साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

समीक्षाः ‘अनुरागका अक्षरहरू’मा प्रेम-प्रीतिको पुकार


असमको विश्वनाथ जिल्ला अन्तर्गत कमलीया गाउँमा सन् १९७० को २५ जुनमा जन्मिएका रुद्र ढुङ्गेल लामो समयदेखि पत्रकारिता सेवामा संलग्न रहँदै वर्तमान कृषिकर्ममा लागिपरेका छन् । कमलीया गाउँ साहित्य क्षेत्रमा निकै चर्चित नै हो । यसै गाउँमा अग्रज साहित्यकार जगन्नाथ गुरागाईँको बसोबास पनि भएको हो । वरिष्ठ पत्रकार, कुशल सम्पादक किशोर किरातको जन्मभूमि एवं कर्मभूमि पनि कमलीया नै हो । व्यङ्ग्यकार अर्जुन निरौला पनि कमलीयामै जन्मिएका हुन् । सिर्जनाको परिवेशले नै होला नब्बेको दशकदेखि नै कविता, गजल, मुक्तक, हाइकु आदि सिर्जनाले ढुङ्गेलको साहित्यमा प्रवेश भएको हो । उनले सन् २००८ मा पहिलो कृति ‘अनुरागका अक्षरहरू’ प्रकाशित गरेर साहित्य जगत्मा आफ्नो चिन्हारी दिइसकेका छन् । यस कृतिमा कविता, गजल, गीत र हाइकु राखिएका छन् । यस कृतिभित्र रहेका प्रायजसो रचनाहरूमा प्रेम-प्रीतिको पुकार छ । रचानाका हरफहरूले अक्षय प्रेम प्रेम-प्रीतिको फराकिलो बगरमा विचरण गर्दै पाठकहरूका मुटुमा प्रेमिल तरङ्ग छर्न खोजेका छन्  ।

ढुङ्गेलले गजलबाट सुरु गरेका यस कृतिमा हरेक गजलमा फरकपन दिने प्रयास गरेका छन् । फरकपनकै कारण होला कतिपय हिन्दी, उर्दू शब्दहरू पनि रचनाहरूमा सामेल गरेका छन् । यथार्थपरक गजलहरू नै बढी भएकाले होला बुझ्न सजिलो भएको छ ।

‘भैगो अब मलाई माया तिम्रो साथ चाहिएन
धोको रह्यो जिन्दगीमा सँगै बाँच्न पाइएन ।
मनमा बस्ने तस्बिरहरू कति छिटो बिरानिए
कस्तो भाग्य माया तिम्रो छनौटमा आइएन । ‘ (पृष्ठ- १८)

कृष्णनील कार्की (असम)

माया-प्रीति कसैका लागि वरदान सिद्ध हुन्छ भने कसैका लागि अभिशाप पनि हुन जान्छ । कोही माया-प्रीतिको सागरमा चुर्लुम्म भएर सुखको जीवन बिताइरहेका हुन्छन् भने कोही प्रेमसागरमा पौडिन नसकेर असफल भई आँसु पिएर बाँच्न बाध्य हुन्छन्। प्रेमिकाको छनौटमा नआएपछि भाग्यलाई दोष दिनु सिवाय केही रहँदैन ।

‘सम्झन्छु म रातदिन मेरै कुरा गुन्थ्यौ तिमी
हजारौँको बिचमा पनि मलाई मात्र चुन्थ्यौ तिमी ।
आँखा बचाई बाउआमाको दाज्यूभाइ र बैगुनीको
बिहे पूजा सबै ठाउँ मेरै नजिक हुन्थ्यौ तिमी । ‘(पृष्ठ- २४)

प्रेम-प्रीतिले पनि साह्रै पिरोल्छ । प्रेम-प्रीतिको लहरमा बग्दा समय पनि मिलिक्कै जान्छ । जहाँ पनि उनैलाई देख्ने, उनकै मात्रै सम्झना आउने भनौँ जीवन नै रमाइलो हुने । अन्तर्मनको पीडालाई गजलमा सुन्दर तरिकाले उतार्न सक्षम भएजस्तो देखिन्छन् ढुङ्गेल।

‘ तिमीसँग चोखो माया नलाएको होइन मैले
कसममाथि कसम पनि नखाएको होइन मैले ।
जानी-जानी विश्वासमा बन्चराले हानिदियौ
विश्वासघातको उल्टो दोष नपाएको होइन मैले । ‘(पृष्ठ- २६)

माया त चोखो नै हुन्छ । यो अनुभव गर्न सकिन्छ । अब चोखो माया नि:स्वार्थ हुन्छ भनौँ भने मायामा स्वार्थ पनि देखिएको छ । कसैले माया पाएर जीवनमा इन्द्रेनी भित्र्याएका छन् कोही अन्धकार खाडलमा दिन बिताइरहेका छन् । मायाले कतै श्रद्धा, भक्ति, आनन्द, सुख-शान्ति, सन्तुष्टि ल्याएको छ भने कतै घृणा, असन्तुष्टी, दु:ख-रोदन पनि निम्त्याएको छ । मायामा स्वार्थ भित्रियो भने विश्वासघातजस्ता व्याधिहरूले घृणाको गाग्रो भर्दछ । त्यसैले चोखो माया लगाएर, कसममाथि कसम खाएर पनि विश्वासघातको पीडा सहनुपरेको कुरा ढुङ्गेल व्यक्त गर्दछन्।

गजलमा मात्रै सीमित नरहेर ढुङ्गेलका कविताहरूले पनि प्रेम-प्रीतिलाई पुकारेका छन् ।

‘प्रेम,
सुखाग्रस्त क्षेत्रमा-
जलधारा,
अन्धकार गगनमा-
जूनतारा,
मुर्झाएको उपवनमा-
चम्पा चमेली,
तृष्णातुर कण्ठमा-
अमृत प्याली । ‘ (प्रेम : संज्ञा खोज्दै, पृष्ठ- ३६)

प्रेमको संज्ञा खोज्नु कठिन हुन्छ । भावना र अनुभव जोडिएको प्रेमबारे थुप्रै अवधारणाहरू छन्। निराशामा पनि आशाको सञ्चार गर्न समर्थ हुन्छ प्रेम । अँध्यारोमा जून- तारा भइदिन सक्छ प्रेम । उराठलाग्दो उपवनमा चम्पा- चमेलीझैँ फुलिदिन सक्छ प्रेम । सुकेको गलामा अमृत बनिदिन सक्छ प्रेम । प्रेममा असीम शक्ति निहित छ । त्यसैले सबैभन्दा बढी कविता पनि प्रेमलाई लिएरै लेखिन्छन् होला । ढुङ्गेल पनि प्रेमलाई पुकार्न बाध्य भएका देखिन्छन्।

‘प्रीत-
कहाँ सकिन्छ र भाषाले भन्न?
कहाँ सकिन्छ र अङ्कले गन्न?
अनि-
गर्दै हुने हो र प्रेम?
प्रीत –
इच्छा हुँदै कहाँ जोडिन्छ र?
जोडिएपछि कहाँ तोडिन्छ र?
अनि –
खेलजस्तो हो र प्रेम??
प्रीत-
आँखाबाट हृदयसम्म
धर्कोबाट चित्रसम्म
अनि
मेटाउँदैमा मेटिन्छ र प्रेम??? ‘ ( प्रीत, पृष्ठ- ५०)

ढुङ्गेलले प्रीतबारे आफ्नो विचार राख्न खोजे तापनि स्पष्टरूपले भन्न उनलाई पनि गाह्रो नै भएको छ । तैपनि उनको काव्यिक मनले प्रेमलाई गहिराइसम्म त हेरेकै छ । भाषाले भन्न नसकिने अङ्कले गन्न नसकिने गर्दै हुने हो र प्रेम भनी प्रश्न तेर्साएका छन् । इच्छा हुँदै जोड्न नसकिने जोडिएपछि पनि तोड्न नसकिने खेलजस्तो कहाँ हो र प्रेम भनी उनी आफैँ प्रेम सन्दर्भमा अन्योलमा परेका छन् । तर अन्तिममा ढुङ्गेलले आँखाबाट हृदयसम्म धर्कोबाट चित्रसम्म सबैतिर विस्तृत भएको प्रेम मेटाउँदैमा कहाँ सजिलै मेटिन्छ र भनी प्रेम सन्दर्भमा बलियो मत व्यक्त गरेका छन् ।

‘उता तिमी बेहुली भई अर्कैसँग लियौ बिदा
यता मेरो पिरतीको धूँ- धूँ गरी जल्दी चिता ।
आकाशतिर हेर्छु प्रिया जम्मै सगर रातो भयो
भित्रभित्रै सल्क्यो मुटु सारा शरीर तातो भयो ।
आँखाअघि अँध्यारो छ जीवनज्योति झ्याप्पै हुँदा
गहिरो चोट लाग्दो रैछ आफ्नो मान्छे बिरानिँदा । ‘(गीत, पृष्ठ- ७५)

गीतमा पनि प्रीतको पुकार छ । प्रीतको यात्रामा थाकेर प्रेमिका गमनको दृश्य नियाल्दै गीत गुनगुनाउनु सिवाय केही नै रहेन । आफ्नो मान्छे टाढिँदा गहरो चोट लागेपछि जीवनमा केवल अँध्यारो नै अँध्यारोले छोप्छ । प्रेमहीन जीवन बाँच्न कठिन हुन्छ।

ढुङ्गेलले केवल गजल, कविता र गीतमा मात्रै प्रेमलाई पुकारेका छैनन् । उनका हाइकुमा समेत प्रीतको पुकार छ ।

‘ म तिमीभित्र
अनुराग पवित्र

तिमी म भित्र। ‘ (पृष्ठ- ७६)

‘ तिमी र म
व्याकरणले भन्छ
हामी भने हुन्छ । ‘ (पृष्ठ- ७७)

‘ भनन ए सुकिली
कहिले हौली
मेरी बेहुली? ‘ ( पृष्ठ- ७८)

विश्वनाथ अञ्चल नै प्राकृतिक सौन्दर्यको धरातल हो । सुशोभित वन- जङ्गल, कलकल शब्द गरी निरन्तर बगिरहने ब्रह्मपुत्र, टलक्क टल्किने बलौटे जमिन, शिवलाई पति रूपमा पाउन पार्वतीले तपस्या गरेको पवित्र भूमि विश्वनाथको नदी द्वीप उमावन (उमाटुमनि) , विश्वनाथकै छेउको जिल्ला इतिहास प्रसिद्ध शोणितपुर अनि त्यहाँ भएको अग्निगड पहाड र उषा- अनिरुद्धको गन्धर्व विवाह आदि अनेकौँ दृश्य, किस्सा आदिले कविका मनमा प्रेम- प्रीतिको भावले स्वत: प्रवेश गरेझैँ लाग्छ । प्रेम- प्रीति र कवि ढुङ्गेलको बारेमा यसै कृतिमा भूमिकाकार वरिष्ठ कवि नव सापकोटाले यसरी लेखेका छन् -‘…… अन्तर्मनका प्रेम, अनुरागका हर्ष-पीडामा मुछिएको काव्यकृति ‘अनुरागका अक्षरहरू’ रोचक र सुरुचिपूर्ण छ । प्रेमको परिभाषा बिर्सिसकेका प्रेमी – प्रेमिकालाई अनुरागका अक्षरहरूले भित्रबाट प्रेरणा दिनेछन् , उत्साह दिनेछन् र नैसर्गिक आशा भेट्नेछन् बाँकी रहेको जिन्दगीका निम्ति ।

‘प्रेम- प्रीतिको सन्दर्भमा सबैको आ-आफ्नो मत छ बेग्लाबेग्लै सैद्धान्तिक पक्षहरू छन् भन्दै ढुङ्गेलले आत्मकथनमा यसरी भनेका छन् ‘…… हुन त आफ्ना -आफ्ना, बेग्लाबेग्लै सैद्धान्तिक पक्षहरू छन्, दृष्टिकोण पनि परस्पर मिल्दैनन् अनि समय वा परिस्थिति बमोजिम वस्तुस्थितिको यथार्थमा फरक आउनु पनि स्वाभाविक हो तर त्यसो भन्दैमा उमेरको एउटा विशेष अवधिमा विपरीत लिङ्गपट्टिको आन्तरिक अथवा वाह्य अनुरागलाई असम्भव भनी सोझै नकार्न पनि मिल्दैन। ‘ ५८ वटा कविता, गीत, गजल र हाइकु मिलाएर समावेश गरिएर प्रस्तुत पारिएको यस कृतिको जम्मा पृष्ठ ७८ छ । असमका लागि ८० रुपियाँ, असम बाहिरका लागि १०० रुपियाँ मूल्य तोकिएको यस कृति प्रतीक्षा- हिमाली प्रकाशनले डि. डि. एसोसिएट्स गुवाहाटीमा छापेको हो । अब कवि रुद्र ढुङ्गेलको ‘अनुरागका अक्षरहरू’ का हरफहरूमा प्रेम – प्रीतिले गरेको पुकारमा पाठकहरूका कान कत्तिका ठाडा हुने हुन् ?

प्रतिक्रिया
Loading...