नेपाली साहित्यका हस्ती कथाकार तथा गीतकार आदरणीय  अग्रज विश्वराज अधिकारी नेपाली साहित्य क्षेत्रका एक नक्षत्र हुनुहुन्छ । उहाँले  नेपाली साहित्य जगत्लाई विस्तार गर्नका लागि करिव दुई दर्जन कृतिहरू प्रकाशित गरिसक्नुभएको छ ।

विभिन्न विश्व विद्यालयहरूमा बिसौँ वर्षसम्म अध्यापन गर्नुभएका अधिकारीका पुस्तकहरू पाठ्यक्रममा समेत समावेश भएका छन् । हाल संयुक्त राज्य अमेरिकाको ओक्लहोमा राज्य स्थित ‘ओक्लहोमा कम्युनिटी कलेज’ मा  अध्यापन गराउनुहुन्छ ।

अब्बल प्रतिभावान् अधिकारीले धेरै पहिले नै  बज्जिका भाषाको ‘बङ्मती से लमहा’ नामक गीतिसङ्ग्रह प्रकाशित गरेर बजारमा ल्याइसक्नुभएको छ । त्यसले उहाँलाई आफ्नै मातृभाषामा लेखिएको गीत प्रकाशित गर्नु कुनै नौलो कुरा होइन । नौलो कुरा त यो हो कि उहाँले गीतिसङ्ग्रह अधुरो प्रेम प्रकाशित गर्नुअघि गीतका बारेमा गर्नुभएको खोज अध्ययन र अनुसन्धान ।  उहाँको यस सङ्ग्रह पढ्ने हो भने गीतका बारेमा सम्पूर्ण जानकारी हासिल गर्न सकिन्छ ।

यस सङ्ग्रहको अध्ययनपश्चात् मलाई यस्तो महसुस भएको छ कि  कुनै विधामा कलम चलाएर सङ्ग्रह निकाल्नु ठूलो कुरा होइन  । ठूलो कुरा त त्यो विधामा गरिएको अध्ययन  खोज र अनुसन्धान हो । जुन खोजले मजस्ता भर्खरै कलम चलाउन खोज्नेहरूलाई गीतका बारेमा पूर्णरूपमा ज्ञान प्राप्त हुन्छ ।  गीतका बारेमा सम्पूर्ण जानकारी अधुरो प्रेममा पाइन्छ । यसर्थ आदरणीय गुरु विश्वराज अधिकारीज्यूलाई मेरो तर्फबाट हार्दिक आभार व्यक्त गर्दै सम्पूर्ण शुभचिन्तकहरूलाई उहाँको गीतिसङ्ग्रह पढेर ज्ञान लिनुहुन हार्दिक अनुरोध गर्दछु ।

यस सङ्ग्रहमा जम्मा ११२ पृष्ठ रहेका छन् । तीमध्ये पृष्ठसङ्ख्या १५ देखि पृष्ठसङ्ख्या ३१ सम्म गीतप्रतिका धारणामा केन्द्रित छन् । यी धारणाहरूले म जस्ता पाठक तथा सिकारुलाई गीतका बारेमा पूर्ण ज्ञान दिनेछ भन्ने कुरामा विश्वस्त छु ।

जम्मा ६९ वटा गीतहरू रहेको यस सङ्ग्रहमा  हरेक गीतहरूले छुट्टाछुट्टै सन्देश दिनुका साथै छुट्टाछुट्टै आनन्दको प्रत्यनुभूति दिएका छन् ।

पहिलो गीत मधुप्यालामा गीतकारले जीवनलाई मधु या महसँग तुलना गर्नुभएको छ । वास्तवमा सङ्गीतप्रेमीहरूले जीवनलाई महजस्तै मीठो र आनन्दमय ठान्दछन् । यहाँ गीतकारले जीवनलाई  ‘मधु मधुप्याला मधु जीवन हाला ‘ भन्दै सुन्दर वर्णन गर्नुभएको छ ।

मायाले साथ छोड्दा आफूलाई अँध्यारोमा रुमलिएको अनुभव यसरी व्यक्त गर्नुभएको छ । ‘ उज्यालो नभएको दिन म, जून नभएको रात म । ‘

कालो रातमा जसरी छायाले आफ्नो साथ छोड्छ त्यसरी मायाले छोड्छ त्यसरी मायाले साथ छोड्दा सम्झनाका बारातले दिलमा कब्जा गर्छन् । हरेक चिजमा अनि सपनीमा माया नै मायाको आभाष हुन्छ भन्ने भाव व्यक्त गर्नुभएको छ । जहाँ जाँदा पनि आँखा वरिपरि मायाको झझल्को आउने कुरा ‘ आएन कहिले ‘मा व्यक्त गर्नुभएको छ ।

जब माया आफूबाट टाढा हुन्छ । त्यतिबेला सम्झनाका यादहरू खोलाका रूपमा दिलभरि बहने कुरा ‘सम्झना छायामा ‘ उल्लेख गर्नुभएको छ।

सारदा पाैडेल

शारदा पाैडेल

माया भन्ने चिज घामभन्दा उज्यालो ,  छायाभन्दा शितल , आकाशभन्दा विशाल हुन्छ भन्ने कुरा ‘उसको माया’  शीर्षकको गीतमा रहेको भाव हो । मायालाई भेट्ने बेलामा उर्लने भावनाहरूलाई ‘भेटौँला कसैलाई’ गीतमा व्यक्त गर्नुभएको छ । त्यस्तै गरेर प्रेमका कुराहरूलाई याद गर्दै ‘ आज फेरि’ गीतको सिर्जना गर्नुभएको छ ।

फूलका बातमा मायालुलाई फूलको प्रतीकका रूपमा प्रतिस्थापित गर्दै मनको बहलाई व्यक्त गर्नुभएको छ । मायाले ओतप्रोत भएका मायालुलाई हृदयका ढोका खोलेर बस्न आग्रह ‘ ढोकाको मन ‘मा उल्लेख गर्नुभएको छ भने इन्द्रेणीको सात रङ्गजस्तै चहकिलो प्रकाशजस्तै मुहारको कल्पना ‘फूलफूल’मा गर्नुभएको छ । मायालुको कल्पनामा हराउने हरेक मानिसको मन आकाशमा उड्ने , समुद्रमा डुब्ने गर्दछ र मायारूपी किल्लाहरूलाई भत्काएर स्पर्शका घडीको प्रतीक्षामा प्रतीक्षारत हुन्छ भन्ने कुरा यादको प्रकाशमा उल्लेख गर्नुभएको छ । जब माया बस्छ र माया आफूबाट टाढा हुन्छ त्यो बेलामा सम्झनाका शूलहरूले आफ्नो हृदयलाई घोचेर टुक्राटुक्रामा परिणत गर्ने कुरा उल्लेख छ । जब मायामा तगारो उत्पन्न हुन्छ त्यतिबेला तिलको दानाजत्रो भूल  विशाल पहाडजत्रो बन्छ र विगतका मीठा पलहरूलाई सम्झँदै छट्पटिन बाध्य बनाउँछ भन्ने कुरा व्यक्त गर्नुभएको छ ।

जब  मायामा विश्वास हुन्छ त्यो विश्वासमा सीमा हुन्छ । जब मायामा शङ्का उत्पन्न हुन्छ तब घातमा परिणत हुन्छ त्यसैले शङ्काको कुनै सीमा नहुने कुरा ‘विश्वासको सीमा’मा उल्लेख गर्नुभएको छ । विश्वासघातपछि मनभित्रभित्रै आगो बलेर हृदयमा डढेलो लाग्ने र जिन्दगी नै डढेलाले खाएको वनजस्तै उजाडिलो हुने र हरियाली मनको सुन्दर बगैँचामा खरानीको खात हुने कुरा मनको आगाले छर्लङ्ग पार्नुभएको छ ।

मन एउटा अद्भुत गति भएको चिज हो । तीव्रगतिको मनको मापन गर्ने हालसम्म कुनै यन्त्रको आविष्कार भएको छैन । मनले दौडेर सात समुद्र  पारिको मायालुलाई स्पर्श गर्न सक्छ । मन छताछुल्ल पोखिन सक्छ ,  खाली खाली बनेर रित्तिन सक्छ भने ढुङ्गाभन्दा कठोर मन पनि मायाले नौनीभन्दा नरम बनाउन सक्छ । मायामा फुलिदिने मन तिरस्कारमा बलिदिन सक्ने कुरा ‘दौडिन्छ मनमा’ प्रस्ट बुझ्न सकिन्छ ।

मायाको सुगन्ध हावासँग बहन्छ । यही सुगन्धमा एउटा अनौठो उमङ्ग हुन्छ । त्यहाँ सुन हुन्छ , चाँदी हुन्छ , हीरामोती र  जवाहरात हुन्छ । इन्द्रेणी पनि मायाकै सुगन्धमा फुल्छ भने छाती गर्वले फुल्छ भन्ने कुरा गीतकारले ‘ मनको आँखामा ‘ राख्न चुक्नुभएको छैन ।

मायालुसँग भेट हुँदा जून ताराका कुरा गर्न आग्रह गर्दै गीतकारले भन्नुहुन्छ ‘ जूनका कुरा गर ताराका कुरा गर ।’

मुहारमा रङ्ग छ भने उमङ्ग छाउँछ ।  उमङ्ग छाएपछि मनमा तरङ्ग आउँछ । त्यही तरङ्गले निखार ल्याउँछ र सृष्टिलाई सार दिलाउँछ भन्न पनि कसैको सुगन्धमा गीतकार पछि पर्नुभएको छैन । मायालुको आशैआशामा बस्दा सम्झनाको बरातमा बादलको डोली बनाउँदै नाटकीय जीवन नायकदेखि खलनायक बनेका कुरा आफ्नो जवानी र  उन्मादका कुराहरूलाई बादल दूत बनेर मायालु सामु पुर्‍याउनेछ भनेर कल्पनामा डुब्न पनि गीतकार पछि  पर्नुभएको छैन ।

जूनतारा र मायालुको साथ भएमा संसार नै अनौठो बन्नुका साथै मायालुलाई दिने उपहार भनेको बितेका क्षणमा सँगालेको सुन्दर सम्झनाको उपहार हो । यही उपहार जीवनको सार हो । मायाको आधार हो ।

मायाको सम्बन्ध बिग्रन जाँदा आफ्ना सारा रहर सहरमा विलीन हुनसक्छ । हाँस्न खोज्ने मन रुन सक्छ । फुल्न खोज्ने मन झर्न सक्छ । त्यसपछि विकराल परिस्थिति उत्पन्न हुन नदिन मायाले साथ दिनुपर्छ । विश्वास गर्नुपर्छ ।  विश्वासमा हुर्केको मायाले अपार खुसी दिन्छ । जिन्दगी जिन्दगी लाग्छ भन्ने कुरा गीतकारले उल्लेख गर्नुभएको छ ।

जब मायाको अङ्कुरण हुन्छ तब त्यसको बस्ती हृदयमा हुन्छ । हृदयमा पुग्नका लागि मनको पासपोर्ट भए पुग्छ । त्यहाँ पुग्नका लागि सीमा, पुलिस, अदालत, सरकार, रात, दिन, घाम, पानी , झरी, बादल कुनै चिजले पनि रोकटोक गर्न सक्तैन । खुसी नै खुसी प्राप्त हुन्छ । वाचाहरूको लस्कर हुन्छ । बाँच्ने रहर जाग्छ र  जीवनमा उमङ्गहरूको महोत्सव हुन्छ भन्दै गीतकारले मायामा कुनै संविधानको डर नहुने, आफ्नै साज र राज हुने कुरा पनि प्रस्ट पार्नुभएको छ ।

मायाको मुहारमा आफ्नो जिन्दगी हुन्छ; जिन्दगीभरिका कहानी हुन्छ; फूलको सुवास हुन्छ र जति हेर्‍यो त्यति खास हुन्छ भन्न पनि गीतकार पछि पर्नुभएको छैन ।

मायामा स्वार्थ अनि लोभ नहोस् । ममता  होस् लभ होस् आत्मीयता होस् भन्दै गीतकारले मायालाई बालुवाको घर नबनाउन सबै प्रेमिल जोडीहरूलाई आग्रह गर्नुभएको छ । जहाँ शङ्का हुन्छ । त्यहाँ छल हुन्छ कपट हुन्छ । क्रोध उत्पन्न हुन्छ र  मायाको भव्य महल पनि बालुवाको मलमा परिणत हुनसक्ने कुरा उल्लेख गर्नुभएको छ ।

“मन आगो  मन पानी
 मन बुद्धिहीन मन ज्ञानी
  मन शङ्का मन मित्र
  मन फोहोर मन पवित्र”  

भन्दै पवित्र मनले गरेको माया सत्य हुन्छ र त्यही मायाले अमरत्व प्राप्त गर्दछ । सच्चा मायामा मन अकासिन्छ । सम्झनाको मातमा बतासिन्छ । मायालाई कुनै पर्खालले रोक्न सक्तैन । जातभातले छेक्न सक्तैन । प्रेममा रूप रङ उमेर धन सम्पत्ति सबै फिका हुन्छन् प्रेमको छुट्टै संसार हुन्छ छुट्टै निहारिका हुन्छ । जसमा प्रेमिल जोडीहरू मस्तसँग रमाएका हुन्छन् । यदि  माया अधुरो भएमा पलपल उनैको सम्झनामा जल्छन् । मनमुटु उसैको सम्झनामा अविरल बग्दछ । उमेरका खोला तरे पनि अनेक प्रयास गरे पनि मनमा लेखिएको माया अजर-अमर हुन्छ कसैगरी मेट्न सकिँदैन । कतै न कतै उसलाई भेट्ने अतृप्त प्यास हृदयमा रहिरहेको हुन्छ भन्ने कुरामा पनि गीतकार विश्वस्त हुनुहुन्छ ।

आदरणीय गीतकारका गीतहरूले प्रेमीको पाटोलाई अगाडि राखेपनि प्रेमीको ठाउँमा देशलाई राखेर हेर्न सकिन्छ । माना पाथीको खोजी गर्दै विदेशमा गए पनि मनभरि देशको माया हुन्छ । मनमुटुमा देशको सम्झना हुन्छ । विदेशी जीवन जिउनु भनेको देशको प्रेममा छट्पट्टिनु हो पीडित हुनु हो । देशको सम्झनाले खानु हो । देशकै तड्पनमा बाँच्नु हो ।

विदेश बस्नु भनेको माहुरी चास्नीमा टास्सिएजस्तै हो । मान्छे ढापमा गडेजस्तै हो । न विदेशी संस्कारमा रम्न सक्छ । न आफ्नो संस्कार चटक्कै बिर्सन सक्छ ।  परदेशी भूमिमा रहने हरेक व्यक्ति बाहिरी हाँसो हाँसेको हुन्छ । भ्रममा मात्रै बाँचेको हुन्छ ।

देशमा गतिला नेताहरू हुने हो र देशले विकासको बाटो लिने हो भने अधिकांश मानिसहरू स्वदेश फर्कन्छन् । आफ्नो मायालु भनौँ या देश आफ्नी आमा भनौँ या धराको काखमा खेल्छन् र सन्तुष्टिको हाँसो हाँसेर मस्त रमाउँछन् भन्ने कुरा पनि गीतकारले प्रस्ट पार्न चुक्नुभएको छैन ।

आफ्नी ममतामयी आमा प्रकाशक रहनुभएको यस गीतसङ्ग्रह निकै उपलब्धिमूलक रहेको छ । स्वच्छन्द रूपमा लेखिएको यो गीतिसङ्ग्रहमा जीवनको जीवन्त चरित्र र मानिसमा रहेको निराशावादीपन पनि प्रस्ट देखिन्छ ।

गीतको मुख्य भाव प्रेम हुनाले पनि यस सङ्ग्रहमा मिलन र बिछोडका कुराहरू मनग्गे पाइन्छन् । त्यसो त गीतिसङ्ग्रहको नाम नै अधुरो प्रेम रहेकाले पनि प्रस्ट पारेको छ ।

अन्त्यमा गीतिसङ्ग्रह सुन्दर छ । गीतहरू जीवन्त छन् । गीतहरूले माया, देश प्रकृति ,राजनीति सबै सेरोफेरोलाई छोएका छन् । हरेक गीतमा  अन्तरा र स्थायी भाव मिलाउन सक्नुभएको भए गीतिसङ्ग्रह झनै उत्कृष्ट बन्ने थियो कि जस्तो लाग्दछ । आदरणीय गुरु यति राम्रो सङ्ग्रहका लागि हजुरलाई हार्दिक बधाई साथै हजुरको कलम अझै तीव्रगतिमा बढोस् कामना गर्दछु ।