एकाबिहानै मन्दिरका घण्टीहरूको जस्तै सुनिने मोबाइल फोनको ट्याङटुङ ट्याङटुङ आवाजपछि मात्र मेरो निद्रा खुल्यो । घरको बन्द गर्न बिर्सिएको धाराबाट छतको ट्याङ्कीमा पानी चढाएपछि ठूलो स्वर गर्दै बर्सिएको पानी जसरी नै तछाडमछाड गर्दै बर्सिएका म्यासेजहरूको आवाज थियो त्यो । पल्लो कोठामा बस्ने दाइ अन्यत्रै डेरा सरेपछि त “थाहा छैन कुन बात अन्तिम हुने हो?” भने जसरी कसैसँग कुराकानीको सुरुवात गर्नुपर्थ्यो । कारण सम्पूर्ण इन्टरनेट सेवाका लागि छिमेकी आमैको वाइफाइ र फुर्सदमा नै पराश्रमी बनिएको थियो । अनि आमैको वाइफाइ पनि उस्तै फेरि । घरभेटीको धाराको पानी, नवविवाहित जोडी बस्ने कोठाको दैलो अनि आमैको वाइफाइ कतिवेला बन्द हुने हो भनी लख काट्नै नसकिने ।
हिजो राति नेट चल्ने बेलासम्म प्राण प्यारो लागेको मोबाइलसँगको साथ खाटको कुन छेउमा पुग्ने बेला छुटेछ भन्ने कुरा भोलिपल्ट ओछ्यानको अर्को कुनासम्म छामछाम छुमछुम गरेपछि मात्र थाहा भयो । निद्रा निद्रामै तालिवानीहरूले गोप्य सूचना लुकाउने जसरी नै राखिएको मोबाइल लक पनि झन्डै चार पाँच पटकको प्रयासपछि खोलियो । अनि सदाझैँ बिहान उठ्ने बित्तिकै फेसबुक देख्न पाइयोस् भन्दै फेसबुक सुचारु गरेर हिजो राति बोल्दा बोल्दै अधुरा छाडिएका संवादहरूको प्रत्युत्तर पठाउन तर्फ लागेँ । बरु साथीहरू प्रेमिकाले “कि रक्सी छाड्नुस् कि मलाई छाड्नुस्” भन्दा त्यति धेरै दोधारमा पर्दैनन् होला तर म अब उठौँ या एकैछिन् अझै सुतौँ भनेर दोधारमा परिरहन्थेँ । शनिवार भनेर मात्र के गर्नु अघिपछि भन्दा बढी बेफुर्सदी त शनिवार भइन्थ्यो । कपडा धुने, कोठा मिलाउने, खाना बनाउने, भाँडा धुने लगायतका यावत् कामहरूले झस्काउन थालेपछि अलिक बल गरेरै भए पनि आफूलाई बिस्तराबाट अलग्याएँ ।
यी सम्पूर्ण कामहरू त नियमित कार्यहरूजस्ता थिए । तर आज झन्डै दश, पन्ध्र दिनदेखि एउटा विद्यार्थीले परीक्षाको समयतालिका हात परेपछि पढ्न सुरु गर्छु भन्दै थाती राखेको कार्यजस्तै सँगाल्दै राखिएका ती तलब आएपछि गर्छु भनिएका कामहरूलाई पनि पूर्णता दिनु थियो । सन्तानले केही कुराको इच्छा प्रकट गर्दै पिरोल्न थालेपछि “ल ल बाबा आएपछि” भन्दै आमाले आलटाल गर्दै छोराछोरीलाई अलग्याए जसरी जे जस्तो काम गर्नुपरे पनि तलब आएपछि भन्दै आलटाल गर्दै बिताइएको थियो हिजोसम्म त ।
हिजो बैङ्क खातामा तलब मात्रै आएन । तलब सँगसँगै चुनौतीका बोनसहरू पनि आए । जागिरेको औकात प्रतिविम्बित गर्ने विशिष्ट किसिमका ऐनाहरू पनि सँगै आए । तलबसँगै अलिकति रहरहरू पनि आए । सपनाहरू पनि आए निको हुन आँटेको घाउको पाप्री उक्काउने चकचके हात बनेर । तलबसँगै साथीभाइका गुनासाहरू आए । घरपरिवारतर्फका सन्देशहरू आए । छरछिमेकीका सुझावहरू, आफन्तीका अलौकिक उपदेशहरू पनि तलब सँगसँगै आए । भाइबैनीका दुखेसोहरू, गलफ्रेन्डको अगाध प्रेम पनि तलबसँगै आइपुगे । कोठाभाडा सस्तो थियो, रासन पानीको खर्च पनि थेग्न नसकिने थिएन । अरू खासै खर्च पनि गरिँदैन बिनासित्तिको । सायद यसपालिको तलबले धेरै नसके पनि केही हदसम्म मुहार फेरिएला कि ? अन्य खर्चहरू केही नदेखिने बेलासम्मका लागि क्षणिक खुसी दिलाउने आधारहरू थिए यी ।
अध्येता भइने बेलासम्मका कतिपय आवश्यकता र रहरहरूले जागिरवाला बनेपछि त अपरिहार्यताको रूप धारण गर्ने रहेछन् । भगवान् विष्णुका अनेक अवतार जसरी फरक फरक रूपमा दर्शन दिने सहकर्मीका सामुन्ने सानो छँदा दसैँमा मामाघर जाँदा लाउने भनेर हिफाजत गरी राखिने लुगाफाटो जसरी राखिएका अलिकति गतिलो भनौदो एकजोर कपडाले कसरी सामना गर्न सक्थ्यो र ? उनीहरूले केही नभने पनि उनीहरूको पहिरनले मेरो पहिरनलाई तथानाम भनिरहेको थियो । तैपनि सधैँ पाकिरहने एउटै दाललाई कहिले जिरा त कहिले ज्वानोले झानेर स्वाद फेर्न खोजे जसरी नै भएका केही थान कपडाहरूबाट नै विविधता झल्काउने प्रयत्न गरिरहन्थेँ । भएका एकजोर नयाँ पोसाक एकैदिन नलगाउने कहिले माथिको नयाँ लगाउने कहिले तलको पाइन्ट नयाँ लगाउने कहिले सर्टको बटन लगाउने कहिले छाड्ने । कहिले जुत्ता कहिले चप्पल लगाउने । फेरि सानो छँदा बाबाको ढाका टोपी लगाएकै कारण आफूलाई ठूलो मान्छे बनेझैँ देखेर फुरुङ्ग भइन्थ्यो, बाबा आमाले “दिमाख त छ नि यसको नपढेर मात्र हो” भनिदिँदा पनि संसारकै बुद्धिजीवी जस्तो लाग्थ्यो आफू ।
प्लस-टु पढ्ने बेला एप्रोन लगाएर भ्यागुता चिर्दामात्र नै कता कता डाक्टर वाला भाव आउथ्यो भने जागिर गरेपछि त सानै भएपनि जागिरेवाला अभिलाषा जाग्नु के अचम्मको कुरा मान्नु र ? राम्रो रेस्टुरेन्टमा मन पर्ने परिकार मूल्यसूचीको बेपर्वाह मगाउन पाए, कपडा पसलमा पनि ट्रायल रुमबाट फर्किएर मन पर्यो भन्नुपूर्व मूल्य सोध्नु नपरे, साथीभाइको जमघटमा काउन्टरनेर पुगेर बिल सुनेपछि कति जना छौँ भन्दै भाग लगाउनु नपरे, भाइबैनीको डेराबाट फर्कने बेलामा अरू चाहिए माग्नु भन्दै अलिकति खाजा खर्च हातमा थमाइदिन पाए, साथीभाइहरू योजना बनाउँदै गर्दा अर्कोतिर फर्किएर बगली पल्ट्याउनु नपरे कस्तो हुँदो हो ? धेरै नसके पनि आमाबाबुका लागि केही परिआएमा साहूको मुख ताक्नुपूर्व छोरो छ क्यारे भन्ने आधारमात्र बन्न सक्षम हुन पाए । कहिलेकाहिँ आफ्ना लागि सौखिन वस्तुहरू खरिद गर्दा पैसा पुग्दैन कि भनेर चुकचुकको अवस्था नआइदिए पो जागिरे त ।
म झिनो पारिश्रमिकको सहारामा भव्य र सानदार आकाङ्क्षाहरूको सङ्ग्रह नै तयार पार्दै थिएँ । गाह्रोसाह्रो खानमात्र पुग्ने जागिर गरेर यत्रो विधि सपना साँच्ने ह्याउचाहिँ कहाँबाट आउने रहेछ?
यी सपना र रहरहरूलाई सीमित तलबको हदबन्दी नलाग्ने भएर नै होला एकपछि अर्को गर्दै थपिइरहने । धन्न बेला बेलामा अन्नपातको बोराहरूसँग केही थान रहरहरू सटही गरिन्छ र मात्र । खाली सिलिन्डरभित्र कैद गरेर एक हुल सपनाहरूलाई पसलतिर मिल्काउन पाइएको छ । भाइबैनीको स्कुलको नयाँ झोलाभित्र अटसमटस खुसीहरू खाँदेर घर पठाउन पाइएको छ । आवश्यकताहरूको जमातबाट केही आवश्यकताहरूलाई बहिनीका नयाँ पोसाक र जुत्ताहरूसँगै सफर गर्न पठाइएको छ । बुबाको औषधिका रित्तो बट्टाहरू मेरो सौखहरूका लागि डम्पिङ साइटको काम गरिरहेका थिए र मात्र । नत्र भने सपनाहरू एकट्ठा भएर के हविगत हुँदो हो? यसपालि पनि केही अभिलाषाहरू भाइबैनीका खुसीहरू किन्न खर्चनेवाला थिएँ । पापी पेटका सामुन्ने केही मनोकाङ्क्षाहरू निरीह बन्दै थिए ।
थोपा-थोपा मिलेर नै सागर बन्छ त्यो सत्य होला तर थोपा-थोपा झिक्दै जाँदा सागर झन् छिट्टै रित्तिन्छ होला पनि ? घरको घरायसी खर्च र डेरामा आफ्नो खर्चलाई भनेर अलिअलि रकम विभाजन गर्न जाँदा आफ्नो महिना दिनको वृत्ति कति छिट्टै स्वाहा भइसकेछ ? अघिसम्म जुर्मुराउँदै गरेका रहरहरू एकपटक फेरि तङ्ग्रनै नसक्ने गरी थला पर्ने भए । परिश्रममा केही कसर बाँकी नराखे पनि आफ्ना आकाङ्क्षाहरूको यस्तो दरिद्र अवस्था देख्दा आफ्नो जागिरप्रति आफैँलाई विरक्त लागेर आयो । सम्पूर्ण तवरले साथीभाइको जागिर आफ्नो भन्दा कैयौँ गुणा उत्तम देखिन थाल्यो । आखिर वर्षदिन भइसक्दा पनि नोकरीको औचित्य ज्युँदो राख्ने कुरामै मात्र सीमित न थियो ।
“अब यसरी कतिसम्म चल्छ?”
“अब सिङ आउँदैन जुरो आउँदैन म के कुराको प्रतीक्षामा छु?” म आफैँलाई प्रश्न गर्छु ।
अब कति दिनसम्म सामानहरूमध्ये कुन सस्तो छ भन्दै खोजिरहने? दर्जन किन्दा सस्तो पर्छ कि प्रतिगोटाको हिसाबले किन्दा भन्दै अल्झिरहने कि सम्पत्ति सञ्चय गर्नु ? “शनिवार विद्यार्थी परिचयपत्रको किन छुट हुँदैन” भन्दै विवाद गर्ने भए आफ्नै दुई पाङ्ग्रेको सपना किन सजाउनु? बिहानको तरकारीमा नुन मसला थपेर छाक गुजारे जसरी कति दिनसम्म जिन्दगी चलाउनु ?
जागिरबाट जति नै मन भरिए पनि चटक्कै छाड्ने अवस्था भने थिएन । बिचबाटोमा कपडाको रङ मन परेन भनेर लत्याएर नाङ्गै हिँड्नु पनि त भएन । जागिर छाड्न पनि उचित विकल्प त हुनै पर्थ्यो । जागिर छाडौँ विकल्प थिएन अनि नछाडौँ उपलब्धी शून्य थियो । घरको होचो दलिनजस्तै थियो यो जागिर । नचाहिने अर्घेलो भन्दै घरको सम्पूर्ण शिरोभार यसैमा निर्भर तरपनि जति हत्ते हाले पनि शिर ठाडो पार्ने मञ्जुरी भने कहिल्यै नदिने ।
थाहा थिएन अझै कति समय यसरी नै चल्ने वाला थियो? रित्तो गोजी साथीभाइको जमघटबाट टाढा बनाउने वाला थियो । घुम्न जानका लागि फुर्सद नमिल्ने लगभग पक्कापक्की नै भइसकेको थियो । छुट्टीमा घर जाँदा पनि रित्तो हात नै जानुपर्ने थियो । धेरै धुँदाको रङ खुइलिएर फिक्का बनेका कपडाहरू नै शरीरमा सजाउनु थियो । भएका एकजोर जुत्ता धुँदाको दिन चप्पलमै बाहिर निस्कनुपर्ने थियो । अनि उल्टो सुल्टो दुवै तिरबाट लगाउन मिल्ने ज्याकेटको भरमा नै यो जाडो बित्ने वाला थियो ।
देख्नेहरू त भन्छन् होला फलानो जागिर गरेर पनि कत्ति फेरिन नसकेको होला ? तर कुनै खेद छैन मनमा उनीहरूप्रति । कहाँ चियामा कति सिट्ठी लगाउनु पर्छ ? भन्नेहरूले घर खर्चको बारेमा बुझ्न सकुन् । सुड्डोले बाइक नकिन्दिए घर आउँदिन भन्दै आमालाई घुर्की लगाउनेहरू सङ्घर्ष के हो कसरी बुझुन् ? तलब आएपछि रमाइलो गर्नुपर्छ भन्नेहरू तलब आउँदाको दिन पन्ना पूरै भरिने गरी कोरिएका लेनदेनका हिसाबहरू कसरी बुझ्छन् होला ?
एकपटक आफ्ना अनगिन्ति रहरहरू पूरा गर्ने कुनै आधार बाँकी नदेख्दा जिन्दगीमा केही गर्न सकिँदैन कि भन्ने सोचसम्म पुग्छु । अब त “पढ्दै छु” भन्ने बहानाले पनि साथ नदिने भइसकेको थियो । एकपटक त भीरमा फुलेर शिरमा सजिने सपना देख्नु नै गलत हो जस्तो लाग्यो । तर पनि लडिने डरले उभिन नखोज्नु पनि मनासिब भएन नि ।
यिनै सपनाहरू त हुन् जीवनमा सफलतासम्म डोर्याउने गोरेटाहरू भनेकै । मात्रसपनाहरूले नै व्यक्तिलाई आफ्नो अस्तित्वको आभास दिलाइरहन्छ र यिनै सपनाहरूले सङ्घर्ष गर्न सिकाउँछन् पनि । जिन्दगीमा सपनाहरू चियापत्तीजस्तै रहेछन्, कपमा राख्नेबेला छानेर छुट्याए पनि चियामा चियापत्तीको आवश्यकता नकार्न कहाँ सकिन्छ र?
बालापन ठूलो भएपछि यस्तो गर्छु भन्दै अनि विद्यार्थी जीवन भोलिबाट अवश्य पढ्छु भन्दै गुज्रिए जसरी अबको बाँकी जीवन पूरै अर्को पाली र अर्को महिना भन्दै गुज्रने त होइन? सपनाहरू अर्को महिनाको तलबसम्म साँच्दै गएर अन्त्यमा नासिने त होइनन् ? बाँकी जीवन अब चुनाव ताकाका खोक्रा आश्वासनजस्तै आश्वासन आफैँमा बाँड्दा बाँड्दै समाप्तिसमीप पुग्ने त होइन?
एकदिन सम्पूर्ण परिबन्दहरू खुकुलो बन्नेछन्, सपनाहरूको पालो आउनेछ, खुसीहरूसँग मितेरी गाँसिनेछ, अभावहरू थाकेर आफैँ भित्ता लाग्नेछन् भन्दै आफैँसँग गरिएका तथ्यहीन वचनहरू नेताले बोल्ने झुट अनि रङ गए फिर्ता गरिदिन्छु भन्ने कपडा पसले दाइले कहेका झुटा वचनहरू भन्दा पनि धेरै स्थूल छन् । धरातल र वास्तविकतासँग राम्रोसँग परिचित भएर पनि आफैँलाई आफूले मिथ्या सपनाहरूको चङ्गुलमा पारेर भ्रम छरी हिँड्ने म एक लायर हो । अरूका लागि लायर, ढँटुवा लवरचट्टा शब्द कटुवचन लागे पनि मेरा लागि भने गर्वलाग्दो पहिचान थियो । म लायर भए मसँगै ती आमा पनि लायर हुन् जो सन्ततिको पेट भर्दा भर्दै कसौँडी रित्तिएपछि भोक छैन भन्दै ढाँट्ने गर्छिन् । ती बाबा जसले सन्ततिलाई खुसी किनिदिन आफूलाई केही चाहिँदैन भन्दै ढाँट्ने गर्छन् ।
ती पनि लायर हुन मजस्तै । आफू बेइमानी दुनियाँसँग हारेर पनि विद्यार्थीलाई इमानदारी पढाउने शिक्षक अनि मनभरि पीडा साँचेर पनि हालखबर जाति नै बताउनेहरू सबै लायर न हुन् मजस्तै । सुइ लगाउदा कत्ति दुख्तैन भन्ने डाक्टर, पीडामा नआत्ती न केही हुँदैन भन्ने साथी, पदयात्रीलाई गन्तव्य आउनै लाग्यो भनेर हौसला बढाउने मार्गदर्शक, बिराम गरिस् भने तँलाई खान दिन्न भन्ने आमा, तेरो माया लाग्दैन भन्ने दिदी दाइ आदि सबै लायर नै हुन । फरक मात्र यो छ कि कोही आफ्नो स्वार्थका लागि झुट बोल्छन त कोही अरूको हौसला र खुसीका लागि । अनि त्यसमा म आफैँलाई हौसाउन झुट बोल्ने लायर यसै पनि बहुमत हामी लायरहरूकै । अनि यति मजासँग झुट बिक्नु नै झुट बोल्न उक्साउने कुराहरू रहेछन् । अन्त्यमा लायरको फेरि एउटा झुट तर अन्तिम भने चाहिँ होइन, “ जिन्दगी मोटर गाडी जसरी स्टार्ट गर्ने बित्तिकै हुँइकिने रहेनछ । लट्टे पिङ जसरी मच्चिन सुरु गर्नुहोस् अलिक कठिन भए पनि बिस्तारै मच्चिन थालेपछि सहज हुँदै जान्छ पक्कै पनि ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।