गैर आवासीय नेपाली संघअन्तर्गत भाषा, साहित्य, संस्कृति र सम्पदा विभागले झण्डै एक वर्षदेखि सञ्चालन गरिरहेको साप्ताहिक कार्यक्रमको लोकप्रियता ह्वात्तै बढेको छ ।
हरेक साता विशेष व्यक्तित्व र फरक विषयमा कार्यक्रम चलाइरहेको प्रवासी प्रवाहमा यसपटक हरिवंश आचार्य सहभागी हुनुहुने भएको छ ।
गएको वर्ष लकडाउनको अप्ठ्यारोमा भाषा र साहित्यमा रुचि राख्नेहरुको सामूहिक आवाज अघि बढाउन सुरु भएको उक्त कार्यक्रममा नेपालका दिग्गज साहित्यकार, अन्वेषक, कला–संस्कृतिविद् एवं कुलपतिसमेत उपस्थित भइसक्नु भएको छ ।
‘हामीले ६ महादेश र विश्वका ५० देशमा छरिएर रहनु भएका १ सय ५० गैरआवासीय नेपाली साहित्यकारहरुका रचना, विचार र योजना पस्किसकेका छौँ,’ गैरआवासीय नेपाली संघ, भाषा, साहित्य, संस्कृति एवं सम्पदा विभागका अध्यक्ष हिक्मत थापाले साहित्यपोस्टसँग भन्नुभयो, ‘त्यसमा पनि भानु जयन्तीको अवसरमा प्रज्ञा प्रतिष्ठानका कुलपति, सम्पदा विशेषमा विश्वचर्चित सम्पदा अन्वेषक रवीन्द्र पुरी, संस्कृतिविद् सत्यमोहन जोशी, आख्यानपुरुष ध्रुवचन्द्र गौतम, सरुभक्त, तुलसी दिवसलगायत नेपालका सबैजसो प्रमुख साहित्यकारहरुलाई निम्त्याइसकेका छौँ ।’
कार्यक्रमले विश्वभरिका साहित्यकार र नेपालका साहित्यकारहरुलाई जोडिरहेको विश्वास गरिएको छ । त्यति मात्र होइन, नेपालको दोस्रो ठूलो भाषा मैथिली र संस्कृतिका लागि महत्त्वपूर्ण मानिएको सुदूरपश्चिमका भाषा र संस्कृतिमाथि पनि कार्यक्रम चलाइसकेको छ ।
‘यसपटक हामी हरिवंश आचार्यमार्फत नेपाली कला र साहित्यलाई जोड्ने प्रयास गरिरहेका छौँ,’ थापाले भन्नुभयो, ‘हरेक कार्यक्रम एउटा गहकिलो पुस्तकजस्तै खँदिलो बनेको देख्दा हामीलाई ठिक समयमा ठिक कार्यक्रम गरेको महसुस भइरहेको छ ।’
हरिवंश आचार्यले आफ्नो कलाकारिताबाहेक, पुस्तक लेखन, फिल्मका पटकथा लेखन र अध्ययनशील जीवनको बारेमा कुरा गर्नुहुने बताइएको छ ।
कार्यक्रमको व्यवस्थापन अध्यक्ष थापा र गौतम दाहालले गरिरहनु भएको छ भने सञ्चालन भगवती बस्नेतले गर्ने कार्यक्रम रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

