साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

नेसास क्यानडाको पन्ध्रौं भर्चुअल काव्य शृङ्खला सम्पन्न

 

नेपाली साहित्य समाज (नेसास) क्यानडाको भर्चुअल कविता वाचनको पन्ध्रौँ कार्यक्रम मे ३० आइतबार सम्पन्न भएको छ। साहित्यकार स्नेह सायमि तथा प्राज्ञ लक्ष्मी मालीको विशेष उपस्थितिमा क्यानडाका विभिन्न सहरबाट उपस्थित कविहरूले कार्यक्रममा कविता, गजल र मुक्तक वाचन गरेका थिए। संस्थाका महासचिव मोहन खरेलको सञ्चालनमा शुरु भएको कार्यक्रमको सभापतित्व अध्यक्ष खेम गुरागाईले गर्नुभएको थियो।

रवीन्द्र लम्सालको गजलबाट शुरु भएको कार्यक्रममा कवि डा. तुलसी धरेल, कुसुम ज्ञवाली, डा. कुशुमाकर शर्मा, रविन थपलिया, राजेन्द्र कार्की, अनुप न्यौपाने, युवराज भण्डारी, डा. पुण्यसागर मरहट्टा, सुरेन्द्र राजभण्डारी, जयराम सिँखडा, शर्मिला पोखरेल, रेखा किरण पौडेल, खेम गुरागाई, मुक्ति गौतम, भीमलाल अर्याल, विजया ढकाल, शशि तिमिल्सिना र मोहन खरेलले विभिन्न समसामयिक विषयमा कविता वाचन गर्नु भएको थियो।

अतिथि कवि लक्ष्मी मालीले “एक पसर घाम” शीर्षकको कविता सुनाउँदै सबैले अरुले के गर्यो भनेर आलोचना गर्नु भन्दा मैले के गरेँ भनेर सोच्नु पर्ने बताउनुभयो । कवि तथा साहित्यकार स्नेह सायमीले कविहरुका वाचन गरिएका कवितामाथि टिप्पणी गर्दै प्रवासमा बसेर पनि नेपाल र नेपाली साहित्य प्रतिको श्रष्टाहरुको मायाको प्रशंसा गर्नुभएको थियो। क्यानडाका कविहरुले उत्कृष्ट कविता लेखेर वाचन गरेको उहाँले बताउनुभयो । सायमिले नेपालमा बसेर विदेशको कुरा गर्ने र विदेशमा बसेर नेपालको आलोचना गर्ने नेपालीहरुको बीचमा सम्वादको आवश्यकता औल्याउँनुभएको थियो। नेपालमा विकास भइरहेको र नेपालमा बसेर समेत काम गर्न सकिने भन्दै सकारात्मक सोचको विकासतर्फ उहाँले इङ्गित गर्नुभयो। उहाँ आफ्नो “पाइतला र भुईं” शीर्षकको मीठो कविता सुनाउँदै उहाँले आयोजक संस्थालाई धन्यवाद दिनुभयो।

कार्यक्रम शुरू हुनुअघि साहित्यकार राजेन्द्र सुवेदी र वानीरा गिरिको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै उहाँहरुमा हार्दिक श्रद्धा-सुमन प्रकट गरिएको थियो। साथै, यसै महिनामा पर्ने युग कवि सिद्धिचरण श्रेष्ठको जन्मदिवसको स्मरण पनि गरिएको थियो।

 

प्रतिक्रिया
Loading...