लघुकथा : गुमानेको सजाय 

इन्दिरा गौतम (असम)

चमेली र हर्कबहादुरको गहिरो प्रेम थियो । दुवैले मायाको पवित्र बन्धनलाई कहिले नचुँडिने गरी कसेका थिए । यो कुरा चमेलीकी आमाबाबुलाई  थाहा  भएर हर्केको घरसँगको पुरानो दुस्मनीले छोरी दिन असमर्थ भए ।

यता हर्के भने बिहे गर्न नपाए भगाएर लान्छु भन्दै पैसा कमाउन सहर गएको बेला चमेलीको बिहे जबर्जस्ती गुमानेसँग गरी दिए। गुमाने गाउँको सोझो सिधा र इमानदार केटो थियो । उसले चमेली जस्ती राम्री र धनी घरकी केटीसँग बिहे गर्ने कुरा सपनामा पनि सोचेको थिएन । दाइजोमा धेरै सम्पत्ति पाउने कुरा उसका कानमा नपरेको पनि हैन । तर उसलाई दाइजोको कुनै लालच थिएन ।

बिहेको दिनसम्म चमेलीले  हर्केको बाटो हेरिरही । न ऊ आयो न त उसको चिठी पत्र । चमेली दुखी मनले गुमानेकी बेहुली बन्न बाध्य भई । बाबुआमाले धुमधामसँग बिहे गरिदिए।

बिहे भएको एक महिना नहुँदै चमेली बारीको पाटामा पासो लागिछ । गाउँका सबैले उसको श्रीमान् गुमाने र सासूलाई दोषी ठाने । भए नभएका कुरा फिँजिए । ‘चमेलीको हत्या कि आत्महत्या ? दाइजोकै कारण चमेलीको हत्या – –  सासू र लोग्नेमाथि आशङ्का ‘ । नानाथरीका शङ्का उपशङ्का । भनेजति दाइजो नपाएर बुहारीमाथि अत्याचार गरेको भन्ने रिपोर्ट दाखिल भयो ।  गुमानेका आमा छोराका फोटासहितको समाचार देशव्यापी  भाइरल बन्यो । मझेरीमा बसेर भक्कानिरहेको गुमानेका मनमा ठूलो ठेस लाग्यो । पुलिस र रिपोर्टरका प्रतिप्रश्नमा माघे जाडोमा पनि गुमानेको शरीर पसिनाले निथ्रुक्क भिज्यो ।

चमेली हर्केलाई मनपराउँछे भन्ने कुरा गुमानेलाई राम्ररी थाहा थियो । तर एउटी विवाहित नारीको परपुरुषसँग बदनाम हुनु, उनीहरूको अस्मितामाथि खेलबाड गर्नुभन्दा आफूले नै सजाय भोग्नु उचित ठान्यो उसले ।