स्रष्टा साँझ अमेरिकाले गएको आइतवार, मे २३ तारिखमा युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती मनायो । संसारभरका प्रतिनिधि साहित्यिक श्रष्टाहरूको भर्चुअल उपस्थितिमा उक्त कार्यक्रम संचालन भएको थियो ।
कार्यक्रमलाई स्रस्टा साँझका अध्यक्ष प्रभात दीक्षितले स्वागत र साहित्यकार प्राध्यापक मोहन सिटौलाले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो । कार्यक्रममा बैकुण्ठ आचार्य डालस अमेरिका, गंगा लिगल अमेरिका, अनेसासका अध्यक्ष प्रकाश पौडेल माइला जापान, प्राध्यापक डाक्टर विश्वनाथ भण्डारी, चित्रा पौडेल, दुर्गा अधिकारी भमरखोले, किरण श्रेष्ठ, प्राडा मोहन लोहनी, अनेसास वोर्डअफ ट्रस्टिका उपाध्यक्ष पदम विश्वकर्म अमेरिका, साहित्यकार मन्जुल नेपाल, डाक्टर मधुकृष्ण श्रेष्ठ न्यूयोर्क अमेरिका, धर्मराज बराल, पार्वती भट्टराई, राधाकृष्ण काफ्ले, सङ्गीता सारथी, शंकर भारती, तीर्थ अधिकारी, उपमा आचार्य, पार्वती भट्ट, रामकुमार पण्डित, उपन्यास समाजका तर्फबाट पवन बुढाथोकी, चर्चित अभिनेता सरोज खनालआदिको सहभागिता रहेको थियो ।
युगकवि सिद्धिचरण श्रेष्ठका सपुत्र रविचरण श्रेष्ठको उपस्थितिले कार्यक्रमलाई अझ ऊर्जा र उत्साह प्रदान गरेको थियो।
भगवती पौडेलद्वारा सबै कीर्तिशेष साहित्यकारहरूको सम्मानमा एक मिनेट मौनधारणबाट कार्यक्रम शुरू गरिएको थियो । पवन बुढाथोकीले कार्यक्रमका सहभागीहरूलाई स्वागत गर्नुहुँदै उपस्थित हुनुहुने श्रष्टाहरूलाई धन्यवाद दिनुभयो । कार्यक्रममा युगकविका रचनाहरू र उहाँसँग सम्बन्धित रचनाहरू र सम्झनाहरूलाई मात्र वाचन गर्नका लागि पनि बुढाथोकीले अनुरोध गर्नु भयो ।
स्रस्टा साँझको चिनारी र संस्थाकोबारेमा बैकुण्ठ आचार्यले प्रकाश पार्नु भयो । सन् २०१७मा अमेरिकाको डालसको फुटवर्थमा स्रस्टा साँझका अध्यक्ष प्रभात दीक्षितसहित केही साथीहरूको उपस्थितिमा संस्था जन्मिएको आचार्यले बताउनु भयो । नेपालबाट आएका र नवप्रतिभाहरूलाई सप्तान्तमा भेला गरी नेपाली साहित्यमा केही योगदान दिने उद्देश्यले संस्थाको स्थापना भएको कुरा बताउनुभयो ।
सानो घरभित्रबाट केही व्यक्तिहरूको उपस्थितिमा २०१९ सम्म सञ्चालन हुँदै आएको थियो । २०२० देखि कोरोनाको वृद्धिसँगै जूमको माध्यमबाट कार्यक्रम शुरू गर्न थालियो। बालकार्यक्रम, कविता, उपन्यास, लघुकथा तथा श्रष्टा साँझ कार्यक्रमहरू सन्चालन भए । त्यसको अतिरिक्त मैथली भोजपुरी कार्यक्रमहरू पनि सन्चालन भए ।
त्यस्तै समसामयिक कार्यक्रमहरू जस्तो पारिजात जन्मजयन्ती र युगकवि सिद्धिचरण श्रेष्ठ सम्मान साँझको आयोजना भएको छ भन्नु भयो । नारायण गोपाल, हरिभक्त कटुवाल त्यस्तै गरी डालसमा रहेका भारतीय र पाकिस्तानी साहित्यकारहरूसँग समेटिएर हिन्दी उर्दू र भोजपुरी भाषामा समेत कार्यक्रमहरू भएको कुरा बताउनु भयो ।
त्यसपछि कार्यसमितिको पनि विस्तार गरी आठ जनाको कार्यसमिति बनाइयो । प्रभात दीक्षित अध्यक्ष, बैकुण्ठ आचार्य सचिव, विश्वराज अधिकारी लघुकथा संयोजक, विटु केसी श्रष्टा संवाद कार्यक्रम, शशी भट्टराईले मैथिली भोजपुरी, भगवती पौडेलले कविता कार्यक्रम, प्रतिमा खरेलले बालकार्यक्रम चलाउनु हुन्छ ।
पवन बुढाथोकीले नेपालमा रहेका श्रष्टाहरूसँग संयोजन गर्ने जिम्मा लिनु भएको छ । २०१७ देखि २०१९ सम्ममा १५ वटा मात्र कार्यक्रम भए पनि २०२० को जूनदेखि डिसेम्बर सम्ममा २५ वटा कार्यक्रमहरू भएको कुरा आचार्यले बताउनु भयो । त्यस्तै २०२१ को जनवरीदेखि अहिलेसम्म २० वटा कार्यक्रम गरी जम्मा ६० वटा कार्यक्रमहरू भएको बताउनु भयो ।
कार्यक्रममा सहभागी सदस्य शशी भट्टराईले युगकवि सिद्धिचरण श्रेष्ठको परिचय र कीर्तिमाथि चर्चा गर्नुभयो । यथार्थवादी, प्रगतिशील कवि जसले क्रान्तिबिना शान्ति हुँदैन भन्ने वर्षा कविता संग्रह भित्रको कविताको चर्चा उहाँले गर्नु भयो । बिसं १९९७सालमा राणाशासनको विरोधमा कविता लेखेको भन्दै सर्वस्वहरणसहित बन्दी बनायो । अठार वर्ष जेल सजाय तोकिएको भए पनि पाँच वर्षमा उहाँ जेलजीवनबाट मुक्त हुनुभयो । आवाज भन्ने पत्रिकाको प्रधान सम्पादक भएर प्रकाशन गर्नु भयो । गोरखा पत्रिकाको सम्पादन तथा शारदा पत्रिकाको सम्पादक भई सूचना सम्पादन क्षेत्रमा पनि ठूलो योगदान पुर्याउनु भयो । नेपाल प्रज्ञाप्रतिष्ठानको सदस्य भई २०१४ बाट २०२२ सम्म प्रज्ञा प्रतिष्ठानमा योगदान पुर्याउनु भयो । २०२२सालमा प्रज्ञाप्रतिष्ठानमा कविता महोत्सवको शुरूवात युगकविबाट नै भएको थियो । २०३० देखि २०३६ सालसम्म राजसभाको सदस्य हुनुभयो । युगकविले नेपाली भाषामा पुर्याएको योगदानको चर्चा गर्दै युगकविबाट रचित कविता वाचन गरी शशी भट्टराईले सुनाउनु भयो ।
त्यसैक्रममा संस्थाका अध्यक्ष प्रभात दीक्षितले २०१८ सालमा युगकविद्वारा लेखिएको कविता “मन्त्री मण्डल फेरिँदैगो फेरिएन देश, मेटिएन दुखकष्ट मेटिएन क्लेस” वाचन गरेर सुनाउनु भयो ।
सधैँ कविता मात्र सोचिरहने, सबैले कवि भनेर सम्वोधन गरिने कुरा माधव घिमिरेले सिद्धिचरणका बारेमा लेखेको कुरा दीक्षितले पढेर सुनाउनु भयो ।
संस्थाका अभियन्ता विश्वराज अधिकारीकी ममतामयी आमाको निधन भएको खबरले मर्माहत रहेको बताउँदै दीक्षितले संस्थाका तर्फबाट समवेदना र श्रद्धान्जली अर्पण गर्नुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।