अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आगामी शनिबार महानन्द सापकोटा जयन्ती तथा प्रतियोगितात्मक कवि गोष्ठी गर्ने भएको छ । भाषाशास्त्री सापकोटाको १२५ औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गर्न लागिएको उक्त कार्यक्रमा वाचित प्रतियोगी कवितामध्येबाट तीन जनालाई जनही एक एक सय अमेरिकी डलरको पुरस्कार प्रदान गरिनेछ ।

कविता गोष्ठीमा सहभागिता जनाउन चाहने कविहरूले दुई सय शब्दसम्मको समसामयिक विषयमा लेखिएको कविता कार्यक्रममा वाचन गर्न सक्नेछन् ।

अनेसास जर्जिया च्याप्टरको सहयोगमा हुने कार्यक्रम अनेसासले सापकोटाको नाममा गर्दै आएको पाँचौ वार्षिक अनलाइन साहित्यिक कार्यक्रम हुनेछ । कार्यक्रममा मोहन सिटौला , डा. शंकर सुब्बा फागो , महेश प्रसाई,गीतादेवी सापकोटा, राधेश्याम लेकाली, सन्जीव सापकोटा, तेराखलगायतले सापकोटाका साहित्यिक योगदानबारे प्रकाश पार्नुहुनेछ ।

नेपाली निर्वाचन नामक ग्रन्थका लागि दर्शन-विज्ञान विधामा २०२७ सालको मदन पुरस्कार प्राप्त गरेका सापकोटाका डेढ दर्जन साहित्यक कृति प्रकाशित छन् । पूर्वी नेपालको इलाम जिल्लाको इरौँटार देवानछापमा वि.सं. १९५३ साल वैशाख ३० मा जन्मेका सापकोटाको २०३५ साल असार १ मा देहावसान भएको थियो ।

पुरस्कारको प्रायोजन अनेसास बोर्ड परिषद्का सल्लाहकार रोहिणी शर्मा सापकोटाले गर्नुभएको छ ।