गैरआवासिय नेपाली सङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले प्रत्येक वर्ष गैरआवासीय नेपाली लेखकहरुको नेपाली वाङ्मयमा प्रकाशित पुस्तकमध्ये एक उत्कृष्ट पुस्तकलाई दिइने पुरस्कारको नामाकरण नेपाली कलाकार अरनिकोको सम्मानमा “अरनिको पुरस्कार” गरेको छ । नेपाली भाषा, साहित्य तथा संस्कृति अन्तर्राष्ट्रिय पुरस्कार अक्षय कोष प्रबन्ध समितिको बैठकले उक्त निर्णय गरेको हो ।

समितिले विक्रम सम्वत् २०७७ भरि प्रकाशित नेपाली वाङ्मयका गैरआवासीय नेपाली लेखकका पुस्तकहरुको सङ्कलन यही जुलाई २०२१ सम्म गरिसक्ने निर्णय गरेको छ । त्यसका लागि अमेरिकाको बोस्टन, फ्रान्सको पेरिस र सङ्घको अन्तर्राष्टिय सचिवालय काठमाडौंमध्ये कुनै एक स्थानमा पुस्तक पठाउन सकिनेछ ।

दुई लाख रुपैयाँको पुरस्कार राशि भएको पुरस्कार अक्टोबरमा सम्पन्न हुने गैरआवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रदान गरिने छ । अक्षय कोष सञ्चालन गर्न बनेको बिनिमय २०७७ अनुसार प्रबन्ध समितिको संयोजकत्वमा एनआरएनएका पूर्वकोषाध्यक्ष तथा भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापा, सदस्यहरूमा साहित्यकारहरु नयनराज पाण्डे, निलम कार्की निहारिका, ददि सापकोटा र सदस्य सचिवमा महेश्वर पन्त रहनुभएको छ ।

साथै सल्लाहकारहरूमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा उप्रेती, एनआरएनए अध्यक्ष कुमार पन्त र पूर्वअध्यक्ष जीवा लामिछाने रहनुभएको छ ।

समितिले पुरस्कार सञ्चालनका लागि पचास लाखको अक्षय कोषको स्थापना गर्ने लक्ष्य राखेकोमा हालसम्म २१ लाखको प्रतिवद्धता जुटाइ सकेको समितिका अर्थ संयोजक इश्वरी भट्टले जानकारी दिएका छन । त्यसैगरी अर्को वर्षबाट प्रवासमा रहेर नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदाका लागि योगदान दिएका महत्त्वपूर्ण व्यक्तित्वलाई समेत सम्मान र पुरस्कृत गर्न थालिने सदस्य सचिव महेश्वर पन्तले बताउनुभयो ।

उहाँका अनुसार प्रबन्ध समितिले मुल्याङ्कनका निम्ति विशिष्ट साहित्यकारहरु रहेको छुट्टै समिति बनाउने र सेप्टेम्बर महिनासम्म पुरस्कार घोषणा गरिनेछ । कलाकार अरनिकोलाई पहिलो गैरआवासीय नेपालीको रुपमा समेत मानिएकोले पुरस्कारको नाम उनको र नेपाली कलाको सम्मानार्थ राखिएको हो ।

पुरस्कारका लागि पुस्तक लेखक स्वयं, प्रकाशक, सङ्घ संस्था वा लेखकका शुभेच्छुकहरुले तलका तीन ठेगानामध्ये कुनै एक ठेगानामा जुलाई मसान्त २०२१ सम्ममा विक्रम सम्वत् २०७७ मा छापिएको पुस्तक पठाउनु पर्नेछ ।

(क ) Dadi Saokota 17 Rue Françis Perrin 91190 Gif-Sur-Yvette , France

(ख ) Maheshwor Pant 1646 Main St Walpole MA 02062

(ग ) गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय सचिवालय, सुवर्ण शमशेर मार्ग, बालुवाटार , काठमाडौं ।