एनआरएनए र अनेसासद्वारा आयोजित अन्ताराष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगिताको अन्तिम चरणमा छनौट भएका नेपाली भाषाका उत्कृष्ट दश र अङ्ग्रेजी भाषाका उत्कृष्ट तीन युवा कविहरूको आज अन्तिम प्रतिस्पर्धा हुँदैछ । दुई घन्टासम्म चल्ने कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीज्यूको प्रमुख आतिथ्य रहने छ ।
नेपाली समयअनुसार साँझ ६ बजेबाट भर्जुअल रूपमा सञ्चालन हुने कार्यक्रममा छानिएका दश युवा कविहरूले आफ्नो रचना वाचन गर्ने छन् ।
नेपाली भाषाका कवितातर्फ अमिनव गिरी (जापान), अंशु सुवाल (बेलायत), आगत खरेल (बेलायत), इभान्जलिना बल (बङ्ग्लादेश), गुञ्जना न्याैपाने (अमेरिका), गङ्गा फुँयाल (जापान), मानस्वी खराल (पाेर्चुगल), समृद्धि नेपाल (अमेरिका), सरला बाराकाेटी (भारत) र साैगात पराजुली (अमेरिका) उत्कृष्ट दशमा रहेर प्रतिस्पर्धा गर्दै छन् भने अङ्ग्रेजी भाषातर्फ उत्कृष्ट तीनमा ओजस्वी पसछेँ (अमेरिका), मारिया अधिकारी (अमेरिका) र प्रेमा पाैड्याल (बेलायत) रहेका छन् ।
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) र अन्ताराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले संयुक्त रूपमा पहिलोपटक यस्तो साहित्यिक प्रतियोगिता आयोजना गरेका हुन् । प्रतियोगितामा १९ वर्षभन्दा कम उमेरका नेपाली मूलका युवायुवती सहभागी हुनेछन् । यस प्रतियोगितामा नेपाली भाषाको कवितामा पहिलो हुने एक जनालाई एक हजार डलरको पुरस्कार प्रदान गरिनेछ ।
यसैगरी दोस्रो हुनेलाई पाँच सय डलर र तेस्रोलाई तीन सय डलर पुरस्कार प्रदान गरिनेछ भने उत्कृष्ट अङ्ग्रेजी कवितालाई दुई सय डलर पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिता आयोजनाका लागि एनआरएनएको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समिति र अनेसासले अनेसासका महासचिव एवं एनआरएनए अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्लेको संयोजकत्वमा विशेष समिति गठन गरिएको थियो । समितिले सार्वजनिक सूचना आह्वन गरी प्रतियोगितामा सहभागिताका लागि युवा सर्जकहरूलाई कविता माग गरेको थियो।