साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

‘उकाली ओरालीहरूमा’ गीतको सौन्दर्य चेतना

 

  • विषय प्रवेश-

नेपाली समाजमा एउटा अत्यन्त लोकप्रिय र सदाबहार गीतमध्ये चाँदनी शाहले रचेको र तारादेवीले गाएको गीत ‘उकाली ओराली’हरूमा भन्ने गीत पनि एउटा हो । यस गीत नेपाली समाजका कुना कन्दरामा छाएको थियो । सबैको मन मस्तिष्कमा कहिल्यै नमेटिने छाप भएर रहेको छ । अझै पनि यस गीतमा उत्तिकै आह्लादक र प्रभावकारी भएर जनमानसमा रहेको छ । यस गीतमा केही तत्त्व रहेका छन् जसले यसलाई दीर्घकालीन लोकप्रिय बनाएको हो । यसको बहुअर्थी शब्द, आह्लादक भाव र सुगम सङ्गीतले हामीलाई मन्त्रमुग्ध बनाएको छ, यसले हाम्रो मन  छोइरहेको छ ।

  • तारा देवीको परिचय

नेपाली साङ्गीतिक जगत्मा तारा देवीको नाम पनि उच्च स्थानमा आउँदछ । दुईवटी मुख्य नारी गायिकाहरूमा तारादेवी र अरूणा लामाको नाम आउँछ । दुवैको आ-आफ्नो विशेषता, महत्त्व, कला, मधुरता पाइन्छ । दुवैले नेपाली गीतलाई शिखरमा पुर्‍याउन विशेष उल्लेखनीय भूमिका निर्वाह गरेका छन् । दुवै सुमधुर स्वरका धनी हुन् । दुवैका स्वरमा सुमधुरता र मार्मिकता पाइन्छ ।

तारादेवी वास्तविक नाम ‘डोलकुमारी कार्की’को जन्म १५ जनवरी, सन् १९४६ मा इन्द्रचोक, काठमाडौँमा बाबु कृष्णबहादुर कार्की र राधादेवी कार्कीकी छोरीको रूपमा भएको थियो । उनी सानै एघारवर्षको उमेरदेखि नै गीत गायनमा प्रतिभा देखाउन थालेकी थिइन् । उनले आफ्नो जीवनकालभरिमा आधुनिक, लोकगीत, बालगीत, भजन, राष्ट्रगीत गरी विभिन्न प्रकार चारहजार भन्दा बढी गीत गाएकी थिइन् । उनलाई नेपालकी कोकिलकण्ठी (Nightingale of Nepal) को उपाधि दिइएको थियो । उनका अत्यन्तै लोकप्रिय गीतहरू मध्ये उकाली ओरालीहरूमा, साँगुरी बारी नि हौ, शुभकामना भरी, तिम्रो पाउहरूमा, नौसय खोला, तिमीलाई हाँसेर, कालीपारे दाइ कति राम्रो, हिमालको काखमा छ, फुलको थुँगा, वनमा फुल्यो फूलै, फूलको मौसम, लुकूँ लुकूँ लाग्यो मलाई, सोचेजस्तो हुन्न जीवन, ए कान्छा ठट्टैमा, जताजतै खोजेँ मेरो मुटुभित्र आदि हुन् । उनले सिन्दूर, जीवन रेखा, परिवर्तन, आमा, मनको बाँध आदि नेपाली चलचित्रमा गीत गाएकी हुन् । उनले नातिकजी,शिवशङ्कर आदिको सङ्गीतमा र किरण खरेल, लक्ष्मण लोहनी, प्रदीप रिमाल, चाँदनी शाह आदिका शब्दमा रहेका गीत गाएकी थिइन् । यसका साथै उनले नारायण गोपाल, माणिक रत्न, प्रेमध्वज प्रधान, आदिसित युगल गीत गाएकी थिइन् । उनका गीतहरूका केही अलबमहरूमा स्वर्णिम स्वर. तिम्रोखुशी, तीजको कोसेली, तारादेवीका आधुनिक गीतहरी, चाँदनी शाहका गीत, विछोडको पीडा, विटुलो विश्वास आदि हुन् ।

नवीन पौड्याल (सिक्किम)

तारादेवीको उनको विवाह शिवबहादुर श्रेष्ठसित भएको थियो । उनको जीवनको उत्तरार्द्ध भाग दुःखदायी थियो । उनले चालिस वर्ष जति रेडियो नेपाललाई सेवा दिएपछि त्यहाँबाट जागिर खोसुवामा परिन् । त्यसपछि उनको दुई छोरा एक छोरीमध्ये २५ वर्षको लक्का जवान जेठो छोराको मृत्यु भएको थियो । त्यसको चारवर्षपछि उनको पतिको पनि हवाइ दुर्घटनामा परी देहान्त भएको थियो । उनी मानसिक रूपमा विक्षिप्त भइन् । उनको गायन धेरै वर्ष ठप्प रह्यो । पछिबाट उनका चारवटा गीत रेकर्डिङ भए । उनी पर्किन्सन रोगले च्यापेको थियो । उनको निधन ६१ वर्षको उमेरम 23 जनवरी 2006 मा काठमाडौंमा भएको हो ।

  • मूल गीतको प्रसङ्ग

तारादेवीका धेरै गीतमध्ये उकाली ओरालीहरूमा भन्ने गीत पनि नेपाली सङ्गीत जगत्मा एउटा अत्यन्त लोकप्रिय र कर्णप्रिय गीत हो । यस गीतको रचना गीतकार चाँदनी शाह हुन् । नेपालकी रानी ऐश्वर्यराज्यलक्ष्मीदेवी शाहका केही गीतहरू चाँदनी शाहका नाममा प्रशारण भएका छन् । चाँदनी शाहले रचना गरेका अन्य केही गीतहरू शुभकामना भरी, एउटा मान्छेको मायाले कति, तिम्रा पाउहरूमा, तताततै खोजेँ, घाममा पनि माया, आमा भएर, मनको निश्चलतामा अडेर, हिम शृङ्खलामा आदि हुन् । उकाली ओराली गीतकसङ्गीत नातिकाजीले दिएका हुन् । चाँदनी शाहको शब्द, नातिकाजीको सङ्गीत र तारादेवीको गायनको त्रिवेणीमा धेरै गीत लोकप्रिय र उच्च स्तरीय गीतहरू सिर्जना भएका छन् । जसले नेपाली सङ्गीतको स्वर्णिम युग ल्याएका थिए । गीतका सबै पक्षमा अब्बल छन् ।

  • मूल गीत

उकाली ओरालीहरूमा,भञ्ज्याङ अनि चौतारीहरूमा

सुन्दर ती दहहरूमा हिमालका विशाल छातीहरूमा

जहाँ जहाँ जान्छौ तिमी, म पाइला बनी पछ्यारहन्छु ।

ती छहरा खोला खहरेहरूमा म सम्झना बनी आइरहन्छु ।

उकाली ओरालीहरूमा..

 

तराईका हरिया फाँटमा पहाडका तरेलीहरूमा

हिमालका सुन्दर अनि विकट ती बस्ती बस्तीहरूमा

जहाँ जहाँ जान्छौ तिमी म बाटो बनी साथै आइरहन्छु

ती सुस्केरा थकाइ सुसेलीहरूमा गीत बनी गुन्जिरहन्छु ।

उकाली ओरालीहरूमा..

 

मुटु कमाउने जाडोहरूमा कपाल दुख्ने गर्मीहरूमा

मन हर्ने सुन्दर दृश्य शान्त शीतल वातावरणमा

जहाँ तहाँ जान्छौ तिमी म आकाश बनी देखिरहन्छु

ती लेक बेँसी अनि पाखाहरूमा पवन बनी भेटिरहन्छु ।

  • अर्थगत तह

प्रस्तुत गीत सुन्दै जाँदा यसका अर्थहरू एक पछि अर्को अर्थ खुलिँदै जान्छन् । गीतमा रहेको भावमा अर्थगत गहिराइ पाइन्छ । गीतको मूल मर्ममा न्यानो स्नेह रहेको छ भने यो न्यानो स्नेहका तहहरू एकपछि अर्को खप्चिदै गएका पाइन्छ । यसका अर्थहरू पहाडका तरेलीहरूझैँ एक पछि अर्को उदाङ्ग हुँदै जान्छन । यसमा रहेका अर्थलाई पाँच तहमा अध्ययन गर्न सकिन्छ- १. सामान्य नरनारीको प्रेमको समर्पणको भाव २. ममतामयी आमाको सन्ततिप्रतिको ममता, ३. रानीको देशको प्रजाप्रतिको वात्सल्य भाव ४. देशले आफ्नो जनता प्रतिको भावना ५. ईश्वरीय तहबाट आध्यात्मिक भाव ।

सम्बन्धित पोस्टहरु
  • सामान्य नरनारीको प्रेमको समर्पणको भाव

सामान्य रूपमा यस गीतको पहिलो अभिधात्मक अर्थ हेर्दा नरनारीको प्रेमको एकार्काको मनोभाव परिलक्षित हुन्छ । एउटी प्रेमिकाले आफ्नो प्रेमीलाई आफ्नो चोखो प्रेमको उदार व्यक्त गरिएको पाइन्छ । आफ्नो प्रेमीका निम्ति उसको प्रेम अटल अचल र अविच्छिन्न छ । प्रेमी जहाँ गए पनि छाया बनेर पछ्याउने, हिमाल, पहाड, मधेश सबैतिर गए पनि कहिले पाइला बनेर कहिले सम्झना बनेर, कहिले बाटो बनेर गीत बनेर, आकाश भनेर देखिरहने, पवन बनेर भेटिरहने भाव व्यक्त गरिएको छ । एउटी चोखो र निःस्वार्थ प्रेम गर्ने प्रेमिकाले आफ्नो प्रेमीका निम्ति शुभेच्छा, शुभकामना र सेवाको भावना राखेको भाव पाइन्छ ।

  • ममतामयी आमाको भाव

यस गीतमा ममतामयी आमाको आफ्ना सन्तानप्रतिको ममत्वको भाव पनि पाइन्छ । आफ्ना सन्तानप्रतिका ममताको भावलाई विभिन्न प्रतीक र विम्बका माध्यमबाट अभिव्यक्त गरिएको छ । आमा बनेर आफ्नो सन्ततिको सुख दुःखमा स्नेहको लेपले पुछिदिने, उनीहरूको उन्नतिमा रमाउने गर्छिन् । सन्तान जहाँ तहाँ गए पनि आमाको आशीर्वाद ममता स्नेह सदा साथमा रहन्छ । आमाले बाटो बनेर आकाश बनेर पवन बनेर गीत बनेर आफ्ना सन्तानको हेरचाह गर्छिन् ।

  • रानीको देशका प्रजाप्रति वात्सल्य भाव-

यस गीतको रचयिता रानी हुनाले यस गीतभित्र रानीको भावना अभिव्यक्त गरिएको पाइन्छ । रानी ऐश्वर्यलक्ष्मीदेवी शाहले चाँदनी शाहको नामले केही गीत रचेकी छिन् जसमा यो सबैभन्दा लोकप्रिय गीत हो । यस गीतमा देशकी रानी भएर हेर्दा प्रजाप्रति वात्सल्य भाव पाइन्छ । देशको रानी भएर देशको प्रजाको सुख दुःखहरूमा सदा साथ रहेकी हुन्छिन् । नेपालको भौगोलिक स्थिति अनुसारको हिमाल पहाड मधेसका ती सबै प्रजाप्रति समताको भाव लिएकी छन् । मुलुकको उन्नतिमा हात दिएकी छन् । देशका प्रजाका हरेक स्थितिमा परिचित छिन् । विकट बस्ती, मनोरम दृश्य भएका लेक-बेँसीका उकाली ओरालीहरूमा आफ्ना प्रजाहरूका भावनात्मक रूपमा साथमा रहेको भाव पाइन्छ । रानीका निम्ति सबै समान हुन् । हिमाली, पहाडी र मधेसका हरेक भौगोलिक र जनजीवन चारैतिर समान दृष्टि, वात्सल्य र स्नेहको भावना प्रस्तुत गरिएको छ । नेपाली प्रजा जहाँ जहाँ छन्, त्यहाँ त्यहाँ भावनात्मक रूपमा  राजा-रानी पनि पुगेका हुन्छन् । प्रजाको परिश्रममा देश रहेको हुन्छ ।

  • देशले आफ्नो जनताप्रतिको भावना

यस गीतमा देशको संवैधानिक निकायतर्फबाट नागरिकहरूको अवस्थाप्रति हेरिएको छ । देशका जनताको सुख-दुःखमा देशभाव रहेको हुन् । देशको भौगोलिक अवस्था हिमाल पहाड मधेस तीनै स्तरको अध्ययन गरिएको छ । राष्ट्र आमा भएर देशका नागरिकका हरेक अवस्थामा देश छाएको हुन्छ । राष्ट्रका निम्ति सबै जनता एक समान हुन्छन् । नेपालबाट गएका करोडौँ नेपालीले पनि नेपाललाई आफ्नो मातृभूमिका रूपमा स्विकारेका छन् । देश तत्त्व मानिसको मनोभावना, मनोविज्ञानका रूपमा रहेको हुन्छ । आज नेपालका जनता विश्वभरि गएर छरिएका छन् । जहाँ जहाँ गए पनि, रहे पनि नेपालीहरूका निम्ति नेपाल नै प्रिय हुन् । देशतत्त्व सर्वथा संवेग र भावनात्मक रूपमा उच्चस्थानमा रहेको हुन्छ ।

  • आध्यात्मिक चेतना

यस गीतलाई ईश्वरीय भक्तिभावबाट पनि अर्थ लाउन सकिन्छ । ईश्वरका निम्ति मान्छे र सबै चराचर जीवजन्तु अगोचर र ओझेल हुँदैनन् । ईश्वरीय दृष्टिबाट विश्वका हरेक कुनामा रहेका मानिस, चराचर सबैको स्थिति थाह हुन्छ । जीवात्मा जहाँ रहे पनि गए पनि परमात्मका निम्ति सर्वव्यापक दृष्टिगोचर हुन्छ । हाम्रा हरेक गतिविधिलाई विभिन्न रूपमा हेरिरहका हुन्छन् । गीताको एउटा श्लोक छ-

ममैवांशो जीवलोके जीवभूतः सनातनः ।
मनःषष्ठानीन्द्रियाणि प्रकृतिस्थानि कर्षति । ।15.7 । ।

अर्थात् यस देहको जीवात्मा मेरै सनातन अंश हो जसरी विभागरहित स्थित भएको महाकाशकै एक अंश हो । मनमा रहेको खालिपन पनि त्यही महाकाशकै अंश हो । गीत सुन्दै जाँदा ईश्वरत्व हामी जीवात्मका लागि सर्वश्व हो । हामी पनि त्यही महाकाश र महान् आत्मकै अंशियार हौँ । हामी पहाड मधेस, देश विदेश जहाँ गए पनि उनै अन्तर्यामी परमात्मबाट ओझेल हुँदैनौँ ।

  • गीतमा प्रकृति दर्शन –

यो गीत सुन्दा हामीलाई सुन्दर रोमाञ्चकारी मनःसंसारमा डुलाउँछ । प्रकृतिको सुरम्य संसारमा डुलाउँछ, मनलाई प्रफुल्ल बनाउँछ, हाम्रो सुकेको मन प्राणलाई परमानन्दको रसमा भिजाउँछ । प्रकृति र हामी कति नजिकमा छौँ, प्रकृतिले हामीलाई कतिको प्रभाव पारेको छ भन्ने कुरामा बुझाउँछ । हाम्रा लागि प्रकृति अभिन्न छ, अनन्त छ, न्यानो छ । प्रकृतिको काखमा सुख, शान्ति, समृद्धि, सन्तुष्टि, सुरक्षित र फलिफाप हुन्छ । हिमाल, पहाड र मधेस सबै खाले सन्तुलित प्राकृतिक अवस्था पाइन्छ । प्रकृति नै सौन्दर्यका अनन्त स्रोत हुन् । त्यहाँ थकाइ पनि छ तर बिसाउने चौतारी पनि छ । थकाइको सुस्केरामा स्वतः गीत फुर्दछ । साङ्ख्य दर्शनमा प्रकृतिलाई सबै थोक मानिएको छ ।

  • नेपालको भौगोलिक अवस्थान

यस गीतमा नेपालको भौगोलिक स्थितिको पनि अर्थ लाउन सकिन्छ । नेपालका नागरिकहरू हिमाल, पहाड र मधेस तीनै अवस्थाको सङ्केत छ । हिमालमा बडो भौगोलिक कठिनाइका कारण त्यहाँका जवजीवनले कठोर सङ्घर्षमा जीवन बिताउने गर्छन् । त्यहाँ हिवैहिउँले ढाकिएको हुन्छ । मटु कमाउने जाडो हुन्छ । हिमाली भेगमा हिमालका एकपछि अर्को गर्दै तरेली-तरेलीका रूपमा पत्रैपत्र हुन्छन् । दृश्यका निम्ति हिमाल अत्यन्तै सुन्दर, मनमोहक हुन्छ । पहाडी भेगमा पनि जनजीवन सङ्घर्षमय हुन्छ । भारी-तारी बोकेर पैदलै उकाली ओराली गर्नुपर्ने हुन्छ । भारी बोकेर थाकेको बेला ठाउँ-ठाउँमा चौतारो र देउराली हुन्छन् ।

  • गीतको संरचना

प्रस्तुत गीतका शब्द-शब्दमा सौन्दर्य राखिएको छ । यस गीतका प्रत्येक शब्द भाव आदि यथास्थानमा महत्त्वका छन् । शब्दशय्यामा सचेतना छ । यसमा रहेको शब्द शब्दले विभिन्न अर्थ सन्दर्भ खुलाएका छन् । विरोधाभाष, विपरीतार्थी, समानार्थी, तुल्यार्थी आदिका अध्ययन गर्न सकिन्छ । गीतका प्रत्येक पङ्क्तिमा पूर्व वाक्याङ्श र उत्तरवाक्याङ्श गरी दुईवटा भाग पाइन्छ । गीतमा पाइने आनन्द, एकोन्मुखकता, गेयात्मकता, विषयकेन्द्रीयता आदि जस्ता गुण यसमा पाइन्छन् । गीतका एकेक वर्ष, अक्षर र वाक्यले श्रोतालाई सन्तुष्टि, चिन्मय आनन्द र रागात्मक भाव प्रदान गर्दछ ।

 

गीतको पूर्वाद्धगीतको उत्तरार्द्धअर्थसम्बन्धअर्थसापेक्ष
उकाली ओरालीहरूमाभञ्ज्याङ अनि चौतारीहरूमाउकाली ओराली हिँडदा बिसाउने ठाउँ जस्तै आनन्द दिनेविरोधाभाष
सुन्दर ती दहहरूमाहिमालका विशाल छातीहरूमामधेसका ताल तलैया र हिमालले भरिएकोवैभिन्य
जहाँ जहाँ जान्छौ तिमीम पाइला बनी पछ्याइरहन्छु ।घाम छाया र शरीर र पाइतालाझैँ सम्बन्धअनुशरण
ती खोला खहरेहरूमाम सम्झना बनी आइरहन्छु । प्रकृतिको अनन्तताअनुशरण
तराईका हरिया फाँटमा

 

पहाडका तरेलीहरूमामधेसको हरियो फाँट र पहाडका तरेलीझैँ अन्योन्याश्रित सम्बन्धवैभिन्य
हिमालका सुन्दर अनिविकट ती बस्ती बस्तीहरूमादेशमा सुगम र दुर्गम दुवै खालको भौगोलिक स्थिति वैभिन्यता
जहाँ तहाँ जान्छौ तिमीम बाटो बनी आइरहन्छुबाटो र बटुवाको जस्तै अन्योन्याश्रित सम्बन्धसमानन्तरता
ती सुस्केरा थकाइ र सुसेलीहरूमागीत बनी गुन्जिरहन्छुसुस्केरा र गीतको झैँ अन्योन्याश्रित सम्बन्धअनुशरण
मुटु कमाउने जाडोहरूमाकपाल दुख्ने गर्मीहरूमाहिमाल र मधेसको विम्ब वैभिन्य
मन हर्ने सुन्दर दृश्यशान्त शीतल वातावरणमादेशको भौगोलिक सुन्दरताको विम्ब सौन्दर्य
जहाँ जहाँ जान्छौ तिमीम आकाश बनी देखिरहन्छुमान्छे र आकाशको सम्बन्धअनुशरण
ती लेक बेँसी अनि पाखाहरूमापवन बनी भेटिरहन्छुहिमाल पहाड र मधेसको एकीकरणअनुशरण

 

  • वर्ण प्रयोग

गीतमा सबै कोमल वर्णहरू क ख ग घ ङ च छ ज झ ञ त थ द ध न प फ ब भ म स आदिको प्रयोग गरिएको पाइन्छ । यतिमध्ये स को ध्वनि बाह्रपटक भएको छ । यसमा कठोर वर्ण ट ठ ड ढ ण जस्ता कठोर वर्ण पाइन्दैन । एक ठाउँमा भेटिरहन्छु र फाँटमा दुई ठाउँमा ट तथा पहाड, जाडो भन्ने दुई पदमा ठाउँमा मात्र ड वर्णको प्रयोग पाइन्छ ।

  • गीतमा एकोन्मुखता र गेयात्मकता-

प्रस्तुत गीतमा विषयगत एकोन्मुखता प्रखर रूपमा पाइन्छ । गीतमा याचकले आफ्नो आराध्यलाई यति निस्वार्थ र चोखो माया गरेको उल्लेख पाइन्छ । आराध्य जहाँ गए पनि अनुशरण गरिरहने छन् । यसका प्रत्येक शब्द र वाक्यमा गेयात्मकता झल्किन्छ । गीत सुन्दै जाँदा हामी विश्वकै फाँटिलो भूभागमा विचरण गर्न पुग्छौँ । त्यहाँ प्रकृतिले विभिन्न वरदान दिएकी छन् । खोला नाला, वन जङ्गल, हिमालका सुन्दर तरेलीका तरेलीका शृङ्खला, पहाडका श्रमसाध्य खेतबारी, मधेसका ठुला फाँटहरूले भरिएको प्राकृतिक सौन्दर्य अलौकिक र अनुपम वर्णन छ । गीतका प्रत्येक पङ्क्तिमा पूर्वापर सम्बन्ध पाइन्छ । गीतमा एउटै विषय छ त्यो हो याचकले आराध्यलाई साथ पाउने लालसा । यसमा साधन र साध्यसम्बन्धलाई यसरी तालिका बनाएर हेर्न सकिन्छः-

 साधनसाध्य
पाइला बनेरपछ्याइरहन्छु ।
सम्झना बनेरआइरहन्छु ।
बाटो बनेरआइरहन्छु
गीत बनेरगुन्जिरहन्छु
आकाश बनेरदेखिरहन्छु
पवन बनेरभेटिरहन्छु

 

  • उपसंहार

नेपाली सङ्गीतको इतिहासमा एउटा विशिष्ट र लोकप्रिय रहेको गीत उकाली ओरालीहरूमा गीत विभिन्न तहबाट विशिष्ट बनेको छ । चाँदनी शाहले लेखेको, तारा देवीले गाएको र नातिकाजीले सङ्गीत दिएको यस गीत नेपाली सङ्गीताकाशमा उच्च स्थानमा रहेको छ । यसको वर्णगत, अर्थगत, संरचनागत, रूपगत र भावगत रूपमा उच्चस्तरीय बनेको छ । यस गीतका विभिन्न अर्थहरू सन्निहित छन् । गीत सुन्दै जाँदा एकपछि अर्को अर्थहरू खुल्दै जान्छन् । गीतमा विषयगत एकोन्मुखता, चिन्मय आनन्द र गेयात्मकता आदि जस्ता गुणले भरिएको पाइन्छ ।

प्रतिक्रिया
Loading...