साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा बङ्गलादेशकी बलले जितिन् एक हजार डलर

 

इभान्जेलिना बल

गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समिति र अन्ताराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा गैरआवासीय नेपाली युवाहरूबिच सम्पन्न अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गालदेशकी इभान्जेलिना बल प्रथम भएकी छन् ।प्रथम बन्दै उनले एक हजार अमेरिकी डलरको हात पारेकी छिन् ।

त्यसैगरी जापानका अभिनव गिरी द्वितीय हुँदै पाँचसय अमेरिकी डलरको पुरस्कार जितेका छन् भने पोर्चुगलकी मानस्वी खरालले तीनसय डलरको तृतीय पुरस्कार जितेकी छिन् ।

अङ्ग्रेजी भाषाकाे कवितातर्फ अमेरिकाकी ओजस्वी पसछेले दुई सय डलरको पुरस्कार जितेकी छिन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विजेता कविहरूलाई बधाई दिँदै दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूले भाषा, साहित्य र संस्कृतिलाई प्रवासमा प्रवर्द्धन गर्न विशिष्ट भूमिका खेल्नुपर्ने र एनआरएनए र अनेसास लगायतका संस्थाले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले यसका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनु भयाे ।

विशिष्ट अतिथिका रूपमा कार्यक्रममा पूर्वकुलपति एवं मूल्याङ्कन समितिका प्रमुख बैरागी काइँला, नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्वकुलपति सरूभक्त, एनआरएनएका अध्यक्ष कुमार पन्त, पूर्वअध्यक्ष जीवा लामिछाने र भवन भट्ट, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अनेसास ट्रष्टी सभापति गीता खत्री, वरिष्ठ साहित्यकारहरू अशेष मल्ल, दिनेश अधिकारी, प्रकाश सायमी र डा. बिन्दु शर्माले आआफ्ना रचना वाचन गरी शुभकामना दिनुभएकाे थियो ।

त्यस्तै, अतिथि कविहरू रबिन शर्मा (जापान), हिमान्शु निभा कुँवर (अमेरिका), तीर्थ सङ्गम राई (कतार), गणेश खडका (अफ्रिका), इसिका अधिकारी (युरोप), केशव सिग्देल (नेपाल), गोवर्ध्दन पूजा (अमेरिका) र प्रवीणा बराल (जापान) ले कविता वाचन गर्नुभएकाे थियो ।

आयोजकका तर्फबाट एनआरएनएका पूर्व कोषाध्यक्ष एवं भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापाले स्वागत मन्तव्य राख्नुभएकाे थियो भने कार्यक्रममा समितिका सहअध्यक्ष महेश्वर पन्तले प्रतियोगिताको बारेमा जानकारी गराउनुभएकाे थियो ।

कार्यक्रममा एनआरएनएका महासचिव डा. हेमराज शर्मा, एनआरएनए अमेरिकाका अध्यक्ष सुनील शाहले शुभकामना दिनुभएकाे थियो भने कार्यक्रम संयोजक अनेसासका महासचिव तथा एनआरएनए अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्लेले धन्यवाद ज्ञापन गर्नुभएकाे थियो ।

मूल्याङ्कन समितिको तर्फबाट नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले नेपाली भाषाका प्रतियोगी र महेश पौड्यालले अङ्ग्रेजी भाषाका प्रतियोगी मध्यबाट पुरस्कृत कवि घोषणा गर्नुभएकाे थियो ।

साठी जना प्रतियोगीमध्येबाट अन्तिम चरणमा पुगेका कविहरू अभिनव गिरी, अंशु सुवाल, आगत खरेल, इभान्जेलिना बल, गुन्जना न्यौपाने, गङ्गा फुयाल, मानस्वी खराल, समृद्धि नेपाल, सरला बाराकोटी, र सौगात पराजुलीले नेपालीमा र ओजस्वी पसछे, मारिया अधिकारी र प्रेमा पौड्यालले अङ्ग्रेजीमा कविता सुनाएका थिए ।

प्रतिक्रिया
Loading...