परिचय :

असमेली नेपाली साहित्यका सशक्त कथाकार, कवि, निबन्धकार, अनुवादक, कुशल सम्पादक एवं संगठक रुद्र बरालको जन्म सन् १९६७ को ०६ जनवरीमा असमको शोणितपुर जिल्लाअन्तर्गत बडसोलाको बडभोगिया गाउँमा भएको हो । उहाँका बुबा स्व.जय नारायण बराल र आमाको नाम रुक्मिणी बराल हो । विशेषत नेपाली र असमीया दुवै भाषामा बराबर कलम चलाउने बरालले आजको मितिसम्म आइपुग्दा निकै साहित्यिक कृतिहरू जन्माउन सफल भएको देखिन्छ । उनका मौलिक कृतिहरूमा – चरित्रहरूको खोजीमा अल्मलिँदा (कथा सङ्ग्रह, सन् – २०१४), तेस्रो आँखो (कवितासङ्ग्रह- २०२०), ब्रह्मपुत्रका लिगेसीहरू (निबन्धसङ्ग्रह- २०२१) । बराल एकजना प्रतिष्ठित अनुवादकका रूपमा पनि चिनिन्छन् । उनका अनूदित कृतिहरू – शहीद ए- आजम भगत सिंह ( हिन्दीबाट असमीयामा अनुवादित-२००७), बिप्लवी आन्दोलन र मार्गदर्शनगत उत्तरण ( अङ्ग्रेजीबाट असमीयामा अनूदित- २००८), दमिताको दस्तावेज (असमीयाबाट नेपालीमा अनूदित- २०१६) । सम्पादन क्षेत्रमा पनि बरालको राम्रो दखल भएको कुरा उनले सम्पादन गरेका पुस्तकहरूबाट थाहा लाग्छ-सम्प्रीति ( बहुभाषिक कविता सङ्कलन- २००७), असमीया आरु नेपाली भाषा- साहित्य- संस्कृति (असमीया- २०१५), नेपाली साहित्यत आलोकपात (असमीया- २०१७), स्मृतिका तरेलीमा कर्णबहादुर (२०१७), निजर कर्मर सुभासत पारिजात (संयुक्त, असमीया- २०१९), भारतेली नेपाली साहित्यको गति र प्रवृत्ति (२०१९), सभावार्ताका ४ अङ्क आदि ।

कृतिको संरचना : 

‘चरित्रहरूको खोजीमा अल्मलिँदा’  कथा कृति ७९ पृष्ठको रहेको छ । असममा नेपाली पुस्तकको बिक्री- वितरणमा अनेकौँ गुनासाहरू सुनिएकै बखतमा यस कृति दोस्रो संस्करणका रूपमा छापिनु साहित्यका लागि शुभ संवाद नै हो । पहिलो प्रकाशनको दायित्व ओदालगुडी, हाबिगाउँको कटुवाल प्रकाशनले गरेको छ भने दोस्रो प्रकाशन, असम नेपाली साहित्य सभा, शोणितपुर जिल्ला समितिको पक्षमा रहेको छ । कृतिको मूल्य १०० रुपियाँ राखिएको छ । यस कृतिको मुद्रण शोणितपुर सिराजुलीस्थित प्रिन्टिङ पइन्ट अफसेटमा भएको छ । यस दोस्रो संस्करणलाई बरालले आमाको नाममा समर्पण गर्दै यसरी लेखेका छन्- ” स्नेहमयी आमाको स्मृतिमा यो दोस्रो संस्करण समर्पित गर्दछु । ”
कृतिप्रति सर्जकहरूको अभिव्यक्ति :

यस कृति र कथाकारप्रति शुभकामनारूपी सन्देश दिने सर्जकहरूको अभिव्यक्ति पनि यहाँ उल्लेख गर्न चाहन्छु । यस कथाका भूमिकाकार अध्यापक घनश्याम तिम्सिनाले भूमिकामा असमेली कथाकारहरूको योगदानबारे यसरी उल्लेख गरेका छन् – “असमेली कथाकारहरूको योगदानलाई छुट्टै रूपमा हेर्दा रामप्रसाद ज्ञवालीलाई यस भेकका पहिलो कथाकारका रूपमा मानिएको छ । उनको ‘कलङ्क’ (सन् १९३७) कथा नै असमेली कथा विधाको पहिलो कथा हो भन्ने मानिएको पाइन्छ । त्यसपछि असमेली नेपाली कथा विधामा योगदान पुऱ्याउने कथाकारहरूमा – टङ्कनाथ उपाध्याय, हरिप्रसाद गोर्खा राई, दुर्वासा उपाध्याय, हरिभक्त कटुवाल, लीलबहादुर क्षत्री, पद्म ढकाल, लक्ष्मण बोहोरा, शेरमान थापा, के. बी. नेपाली, होमबहादुर क्षत्री, विष्णु शर्मा न्यौपाने, टीकाराम उपाध्याय ‘निर्भीक’, अविनाश श्रेष्ठ, ज्ञानबहादुर छेत्री, खड्कराज गिरी, मोहन सुवेदी, खड्गबहादुर कौशिक, डम्बर दाहाल, डा. शान्ति थापा, रेवतीमोहन तिम्सिना, जीतबहादुर सुनार, इन्द्रकान्त कार्की, देवीचरण सेडाई, डिल्लीराम खनाल, रिजु देवी आदि कथाकारहरूको योगदानले असमेली नेपाली कथा यात्रामा निम्न प्रवृत्तिलाई आत्मसात् गर्दै अघि बढेको छ- सामाजिक यथार्थवादी कथा देखना निरन्तरता, असमेली नेपालीहरूको जीवनशैलीको सूक्ष्म निरीक्षण, वर्तमान समाजका विकृति, विसङ्गति, यान्त्रिक जीवनको चित्रण, सहज- सरल भाषिक प्रयोग र संवादमा कथ्य भाषाको प्रयोग, अधिकांश त रैखिक ढाँचाका कथा लेखन, केही मात्रामा अरैखिक ढाँचाका प्रयोगमूलक कथालेखन ।” (पृष्ठ – ७७) शुभकामनारूपी सन्देशमा दार्जीलिङका चर्चित समालोचक नवीन पौड्यालले यसरी लेखेका छन् -” यस सङ्ग्रहको मूल विषय क्षेत्र सामाजिक यथार्थवाद हो । विषयवस्तु चयनमा बराल सचेत देखिन्छन् । वर्तमान युगमा बेरोजगारी समस्याको विकराल स्थिति, यसका समाधानका निम्ति युवा – युवतीहरू घर- परिवार छाडेर सहरतिर गई काम गर्नुपर्ने स्थिति; अनावश्यक तर आवश्यक ठानिएका विभिन्न अत्याधुनिक वस्तु जोगाडका निम्ति नैतिक- अनैतिक कृत्यहरू, नारीसुलभ ईर्ष्याबाट उब्जेका मानसिक समस्या, दाइजो प्रथाको दुष्परिणाम आदि कुरा कथ्यको रूपमा पाइन्छन् । कथाका जम्मै विषय यसै समयका विभिन्न समस्याबाट उब्जिएका छन् । उनका कथामा बालमनोविज्ञानको पनि झलक पाइन्छ ।” (कभर बेक पेज) यस कृतिमा समावेश भएका शुभकामनारूपी सन्देशहरू सोझै सर्जकसँग नलिएर खबर कागत र पत्रिकाबाट पनि साभार गरिएका छन् । असमका सर्जक नारद निरोलाको शुभकामनारूपी सन्देश ‘देशवार्ता’ खबर कागत (सन् २०१४, मई) बाट लिइएको हो ।

कृष्णनील कार्की (असम)

“बरालको कथासङ्ग्रह पढ्दा उनको यो पहिलो प्रयास जस्तो लाग्दैन । सायद यस्तो लाग्नु उनको उत्कृष्ट भाषाशैली, कथासिप र कथा वर्णनको क्षमता नै होला। बरालको प्रतिवादी र प्रगतिवादी कलम यसरी नै चल्दैजाँदा आउँदा दिनहरूमा हाम्रो साहित्य भण्डारमा उत्कृष्ट कृतिहरू पाउँछौँ ।” (कभर बेक पेज) यसरी नै असमका चर्चित समालोचक लक्ष्मण अधिकारीको शुभकामनारूपी सन्देश सभा दर्पण, अङ्क -३ बाट लिइएको हो । अधिकारीले बरालका कथाहरूप्रति यसरी आफ्नो मत व्यक्त गरेका छन् ” कथाकार रुद्र बरालका कथाहरूले मानव जीवनका ससाना परिघटनालाई दर्साएर अघि बढेका छन् । घटनाहरू साना तर महत्त्वपूर्ण छन् । कथाकारको सिप र शैली नवीन छ । विषयवस्तु नवीन छ । ‘चरित्रहरूको खोजीमा अल्मलिँदा’ कथाकारको आजसम्मको कथाभित्रको एकमात्र मौलिक कथाकृति हो तर लेखक एकजना प्रतिष्ठा कमाइसकेका लेखक हुन् । त्यसैले उनको यस सङ्ग्रहभित्र रहेका जम्मा बाह्रवटा कथा नै कथात्मक पुष्टि पाएका कथा हुन् ।”( कभर बेक पेज)

कृतिभित्र प्रवेश गर्दा :

यस कृतिभित्र १२ वटा कथाहरू रहेका छन् । पहिलो कथाको शीर्षक ‘आमा’ छ । यस कथामा दुई जनगोष्ठीहरूका बिच भएको सङ्घर्षको यथार्थ चित्रण गरिएको छ । सङ्घर्षपछि राहत शिविरमा बसेका शरणार्थीहरूलाई भेट गर्न गोहीका आँसु चुहाउने नेताहरूको घुइँचो साथै गैरसरकारी र संस्थाका कार्यकर्ताहरू सहायताका नाउँमा मौकाको लाभ उठाउन दिलोज्यान लागेको यथार्थ वर्णनले नेता र सरकारको कार्यशैलीमाथि व्यङ्ग्य प्रहार गरिएको छ । सङ्घर्षमा आफ्नो सन्तान गुमाएकी अरुणिमाको मातृहृदय कसैको नानी रुँदा विचलित हुनु स्वाभाविक हो । सालिमा आखतारको वियोग हुँदा नानी मातृहारा भई रुनु र शोकाकुल अरुणिमा भोकातुर बालकलाई स्तनपान गराउन लुकेर अर्को शिविरमा पुग्नु जस्ता भोक र शोकहरू एकाकार भएका भावले सजिएको छ कथा । अन्तिममा शोक र भोकहरूका बिच पर्खाल बनिएर अमानवीय शक्ति दिनौँ मौलाउँदै गरेको सङ्केत सलिमा आखतारको नानीलाई दूध पिलाउन लुकीछिपी अर्को शिविरमा अरुणिमा गएकी अनि भोलिपल्टका समाचार पत्रका हेडलाइनमा छापिएको खबरले पनि दिन खोजेको छ- ” महिला उग्रवादीद्वारा अँध्याराको मौका छोपेर शरणार्थी शिविर आक्रमणको कोसिस; अरुणिमा नाउँकी एक उग्रवादीको हत्या।”

कृतिभित्रको दोस्रो कथा हो ‘पुरस्कारको आशामा एउटा कथा’ । यस कथामा कथाकारकले कथा लेख्न राम्रो कथानकको प्रयोजन हुन्छ भन्ने सन्देश दिन खोजेका छन् । ” तँ साहित्यकार बन्न खोजेको ? तँ ठुलो मान्छे बन्न खोजेको ? बन्द गर् तेरो कलम । ठुलो मान्छे बन्न चाहन्छस् भने कालो धन्दा गर्, फुच्चे राजनीति गर्, पैसा कमा । त्यसपछि पुरस्कार किन्, प्रतिष्ठा किन्, मर्यादा किन् । यहाँ सम्मान र प्रतिष्ठा त बजारमा बेचिन्छ, बजारमा किनिन्छ तर हेर् नानी, तँ साहित्यकार नबन् । ” जस्ता अभिव्यक्तिले असल साहित्यकारको पीडा साथै धन, क्षमता र नातावादको जोडमा साहित्यकार बन्न खोज्नेहरूलाई चोटिलो व्यङ्ग्य वाण प्रहार गरिएको छ

‘पोकलीदेखि परिस्मितासम्म’ यस कृतिको तेस्रो कथा हो । मानसिक द्वन्द्व र विवशतालाई लिएर अघिबढेको यस कथामा प्रगतिवादी चेतना स्पष्ट रूपमा झल्किएको पाइन्छ । पहिरनले मानिसको विचार झल्काउँछ र मानिसको कार्यकलापमै उसको मतादर्श छिपेको हुन्छ भन्ने धारणा यस कथाले बोकेको छ । आधुनिक रहन- सहन, फेसन, स्टाइल आदिमा व्यस्त समाजका कतिपय सौखिनहरू हाम्रा अनन्त भोगाइहरूको जड केलाउन असमर्थ भएका छन् भन्ने कुरालाई कथाले भरसक औँल्याउने प्रयत्न गरेको छ । अहिले विज्ञान र प्रविधिको भरमा अघिबढेको प्रेम र अघिको गाउँले साधारण परिवेशमा सामाजिक छेकारो र सङ्कोचको बिचमा हुर्किएको प्रेमको तुलनात्मक पाटोलाई कथाले केलाएको छ ।

‘पु….. प्पु … पुरी’ कथामा धनाढ्यपनको स्वाङ देखाइएको छ भने गरिबी र गाउँले परिवेशको चित्रण पनि गरिएको छ । मित्रताको ताकतले धनी-गरिबको पर्खाल नाघ्न सक्ने धारणा यस कथाले प्रस्तुत गरेको छ । पार्टी, बार्थ डे आदिका नाममा राजभोग, अतिथिमा मन्त्री, विधायक जस्ता पावारफुल व्यक्तिहरूलाई निमन्त्रण अनि राज आतिथ्य र गरिबलाई अछुतको झैँ व्यवहारले सामाजिक असमानतालाई उजागर पारेको छ यस कथाले ।

‘अभिनन्दन पत्र’ कथाले शिक्षित भएर भ्रष्टाचारमा डुबी आदर्शवादी घर- परिवारलाई मानसिक द्वन्द्वमा धकेलेको धारणा प्रस्तुत गरेको छ । खबर कागतले राम्राभन्दा पनि नराम्रा खबर छापेर आफ्नो मुनाफा कमाइरहेको अनि मानिसहरू पनि नराम्रैतिर लम्किरहेको यथार्थलाई यस कथाले छोएको छ ।

‘अपरिभाषित जीवन’ कथामा जीवनका विभिन्न पाटाहरूलाई प्रस्ट्याउने प्रयास गरिएको छ। दुई आँखा सपना र एकमुटु सम्झना बोकेर परदेश पुगेको युवराजले परिस्थितिअनुसार झेलेका विभिन्न समस्याहरूको यथार्थ वर्णन छ कथामा। परदेशमै हुँदा छोरो जन्मिएका युवराज खुसी हुनुसाथै दुखी पनि थियो । जीवनबारे युवराज र उसको छोराको परिभाषा भिन्नै हुन सक्छ । जसरी ‘जीवनको लक्ष्य’ बारे स्कुले जीवनमा युवराजले निबन्ध लेखेको थियो व्यवहारिक जीवनमा त्यसको कुनै सम्पर्क प्राय उनान्सय प्रतिशतकै नहोला । अब फेरि उसको छोराले उसको जीवनको लक्ष्य खोज्ला । “जीवन एक स्वच्छन्दतावादी कविता होइन, एक प्रयोगवादी कथा हो । पात्र- पात्राको कार्यव्यापारमा बदलिन्छ यसको परिभाषा । परिवेशगत भिन्नतामा भिन्नभिन्न हुन्छन् यसका उपलब्धिहरू । जीवनका अनुभवहरू खण्ड खण्ड छन् । यहाँका पात्रहरूको भोगाइमा दूधको दूध पानीको पानी फरक छ । सार्वकालिकता र सार्वस्थानिकता जस्ता शब्दहरूले शब्दकोशभित्र आत्मगोपन गरेकागऱ्यै छन् बर्सौँदेखि । जीवनलाई आयामिकीकरण गर्न सकिन्छ? कति आयाम छन् यसका ? एक? दुई? तीन? कि धेरै, असीम? ” जस्ता अभिव्यक्तिले जीवनको अर्थ र परिभाषा दिने प्रयत्न गरेको छ कथामा ।

‘डाहा’  कथामा कसैको उन्नति र प्रगति नै पनि कसैका लागि डाहामा परिवर्तन हुन सक्छ भन्ने धारणा दिइएको छ । “सान्त्वनाको भाग्यप्रति उसका साथीहरूमा डाहा थियो तर सामुन्नेमा सबै उसको दाम्पत्य जीवनको प्रशंसा गर्दथे । मुटुभित्र आगाका ज्वाला लुकाएर मुखबाट अमृतका छिटाहरू बर्साउँथे साथीहरू । सान्त्वनाको संसारमा आगो सल्किसकेको रहेछ । नितालाई थाहा भयो – डाहाले उनीहरूको मनमा सल्काएको आगोभन्दा सान्त्वनाको संसारमा बाल्नलागेको आगो कति भयानक, विध्वंसी रहेछ । उसले सोची- उनीहरूले तो टाढाबाढ पहाडको सौन्दर्यमात्र देखेका रहेछन् तर पहाड हिँडेका रहेछन् सान्त्वनाकाझैँ ।” जस्ता अभिव्यक्तिबाट आजको घरेलु परिवेश र पात्रहरूको यथार्थ चित्रण गरिएको छ ।

‘अर्को एक हेनरी’ कथाले मजदुरको यथार्थ चित्रण गरेको छ। मेघालयको कोइला खानीमा कामगर्ने धनबहादुरलाई प्रमुख पात्र लिएर अघिबढेको कथाले श्रमिकको व्यथालाई उजागर पार्ने प्रयास गरेको छ । कोइला खानीमा काम गर्ने नेपालीहरूको जीवनशैली, पिरमर्कालाई कथाले छोएको छ ।

स्वार्थपूर्तिका नाममा कतिपयले साहित्यलाई गलत तरिकाले व्यवहार गरेको यथार्थ ‘ मूल्याङ्कन’ कथाले बोकेको छ । कथाको पात्र गोमानधोजको मृत्युमा मलामीका अरू पात्रहरू पनि थपिन्छन् अनि दाह- संस्कारको परिवेशमा मलामी गएका पात्रहरूको बातचित र कार्यहरूको पनि चित्रण गरिएको छ । दाह- संस्कारपछि गोमनधोजको स्मृतिग्रन्थ निकाल्न गठित भएको सम्पादना समितिको रूपरेखा अनि स्मृतिग्रन्थका लागि आएका लेखहरूले सम्पादकको माथापच्ची गरेको यथार्थ चित्रण गरिएको छ। “…. होइन, अब पच्चिस वर्ष दोलाबारीबड कुनै स्मारिका ननिकाले पनि हुन्छ । कारण, अब मर्दा स्मारिका निकाल्नुपर्ने तिमेरू नै हौ र यसैमा तिर्मेले गोमनधोजको भन्दा आफ्नो विषयमा विस्तृत जानकारी दिएकै छौ र तिर्मेको पनि स्मारिका यही नै हो । ” जस्ता अभिव्यक्तिले सम्पादना समितिको कर्तूतलाई दह्रो व्यङ्ग्य वाण हानिएको छ ।

‘एक यात्रा : सपनावारि, सपनापारि’ कथामा सपनालाई वास्तव रूप दिन निकै सङ्घर्ष र मेहनत गर्नुपर्छ भन्ने धारणा व्यक्त गरिएको छ । सपना त सपनामै सुन्दर र राम्रो लाग्छ । विशेष गरी अल्छेहरू घाम टाउकामाथि आजसम्म सुतेर सपना देख्छन् र रमाउँछन् । विपनामा उनीहरूको कर्मभन्दा पनि गफै ठुला हुन्छन्। यस कथाले सपनामा बाँचेका मान्छेले विपनामा भोग्नुपरेका यथार्थ पीडालाई केलाएको छ ।

‘म मर्दिनँ’ कथामा कथाकारले उग्रवादले ग्रसित समाजको चित्रण गरेका छन् । कथामा उग्रवादको चपेटामा परेका शिक्षित युवाहरूको दुर्दशा र राष्ट्रतन्त्रका प्रहरीबाट निर्दोषलाई दोषी बनाउने प्रवृत्ति पनि यस कथामा पाइन्छ । कथामा कतिपय अभिव्यक्तिहरू बडो भाषामा पनि राखिएको छ । खबर कागतमा प्रसारित न्युजहरूको ढाँचा पनि राखिएको छ ।

कृतिको अन्तिम कथा हो ‘बजार’ । यस कथामा  अफवाहले सामाजिक परिवेशलाई पिरलेको यथार्थ चित्रण छ । अफवाहको सत्यता छानबिन नगरिकन दौडेका मानिसहरूको मानसिकताको वर्णन छ कथामा । अफवाह सन्दर्भमा कथाकारले गजाधरमार्फत अभिव्यक्ति यसरी राखेका छन् – ” तिम्रो सोच- विचार केही छैन । कसैले केही भन्यो त्यसैमा कुद्यो । अफवाह एउटा फैलियो कि तिम्रा खुट्टा बुरुकबुरुक । तिमीले बिर्स्यौ, गणेशलाई दूध खुवाउन गएर दाहिने हात भाँचेर आएको कुरो?

भाषाशैली  : 

बरालका कथामा प्रयोग गरिएको भाषाशैली नवीनता छ । कथामा नाटकीय पाराका संवाद प्रयोग गरिएको छ । कथाहरू वर्णनात्मक र संवादात्मक शैलीमा पाइन्छन् । कथाभित्रका सामाजिक विषयवस्तु, सरल र बोधगम्य शैली तथा कथ्यको रोचकताले गर्दा पठनीय बनेका छन् । सरसताभित्र गहनताको भाव पनि कथामा पाइन्छ ।

प्रयोजनअनुसार केही अङ्ग्रेजी, हिन्दी र आञ्चलिक भाषाहरूको पनि प्रयोग पाइन्छ । बुनोटपक्ष तार्किक नै छ । कथाहरू पढ्दै जाँदा कतै पट्यार लाग्ने, बोझिलो र रुखो भने पटक्कै छैनन् । कतै कतै उखान, टुक्काको पनि प्रयोग पाइन्छ । उखान, टुक्काले अझ कथामा मिठास भरेको छ ।

शीर्षकीकरण : 

यस कथा कृतिभित्र थुप्रै चरित्रहरू पाइन्छन् । कुनै चरित्रले सामाजिक न्याय खोजेको छ भने कुनै राजसत्ता र सामन्तीहरूको चङ्गुलमा फँसेको छ । कुनै चरित्र माया- प्रेमको खोजीमा छ भने कुनैले क्रान्तिकारी आवाज उठाएको छ । कुनै चरित्र कसैको उन्नति र प्रगतिमा भतभती जलेको छ भने कुनै मानसिक द्वन्द्वको आगोमा हुमिएको छ । कुनै चरित्र धनाढ्यपनको अहमतामा उडेको छ भने कुनै चरित्र गरिबीपनको बोझमा थिचिएको छ । कुनै चरित्र धन, दौलत र क्षमताको जोडमा साहित्यकार बन्ने होडमा छ भने कुनै चरित्र असल साहित्यकारको पक्षमा उभिएको छ । त्यसैले सालाखालामा भन्नुपर्दा विषयवस्तु अनुरूप कथाकृतिको शीर्षक ‘ चरित्रहरूको खोजीमा अल्मलिँदा’ उचित ठहरिएको छ ।

निष्कर्ष :

पहिलो कथाकृतिबाटै वरिष्ठ छाप छोड्न सक्षम कथाकार रुद्र बरालका कथामा प्रगतिवादी चेतना स्पष्ट रूपमा मुखरित भएको पाइन्छ । कथामा मूल्य चेतनाले समकालीन समाज व्यवस्थालाई सामयिक सन्देश दिएको छ । सबै कथाहरूले सकारात्मक पक्षलाई नै बढी प्राधान्य दिएका छन् । यो कथाकृतिले असमेली नेपाली कथा विधामा कोसे ढुङ्गो थपेको छ भन्दा अत्युक्ति नहोला । रुद्र बरालबाट भविष्यमा अझ गहकिला कथाहरूको सँगालो हामीले पाउनेछौँ भन्ने आशा गर्दै साहित्यिक यात्रा अझै सक्रिय र सफल रहोस् भन्ने कामना गर्दछु ।