साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कथाकृति ‘उमेरको घाउ’ र कथाकार प्रेम प्रधान

‘डार्क फेन्टासी’ कथासङ्ग्रहबाट धेरै चर्चामा आएका कथाकार हरीश मोक्तान ‘अल्लारे’ले श्रीरत्न प्रकाशनमार्फत प्रकाशनमा ल्याएको कृति ‘उमेरको घाउ’ भारतीय नेपाली साहित्यमा एक पठनीय तथा सङ्ग्रहनीय कृति छ ।

कथाकारबारे

भारतीय नेपाली कथालेखनमा कथाकार प्रेम प्रधान एक स्थापित तथा सम्माननीय सर्जक हुन् । सन् १९९५ मै ‘कालो सर्प’ कथासङ्ग्रहको प्रकाशनसितै साहित्यमा उदाएका कथाकार प्रधानको सन् १९९९ मा अर्को औपन्यासिक कृति ‘उदासीन रूखहरू’ हामी पाठकले पाएका छौँ । यसै कृतिका निम्ति सन् २००२ मा उनी साहित्य एकेडेमी नयाँ दिल्लीको प्रतिष्ठित ‘एकेडेमी पुरस्कार’ले विभूषित बनेका हुन् । सन् २००९ मा उनले अर्को नितान्त प्रयोगपरक विज्ञानकथामा आधारित उपन्यास ‘प्रयोगको मेसिन’ प्रकाशनमा ल्याई आफ्नो आख्यानकार छविलाई अझ चहकिलो पार्दै दर्विलो उपस्थिति दिएका हुन् । यतिमात्र होइन, विविध पत्र-पत्रिकातिर अगावै प्रकाशित साहित्य-विषयक गम्भीर र अध्ययनपरक लेखहरू समाविष्ट गरी ‘केही अध्ययन : केही विवेचना’ नामक समीक्षात्मक कृति सन् २००९ मै प्रकाशनमा ल्याई साहित्यका एक सिर्जनशील सर्जकसितै निष्ठावान् पाठक र दायित्वशील अध्येयता रहेको बलियो दसी पनि प्रस्तुत गरेका छन् । यसबाहेक ‘शिव प्रधान – व्यक्ति अनि व्यक्तित्त्व’ (२००९-१०) र ‘भारतीय साहित्यका निर्माता गोपीनारायण प्रधान’ (२०१५) दुई कृति साहित्य एकेडेमी नयाँ दिल्लीको अनुबन्धमा प्रकाशित गरिसकेका छन् । सर्जक बेबी हल्दारको चर्चित कृति ‘आलो आँधारी’को पनि नेपालीमा अनुवाद गरी निर्माण प्रकाशनले सन् २००९ मा प्रकाशित गरेको ‘उज्यालोतिर’ कृतिले कथाकार प्रेम प्रधानलाई अनुवादकको रूपमा पनि परिचित गराउँछ । निकै विवाद खप्न परेको कृति ‘उदासीन रूखहरू’को हिन्दी, मैथिली, अङ्ग्रेजी र असमिया अनुवाद भएर प्रकाशित भइसकेको छ भने चाँडै बङ्गला अनुवाद पनि प्रकाशित भइरहेको जान्न पाइएको छ । यसरी विविध भारतीय भाषामा अनुवाद हुने सौभाग्य प्राप्त गर्ने विरल कृति हुनुपर्छ यो ।

जीवविज्ञान विषयमा एम. एस्सी. अनि बि.एडसम्मको उच्च शिक्षा हासिल गरेका श्री प्रधानले साहित्येतर ‘हाम्रो केही उपयोगी वनस्पतिहरू’ विद्यार्थी उपयोगी कृति सन् १९९५ मा प्रकाशित गरेका छन् । यसबाहेक साधारण विज्ञान तथा जीवविज्ञान विषयक पाठ्य-पुस्तकहरू लेखेर धेरै अर्थमा शैक्षिक कार्यलाई मद्दत पुऱ्याएका छन् । दार्जीलिङ अनि कालेबुङ सरकारी उच्च माध्यमिक विद्यालयमा प्रधान अध्यापक रहिसकेका प्रेम प्रधानले दार्जीलिङ सरकारी महाविद्यालय लगायत सन्त जोसेफ महाविद्यालयमा पनि प्राध्यापन गरेका छन् ।

स्वनामधन्य माता गङ्गादेवी प्रधान अनि पिता बाबुलाल प्रधानका सुपुत्र श्री प्रेम प्रधानले ‘साहित्य-मोह’ र सिर्जन प्रतिभा विरासतबाटै प्राप्त गरेका हुन् भन्दा अत्युक्ति नहोला किनकि पिता बाबुलाल प्रधानले गोर्खाली समाजमा भाषा-साहित्य-शिक्षामा दिएको योगदानको इतिहास अलग्गै छ । सन् १९४८ को १ जुनमा दार्जीलिङ जिल्लाको सौरेनी बजार मिरिकमा जन्मिएका प्रेम प्रधानको बाल्य शिक्षा सौरेनी प्राथमिक पाठशालाबाट आरम्भ भएको हो । सातौँ श्रेणीमा दार्जीलिङको प्रसिद्ध विद्यालय सेन्ट रोबर्ट्समा भर्ना भएपछि त्यहीँबाट स्कुल फाइनल उत्तीर्ण गरे । त्यसपछि दार्जीलिङ सरकारी महाविद्यालयबाट प्रियुनिवर्सिटि, स्नातक (बोटानी अनर्ससहित) र स्नातकोत्तर गरेका हुन् । डा. कुमार प्रधानले ‘प्रेम साहित्यसित बिहे इतिहाससित’ भनेजस्तै कथाकार प्रेम प्रधानको पनि ‘प्रेम साहित्यसित र विवाह चाहिँ विज्ञानसित’ भएको देखिन्छ । किनभने उनको साहित्यप्रेम उनका अनेकन साहित्यसिर्जन र साहित्यकर्मले दर्साउँछ ।

भारतीय नेपाली साहित्यको केन्द्र मानिल्याएको दार्जीलिङमा अवस्थित साहित्यिक माउ संस्था ‘नेपाली साहित्य सम्मेलन’को मूल सचिव तथा अध्यक्ष जस्तो गरिमामय पदमा रही संस्थागत सक्रियता दर्साउँदै लामो कालखण्ड साहित्यकर्ममा समर्पित गरिसकेका छन् । उनले राष्ट्रिय स्तरमा साहित्य एकेडेमी नयाँ दिल्लीको नेपाली भाषा परामर्श समितिका सदस्य लगायत यसको संयोजकको महत्त्वपूर्ण दायित्व निर्वाह गरिसकेका छन् । यसबाहेक स्थानीयदेखि राष्ट्रिय तथा अन्ताराष्ट्रिय स्तरमा विभिन्न साहित्यिक कार्यक्रम तथा सेमिनारहरूमा सहभागिता जनाइसकेका छन् । संस्थागत होस् या व्यक्तिगत उनी सधैँ रचनात्मक तथा सिर्जनात्मक कार्यमा विश्वास गर्छन् ।

प्रेम प्रधान

सर्जक प्रेम प्रधानले ‘हिमलोक’ (डाईजेस्ट), ‘दियालो’ (साहित्यिक पत्रिका), चाँप-गुराँस (विज्ञान पत्रिका), मनन (साहित्यिक पत्रिका), आदि सम्पादन गरिसकेका छन् । उनका यी तमाम साहित्यिक कर्मको मूल्याङ्कन पनि विविध संवर्द्धना तथा सम्मानहरूले गर्दै ल्याएको छ । तीमध्ये अघि उल्लिखित ‘साहित्य एकेडेमी पुरस्कार’ बाहेक ‘सिक्किम सम्मान सम्मिलन पुरस्कार’ र ‘लालमान सञ्चरानी पुरस्कार’ महत्त्वपूर्ण छन् । उनको साहित्य सिर्जनाको मात्रै पनि विभिन्न समयमा अध्येयताहरूले व्यापक अध्ययन –विश्लेषण गरिसकेका छन् । यसै क्रममा उनको नवीनतम कृति ‘उमेरको घाउ’ कथासङ्ग्रहमार्फत पाठकीय विमर्श राख्दै कथाकार श्री प्रधानको कथाकारीताको मूल्याङ्कन कार्यमा उपस्थित भएको छु । ‘व्यक्तिसत्ता’को बेकामे गुणगान र फोस्रो प्रशंसाभन्दा मान्छेको कृतिको कीर्तिको चर्चा-परिचर्चा नै उत्तम हो । आखिर मान्छे बाँच्ने भनेकै उसको कर्मले हो । उसको कृतिले हो ।

‘डार्क फेन्टासी’ कथासङ्ग्रहबाट धेरै चर्चामा आएका कथाकार हरीश मोक्तान ‘अल्लारे’ले श्रीरत्न प्रकाशनमार्फत प्रकाशनमा ल्याएको कृति ‘उमेरको घाउ’ भारतीय नेपाली साहित्यमा एक पठनीय तथा सङ्ग्रहनीय कृति छ । यस कृतिले कथाकार प्रेम प्रधानलाई एकजना पोख्त कथा शिल्पी, परिपक्व विचारक तथा संवेगी पाठसर्जकको रूपमा थप परिचय गराउने निश्चित छ ।

कृतिबारे

सन् २०१९, जुनकै संस्करण लेखिए पनि बल्ल सन् २०२० को जनवरीमा मात्र लोकार्पित कृति ‘उमेरको घाउ’ सोह्रवटा कथाहरू समावेश रहेको ‘एक सामाजिक अन्तःसंवाद’को (-डा. जीवन नामदुङ) पुञ्ज हो । भारतीय नेपाली समाजलाई केन्द्रमा राखी यसका सामाजिकतासित जोडिएर आउने समय, साहित्य, संस्कृति, राजनीति, अर्थनीति, शिक्षा, मानवीय सञ्चेतना, व्यवहार अनि यसले दिने मनोवैज्ञानिक प्रभाव र प्रवृत्ति जस्ता विषयलाई पर्गेल्ने अभिप्रायले कथाकार प्रेम प्रधानले यो कृति संरचित गरेका छन् । एउटा सचेत, सजग र संवेदनशील सर्जकको दृष्टिकोणबाट समेटिएको वर्तमान मान्छे र उनको वैश्विक स्थितिसापेक्ष हर्ष-पीडा र सङ्गति-विसङ्गति बुझ्न कृति ‘उमेरको घाउ’ उपयुक्त र स्वादिलो कृति छ ।

एडगर एलन पोले कथा विधालाई आख्यानको सबैभन्दा प्रभावी, सशक्त र अभिव्यक्तिको प्रखर माध्यम मानेका छन् । कथाको संरचना र शैलीले जुन कथ्य प्रस्तुत गर्नसक्छ त्यो अन्य कुनै विधाले उत्तिकै सशक्त ढङ्गमा अभिव्यक्त गर्न सक्दैन । औपन्यासिक चरित्र लिएर पनि अति लघु आकार र सङ्क्षेप संरचनामा पाठकको हृदयमा तृप्ति र सन्तुष्टि ( विषय तथा सौन्दर्यगत) प्रदान गर्नु ठूलो चुनौती हो । एउटा एउटा सङ्घटना लिएर त बहुआयामेली र बहुतल्ले प्रक्षेप समेट्दै सोही अनुरूप संवेग सम्प्रेषण गर्नु सफल कथालेखनको उद्देश्य हुन्छ ।पाठकसित भाव, विचार र सौन्दर्य सम्प्रेषणमा देखिन्छन् थुप्रै औजार र पद्धत्ति । फरक शैली, सहज कथ्यविस्तार, प्राकृतिक संवाद, चमत्कारी चरित्रनिर्माण, परिचित परिवेश सिर्जना जस्ता अवयवले कथालाई पाठकप्रिय बनाउँछ । पाठभित्र शब्दखेलले उत्पन्न गर्ने तनाव, द्वन्द्व, अवसाद अनि विमुक्तमा प्राप्त हुने आनन्दबोध र मोक्षानुभूतिसित पाठक जत्ति नजिक बन्न सक्छ कथा त्यत्ति नै उत्कृष्ट र प्रभावी मान्नसकिन्छ ।

कथाकार प्रेम प्रधानकृत यो ‘उमेरको घाउ’ कथाकृतिमा पनि पाठक यही शब्दखेलसित रमाउने थुप्रै उपकेन्द्रहरू छन् । कृतिका कथाहरूमा भेटिने यी उपकेन्द्रीय प्रक्षेपहरूबारे विमर्श गर्दै कथाको सौन्दर्य र सौन्दर्य उपभोग गर्ने प्रचेष्टा गरौँ ।

(क) समयसम्बोधन

कथा होस् या कविता; यसमा पाठकले खोज्ने भनेको पहिलो थोक हो समयसम्बोधन या कालचेतना । यसले पाठकको जीवन सापेक्षित समय या उनको मनस्थिति सापेक्षित समय-चेतना निर्वाह गरेको छ कि छैन त्यो केलाउँदै पाठभित्र प्रविष्ट गराउँछ । कथामा जोडिएर आउने पौराणिक आख्यान या लोककथा या इतिहाससम्बन्धी इतिवृत्त या मिथकीय पुनर्लेखन या पुनःपठनले यही समय चेतनालाई विगतदेखि वर्तमान फेरि वर्तमानदेखि भविष्यसम्मको यात्राक्रमलाई समन्वयन गर्ने उपक्रम गर्छ । समयशृङ्खला जोड्ने यो उपक्रम चलचित्रमा बढी प्रभावकारी देखिन्छ । वर्तमानको अवस्थान चिन्न र यसको मूल्याङ्कन गर्न हरेक कथामा यो उपयोगी देखिन्छ ।

कृति ‘उमेरको घाउ’का कथाहरूमा यो समय-चेतना स्पष्ट र प्रखर देखिन्छ । मूलतः मनोविश्लेषणात्मक कथामा पारङ्गत कथाकार प्रेम प्रधानले ‘फ्रायडीय मनोविज्ञान’सितै वर्तमान सापेक्षित उत्तराधुनिक समयलाई पक्रेर उत्तरफ्रायडीय (लकान, क्रिस्तोभा आदि) मनोविश्लेषणतिर उन्मुख बन्दै गएका टुक्रा आख्यानका लक्षणहरू हुलेका छन् । यसका निम्ति कथाकृतिको शीर्षककथा ‘उमेरको घाउ’ केलाऔँ । अहिलेको समय भनेको स्वकेन्द्री मान्छेहरूको जमात हो । जीवनको उत्तरार्द्धमा आइपुगेका पात्र जसबहादुरको मानसिक उद्वेलन र चिन्तनलाई आधार गरी वृद्धावस्थामा झेल्नुपर्ने एकाङ्कीपन, उदासीनता, नैराश्यबारे कथामा सहज प्रकारले साक्षात्कार गराइएको छ । आजको विखण्डित परिवार, वृद्धाश्रमको जन्म, वृद्दाहरूप्रति परिवार र समाजको तिरस्कृत व्यवहार लगायत सरकारसमेतको उदासीन नीति, व्यक्तिगत स्वार्थ, परायीपनको पीडा र ह्रास हुँदै गएका मानवीय मूल्यहरूमाथि प्रबुद्ध चेतनासित कथ्य संरचनामा समेटिएका थुप्रै सङ्कथनहरूले आजको परिवर्तित समय समयलाई सम्बोधन गरिएको पाइन्छ । एक समर्पित माता-पिताले आफ्ना सन्तानका खातिर जुन त्याग र योगदान दिएका हुन्छन् त्यसको बदलीमा सन्तानबाट अपेक्षाकृत सौहार्द, प्रेम, श्रद्धा र सुरक्षा नपाउनु आजको वृद्ध आमा-बाबुका निम्ति पीडा र विडम्बना बन्दै गइरहेको समकालीनतालाई कथामार्फत सुन्दर ढङ्गले दर्साइएको छ ।

परिवर्तित समय र सापेक्षित सभ्यातामा आजको तक्निकीय जीवन, खण्डित मानसिकता, सतही मनोवृत्ति र सहजगामी जीवनयात्राले जुन चिन्तन र व्यवहारको अस्थिर र अनिश्चितताको उत्तराधुनिक धरातल निर्माण गरेको छ त्यसमा ‘वर्तमान’ सधैँ विगत र भविष्यका बीचमा तनाव र द्वन्द्व झेल्दै उभिएको हुन्छ ।विगतले वर्तमानमा सधैँ विकृति, विखण्डन, विचलन र विसङ्गतिजस्ता नकारात्मक कुराहरू मात्र देख्छ । भविष्यले वर्तमानलाई अज्ञानी, अबुझ, हठी र निर्दयी देख्छ । उसलाई नबुझिदिएकोमा गनगन गर्छ । विरोध र विद्रोहको तहसम्म उक्लिन्छ । समयको रफ्तारमा सधैँ पछि परेको महसुस गर्दै वर्तमान सधैँ आरोप र आक्षेपहरूको संवादक्रममा जिउँछ । विरक्त वर्तमानले आत्मस्वीकृतमा मौनता अपनाउँदा संवादहीनताको अवस्था सिर्जना हुन्छ जसले त्यहाँ ‘जेनेरेसन ग्याप’को स्थिति उत्पन्न हुन्छ । त्यो ग्याप भर्ने एउटा भरपर्दो माध्यम हो आख्यान । आख्यानमा जोडिएर आउने सामाजिकता, राजनीति, अर्थनीति, शिक्षानीति, संस्कार-संस्कृति, आदिका ससाना सूक्ष्माख्यानहरूले वर्तमानको जीवन र जगत्, दर्शन र व्यवहार तथा कर्म र परिणामहरूका शृङ्खला निर्माण गर्दछ । कथाकार प्रेम प्रधानले कृति ‘उमेरको घाउ’मा ‘दिशाहीन सडक’, ‘चिन्ता सल्केको पहाड’, ‘जीवन चौतारो र तीन रूख’, ‘शहरको भीडमा विद्रोहको पखेटा’, ‘जीवनका मूल्यहरूका खोजी’, जस्ता कथाहरूमा हाम्रै समय र भूगोलका उत्कृष्ट कथाहरू समावेश गरेका छन् ।

उल्लेख्य के छ भने कथाहरूमा उत्तराधुनिक समयबोधबारे कथाकार अधिक नकारात्मक देखिन्छन् । समय स्वयंमा निराकार, असीम र अपरिभाषित हुन्छ । समय सापेक्षित परिवर्तन त व्यक्ति, समाज, राष्ट्र र वैश्विक हुँदै स्वतः सापेक्षित भएर आउने हो । थुनेर या रोकेर नसकिने यो परिवर्तन के सधैँ भ्रष्ट, नकारात्मक, निस्सार र बेअर्थी मात्र छ त? यदि यस्तै मात्र हुँदो हो त मान्छे ज्ञात-अज्ञात बत्तीमा मथ झुत्तिएझैँ किन यसै दिशातर्फ प्रतिपल अग्रसर छन् त? अर्को कुरो वर्तमानको जुन रूप छ त्यसलाई तयार गर्ने को हुन् त? अवश्य यो नवीन चेतनासित केही सकारात्मकता या सुन्दरता त अवश्य छ जसले मान्छेलाई क्रमश: आफूतिर आकृष्ट गर्दैछ । यी प्रश्नहरू कृति ‘उमेरको घाउ’ले आजका पाठकलाई सोध्न बाध्य गराउँछ । कुनै पनि कथामा समयको यो सकारात्मक प्रक्षेपसित साक्षात्कार नहुनु कथाकारको कमजोरी देखिन्छ तर कथामा देखिएका समकालीन पीडा, त्रास, विसङ्गति र विशृङ्खलताको सत्यतामा शङ्का गर्ने कुनै ठाउँ भने छैन । यसैबाट पाठकलाई सकारात्मकताको उर्ध्वगामी यात्रामा कथाकरले हिँडाएका हुन् भने कथाकारको यस उद्देश्यलाई सलाम ठोक्नैपर्छ ।

(ख) यौन मनोविज्ञान र नारी संवेदन

कथाकार प्रेम प्रधानको सबैभन्दा सबल पक्ष हो फ्रायडीय यौन मनोविश्लेषणको व्यापक र गम्भीर अध्ययन अनि तीभित्र प्रतिपादित परिभाषा, सिद्धान्त र ज्ञान अनुरूपको आख्यानसिर्जन । सबल सिर्जनात्मक प्रक्षेपण । कुनै पनि वाद वा सिद्धान्त अनुरूपको सिर्जना फर्मुलाबद्ध र पुनरावृत्ति भइरहेजस्तो हुनु स्वभाविक हुन्छ तर सचेत र संज्ञानपरक हिसाबले सिर्जनामा ती कुराहरू सङ्केत र लक्षणाले दर्साउँदा पाठ कलात्मक, बोधगम्य र सुन्दर बनिने तथ्य अकाट्य छ तर विषय-ज्ञान र प्रयोगविधिमाथि सर्जक हर्दम सचेत र दायित्वशील हुनु अनिवार्य छ । कथाकार प्रेम प्रधानको फ्रायड यौन मनोविज्ञान अध्ययन र विश्लेषणसितै यसको सिर्जनात्मक प्रक्षेपणमा सजग र अब्बल देखिन्छन् ।

सिग्मन्ड फ्रायडले प्रतिपादन र सविस्तार अध्ययन प्रक्रियामा ल्याएको यो यौन मनोविश्लेषणले दर्साउँछ कि कुनै पनि चरित्रको व्यक्तित्त्व निर्माण यौन आधारित हुन्छ । पछि यसलाई कार्ल युङले अझ विस्तारित गर्दै यौनद्वारा निर्मित व्यक्तित्त्व र सत्ताका सारा कर्म र व्यवहार यसैद्वारा निर्देशित हुन्छ भनी बुझाए । इद, इगो र सुपरइगो, स्वप्न विश्लेषण, मनोविकार, अवसाद, पागलपन आदिका स्रोत र कारण यौन प्रकाशन र दमनसित सोझै सम्बन्धित रहेको देखिन्छ । समाजमा घट्ने अनैतिक तथा प्रतिशोधी सङ्घटनाभित्र पनि यौन-प्रकरण नै अधिक दायी रहेका उत्तरफ्रायडवादी अध्येयताहरू जनाउँछन् । आजको समयमा शताब्दीअघि प्रकाशमा आएको यो फ्रायडवादी दर्शनको पूर्ण व्यप्तता स्वीकार्य नभए पनि यसका परावर्तित चेतना र नवीन सङ्कथनहरूमध्ये एक विशेष अध्ययन क्षेत्र स्थापित छ नारी संवेदनको विमर्श वा नारीवादी लेखन ।

पुरुषकेन्द्री सामाजिक व्याख्या र विश्लेषणमा आधारित फ्रायडीय मनोविश्लेषणको प्रतिध्रुवमा उभिएको हो नारीवादी चिन्तन र लेखन । यो वैचारिक आँधीले ‘नारी जन्मिइँदैन तर बनाइन्छ’ भन्दै पहिले राजनीतिक परिवृत्तमा त्यसपछि चिन्तनमा र अहिले लेखनमा तहल्का मच्चाइरहेको छ । शारीरिक औ मानसिक ‍रूपले दुर्बल, अबला, र पराश्रयी मानिएका नारीहरू वास्तवमा परिवार, समाज, संस्कार, शिक्षा, अर्थनीति, परिवेश आदिले निर्धारित, र निर्मित संरचना मात्र हुन् नत्र भने प्राकृतिक तौरमा लैङ्गक विभेद कतै छैन भन्ने मान्यतासित आएको हो यो क्रान्तिकारी नवविचार । नारी समानता र स्वतन्त्रताको यो सङ्घर्ष अहिले नारीसत्ताको वैयक्तिक स्वतन्त्रता र आत्मिक प्रतिबद्धतामा पुगिसकेको छ । जे नै भए पनि यसको अभ्यन्तरमा तर यौन मनोविज्ञान गाँसिएर आएकै हुन्छ । यौन स्वतन्त्रतासित जोडिएर आउने तेस्रो लिङ्गी समाज, लेस्बियन र गे संस्कृति, सरोगेटेड मदर, लिभ-इन-रिलेसनसिप, जिगोलो र कलगर्ल आदि नवीनतम पदावलीहरू छन् जसले यौन संसारको नयाँ क्षितिज इङ्गित गरिरहेका छन् ।

कथाकार प्रेम प्रधानको यौन मनोविश्लेषणात्मक कथा लेखन केही पारम्परिक नै देखिन्छ । ‘कालो सर्प’ कृतिका कथाहरूमा होस या ‘प्रयोगको मसिन’ उपन्यासका कथानकमा यौनशक्तिको अनधतामा पात्र-पात्रा हत्तपत्त मर्यादा र नैतिकताको पर्खाल नाघ्दैनन् । बरु यसका निम्ति गरिएका सङ्घर्षहरू कथामा सौन्दर्य घटक बन्दछ । जस्तो ‘निर्मला’ कथामा आफ्नो सामाजिक मर्यादा जोगाउन अनि पारिवारिक भग्नता जोगाउन लोग्ने-स्वास्नी गोप्य सम्झौतामा पुग्छन् । ‘इच्छाको कठपुतली’ कथा केही फरक छ जहाँ डा. पाण्डे जस्ता शिक्षित र उच्चवर्गीय व्यक्तिले कथा नायिका अनुपमालाई ‘सरोगेटेड मदर’ बन्ने प्रस्ताव राख्छ । यस कथाले नारी संवेदनलाई नजिकबाट केलाएको छ अनि आफूलाई पुरुषको ‘प्रयोगको मसिन’ बनाउन असहमति जनाउने अनुपमाको मनोविश्लेषण प्रभावकारी बनेको छ । ‘बालुवाको घर, तिर्खा र गाग्रोको पानी’ कथाको शीर्षकमै प्रतीकात्मक अर्थ छ । कथामा यौन स्वतन्त्रताले निम्ताएको एड्सको सङ्क्रमण मूल सन्देश भए पनि कथाको अन्तमा साङ्केतिक ढङ्गले सरोज र सरलाको यौन तृप्ति फ्रायडीय परिसीमामा आइपुग्छ । कृति ‘उमेरको घाउ’ मा समावेश अन्य कथाहरू ‘माधवी र गुराँसको बोट’, ‘नयाँ बिहानको खोजमा’, ‘भोक’ सम्झौताको खोजमा’ आदिले पनि मानवीय यौनवृत्ति र यसको निकासका अँध्यारा-उज्याला पाटाहरू देखाउने कार्य गरेको छ ।

कथा ‘प्रतिशोध’बाहेक अन्य सबै कथाले अचेतन र अवचेतनमा दमित यौनेच्छाले इगो र सुपरइगोको पर्खाल भत्काउँदै कुनै न कुनै परिस्थितिमा यौन अभिव्यक्तिको बाटो खुलस्त पारेको छ । जसले गर्दा पात्र-पात्रा अवसाद, विसङ्गति र विकृतिको दलदलमा पुगी निस्सारवाद र अस्तित्वहीनताको पराकाष्ठमा पुग्दैनन् । नारी अस्मिता, मातृत्व, अनि सत्त्वका निम्ति सङ्घर्षशील र आत्मनिर्भर नारी पात्रहरूले कथामा आफ्नो सकारात्मक उपस्थितिको गहिरो छाप छोडेका छन् । कुनै पनि पात्र-पात्रा यौनकुण्ठाको प्रकोपले पागलपन र आत्महत्याको अवस्थामा पुग्नुपरेको छैन् । जीवन र मृत्युसित कथाकारको यो सकारात्मकता सराहनीय लाग्छ ।

(ग) सामाजिक सङ्कथन

आख्यानको समाज र समाजको आख्यानभित्र आउने अन्तःसंवाद आजको अध्ययन र ज्ञानानुशासनको नयाँ क्षेत्र छ । कथाले आफ्नो संरचनामा आफ्नो अलग समाजको स्थापना गरेको हुन्छ । स्वैरकल्पित सो समाजमा पात्र-पात्राको आ-आफ्नै संसार हुन्छ । त्यसैले कथाभित्रको सामाजिकता एउटै कालखण्डभित्र पनि विविध हुनसक्छ । त्यही विविध सामाजिकताभित्र हुर्किएका कथ्य, संवाद, चरित्र र परिवेशले पाठकलाई आफूतिर तानेर राख्छ । स्वैरकल्पित सो समाज अयथार्थिक हुँदाहुँदै पनि पाठकले आफ्नै समाजको आभास पाउँछ । आक्यानको त्यो समाज कथाकारको ऐच्छिक डिरीबाट नियन्त्रित हुन्छ । जब कि समाजको आख्यान केही प्रतीकात्मक ढङ्गमा कृतिमा ढालिएको हुन्छ । पाठककेन्द्री समाजको आख्यानमा पाठकले आफू बाँचेको समाजको स्वरूप र त्यसका प्रतिच्छाया खोज्छ । त्यसैले कुनै पनि कथाले त्यस समयको समाज र पाठकलाई सम्बोधन गर्न सकेन भने त्यो कथाको अस्तित्व प्रश्नको घेरामा पर्न जान्छ ।

कथाकृति ‘उमेरको घाउ’का कथाहरूमा व्याप्त समाज वैश्विक र आञ्चलिक दुवै अर्थमा समायोजित भेटिन्छ । मूलतः स्थानीयतालाई धेर प्राथमिकता दिइएको सामाजिकतामा भारतीय नेपाली/गोर्खा समाज नै सर्वोपरी देखिन्छ । जातीय उन्मुक्तिको नाममा चल्दै आएको छुट्टै राज्यको मागको सङ्घर्ष र यसको असफलताले दिएको मनोवैज्ञानिक प्रभाव, राजनीतिक चलखेलमा हुर्किरहेको व्यभिचार, भ्रष्टाचार, स्वार्थका जुन चित्र र परिस्थिति देखिन्छ त्यो हाम्रै र अहिलेकै समाज चित्रण हो भनी छुट्याउन गाह्रो पर्दैन । नारी विमर्श र नारीकेन्द्रका आदर्श कथा, मद्यपान, ड्रग्स तथा विविध कुलतले ग्रस्त भ्रष्ट युवा जमातको कथा, व्यक्तिगत स्वार्थ, लोभ र स्वायन्त सुखका निम्ति आफ्नोपन र मानवता हराउँदै गएको मान्छेको कथा, बोल्नुपर्ने ठाउँमा पनि बोल्नु र विरोधको स्वर निकाल्न नसक्ने हुतिहारा जमातको कथा, अरूको अन्ध अनुकरण र अनुसरणमा आफ्नो भाषा-संस्कृति दुत्कार्ने ढोङ्गी समाजको कथा, वैश्विक पर्यावरणको सङ्कट त बुझ्ने तर आफ्नै वरिपरिको परिवेश र पर्यावरण सर्वनाश गर्ने अधकल्चे सचेत समाजको कथा सबै हाम्रै समाजको यथार्थ चिनाउन कथाहरू सिर्जित छन् । मनोवैज्ञानिक कथा होस् या सामान्य पारिवारिक कथा; कथाकार प्रेम प्रधान सामाजिक सङ्कथनलाई नेपथ्यमा राखी सरल र उत्कृष्ट कथा बुन्नमा खप्पिस देखिन्छन् ।

“यहाँ सरकारले किन वृद्ध-वृद्धाहरूका निम्ति केही सोच्दैन?” (उमेरको घाउ)

“मैले सामाजिक काम गर्दा कोहीबेला त्यही राजनैतिक बन्दो रहेछ । समाजको व्यवस्थामा सुधार होस्, जातिको आस्तित्व र गरिमा कायम रहोस्, बस्ने वासभूमि हाम्रो पनि होस भनेर आन्दोलन गर्दा त्यो पनि राजनैतिक कुरो हुँदो रहेछ ।” (दिशाहीन सडक)

“पहाडतिर पनि अहिले वन-जङ्गल प्रायः समाप्त भइसक्यो । सरकारी एवं गैरसरकारी संस्थानहरूले व्यापारको नाममा वन जङ्गल नै सखाप बनाइसक्यो । फेरि आन्दोलनकारीहरूले पनि अलिकता रहेका रूख-पातहरू काटर नङ्गाइसकेका छन् ।” (चिन्ता सल्केको पहाड)

‘हाम्रा युवाहरू दिशाहीन भइरहेका छन् । तिनीहरू कुबाटोमा हिँडेर केवल ड्रग सेवनमा नै मस्त छन् ।” (शहरको भीडमा विद्रोहको पखेटा)

यसरी कथाकारले सामाजिक सङ्कथनमा हिजोका गरिमामय सामाजिकताको पुनर्व्याख्या गर्दै ‘वर्तमान समाज’को अनुहार चिनाउने प्रयास गरेका छन् अनि यसले निर्माण गर्दै लगेको यान्त्रिकी समाजको परिकल्पनाप्रति चिन्ता व्यक्त गरेका छन् । कथामा आफ्नो समाज र परिवेशको कथा पाएर पाठक धेरै ढुक्क छन् ।

पुछारमा

कथाकृति ‘उमेरको घाउ’का कथाहरू विषय र कथ्यको हिसाबले निकै फ्रेसजस्तो देखिन्छ तर पटक-पटक दोहोरिने विम्ब र प्रतीकले कथाको पुनरावृत्तिजस्तो पनि लाग्छ । कुनै कथामा अत्यधिक लामो संवादले पाठकलाई कथागर्भमा पुग्न निकै बाधा दिन्छ । केही कथाको पात्रको अवस्था श्रीमतीको मृत्युपछिको एकाङ्की जीवन, पश्चात्तापपूर्ण मनोभाव दोहोरिएर आएको छ ।

अत्यन्त प्रतीकात्मक र लाक्षणिक भाषा प्रयोग सबैखाले पाठकका निम्ति उपयुक्त नहोला तरै पनि यसले भाषिक शिष्टतासित यौनलेखनलाई अश्लील र सभ्य बनाएको छ । संयमित अनि अति आदर्श लेखकीय सत्ताको प्रक्षेपण कथाको चरित्रमा आरोपित भएको अलिक कृत्रिम लाग्छ । यद्यपि कथाहरू लेखकीय हैकमदेखि धेरै स्वतन्त्र र सहज प्रवाहित लाग्छ । भविष्यमा कृतिका कथाहरूलाई हेर्ने थप अरू कोण र पद्धति विज्ञजनले उपयोग गर्ने नै छन् । यति मात्र केलाएर हेर्दा पनि कथाकार प्रेम प्रधानको आख्यानकारी व्यक्तित्त्व प्रस्टै चिनिने छ । सबैले छिचोल्नै पर्ने गहकिलो कृतिका निम्ति कथाकारलाई बधाई ।

प्रतिक्रिया
Loading...