घाम मधुरो प्रकाशमा झुल्किएका छन् । बतास सुस्त छ । रुख-बुटाहरू टोलाएझैँ स्तब्ध उभिएका छन् । चराचुरुङ्गी विरह गीतमा डुबेको प्रतीत हुन्छ । सम्पूर्ण वातावरण  शोकाकुल देख्छु । मन यसै अतालिए जस्तो, निस्सासिएका वातावरणमा छटपट भइरहेको छ । सञ्चारमाध्यमले कोरोना महामारीमा थपिएका रोगीहरू, ठिक भएर घर फर्केको सङ्ख्या, जाती भएको अनुपात बताइरहेको छ । मृतकको सङ्ख्या अझ बढेको देखाउँछ । परिचित र आफन्तहरू त्यसमा परेको सुनिन्छ । सञ्चार माध्यमद्वारा कति त  अस्पताल भर्ती भएको खबर सुनिएको हुन्छ, कतिको अकस्मात् परलोकगमन पनि सुनिन्छ । मन व्यथित भई तड्पिन्छ । दुःख प्रकट, संवेदना, सबै त गर्नै पऱ्यो । यो नियम पालन गर्न लेख्नुपऱ्यो, “हार्दिक श्रद्धाञ्जलि” ।

यो कोभिड १९ अथवा कोरोना हाम्रातिर पोहोर २०२० मार्चबाट सुरु भएको हो । पोहोरैबाट घरभित्र बस्ने, कतै कोहीसँग भेट नगर्ने , ह्यान्ड सेनिटाइजरले हात बारम्बार धुने, बाहिर निस्किनु परे मास्क लाएर निस्किने अनेक नियम पालन गरी ल्याएका छौँ । कोरोना भएको मानिसको छेउ पर्न नहुने, मृत्यु भए मलामी जान नहुने सबै कुरा मानी ल्याएको । पोहोर हाम्रो यता शायद कोरोनाको कडा प्रकोप भएन । हामीलाई ठुलो असर परेन । हामीले विश्वास गऱ्यौँ हाम्रो खानपान दिनचर्या, जीवनपद्धतिमा कोरोनाको असर त्यति पर्दैन । हाम्रो रोग प्रतिरोधी क्षमता अधिक छ ।  युरोप अमेरिकाका मानिस कफल्ल हुन्छन् त्यसैले उनीहरूको  सहनशक्ति कम भएर उनीहरूको मृत्युदर अधिक भएको हो । यो हुन पनि सक्छ । हाम्रो देश (भारत)को जनसङ्ख्याका हिसाबले हाम्रो मृत्युदर कम थियो । सबै शान्त हुँदै गयो । जीवन पुनः आफ्नो बाटो हिँडन लाग्यो तर यो शान्ति लामो चलेन । दोस्रो वेभ  सुरु हुन लाग्यो । मानिस जति बिरामी भए, सबैलाई सास फेर्न गारो भो । अक्सिजनको कमी हरेक रोगीलाई महसुस भो ।  यो अवस्था कहिल्यै खडा भएको थिएन । हाम्रो सन्धानमा यी सबै कुरा पूर्णरूपले व्यवस्थित थिएनन् । डाक्टर अस्पताल यति धेरै थिएनन् कि…सबै बिरामीलाई उपलब्ध व्यवस्था प्राप्त होस् ।

देश पीडित भो । जनता अत्तालिए । प्रशासन अझ सक्रिय रह्यो । चारैतिर व्यवस्था तन्दुरुस्त गरियो । विश्वभरिबाट अक्सिजन ल्याइयो । ठुल्ठुला करोनाका लागि मात्र अस्पताल खोलिए । डाक्टर, नर्सहरू कोरोनाका अग्रपङ्क्तिका योद्धा । यिनीहरूको पनि सङ्ख्या कति पो छ र ?  धेरैभन्दा धेरै समय खटनुपर्ने । पोहोर सालको लापरवाहीले यसपटक धेरै खति भो भनी  प्रशासन राज्य सख्तसँग खडा भयो । कतै लकडाउन, कतै कर्फ्यु ,कतै बन्द अनेक तरिकाले मानिसलाई  घर भित्रै थुनियो । बिरामीको सङ्ख्या बढेको बढ्यै । मृत्युदर माथि उठेको उठ्यै । मलाई कोरोना भो भनेर जानेपछि मानिस आफैँ  मनोवैज्ञानिक कारणले पनि अझ कमजोर भो । पोहोरभन्दा शरीरको चहलपहल पनि कम भयो । सबैले योगासन आदि गर्दैन । हावा सदा मुख थुनेरै बाहिर निस्कनाले खुला हावा शरीरले पाएन । मुख थुन्नुपर्ने । सेनिटाजर, मास्क, इम्युनाइजेशनको चर्चा खुब भयो । यता अक्सिजनको कमी । ठिक भइसकेको मानिस फेरि नयाँ आवश्यकता पऱ्यो ।

आफ्नै देशमा भ्याक्सिन बनाई बलियो भएको देश , विराम बल्झिनाले फेरि झस्क्यो । त्राहि त्राहि सबैतिर । आइ॰सि॰यु॰, ओक्सिजन जुन विशेष बिरामीलाई चाहिन्थ्यो, प्रत्येकलाई जरुरी । बिरामीको सङ्ख्या कति धेर । यता भ्याक्सिन पनि बन्यो र सबैलाई हानिरहेको छ तर यहाँ लाख लाख, एक दुई करोड भैक्सिनले केही काम काट्ने होइन । अरब पार भएको जनसङ्ख्या, समय लाग्छ, भ्याक्सिनलाई । हाहाकार छ देशभरि । बिरामीको मृत्यु भएको समाचार आउँछ । प्रायः सङ्ख्यामा मात्र । विशेष व्यक्तिहरूको नाम पद आदि आउला । प्रायको सङ्ख्यामात्र बताइन्छ । राज्यले राष्ट्रिय महान् व्यक्तित्वहरूको  श्रद्धाञ्जलि दिनुपर्ने हुन्छ । न त मलामी जानु हुने, न त मानु चामल । संवेदनाहरू यसै यसै लुप्त हुँदै जाँदैछन् ।  ” हार्दिक श्रद्धाञ्जलि” मा हामीले सबैलाई बिदा गरी आएका छौँ ।

आज पनि हाम्रा आत्मीय , महान् व्यक्तिको निधन भएको छ । म दुःखी बनी श्रद्धाञ्जलि सन्देश लेखी पठाइरहेको छु । मलाई मलामी जानु, मानो चामल पुऱ्याउनु, किरिया पुत्री रुँग्नु केहीमा नगई नहुने बाध्यता अब छैन । “म संवेदना निमोठिएको शुष्क हृदयी, ममा जसरी भए पनि म बाँच्नुपर्छ” को संस्कार पूर्ण  विकसित भएको छ । झ्याल ढोका थुनी, कोरोनाको युद्धमा म एक्लै लड्दैछु । एक्लै लड्न पाएको निर्देशमा हामी थुनिएर लडेका छौँ । ” मर्दाका मलामी, बाँच्ताका जन्ती ” फेरि कहिले हुन सकिन्छ म त्यही दिनलाई पर्खेर बसेको छु । “हार्दिक श्रद्धाञ्जलि” लेख्नलाई थाकेका औँलाहरू थाकेर/अल्मलिएर  हाम्रा मृत देहहरू जथाभावी लडिरहेको अवस्था देख्न नपरोस्, ईश्वरसँग यही प्रार्थना छ ।