‘बुद्धवीर लामा दशौं गीतिमय साँझ २०२१’ अमेरिकामा आयोजना गरिएको छ । चर्चित गीतकार बुद्धवीर लामाको एकल गीतहरु प्रस्तुत भएको कार्यक्रम शनिबार साँझ (नेपाली समय अनुसार आइतबार, पेन्सिलभेनिया राज्यको ह्यारिसबर्ग सहरमा आयोजना भएको थियो ।
कार्यक्रममा लामाको रचना रहेको दर्जन बढी चर्चित गीतहरु विभिन्न कलाकारहरु प्रस्तुत गरेका थिए । जसमा यमु राईले ‘धोखा दियौ तिमीले’ र ‘लाली गुराँस अजम्बरी’ गीत प्रस्तुत गरेका थिए ।
त्यसैगरी टीका लामिछानेले ‘खोटाङ्ग हलेसी’ र ‘कति माया लाग्छ रिमै’, मनोज ढकालले ‘बादलुको घुम्टोले’, जितेन्द्र गिरीले ‘सबैकुरा भन्दा नि पैसै ठूलो छ’, निर्मल गुरुङ्ग र रुकु ढुङ्गानाले ‘आज हाम्रो भेट भाको दिन’, प्रेम गुरुङ्गले ‘चलेछ बतास सुस्तरी’, रुकसमणि ढुङ्गानाले ‘चोली राम्रो पाल्पाली ढाकाको’लगायत बोलका गीतहरु प्रस्तुत गरेका थिए ।
दर्शकले भरीभराउ र साङ्गीतिक माहोलमा आयोजित कार्यक्रममा गीतकार लामालाई नेपाली १७ लाख ९५ हजार २ रुपैयाँ नगदसहित सम्मान समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा गीतकार धन लोप्चनले लामाको सम्मानमा उनका रचनाहरु वाचन गरेर सुनाएका थिए । करिब ३ घण्टा चलेको कार्यक्रममा नेपाली भाषी भुटानी अमेरिकन नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
विदेशमा नेपाली गीतकारको एकल साङ्गीतिक कार्यक्रम आयोजना भएको र सोही कार्यक्रममा १७ लाख बढी नगदसहित सम्मान पाउने नेपाली कलाकारमा सम्भवत गीतकार लामा पहिलो व्यक्ति हुन् ।
लामाका यसअघि काठमाडौंमा आठ पटक तथा झापामा एकपटक एकल साँझ आयोजना भएको थियो । यस अगाडि कार्यक्रमबाट उठेको रकम खर्च कटाएर वृद्धाआश्रम र बाल अनाथालयलाई प्रदान गर्दै आएका लामाले अमेरिकामा सम्मानबाट पाएको आफ्नो जन्मथलो इलामको बौद्धधाममा पहिलोपटक म्याराथन दौड आयोजना गर्ने बताए ।
‘विदेशमा गीतकारहरुलाई बोलाएर एकल साङ्गीतिक कार्यक्रमको आयोजना सुरु भएको छ । यो खुसी र गर्वको कुरो हो’ लामाले भने ‘यसले म मात्र होइन, सम्पूर्ण गीतकारलाई समेत हौसला मिलेको छ ।’
करिब ४ दशकदेखि गीत लेखनमा क्रियासिल लामाका सयौं गीतहरु लोकप्रिय छन् । म्याराथन धावकसमेत रहेका लामाको दशौं एकल साँझको आयोजक समितिमा मुक्तिराज गुरुङ्ग, निर्मला सापकोटा गुरुङ्ग, अर्जुन गुरुङ्ग, दीपा गुरुङ्ग, रत्न गुरुङ्ग र रन राई रहेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।