नेपाली साहित्य समाज क्यानडाको भर्चुअल कविता वाचनको चौधौँ कार्यक्रम मा सम्पन्न भएको छ । नेपाली नयाँ वर्ष २०७८ सालको पहिलो कार्यक्रम पनि भएकोले एक अर्कामा नयाँ वर्षको शुभकामना आदान प्रदान सहित रचना वाचन गरिएको थियो।
क्यानडाका विभिन्न सहरबाट उपस्थित कविहरूले कार्यक्रममा कविता, गीत, गजल र मुक्तक वाचन गरेका थिए, अमेरिकाबाट समेत केही कविहरूको उपस्थिति रहेको थियो। अमेरिकाबाट कवि अनुजा घिमिरेका छोटा र चोटीला कविताहरूबाट कार्यक्रम शुरू भएको थियो। युवराज भण्डारी र शशी तिमिल्सिनाका गजलहरू तथा गोपीकृष्ण काफ्ले, तुलसी धरेल, रविन थपलिया, कुसुम ज्ञवाली, कुसुमाकर शर्मा, रेखा किरण पौडेल, पुण्यसागर मरहट्टा, मुक्ति गौतम, मोहन खरेल, अनुप “आयु”, पारू पाण्डे, राजन प्रसाद पोखरेल, खेम गुरागाई र जयराम सिँखडाका कविताले कार्यक्रम रोचक बनेको थियो।
कार्यक्रममा सर्जकहरूले वर्तमान अवस्थाप्रति गरिएका घोचपेच, व्यङ्ग्य, नेपाली माटोको माया, गाउँको सम्झना, प्रेम, वात्सल्य तथा अन्य समसामयिक विषयमा सीर्जित रचनाहरू वाचन गरेका थिए। रेखा किरण पौडेलको नयाँ वर्षको कविता, राजन प्रसाद पोखरेलको माउतेको पीडा, रविन थपलियाको नदेखेको भगवान, अनुप “आयु” को जब मानव भित्रको मानवता हराउँछ जस्ता कविताहरू तथा खेम गुरागाईको छन्द कविता खै विद्रोह कहाँ बोक्छौ को लयात्मक वाचनले कार्यक्रममा विविधता थपेको थियो। पारु पाण्डेको कोभिडको वर्तमान भयावह अवस्थालाई लिएर लेखिएको लासका थुप्राहरू शीर्षकको कविताले सबैलाई भावुक बनायो।
पुण्यसागर मरहट्टाको रुकुममा नवराज बिकलाई भेरीमा फालेर मारेको सन्दर्भलाई विषय बनाएर लेखिएको जातीय विभेद प्रति तीखो प्रहार भएको कविता, मोहन खरेलको विस्मृतिको धुन, जयराम सिंखडाको के साँच्चीकै तिमी फेरिएकै हो, कुशुम ज्ञवालीको यसरी त हुँदैन बा लगायतका समसामयिक कविताहरू वाचन गरिएका थिए। डा. तुलसी धरेलले आजकल म संसार भिन्दै देख्दैछु शीर्षकमा र मुक्ति गौतमले सपनाको ईश्वर कविता वाचन गरेका थिए।
कार्यक्रमको सञ्चालन संस्थाका महासचिव मोहन खरेलले गर्नु भएको थियो भने सभाको सुरुवातमा समाजका अध्यक्ष खेम गुरागाईले नेपाली नयाँ वर्षको अवसरमा सम्पूर्ण सर्जक र श्रोताहरूलाई शुभकामना व्यक्त गर्नु भएको थियो। नयाँ वर्ष अझ श्रृजनात्मक बन्न सकोस् भन्दै वहाँले कविता लेखन सम्वेदनाका विशिष्ट बिन्दुहरूमा निस्कने भएकोले यसको रखवारी कठिन हुने भएको र निरन्तर लेखन र अध्ययनले यो परिष्कृत र सुन्दर हुने कुरा बताउनु भयो। सामूहिक रूपमा लेखनको यो अभियान जारी राख्न र शक्ति लगाई रहन पनि सबै सर्जकहरूमा अनुरोध गर्नु भयो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।