अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) द्वारा आयोजित विश्व नेपाली साहित्य सम्मेनल भव्यरूपमा सम्पन्न भएको छ । गत शुक्रबार, वैशाख १० गते सुरु भएको सम्मेलन ११ र १२ गते गरी तीन दिनसम्म सञ्चालन भएको थियो ।
भर्चुअलरुपमा आयोजना गरिएको सम्मेलनलाई व्यवस्थित र प्रभावकारी बनाउन उद्घाटन समारोह, कविका कुरा, कविता विशेष सत्र, लोकसाहित्य विशेष सत्र, गजल विशेष सत्र, महिला विशेष सत्र, मातृभाषा विशेष सत्र, डायस्पोरा विशेष सत्र, आख्यान विशेष सत्र, नेपाली साहित्यको अनुसन्धान विशेष सत्र र छलफल तथा समापन समारोह गरी ११ वटा चरणमा विभाजन गरिएको थियो ।
उद्घाटन समारोह
यस सत्रमा पोखरा विश्व विद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको प्रमुख आथित्यता रहेको थियो भने विशिष्ट अतिथिहरूहरुमा काठमाडौँ विश्वविद्यालयका पूर्व डिन प्रा.डा. टंकनाथ शर्मा, आख्यानकार तथा वरिष्ठ समालोचक प्रा.डा. राजेन्द्र सुवेदी, इतिहासकार, सामाजिक अध्ययन तथा शिक्षा विज्ञ प्रा.डा. श्रीरामप्रसाद उपाध्याय, आख्यानकार, समालोचक तथा साहित्यकार प्रा.डा. सुष्मा आचार्य, प्रा.डा. मोतिलाल घिमिरे रहनुभएकाे थियो ।
त्यसैगरी विशेष अतिथिको रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव डा. तुलसी भट्टराई, वरिष्ठ आख्यानकार कवि सरुभक्त, साहित्यकार तथा मानाङ्क नेपाली भाषाका अभियन्ता प्रा.डा. खगेन्द्र लुइँटेल, संस्कृत तथा नेपाली साहित्यविद् डा. अलका आत्रेय चुडाल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. हेमनाथ पौडेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रष्ट्रिजका अध्यक्ष गीता खत्री, अनेसासकै केन्द्रीय अध्यक्ष प्रकाश पौडेल `माइला´, गैरआवासीय नेपाली संघ, भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिका अध्यक्ष हिक्मत थापा, त्यसैगरी भाषाविद् डा. तारामणि राई, साहित्यकार डा. रेणुका सोलु, अनेसासकै वरिष्ठ उपाध्यक्ष गोवर्दन पूजा, डा. भगवती उपाध्याय, साहित्यकार तथा शोधकर्ता डा. नेत्र एटम, डायस्पोरा विज्ञ डा. बाबुराम खनाल, साहित्यकार तथा अनुसन्धान विज्ञ डा. गीता त्रिपाठी, लोकसाहित्य अध्येता प्रभा भट्टराई, डा. पुष्पा शर्मा घिमिरे, साहित्यिक अध्येता डा. बिन्दु शर्मा, आख्यानकार तथा मदन पुरस्कार विजेता युवराज नयाँघरे, कवि उपेन्द्र सुव्बा, भोजपुरी साहित्यकार प्रमोद कुमार पाण्डे, मैथिली साहित्यकार विजयदत्त मणीलगायत नेपाली भाषा तथा साहित्य र अन्य विभिन्न क्षेत्रका प्राज्ञिक व्यक्तिहरुका साथै सयौँ अग्रज साहित्यकार र साहित्यानुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उद्घाटन सत्रमा बोल्दै गैरआवासीय नेपाली संघ, भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिका अध्यक्ष हिक्मत थापाले बताउनु भयो, “भाषा, साहित्य तथा संस्कृतिको सम्बर्द्धनका कार्यक्रम गरिनु अत्यन्त खुसीको कुरा हो । यस्ता कार्यक्रममा हाम्रो पूर्ण साथ र सहयोग हुने हुनाले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दछु ।”
त्यसैगरी अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले बताउनु भयो, “यसरी नेपाली साहित्यमा कलम चलाउने र नेपाली भाषा तथा साहित्य अध्ययन, अनुसन्धान तथा प्राध्यापन गर्ने विश्वभरिका लब्धप्रतिष्ठित व्यक्तित्व समेटेर विश्व नेपाली साहित्य सम्मेलन गर्नु आफैँमा चुनौतीपूर्ण भए पनि अन्तर्राष्ट्रिय नेपाली समाजले त्यसको सामना गरी यो विशाल कार्यक्रम सम्भव बनाई मलाई पनि दुई शब्द बोल्ने अवसर प्रदान गरेकोमा इन्सप्रति हार्दिक आभार व्यक्त गर्दै सफल कार्यक्रमको शुभकामना पनि अर्पण गर्दछु ।”
अनेसास, समाज बोर्ड अफ ट्रष्ट्रिज अध्यक्ष गीता खत्रीले भन्नुभयो, “नेपाली साहित्यको उन्नयनमा हामीले दशकौंदेखि काम गरिरहेका छौं । यसरी सबै पुस्तालाई जोडेर नेपाली साहित्यका सबै विधालाई समेटी यस्तो विश्वव्यापी कार्यक्रम गर्ने हिम्मत गर्दै इन्सले गरेको यो भव्य कार्यक्रम सभ्य र सफल होस् भन्ने कामना व्यक्त गर्दछु ।”
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव डा. तुलसी भट्टराईले सम्मेलनको शुभकामना मन्तव्य राख्दै भन्नुभयो, “साहित्य सम्बद्ध सम्पूर्ण मुर्धन्य व्यक्तित्व, संघ-संस्था तथा विश्वविद्यालय समेटेर गरिएको यो सम्मेलनले ठोस निष्कर्ष सहितको एक घोषणपत्र विकास गरोस् भन्ने कामनासहित कार्यक्रम सफलताको सुभेच्छा व्यक्त गर्दछु ।”
समाजका महासचिव अर्जुन श्रीले सञ्चालन गरेको उद्घाटन समारोहमा समाजका महिला समिति महासचिव शुभद्रा भण्डारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने उपाध्यक्ष इश्वर राईले सम्मेनलको औचित्य र परिचयबारे प्रकाश पार्नु भएको थियो ।
उद्घाटन सत्रको समापन गर्दै समाजका अध्यक्ष अर्जुन घिमिरेले भन्नुभयो, “४ महिना लामो अहोरात्र गृहकार्यद्वारा नेपाली तथा मातृभाषा साहित्यमा योगदान पुर्याउने सबै विधा, तह र तप्काका व्यक्तित्व समावेश गरी यो साहित्यिक कुम्भ आयोजना गरिएकोले सम्पूर्ण नेपाली भाषा तथा मातृभाषा साहित्य सर्ज, अध्यापक, अद्येता प्राध्यापक तथा अनुसन्धाकर्ताले यो मेलाभरि भरपुर लाभ लिने र यसबाट निस्कने निष्कर्षले लक्षित विषयको समृद्धिमा ठोस सहयोग पुग्नेछ ।”
कविका कुरा
यस सत्रमा वरिष्ठ कवि सरुभक्तले शक्तिशाली कविता वाचन गर्दै ‘नेपाली कविता सिर्जनाः अनुभूतिका बाहारहरु’ शीर्षकमा आफ्नो अनुभूति साट्नु भयो । त्यसैगरी कवि उपेन्द्र सुब्वाले ‘कवितामा मौलिक बिम्वको प्रयोग’ शीर्षकमा आफ्नो छोटो अनुभूति राख्दै कवितासमेत वाचन गर्नु भयो । सत्रको सहजीकरण समाजका महिला समिति सचिव लिली अधिकारीले गर्नुभएको थियो ।
कविता विशेष सत्र
यस सत्रमा ‘नेपाली कविताः बद्लिँदो परिवेश’ डा. गीता त्रिपाठीले आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने पुण्य कार्की, स्पप्निल स्मृति, सुदेश सत्याल, विक्रम पवन परियार, असिम सागर, टिका आत्रेय, महेश कार्की ‘क्षितिज’, दीप सुदिप, जयन्ती मगर ‘सरगम’, लिला राणामगर, विक्रम याक्खा, सुशीला निनामलगायतले कविता वाचन गर्नुभएको थियो भने सीता थुलुङ र शुभद्रा भणडारीले सत्रको सहजीकरण गर्नुभएको थियो ।
लोकसाहित्य विशेष सत्र
शुभद्रा भण्डारीले सहजीकरण गर्नु भएको यस सत्रमा कविता ‘नेपाली लोक साहित्यः पुनरावृत्तिका आभासहरु’ शीर्षकमा डा. प्रभा भट्टराईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी टंक आले मगरले लोककथा सुनाएर र दुर्गा भवानी भट्टले लोक गीत गाएर मन्त्रमुग्ध बनाउनुभएको थियो ।
गजल विशेष सत्र
दोस्रो दिनको पहिलो सत्रमा अहिलेको लोकप्रिय विधा गजललाई प्रोत्साहन र गजलमाथिको बहसलाई केन्द्रीत गरेर सञ्चालन गरिएको यस सत्रमा नेपाली गजलका अग्रज ज्ञानुवाकर पौडेल, शिव शर्मा र आवाज शर्माले नेपाली गजलमा पैदा भएका विभिन्न प्रश्न बारे बहस गर्नुभएको थियो भने प्रदीप रोदन, नमिता बराल, अन्जु स्मारिका, संगीता थापा, बसन्त ओली बसन्ती, सीता थुलुङ, सविता भुजेल, सुवास जमरकट्टेल, तीर्थ समिर, एलिजा हुमागाईँ, सुस्मिता अर्याल, ईन्द्र भट्टराई र देव सुजन सुनारलगायतले गजल वाचन गर्नुभएको थियो भने आर.सी संकल्प र सोम अनुरागले सहजीकरण गर्नुभएको थियो ।
महिला विशेष सत्र
रुस्मा राई र ईश्वर राईले संयुक्तरुपमा सहजीकरण गर्नुभएको यस सत्रमा ‘नेपाली साहित्यमा महिलाहरुको वर्तमान अवस्था, चुनौती र अवसर’ शीर्षकमा डा. रेणुका सोलुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने विभिन्न देशबाट उर्मिला निर्दोषी, नीतु खतिवडा, नमिता दवाडी, शुभद्रा भन्डारी, लिली अधिकारी, शुभलक्ष्मी कोइराला, सीता अधिकारीलगायतले रचना वाचन गर्नुभएको थियो ।
मातृभाषा विशेष सत्र
ईश्वर राईले सहजीकरण गरेको यस सत्रमा ‘नेपालमा मातृभाषा साहित्यको अवस्थाः एक विवेचना’ शीर्षकमा डा. तारामणि राईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने विजय दुत्त मणि, प्रमोदकुमार पाण्डे, पबित्रा थापामगर, अरुण कोइमी, अर्पण उत्कर्ष, र कुशुम गुरुङले आ-आफ्नो मातृभाषामा रचना वाचन गर्नुभएको थियो ।
डायस्पोरा विशेष
लिली अधिकारी र नमिता दवाडीले सहजीकरण गर्नुभएको यस सत्रमा ‘विश्वमा नेपाली साहित्यः विस्तारका चुनौती र अग्रगामी मार्गहरु’ शीर्षक अन्तर्गत डा. बाबुराम खनालले ‘डायस्पोराका कथा, व्यथा र चुनौती’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभयो भने गोवर्द्धन पूजाले ‘डायस्पोरामा विभिन्न संघ, संस्थाले खेलेका भूमिका र समन्वयका चुनौतिहरु’ शीर्षकमा आफ्नो कार्यपत्र राख्नु भएको थियो । सत्रमा विश्वका विभिन्न देशबाट डा. मधुकृष्ण. श्रेष्ठ ‘माधुर्य’, दीप पाठक, दिपा राई पुन, जीवन खत्री, शरद पोख्रेल, प्रमोद सारंग, कृष्ण विश्वकर्मा, अजित क्षेत्री, नदिश, ,के. वि. पारखी, प्रतिमा केसीलगायतले रचना वाचन गर्नुभएको थियो ।
आख्यान विशेष सत्र
शुभद्रा भण्डारीले सहजीकरण गर्नुभएको यस सत्रमा ‘नेपाली आख्यानः आयाम र प्रयोगहरु’ शीर्षकमा प्रा.डा. राजेन्द्र सुवेदीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने किशोर लिम्बु, शारदा पौडेल `निशा´, डा. किस्मत भन्डारी, श्याम सुवेदी र रमेश जोशी रचना वाचन गर्नु भएको थियो । त्यसैगरी ‘नेपाली साहित्यमा संस्कृतको प्रभावः अनुभूतिका झङ्कारहरु’ शीर्षकमा डा. अलका आत्रेय चुडालले आफ्नो अनुभूतिहरु साट्नु भएको थियो ।
नेपाली भाषा तथा साहित्यको अनुसन्धान विशेष सत्र
लिली अधिकारीले सहजीकरण गर्नुभएको यस सत्रमा ‘नेपाली भाषा तथा साहित्यसम्बन्धी अनुसन्धान पद्दतिः कठिनाई, चुनौति र आजको आवश्यकता’ शीर्षकमा प्रा.डा. नेत्र एटमले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने डा. चैतन्य अधिकारी, निलकण्ठ उप्रेती, र अरुण भेटवालले रचना वाचन गर्नुभएको थियो ।
छलफल तथा समापन समारोह
सम्मेननको समापन सत्र सुरु हुनु अगाडिको शून्य समयमा सम्मेलनमा विविध कारणले छुटेका कार्यपत्र तथा रचना वाचनलाई प्रस्तुत गरिएको थियो ।
सम्मेलनको समापन तथा छलफल सत्र भाषा आयोग नेपालका अध्यक्ष प्रा.डा. लवदेव अवस्थीको प्रमुख आतिथ्यतामा भएको थियो भने विशिष्ट अतिथिहरुमा प्रा.डा. महादेव अवस्थी, विशिष्ट अतिथि प्रा.डा. सुष्मा आचार्य, कवि शरूभक्त श्रेष्ठ हुनुहुन्थ्यो त्यसैगरी विशेष अतिथिहरूमा,डा. बाबुराम खनाल, डा. नेत्र एटम, डा. रेणुका सोलु, डा. विन्दु शर्मा, डा. जानुका पौडेल, गोवर्द्ध पूजा, शंकर पौडेल, विकास कार्कीलगायत अन्य विशिष्ट व्यक्तिहरु रहनुभएको थियो ।
‘नेपाली साहित्यः समृद्धिका मार्गचित्रहरु’ शीर्षकमा भएको प्यानल छलफलमा प्रा.डा. महादेव अवस्थी प्रमुख प्यानेलिष्टको रुपमा सहभागी हुनुहुन्थ्यो भने प्रा.डा. सुष्मा आचार्य, डा. विन्दु शर्मा, डा. रेणुका सोलु, डा. नेत्र एटमलगायत प्यानेलिष्टको रुपमा रहनुभएको थियो । त्यसैगरी छलफलमा डा. मधुकृष्ण श्रेष्ठ ‘माधुर्य’, डा. किस्मत भण्डारी, लालगोपाल सुवेदीलगायत विश्वभरका नेपाली भाषा, साहित्य क्षेत्रका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो भने छलफलको सहजीकरण कार्यक्रम संयोजक डा. जानुका नेपालले गर्नुभएको थियो ।
सम्मेलनको समापन सत्रमा आफ्नो मन्तव्य राख्दै प्रा.डा. लवदेव अवस्थीले भन्नुभयो ‘कतिपय अवस्थामा भाषा तथा साहित्यलाई छुट्याएर कार्यक्रम गरिनु दुर्भाग्यपूर्ण भए पनि तपाईंहरूले भाषिक विविधतालाई स्वीकार्दै नेपाली भाषा र मातृभाषा साहित्यलाई साथसाथै अगाडि बढाएर नेपाली भाषा तथा नेपालका मातृभाषा साहित्यको उन्नयनमा गर्नुभएको यो सम्मेलन विश्व नेपाली समुदायलाई उदाहरणीय र उल्लेखनीय छ । यस सम्मेलनले नेपाली तथा मातृभाषा साहित्यको विकास, विस्तार र समृद्धिमा कोशेढुङ्गाको काम गर्नेमा म विस्वस्त छु ।’
`विश्व नेपाली साहित्य सम्मेलन सफल बनाउन दर्जनौं व्यक्तिहरू बधाईका पात्र हुनुहुन्छ´ समाजका महासचिव अर्जुन श्रीले थप्नुभयो ।
त्यसैगरी समाजका अध्यक्ष अर्जुन घिमिरेले सम्मेनलको समापन गर्दै विज्ञ समूहसँग थप परामर्श गरेर चाँडै घोषणापत्र जारी गरिने बताउनु भयो । उहाँले सम्मेलनमा प्रत्यक्ष तथा परोक्षरुपमा सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै सम्मेलनको सपापन पनि गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।