“वैज्ञानिक चिन्ताधारालाई जीवनको एउटा पाटो बनाउन विज्ञान नपढे पनि हुन्छ । सबै विज्ञान पढ्ने मानिसको मन वैज्ञानिक सोच भएको नहुन पनि सक्छ ।” – डा. सञ्जीव उपाध्याय ।

परिचय  : 

असमेली साहित्याकाशमा डा. सञ्जीव उपाध्याय एउटा परिचित नाम हो । असमको विश्वनाथ जिल्लाअन्तर्गत गेलापोखरी गाउँमा सन् १९७० को २७ एप्रिलमा उनको जन्म भएको हो । वर्तमान यसै ठाउँमा स्थायीरूपले परिवारसहित उनको बसोबासो छ । अध्यापनको जागिरे जीवनसहितै उनले सिर्जनाको खेतीलाई पनि उत्तिकै डोहोर्याएका छन् । असम विज्ञान समिति, विश्वनाथ चाराली शाखाको प्रधान सम्पादकसहितै अरू साहित्यिक संस्थाहरूको पनि विभिन्न दायित्वमा रहेर इमानदारीपूर्वक सेवा अघि बढाइरहेका छन् । उनले गुवाहाटी विश्वविद्यालय र डिब्रुगड विश्वविद्यालय स्नातकतहका १४ वटा पुस्तक प्रकाशित गरिसकेका छन् । यी पुस्तकहरू विद्यार्थीहरूले खोजी खोजी पढ्ने गर्दछन् । उनको अनुवाद साहित्यमा पनि विशेष दखल छ । अनेष्ट हेमिङ्गवेको ‘द्य ओल्ड मेन एन्ड द्य सी’ (सन् २०११, बूढो मान्छे र सागर), अलेकजेन्डर डुमाको ‘द्य काउन्ट अव मन्टेक्रिष्टो’ (सन् २०१४, मन्टेक्रिष्टोको अधिपति) को नेपाली अनुवाद । यसैगरी असमियाको ‘केजनमान भारतीय जीवविज्ञानी’ (सन् २०१२), ‘प्रबन्ध प्रवाह’ (स्वलिखित प्रबन्ध सङ्कलन, सन् २०१५), अलबेयर केम्युको ‘द्य प्लेग’ को असमिया नाट्य रूपान्तर (सन् २०१६), ‘द्य कटन पिगमी गुज’ (गवेषणामूलक ग्रन्थ, अङ्ग्रेजी, सन् २०१७) । उनले सातवटा पुस्तक सम्पादन गरेका छन् भने अन्तर्राष्टिय जर्नलहरूमा १६ वटा र राष्ट्रिय जर्नलहरूमा १३ वटा गवेषणामूलक प्रबन्ध प्रकाशित भएका छन् ।

कृतिको संरचना  : 

वैज्ञानिक मानसिकता आधारित बालसाहित्यको पुस्तक ‘विज्ञान र विज्ञानी’ को आवरण सज्जामा महर्षि चरक र प्रसिद्ध विद्वान् चाणक्यको तस्बिर राखिएको छ भने पछिल्लो पृष्ठमा लेखकको फोटोसहित परिचय रहेको छ । पृष्ठ सङ्ख्या ८३ रहेको छ । यस पुस्तकको मुद्रण विश्वनाथ चारालीको निजानन्द अफसेट प्रेसमा भएको छ । यसको मोल एक सय बिस रुपियाँ रहेको छ भने यस पुस्तकलाई लेखकले स्वर्गीय माताजी र पिताजीको पवित्र स्मृतिमा समर्पण गरेका छन् । कृतिको भूमिका असमका वरिष्ठ साहित्यकार पद्म ढकालले लेखेका छन् भने सिलगढीका वरिष्ठ साहित्यकार लोकनाथ उपाध्याय चापागाईँले शुभेच्छाका हरफहरू कोरेका छन् ।

कृतिभित्र प्रवेश गर्दा  : 

शिशु विज्ञानमा आधारित आलेखहरूको सँगालो ‘विज्ञान र विज्ञानी’ मा कुल नौवटा निबन्ध छन् । नानीहरूलाई विज्ञानका कुरा जान्न उत्सुकता बढाउने पाराले लेखिएका निबन्धहरूको छेउछाउ पुगेर घोत्लिने प्रयास गर्नेछु । यसै प्रयासमा लेखिएका केही बुँदाहरू हजुरहरूसमक्ष राख्तैछु ।

कृतिभित्रको पहिलो निबन्ध ‘पानीबाट हुनसक्ने कतिपय रोग- एक कथोपकथन’ छ । प्रस्तुत निबन्ध उपदेशमूलक रहे तापनि प्रस्तुतिमा फरकपन छ । नाट्यशैलीमा लेखिएको निबन्धले नानीहरूलाई पुस्तक पढ्ने आग्रह बढाउँछ। चारवटा दृश्यपटमा विभक्त गरिएको निबन्धमा पहिलो दृश्यमा पानी प्रदूषित हुने कारणहरू, पानीबाट हुनसक्ने रोगहरूको लक्षणहरू, यी रोगहरू भित्राउने बेक्टेरियाहरू र यिनीहरूबाट छुटकारा पाउने उपायहरूबारे चर्चा गरिएको छ । दोस्रो दृश्यपटमा हाकुज्वरोको कारण र उपचारबारे चर्चा गरिएको छ । चौथो दृश्यपटमा एमिबाएसिस् रोग र यसको उपचार बारे चर्चा गरिएको छ । चारैवटा दृश्यपटमा दूषित पानी र बेक्टेरियाहरूको आक्रमणले गर्दा रोग लागेको हो भनिएको छ । निर्मल पानीको व्यवहार, यथाभावी दिसा-पिसाब नगर्ने, जताजतै नथुक्ने, खकार नफ्याँक्ने, घरवरिपरि सफा सुग्घर राख्ने आदि सावधानी अपनाएर यी बिमारहरूबाट छुटकारा पाउनुसक्ने सम्भावना पनि लेखमा  चर्चा गरिएको छ ।

दोस्रो निबन्ध छ ‘रातो झरी’ । सन् २००१ को २५ जुलाईमा भारतको केरल राज्यको इडुक्की, कोट्टायम र त्रिभान्द्रमको धेरैजसो ठाउँमा रातो झरी परेको थियो । यसरी रातो झरी पर्नुको कारण विभिन्न हुनसक्छ। मरुभूमिबाट उडेर आकाशमा गएको रातो बलुवा मुख्य कारण हो भन्ने वैज्ञानिकहरूको भनाइ छ । उल्कापिण्डबाट उच्छिटिएर आएको अंश विशेषको रातो धुलो मिसिएर पानीको वर्ण विभिन्न भएको हो भनेर कतिपय वैज्ञानिकहरूको भनाइ छ । लेखमा लेखकले नानीहरूको अनुसन्धित्सु मनबाट अन्धविश्वासको कालो बादल हटाएर वैज्ञानिक मानसिकताको प्रकाश छर्ने प्रयास गरेका छन् ।

तेस्रो लेख हो ‘पृथ्वी, क्रमविकास र हामी’ । यस लेखमा आज भन्दा झन्डै ४.५ बिलियन वर्षअघि सृष्टि भएको पृथ्वीको सृष्टि प्रक्रियालाई चर्चा गरिएको छ । पृथ्वी सृष्टि भएपछि रासायनिक क्रमविकास, जैविक क्रमविकास हुँदै वर्तमान क्रमविवर्तनको आडमा जीवहरूको सृष्टि भएको कुरा उल्लेख गरिएको छ । यस ग्रहमा विभिन्न खालका जीवहरू कहाँबाट, कसरी आए भन्ने प्रश्नको जबाफ यसमा लेखमा पाइन्छ। वर्तमान मानवको परिवर्तन बारे पनि यस लेखमा उपाध्यायले चर्चा अघिसारेका छन् । वर्तमान विश्वभरि पाइने मानव जाति सेता ककेसयड जाति, काला निग्रोयड जाति, मङ्गोलयड जाति र अष्ट्रेलयड जाति गरी चार भागमा विभक्त छन् । भारतीय उप महादेशका मानिसहरू ‘द्राविडीय’ र ‘अष्ट्रेलिय’ यी दुई जातिको संमिश्रणले सृष्टि भएको आर्य जाति हुनाले माथि उल्लेख गरिएका चारवटा जातिमा छुट्याउन सकिँदैन भन्ने विचार पनि यस लेखमा समेटिएको छ । लेखमा बृहत्तर असमिया जातिको गठन प्रक्रिया बारे पनि जानकारी छ । लेखको अन्त्यमा, मानिसको मस्तिष्क, भुइँसँग मानौँ ९० डिग्रीको एक अवस्थानमा स्थित हुन्छ, अरू प्राणीको मस्तिष्क भुइँसँग १८० डिग्री अथवा ३० डिग्री अथवा ४५ डिग्री अथवा ६० डिग्रीको अवस्थानमा स्थित हुन्छ। त्यसकारण, मानिस अरू प्राणीभन्दा धेरै बुद्धिमानी हुन्छन् भए तापनि आफूले गरेको मस्तिष्कको व्यवहार अनुयायी मानिसका मस्तिष्कको क्षमता भिन्नाभिन्नै हुन्छ। यसमा कुनै ठोस खोजी नभए तापनि यसो हुनसक्ने युक्तिहरूलाई नकार्न सकिँदैन भनेर उपाध्यायले यस लेखलाई टुङ्गाएका छन् ।

‘हाम्रो मस्तिष्क’ यस कृतिको चौथो लेख हो । मस्तिष्क गठन, बुनोट, मस्तिष्कमा हुने रोगहरू, स्त्री- पुरुषको मस्तिष्कको क्रियामा हुने फरक, मस्तिष्कको वजन आदि बारे महत्वपूर्ण कुराहरू यस लेखमार्फत उपाध्यायले नानीहरूलाई जानकारी गराउने प्रयास गरेका छन् ।

यस लेखको पाँचौँ लेख ‘ स्वादिलो इन्टरनेट’ हो । इन्टरनेट छोटकरीमा नेट बारे धेरै जानकारी छ यस लेखमा। साथै इन्टरनेट सम्बन्धित विषयहरू जस्तै डब्लिउ डब्लिउ डब्लिउ, वेब ब्राउजर, वेब पेज, वेब साइट, होम पेज, डोमैन, फेसबुक, ह्वाट्सआप, भाइरस, भेक्सिन, बुटिङ आदि बारे महत्वपूर्ण जानकारी छ । मोबाइल, इन्टरनेटको सदुपयोग र दुर्पयोग बारे पनि चर्चा गरिएको छ यस लेखमा ।

‘प्राचीन भारतका प्रसिद्ध चिकित्सक- सुश्रुत’ शीर्षक यस कृतिको छैटौँ निबन्ध हो । यस लेखमा ६०० वर्षअघि सुश्रुतले अपारेशन गरेको र उनले चिकित्सा विज्ञानलाई लिएर लेखेका ‘सुश्रुतसंहिता’ पुस्तकको बारेमा चर्चा गरिएको छ । ईसापूर्व आठौँ शताब्दीमा यो पुस्तक ‘किताब- स- सुन- ए- हिन्दी’ अथवा ‘ किताब- इ- सुश्रुत’ शीर्षकले आरबी भाषामा अनूदित भएको थियो। अपारेशनको समयमा बिरामीलाई अचेत पार्ने व्यवस्था पनि सुश्रुतले नै उद्धावन गरेका हुन् त्यसैले उनलाई ‘ चेतनानाशक विज्ञानका पितृ’ भनिन्छ। उनले त्यतिखेर गरेको चिकित्सा पद्धति वर्तमानको प्लास्टिक सर्जरी भन्दा भिन्नै थिएन । त्यसैले उनलाई ‘ प्लास्टिक सर्जरीका जनक’ भनिन्छ। चिकित्सा विज्ञानमा गरेका विभिन्न कामहरूले त्यतिखेर भारतको स्थान छुट्टै भन्ने विचार पनि यसमा समाहित छ ।

यस कृतिको सातौँ लेख ‘भारतीय चिकित्सा विज्ञानका जनक- चरक’ हो । ईसापूर्व ३०० सनमा जन्मिएका चरकलाई आयुर्वेद विज्ञानका गुरु भनिन्छ। उनले लेखेका ‘चरकसंहिता’ पुस्तकमा चिकित्सा सम्बन्धित धेरै कुराको जानकारी पाइन्छ। १२० वटा अध्यायहरूको अनि आठवटा खण्डमा विभक्त यस चरकसंहितामा १२००० श्लोक छन् । यी श्लोकहरूमा २००० विभिन्न किसिमका औषधीहरूको विवरण दिइएको छ । चरकले कायकल्प ( शरीरतत्व) चर्चा गरेर चिकित्साको अलग्गै मार्ग प्रवर्तन गरेका थिए । जबकि सुश्रुतले अस्त्रोपचार पद्धतिद्वारा चिकित्सा गरेर एउटा नयाँ धारा प्रवर्तन गरेका थिए । दुवैजनाले औषधीगुणयुक्त उद्धिदहरूलाई प्राधान्य दिएरै चिकित्साको विधालाई अघि बढाएका थिए ।

यस कृतिको आठौँ लेख ‘आचार्य जगदीश चन्द्र बसु’ हो । यस लेखमा जगदीश चन्द्र बसुको जन्म, शिक्षा, जागिरे जीवन, गवेषणा कर्म, प्रकाशित कृति, प्राप्त सम्मान- पुरस्कार आदि बारे चर्चा गरिएको छ। ब्रिटिस शासन कालमा ब्रिटिसहरूले भारतीयहरूलाई गरेको पक्षपातपूर्ण व्यवहारको केही अंश यस लेखमा उल्लेख छ ।

यस कृतिको अन्तिम लेख हो ‘ विश्व प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइनस्टाइन’ । यस लेखमा आइनस्टाइनको जन्म परिचय, शैक्षिक जीवन, घरेलु अवस्था र जागिरको लागि गरेको सङ्घर्ष, जागिरे जीवन, गवेषणा कार्य, प्राप्त पुरस्कार, गवेषणा पत्र आदि बारे चर्चा गरिएको छ। छात्र जीवनमा सरहरूले गधा भन्ने केटो, सहपाठीहरूको हाँसो बन्ने केटो एकदिन गएर संसारकै प्रख्यात वैज्ञानिक हुन गयो भन्ने धारणाले नानीहरूको मस्तिष्कमा सकारात्मक प्रभाव पार्छ । आइनस्टाइनले मृत्युअघि आफ्नो शिर गवेषणाको लागि चिकित्सा वैज्ञानिकहरूलाई दान गरे । आइनस्टाइनको मस्तिष्कलाई लिएर चिकित्सा वैज्ञानिकहरू वर्तमान पनि गवेषणा गरिरहेका छन् भनेर यस लेखलाई समाप्त गरिएको छ।

भाषाशैली  :

वैज्ञानिक मानसिकतामा आधारित बाल साहित्य हुनाले यसमा प्रयोग गरिएको भाषा सरल हुँदाहुँदै पनि जटिल छ । विशेषगरी विज्ञान विषयमा गरिने शब्दहरूको नेपाली प्रतिशब्द नभएर अङ्ग्रेजी शब्द नै व्यवहार गर्नुपर्ने बाध्यवाधकता रहेको देखिन्छ। तर, यस पुस्तकमा व्यवहार गरिएका अङ्ग्रेजी शब्दहरूको अन्तिम पृष्ठमा शब्दार्थ दिइएको छ ।

शीर्षकीकरण : 

पुस्तकमा रहेका जम्मै निबन्धहरूमा विज्ञान र विज्ञानीहरूकै चर्चा गरिएको छ। तसर्थ पुस्तकको नाम ‘ विज्ञान र विज्ञानी’ सही ठहरिएको छ ।

निष्कर्ष  :

नानीहरूको वैज्ञानिक मानसिकता सुदृढीकरणमा यस पुस्तकले यथेष्ट काम गर्नेछ । अन्धविश्वासमा अल्झिएका नानीहरूलाई यस पुस्तकले समाधानको बाटो दिनेछ । नानीहरूको आँखाबाट अन्धविश्वास र धर्मान्धको जालो हटाएर वैज्ञानिक मानसिकताको चश्मा लगाइदिन सफल भएको छ यो पुस्तक । बेक्टेरियाबाट हुनसक्ने रोगहरूको बारेमा धेरै जानकारी दिइएको छ यस पुस्तकले। सुस्वास्थ्यका लागि ध्यान दिनुपर्ने कुराहरूको राम्रो जानकारी दिएका छन् उपाध्यायले । पुस्तकले अहिलेको परिस्थितिअनुसार विज्ञान र प्रविधिलाई अँगाल्न सक्ने विभिन्न विषय समेटेको  छ ।

मानव सभ्यताको विकासका लागि विज्ञान र प्रविधि वरदान भएको छ भने अत्याधिक अथवा नकारात्मक प्रयोगले गर्दा हुनसक्ने नोक्सानको बारेमा पनि नानीहरूलाई सावधान गरिएको छ । पुस्तकमा आयुर्वेद चिकित्सा पद्धतिद्वारा भारतको नाम उच्चस्तरमा लाने सक्षम भएका महर्षि सुश्रुत, चरक, ध्वनन्तरीहरूसँग आजको चिकित्सा पद्धतिसित तुलनात्मक चर्चा पनि गरिएको छ। पुस्तकमा दुईजना विज्ञानी आचार्य जगदीश चन्द्र बसु र अल्बर्ट आइनस्टाइनको विज्ञानमा रहेको देन बारे चर्चा गरिएको छ। ब्रिटिसको हैकमवादको प्रकोपमा परेका बसु र गरिबीको खाडलमा परेका आइनस्टाइनको विज्ञानमा रहेको अवदानको चर्चाले नानीहरूको सकारात्मक सोच र वैज्ञानिक मानसिकता वृद्धिमा सहयोगात्मक काम अवश्य नै गर्नेछ जस्तो लाग्दछ । असमेली साहित्याकाशमा विज्ञानमा आधारित बाल साहित्यको निबन्ध कृति प्रकाशित गर्ने पहिलो लेखक सायदै डा. सञ्जीव उपाध्याय नै होला। यसअघि यसखाले पुस्तक प्रकाशन भएको तथ्य फेला पार्न सकिएन। तसर्थ, उपाध्यायबाट अझ यसखाले पुस्तकहरूको आशा गर्दछौँ। उपाध्यायको ‘ विज्ञान र विज्ञानी’ पुस्तक अभिभावकहरूले खोजी खोजी किनेर नानीहरूलाई पढाउनु पर्ने हो जस्तो मलाई लाग्दछ ।

किनकि सानैदेखि नानीहरू वैज्ञानिक मानसिकता लिएर अघि बढे भने समाज पनि अघिबढ्ने छ । नत्र, अन्धविश्वास र धर्मान्धको पर्खाल नाघ्न नसकेर ओडारभित्रै अल्झी रहनुपर्ने बाध्यवाधकता आइपर्छ । अनि हाम्रो समाज अघि बढ्नुको सट्टा अन्धविश्वास र धर्मान्धको भुलभुलैयामै अल्झिरहने छ । यो निबन्ध कृति नेपाली बाल साहित्यमा कोशे ढुङ्गो थप्न सफल भएको छ भन्न सकिन्छ। समग्रमा बाल मनोविज्ञानलाई ध्यानमा राख्दै लेखिएको यो कृति पठनीय र सङ्ग्रहनीय बनेको छ । नेपाली साहित्यमा यसखाले पुस्तक उपहार दिन सक्षम भएका डा. सञ्जीव उपाध्यायको सुस्वास्थ्य कामनासहित सिर्जनात्मक यात्राको  निरन्तरता कामना गर्दछु ।