ज्ञान हुन्छ । प्रस्तुत उपन्यासमा पनि उपन्यासकारमा मूल पात्र दिव्यमणिसम्बन्धी पूर्ण जानकारी रहेको प्रतित हुन्छ । उपन्यासकारले मूल चरित्रलाई बिस्तारै विकास गर्दै लगेका छन् । विभिन्न परिस्थितिले उसको इच्छा आकाङ्क्षा ,मनोवेग आदिमा आएको विद्रोही परिवर्तनलाई स्वाभाविक मान्न सकिन्छ । यसैले पाठकलाई कथाप्रवाहले तानेर लगेको छ र पाठकको समवेदना र सहानुभूति मूलपात्र दिव्यमणिमा रहेको छ । मानिसको अचेतनमा रहेको स्वतन्त्रता वृत्ति (Freedom of Instinct)ले उसलाई कार्यशील जीवनतिर जान प्रेरित गर्छ । यस उपन्यासमा उपन्यासकार कमला साङ्कृत्यायनले पात्रको वैयक्तिक स्वतन्त्रय, वैयक्तिक चेतना तथा अस्तित्वलाई अधिक गरिमा प्रदान गरेकी छन् ।
निष्कर्ष –
मानवजीवन विगत, वर्तमान र भविष्यको क्रमबद्ध शृङ्खलामा निरन्तर चल्ने प्रक्रिया हो । इतिहासलाई मानवजीवनका विगतका घटनाहरू वा तथ्यहरूको सङ्कलन मान्न सकिन्छ । यस उपन्यासमा केन्द्रीय चरित्र दिव्यमणिका जीवनका यावत् घटनाहरू र उसका पीडासङ्घर्षका कथाका माध्यमबाट त्यस समयको कालखण्ड, समाज र नेपाली जनजीवनका विभिन्न पाटाहरू केलाइएको छ ।
भाषाका दृष्टिकोणबाट हेर्दा यस उपन्यासमा केही व्याकरणिक त्रुटिहरू पाइन्छन् । संज्ञा, सर्वनामसँग विभक्ति जोडिएका छैनन् । चन्द्रबिन्दु र शिरबिन्दुको प्रयोग अनि कतिपय वाक्य गठनमा हिन्दीको प्रभाव देखिन्छ । यो कृति देहरादुन (उत्तराखण्ड) बाट प्रकाशित भएको हुनाले प्रुफ संशोधनमा यस्ता त्रुटिहरू रहन गएको हुन सक्छ । विषयवस्तु र प्रस्तुतीकरणका दृष्टिले हेर्दा कालेबुङको भौगोलिक परिवेश, कालेबुङ र तिब्बतमाझको व्यापारिक सम्बन्ध, पहिलो र दोस्रो विश्वयुद्धकालीन नेपाली समाज, त्यहाँका मानिसहरूको आर्थिक स्थिति, सामाजिक पक्ष, स्थानीय रङ्गको प्रयोग, सत्य र तथ्यको अङ्कन अनि विभिन्न ऐतिहासिक घटनाहरूले नेपाली समाजमा ल्याएको प्रभाव आदिलाई यस उपन्यासले सफलतापूर्वक देखाउन सकेको छ ।
सिलगढी महाविद्यालय, पश्चिम बङ्गल, भारत
सन्दर्भ ग्रन्थ -:
१.दिव्यमणि : डा. कमला साङ्कृत्यायन, राहुल प्रकाशन देहरादुन, सन् २००८ ।
२.रत्न बृहत नेपाली समालोचना,सैद्धान्तिक खण्ड: सम्पा.राजेन्द्र सुवेदी, डा. लक्ष्मणप्रसाद गौतम; (तुलनात्मक साहित्य: विधागत विवेचना- डा. इन्द्रविलास अधिकारी) रत्न पुस्तक भण्डार काठमाडौँ, वि. सं. २०६८ ।
३. दार्जीलिङका नेपाली उपन्यास : परम्परा र प्रवृत्ति, डा. मोहन पी. दाहाल,श्याम ब्रदर्स प्रकाशन, दार्जीलीङ, २००१ ।
४. उपन्यास और लोक जीवन : राल्फ फक्स( अनु. नरोत्तम नागर),पिपुल्स पब्लिसिङ हाउस,दिल्ली ,सन् १९५७
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।