साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

नारी पिछडिनु परिवार पछाडिनु हो, परिवार पिछडिनु समाज र जाति पिछडिनु हाे

ईश्वरचन्द्र विद्यासागरले उन्नाइसौँ शताब्दीको मध्य भागतिरै विधवा विवाहको क्षेत्रमा कदम चालेका थिए भने एक्काइसौँ शताब्दीका हामीले किन नसक्ने होला भनी प्रश्न तेर्स्याउँदै यस निबन्धको समाप्ति गरेका छन् बासकोटाले ।

पृष्ठभूमि : 

असमको विश्वनाथ जिल्लाअन्तर्गत समारदलनी भन्ने गाउँमा जन्मिएका अञ्जन बासकोटाले शिक्षण पेसामा संलग्न रहँदै विभिन्न सामाजिक, साहित्यिक अनुष्ठानहरूसित सक्रियरूपले जडित भएर जातीय हितका काममा समर्पित भावले लागिपरेका छन् । साथसाथै उनले पत्रकारका हैसियतले पनि जातीय मुद्दा, असमेली गोर्खाहरूका समस्या पनि नेपाली, असमिया लगायत अङ्ग्रेजी खबर कागतमा निरन्तररूपमा लेखिआएका छन् । यति धेरै दायित्व निर्वाह गरेर पनि उनले देखेका, भोगेका, अनुभव गरेका विषयहरू एकत्र गरेर ‘दृष्टि’ निबन्धसङ्ग्रहका रूपमा प्रस्तुत गरेका छन् । लेखन, शिक्षण र पत्रकारितामा रमाएका व्यक्ति बासकोटाले हालसम्म प्रकाशित गरेका कृतिहरू यस प्रकार छन् – निर्वारित मानवता आरु निबन्ध विचित्रा (असमिया निबन्ध- २०१४), दृष्टि ( निबन्ध- २०१६), पङ्क्तिकारको इतिहास ( असमियाबाट नेपालीमा अनुवाद -२०१८), आत्मानुसन्धान ( कविता- २०२०), बरणीया शब्द- सम्भार ( असमिया निबन्ध- २०२१) । यही ‘दृष्टि’ निबन्धसङ्ग्रहका लागि सन् २०२० मा उनी साहित्य अकादमीको युवा पुरस्कारले सम्मानित पनि भइसकेका छन् ।

सरकार र जनमानसको दृष्टि आकर्षण गर्न विभिन्न खबर, जातीय पिरमर्का, सांस्कृतिक मान्यताहरू, पर्यावरणप्रति जागरुकता आदि खबर कागतमा बाक्लै लेखिरहेका हुनाले होला प्रस्तुत निबन्धसङ्ग्रहमा पनि यस्तै विषयहरूले ठाउँ पाएका छन् । हो पनि, मानिसको दृष्टि जतातिर बढी केन्द्रित हुन्छ लेखाइमा पनि त्यसको अनुरूप छाप पर्दछ ।

कृष्णनील कार्की (असम)

कृतिको संरचना :

जेकेट कभरले सुसज्जित आवरण पृष्ठमा लोकसंस्कृतिको झलकसहितै आदिकवि भानुभक्तको तस्बिर राखिएको छ । आवरण पृष्ठको पछिल्लो भागमा ‘लेखक सन्दर्भमा दुई शब्द’ भनी सर्जकहरूका शुभकामनारूपी हरफहरू राखिएका छन् । ८० पृष्ठको यो पुस्तकको मूल्य १५० रुपियाँ रहेको छ । भारतीय साहित्य प्रकाशन, तेजपुरबाट प्रकाशित यस कृति निजानन्द अफसेट प्रेस, विश्वनाथ चारालीमा मुद्रित भएको हो । यस कृतिलाई हजुरबुबाको नाममा लेखकले समर्पण गरेका छन् ।

निबन्धसङ्ग्रहमाथि सर्जकहरूको अभिव्यक्ति  :

भारतीय साहित्य प्रकाशन, तेजपुरको पक्षमा सहसचिव नाट्यभूषण पूर्णकुमार शर्माले प्रकाशकीयमा यस कृति र बासकोटाको लेखनप्रति प्रशंसासूचक अभिव्यक्ति यसरी लेखेका छन् “… थोरै दिनमा असमिया अनि नेपाली साहित्यमा आफ्नो दर्बिलो कदम अघि सारेका छन् । सानो उमेरदेखि साहित्य सिर्जनामा घस्सिएर लागेका बासकोटाले ‘निबारित मानवता’ शीर्षक असमिया पुस्तकले पाठक समाजको चिन्ता स्रोतमा थप खुराक पुऱ्याएको हो । पाहाडे  खोलो आफ्नै धुनमा लुरुलुरु मैदानतिर ठुलो नदीतिर बगेझैँ  बिस्तारै उनको अर्को ‘दृष्टि’ नामको पुस्तक नेपाली साहित्यका ढुकुटीमा भित्रिन लागेको छ । यसपालि बासकोटा समाजको परिष्कारवादी सोचमा डुबेको भान हुन्छ ।” भूमिकाको कलममा वरिष्ठ साहित्यकार डा. खेमराज नेपालले कृति सन्दर्भमा आफ्नो अभिव्यक्ति यसरी राखेका छन् -” हाम्रा चर्चित लेखक बासकोटाका यी निबन्धहरूमा समाजमा प्रचलित विभिन्न सामाजिक रीति, नीति र साहित्यिक बुँदाहरूको चर्चामा कहीँ समाजमा व्याख्या नभइरहेका कुरालाई नयाँ सोच र विचार र युक्तिनिष्ठ उदाहरणद्वारा पुष्टि गरिएको छ भने कहीँ रुढी र परम्परामा आधारित केही अनावश्यक अचार संहिताको निराकरण पनि गरिएको छ अनि कहीँ कुनै समयमा परिस्थितिवश प्रचलनमा आएकामा कुनै असुविधा थिएन तापनि आज त्यो परिस्थितिदेखि टाढिएको समाज व्यवस्थामा त्यस्ता चलनहरूको प्रासङ्गिकता नभएको कुरो तार्किकतासाथ उपस्थापन गरिएको छ ।” सर्जक फणीन्द्र उपाध्यायको शुभकामनारूपी सन्देश यस प्रकारको छ-” उदीयमान युवा लेखक श्रीमान् अञ्जन बासकोटाले गोर्खाली र असमिया साहित्य- संस्कृतिको महामिलनको कुरा र समन्वयले सेतु बनाउने अनुकूल भावलाई प्रस्ट्याएका छन् । लेखकले हाम्रो संस्कृतिको संवर्द्धन र संरक्षण आउँदो पिँढीका लागि एक गहन विषय बनेको छ भनेका छन् । हाम्रो संस्कृतिलाई दूधको दूध पानीको पानी पार्न नसके तापनि संस्कृतिमाथि हाम्रो जनमानसमा एक सचेतनता ल्याइदिएकोमा हामी उपकृत भएका छौँ । ” यसरी नै असमिया भाषी अर्का एकजना सर्जक डा. स्वाधीनता महन्तले पनि लेखकलाई शुभकामना दिँदै यसरी लेखेकी छन् -” विश्वायनको युग भन्दैमा आधुनिक बनेका तथाकथित हामीहरूलाई लिएर लेखक चिन्तित बनेका छन् । लेखकले समय छँदै हामीलाई चेतावनी दिँदै भनेका छन् -” विज्ञान, प्रविधिको देनले आत्मसन्तुष्टिमा गद्गद भएर मात्र हुँदैन । हाम्रो खुट्टामुनिको जमिन रहन्छ रहँदैन त्यसबारेमा पनि समय छँदै चिन्ता गर्नुपर्छ । लेखकको सरल भाषाशैलीले लेखहरूलाई आकर्षक पारेको छ ।” असमिया भाषाका अर्का एक जना सर्जक निकुञ्ज नाथले पनि कृति सन्दर्भमा शुभकामनाका दुई शब्द यसरी लेखेका छन् – ” नेपाली आदिकवि भानुभक्त सन्निविष्ट दुईवटा जनदरदी कविको विस्तृत जीवन र साहित्यक्षेत्रमा उहाँको देनका बारेमा परिष्कृत प्रतिच्छवि देखिएको छ । उसैगरी समसामयिक विषयहरू जस्तै- कृषक र निमुखा मानिसहरूको सङ्घर्षमय जीवन, नेपाली जनगोष्ठीको कलासंस्कृति, बाल श्रमिक, शैक्षिक दिशा आदिलाई समेटेर रचेका निबन्ध सँगालोले पाठक वर्गलाई चिन्ताको खुराक दिएको छ ।”

कृतिभित्र प्रवेश गर्दा :

सर्जकहरूको अभिव्यक्तिबाट थाहा लाग्छ कृति अध्ययन गर्दा बासकोटाका यी निबन्धहरू निश्चय नै मननयोग्य छन् । आफूलाई पनि निबन्धहरूमाथि दृष्टि राख्न मन लाग्यो । तसर्थ यस कृतिभित्र रहेका १७ वटा निबन्धहरूको सार केलाउने प्रयास गर्नेछु ।

विश्वायन र बदलिँदो दुनियाँको मझेरीमा हाम्रो संस्कृति :

विज्ञान र प्रविधिले गर्दा संसार एउटा गाउँमा परिवर्तन भइसकेको छ । समाजनीति, अर्थनीति, राजनीति आदि विभिन्न क्षेत्रमा विश्वायनको प्रभाव परेको छ । समाज जीवनमा अघिको घर्मान्धता र अन्धविश्वासको ठाउँमा उदारता र एक नयाँ सम्झौताको माहोल सृष्टि भएको छ । यस्तै चर्चाले अघि बढेको यस निबन्धमा पनि लेखकबाट गोर्खालीहरूको संस्कृतिको विविध पक्षहरूमा आएको परिवर्तनमाथि दृष्टि राख्ने प्रयास गरिएको छ । संस्कार कार्य, शुभकार्य, हाते सिप, वाद्ययन्त्र, गाइने आदि, धामीझाक्री, चाडपर्व, भेष-भूषा र अलङ्कार, नाटक र चित्राभिनय आदिमा आएको केही परिवर्तन यस लेखमा चर्चा गरिएको छ । विश्वायनको भुमरीमा परेर हाम्रो सोचाइमा फराकिलोपनले देखा दिएको छ तर एकै समयमै बदलाव पनि आएको छ । नचाहिने कतिपय कुरालाई संस्कार गरेर परिवर्तित समाजसँग कदममा कदम मिलाएर हामी हिँड्नैपर्छ तर यसको अर्थ यो नहोस् कि हामी पहिचान बिर्सिदिऊँ भनी लेखकले यस लेखलाई समाप्ति गरेका छन् ।

साम्प्रतिक समयमा धर्मको प्रासङ्गिकता :

यस लेखको थालनीमै पनि विज्ञान र प्रविधिको कुरा लेखकले ल्याएका छन् । सबै धर्मको उद्देश्य हो मानव कल्याण र विश्व शान्ति प्रतिष्ठा गर्नु, त्यसो भए धर्मका नाममा किन चल्दैछ अघोषित प्रतियोगिता भनी इराकमा आई.एस.आईले इस्लाम धर्म प्रतिष्ठाका निम्ति अइस्लामधर्मीहरू थिचोमिचो गरेको, गुजरातको अक्षरधाम मन्दिरमा मौलवादी सन्त्रासवादीको बम आक्रमण, कोलकताको नयदा जिल्लामा ख्रिस्टान सन्यासीलाई डकैतको एउटा टोलीले गरेको बलात्कारका घटनाहरूलाई उदाहरणसहित प्रस्तुत गरेका छन् । सन्त्रासले जर्जरित आजको विश्व सम्प्रदायका बीचमा सबै धर्मले भातृत्वबोध, विश्वकल्याणको धारणा जागरुक गर्न सक्षम भएमा धर्मको प्रासङ्गिकता देखिन्छ भन्ने विश्वास पनि लेखकले गरेका छन् ।

विश्व परिवेश दिवस, सामाजिक वृक्षारोपण र हामी : यस लेखमा पर्यावरणको वर्तमान स्थिति देखेर लेखक चिन्तित भएको देखिन्छ । एकातिर विज्ञान र प्रविधिको उन्नतिले प्रकृतिलाई निकै नकारात्मक प्रभाव पारेको छ भने अर्कातिर जीव श्रेष्ठ मानिने मानिसको कर्तुतले नराम्रो सङ्केत दिएको चर्चा लेखमा गरिएको छ । हामीले सरकार, विभागीय कर्तृपक्ष, राष्ट्रसङ्घ आदिको मात्रै भर नपरेर स्वयम् जागरुक बनेर प्रकृतिलाई माया गर्न कम्मर कस्नुपर्छ भन्ने लेखकीय विचारले लेख टुङ्गिएको छ ।

बरपीपलको बिहे र हामी :

प्रकृति संरक्षणप्रति लेखक सचेत देखिन्छन् । यस लेखमा पनि नेपाली जातिमा रहेको प्रकृति प्रेमलाई प्रस्ट्याउने काम गरेका छन् । नेपाली संस्कृति र प्रकृति सुरक्षा, बरपीपल र मानव समाज, बरपीपलको पूजन पद्धति, बरपीपलको बिहे, प्रदूषित वातावरण र बरपीपलको बिहे, पर्यावरण अवस्था र वृक्षारोपण, बदलिँदो दुनियाँ र बरपीपलको बिहे, जनचेतनाको प्रयोजनसहितै प्रकृति संरक्षणका निम्ति सुझाव आदिलाई समेटिएको छ यस लेखमा ।

जन्मजयन्ती उपलक्ष्यमा कवि हरिभक्त कटुवालप्रति सम्झना :

यस लेखमा कवि कटुवालको व्यक्तित्व र कृतित्वलाई छोटकरीमा प्रस्तुत गरिएको छ । असममा जन्मिएर असमिया, नेपाली, हिन्दी र बङ्ग्ला भाषामा साहित्य चर्चा गर्ने प्रतिभाधर कवि हरिभक्त कटुवालको अझै पनि उचित मूल्याङ्कन नभएको विषयको उठान गरेका छन् लेखकले र कटुवालको जीवनादर्श, दर्शनलाई युवा पिँढीसँग परिचय गराइदिनु आवश्यक छ भन्ने प्रसङ्गलाई पनि जोड दिएका छन् ।

अन्ताराष्ट्रिय नारी दिवस र नेपाली नारी :

नारी सृष्टिको मूल आधार हो । नारीको उन्नति भन्नाले एउटा घरको, देशको, समाजको प्रगतिलाई बुझिन्छ । नारीमाथिको अन्याय, उत्पीडन, शोषण, असमता बन्द हुनैपर्छ । वैदिक युगदेखि आजसम्मका चर्चित कतिपय नारीलाई उदाहरणसहित प्रस्तुत गरेर नारीको महत्त्व र अवदानबारे प्रकाश पार्ने यस लेखमा ८ मार्चको अन्ताराष्ट्रिय नारी दिवसलाई पनि चर्चाको विषयवस्तु बनाइएको छ ।

विस्तीर्ण मानव समाज र विपन्न भँगेराहरू  :

मानिसको कर्तुतले प्रकृति र जीवकुलप्रति सङ्कट ल्याएको चर्चा यस निबन्धमा गरिएको छ । हामी आधुनिक बनौँ तर यस होडबाजीमा भँगेराजस्ता चराहरूको गाँस, बासमा नै खतरा आएको छ । आजको फराकिलो मानव समाजमा भँगेराहरूको ठाउँ हराइसक्यो । आज मानिसको आर्थिक स्थिति सप्रिएकाले गर्दा खरका झुप्राहरूको ठाउँमा पक्की घर बनेका छन् । खरको न्यानो छानो खोस्रिएर गुँड लगाउने भँगेराहरूको बास मेटिएको छ । यिनीहरूका लागि अनुकूल परिवेशको सिर्जना हामीले गरिदिनुपर्ने भन्ने आशा राख्दै निबन्धको समाप्ति गरेका छन् बासकोटाले ।

विस्मृतिको गर्भमा नेपाली जनगोष्ठीय संस्कृतिको अभिन्न अङ्ग दाइँगीत  :

प्रस्तुत निबन्धमा दाइँगीत र यसको संरक्षण, संवर्द्धन विषयमा चर्चा गरिएको छ । दाइँगीत भन्नाले दाइँ गर्दा आलस्यपन आउँदा गाउने गीतलाई बुझिन्छ र दाइँगीत गोरुले होइन ट्रेक्टरले लगाएर गर्नेहुँदा दाइँगीतको प्रासङ्गिकता कहाँ रह्यो र भन्ने प्रश्न खडा गरेका छन् बासकोटाले । अन्य जाति जनगोष्ठीले आ-आफ्ना जातिको सबै प्रकारका आचार, परम्परा र संस्कृतिलाई संरक्षण गरिआएका छन् भनी हामीले पनि संस्कृतिको अभिन्न अङ्ग दाइँ गीतहरूलाई जोगाएर राख्नुपर्दछ भन्ने विचार निबन्धकारले यस निबन्धमा पोखेको पाइन्छ ।

नेपाली जनजीवन र दुना-टपरी : एक झलक :

नेपाली जनजीवनको विशेषगरी वैदिक कर्मकाण्डहरूमा दुना-टपरीको प्रयोग रहिआएको छ । दुना-टपरीसित नेपाली नारीकै एउटा अलग्गै सम्पर्क रहेको छ । अघि दुना-टपरी बनाउन हाम्रा समाजका नारीहरूको एक मौलिक शिक्षा समान थियो तर अहिले आधुनिकतालाई अँगालेर कृत्रिम हिसाबले डिस, प्लेट आदिको प्रचलनले गर्दा दुना-टपरीको प्रयोग कम्दै आएको छ । प्रकृति प्रदत्त बिरुवाका पातले दुना-टपरी गाँसेर संस्कृतिको जगेर्ना गर्दै दुना-टपरी गाँस्ने परम्परालाई नारीहरूको आपसी भाव विनिमयको मझेरी बनाउने आशय गर्दै यस निबन्धलाई समाप्ति गरिएको छ ।

आधुनिकता र नेपाली नारी :

भारतवर्षमा अरू अरू जातिका नारीहरूले पुरुष सँगसँगै पाइला चालेको देख्न पाइए तापनि हाम्रा नेपाली नारीहरू यस क्षेत्रमा अरूभन्दा पिछडिएको अनुभव गर्दै सङ्कीर्ण सोचाइलाई फराकिलो पारी पुरुष सँगसँगै सबै क्षेत्रमा नारीहरूले पाइला चाल्दा मात्रै प्रगति सम्भव हुन्छ भन्ने आशा व्यक्त गरेका छन् लेखक बासकोटाले । किनकि नारी पिछडिनु भनेको एउटा परिवार पछाडिनु हो र एउटा परिवार पिछडिनु भनेको एउटा समाज र एउटा जाति पिछडिनु हो ।

पत्रकारिता र ग्राम्य पत्रकारहरू :

यस निबन्धमा गणतन्त्रको चौथो स्तम्भ संवाद पत्र र संवादसेवीहरूको दायित्व, कर्तव्य, संवादसेवीहरूको गुण, ग्राम्याञ्चलका संवादसेवीहरूको समस्या बारे छोटकरीमा चर्चा गर्ने प्रयास गरिएको छ । अहिलेको परिप्रेक्ष्यमा कतिपय संवाद पत्र र संवाददाताहरूले सत्य र साहसिकतासहित शुद्ध, सत्य संवाद प्रस्तुत नगरेर व्यक्तिगत स्वार्थलाई अघि सारेको विषयले पनि यस लेखमा ठाउँ पाएको छ ।

असारे गीत र नारीको मर्म वेदना : एक अवलोकन :

यस निबन्धमा असारे गीतमा नारीको मर्म वेदना प्रस्तुत गर्ने क्रममा सोह्रवटा असारे गीतका प्रत्येक गीतको दुई हरफ उदाहरणका तौरमा यस लेखमा राखिएको छ । त्यसताकका नारीहरूले भोग्नुपरेको दयनीय स्थिति, दु:खपीडा आदि असारे गीतले बोकेको थियो । नारीहरूलाई जीवन जिउने रहर देखाएको थियो । आज परिस्थिति, परिवेश बदलिएको छ तसर्थ आजका नारीहरूले असारे गीतहरूलाई कुदृष्टिले नहेरेर हाम्रो संस्कृतिको अभिन्न अङ्ग हो भनेर संरक्षण, संवर्द्धन क्षेत्रमा ठोस कदम चालेर हामी शिक्षित र सही अर्थमा आधुनिक बनेको प्रमाण गर्ने आशासहित यस लेखलाई समाप्ति गरेका छन् बासकोटाले ।

जनै : एक प्रसङ्ग  :

यस निबन्धमा जनैको बनोट पक्ष, जनैको धर्मीय मान्यता, जनै पूर्णिमाको महत्त्व आदि बारे चर्चा गरिएको छ । जनैलाई जात-पात छुट्याउने माध्यमका रूपमा नलिएर एउटा पुर्खादेखि परम्परागत रूपले पाएको देन सम्झी यसको स्वकीयतालाई बचाएर राख्ने विषयलाई पनि बासकोटाले जोड दिएका छन् प्रस्तुत निबन्धमा । सिपालु र अभिज्ञ व्यक्तिहरूद्वारा जनै प्रस्तुतिको कार्यशाला ठाउँ ठाउँमा आयोजन गर्ने अनुरोधसहित यस लेखलाई टुङ्गाएका छन् निबन्धकारले ।

साहित्य चर्चामा सोठिया र यहाँका नेपाली साहित्यिकहरू :

असमको विश्वनाथ जिल्लाअन्तर्गत  सोठिया क्षेत्रको परिधि, यस क्षेत्रका नवीन- प्रवीण साहित्यकारहरूको चर्चा, जातीय अनुष्ठान र त्यसका हर्ताकर्ताहरू आदिलाई  यस लेखमा समेटिएको छ । यस अञ्चलको साहित्य चर्चामा पहिलो नाम नित्यानन्द उपाध्याय (नरपति) आउँछ त्यसपछि अग्निबहादुर छेत्री, पद्म ढकाल, तारानिधि उपाध्याय, रूपनारायण पाठक, गुरुप्रसाद उपाध्याय, डा. तिलक शर्मा, पूर्णकुमार शर्मा, चक्रपाणि शर्मा, ललित सुब्बा, छत्रमान सुब्बा, नारद उपाध्याय आदि सर्जकहरू लगायत यस अञ्चलका अरू अरू सर्जक र सांस्कृतिक कर्मीहरूको पनि चर्चा गरिएको छ यस निबन्धमा ।

विधवा विवाह र समसामयिक सोचहरू :

यस निबन्धमा बाल विवाह, सतीप्रथा, भारतीय समाज संस्कारमा ब्राह्म समाज, प्रार्थना समाज, आर्य समाज, रामकृष्ण मिसन आदिको स्त्री शिक्षा विस्तार, समाज संस्कार र प्रगतिशील भारत निर्माणको क्षेत्रमा रहेको भूमिका, विधवा विवाह र सामाजिक सोचहरूलाई चर्चाको विषय बनाइएको छ । ईश्वरचन्द्र विद्यासागरले उन्नाइसौँ शताब्दीको मध्य भागतिरै विधवा विवाहको क्षेत्रमा कदम चालेका थिए भने एक्काइसौँ शताब्दीका हामीले किन नसक्ने होला भनी प्रश्न तेर्स्याउँदै यस निबन्धको समाप्ति गरेका छन् बासकोटाले ।

गणेश शर्मा : एक विज्ञान जनप्रियकरण कर्ता :

यस निबन्धमा असमको शोणितपुर जिल्लाअन्तर्गत शिङरी सितलमारी गाउँमा जन्मेका गणेश शर्माको विज्ञान जनप्रियकरणमा रहेको अवदान बारे जानकारीमूलक चर्चा गरिएको छ । अन्धविश्वास र धर्मान्धमा डुबेको हाम्रो समाजलाई सही बाटो देखाउने विज्ञान आज पनि सबै घरमा पुग्न सकेको छैन । आज पनि हाम्रा मानिसहरू आफ्नो कामधन्दा छोडेर विभिन्न अन्धविश्वास र धर्मान्धको भरमा टिकेका कार्यहरूमा जडित छन् । त्यसैले अरू उन्नत जातिहरूको हाराहारीमा पुग्न असफल भएका छौँ । गणेश शर्माले शोणितपुर ढेकियाजुली अञ्चलका विद्यालयहरूलाई संलग्न गरेर विद्यार्थीहरूबीच विज्ञानका मोडेल, प्रजेक्ट, शोधपत्र र कार्यपत्र पाठ आदि कार्यक्रमहरूको थालनी गर्छन् । उनी आर्यभट साइन्स, शोणितपुर जिल्लाका राम्रा कर्ताकर्ता पनि हुन् । एनसिसिको लेफ्टेनेन्ट पदमा आसीन गणेश शर्मा देशको युवा शक्तिमा भरोसा गर्छन् । विज्ञानप्रति आम मानिसको भ्रान्त धारणालाई पन्छाइदिनु, विज्ञानप्रति रुचि ल्याउनु, अन्धविश्वासरहित एउटा प्रगतिशील समाजको निर्माण गर्नु नै यस लेखको उद्देश्य रहेको छ ।

भाषाशैली :

भाषा सरल र सुबोध छ । लेखका भावनाहरू स्वच्छन्दरूपमा बगेका छन् ।

शीर्षकको सार्थकता :

यस कृतिमा रहेका विज्ञान र प्रविधि, साहित्य, लोकसंस्कृति, व्यक्ति परिचय, पर्यावरण, धार्मिक मान्यता, अन्धविश्वास-धर्मान्ध, नारीवादी चिन्तन, संवाद माध्यम आदि निबन्धमा बासकोटाले यथार्थलाई लेखकीय दृष्टिले लेखिएको हुँदा ‘दृष्टि’ नामाकरण सार्थक देखिन्छ ।

उद्देश्य :

यस अधिकांश निबन्धमा विश्वायनको प्रभाव, संस्कृति संरक्षण संवर्द्धन र पर्यावरण सुरक्षाको महत्त्वको सन्देश दिए तापनि सामाजिक संस्कार- संस्करण, आचार संहिता, रहन-सहन, साहित्य-सङ्गीत, सामाजिक रीति नीति, नारी सत्ता, लोककला, लोकविश्वास, परम्परा, लोकसंस्कृति, मानव जीवन आदि विविध विषयको सन्देश प्रवाह गर्ने उद्देश्य रहेको छ ।

अन्त्यमा :

निबन्धहरूले धार्मिक, पर्यावरण, भूमण्डलीकरण, साहित्य- संस्कृति, आचार संहिता, शैक्षिक आदि पक्षलाई प्रस्ट्याउने प्रयास गरेको छ । धर्मान्ध र अन्धविश्वासको कुप्रभाव, विज्ञान जनप्रियकरणको अभाव, संस्कृतिमा विश्वायनको प्रभाव, पर्यावरणप्रति जागरुकता आदि थुप्रै विषयवस्तुमा निबन्धकारको ध्यान गएको छ । सामाजिक विकृति-विसङ्गतिप्रति तीक्ष्ण प्रहार गर्न पनि चुकेका छैनन् निबन्धकार । कतिपय निबन्धहरू अपेक्षाकृत सङ्क्षिप्त लाग्छन् । तापनि निबन्धलेखनमा फरकरूपमा प्रस्तुत भएका छन् बासकोटा । प्रत्येक लेखमा मिल्दोजुल्दो चित्र राखिएको हुनाले निबन्धहरूमा थप आकर्षण बढेको छ ।

कृतिमा खासै कमी-कमजोरी नभए तापनि केही परिमार्जनको आवश्यकता देखिन्छ; पूर्णता कहीँ पनि हुँदैन । एउटा गहकिलो कृति समाजलाई उपहार दिएकोमा बासकोटाजीलाई हार्दिक धन्यवाद दिँदै सबल साहित्यिक यात्राको कामना गर्दछु

 

प्रतिक्रिया
Loading...