छैटौँ वातावरण साहित्य गोष्ठीलाई पारेर ‘स्वच्छन्द सुसेलीहरू २’ र ‘परिश्रान्त पृथिवी’ विमोचन गरिदैछ । यी दुबै पुस्तक इको कविताहरूका सङ्ग्रह हुन् ।

‘स्वच्छन्द सुसेलीहरू २’ मा ८२ कविताहरू राखिएका छन् । अधिकांश ती कविताहरू गत वर्षको पाँचौँ वातावरण साहित्य गोष्ठीमा स्रष्ठाहरूद्वारा वाचन गरिएका कविता हुन् । अतिथि कविका कविताको रूपमा २२ कविताहरू समावेश गरिएका छन् । अतिथि कविता वाचन गरिएका कविता नभै स्रष्ठासँग विशेष अनुरोध गरेर समावेश गरिएका कविता हुन् । सरुभक्त, इन्दिरा प्रसाईँ, विश्वविमोहन श्रेष्ठ, तीर्थ अधिकारी, स्वप्निल स्मृति, दिनेश अधिकारीजस्ता वरिष्ठ कवि तथा साहित्यकारका कविता यस पुस्तकमा सङ्ग्रहित छन् ।

‘स्वच्छन्द सुसेलीहरू २’ विजय हितानद्वारा सम्पादित पुस्तक हो । यसमा प्रा. डा. गोविन्दराज भट्टराई र प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेलको भूमिका लेखन छ भने असमका समालोचक ज्ञानबहादुर क्षेत्रीले शुभकामना लेख्नुभएको छ । यसलाई विश्व नेपाली साहित्य महासङ्घ साउथ युकेले प्रकाशन गरेको हो भने फिनिक्स बुक्सले बिक्रीवितरणकाे जिम्मा लिएको छ ।

सोही दिन विमोचन गरिने कवितासङ्ग्रह ‘परिश्रान्त पृथिवी’ भारतको गुवाहटि निवासि डा. देवेन सापकोटाद्वारा रचित पुस्तक हो । यस भित्रका ४१ कविताले काव्यिक भावमा पर्यावरणमा देखापरेका समस्यालाई अभिव्यक्त गरिएका छन् । यसर्थ यो एक इको राइटिङको ज्वलन्त उदाहरण हो । इको राइटिङभित्र आफ्नै विषयवस्तुहरू हुन्छन् ।

विकासनिर्माण, पर्यानारिवादी (इकोफेमिनिज्म), परिवृत्तीय, प्रकृति सौन्दर्य, ग्राम्यता र नगरीकरण, प्रदुषण, जलवायु परिवर्तन, जैविक विविधता, वन्यजन्तु चोरीसिकार, प्रकृतीसँग आदिवासिको सामिप्यता, धर्म र पर्यावरण । यी सबै तत्त्वहरूलाई यस कविताकृतिले समेटेको छ । यस पुस्तकमा विजय हितानको समीक्षात्मक भूमिका लेखन छ ।

छैटौँ वातावरण साहित्य गोष्ठी भर्चुवल माध्यमद्वारा ५ र ६ जून २०२१ का दिन इको मुक्तक वाचन गरेर मनाइँदैछ ।