


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले नयाँ वर्षको शुभकामना आदान-प्रदान तथा पारिजात स्मृति दिवसको अवसरमा जापानमा रहनुभएका नारी स्रस्टाहरुबीच विशेष साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ ।
अप्रिल १८ आइतबारका दिन सम्पन्न सो कार्यक्रममा अनेसास जापान उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुमित स्मितको सभापतित्व र नेपाली राजदूतावास जापानकी राजदूत प्रतिभा राणाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा २ दर्जनभन्दा बढी नारी स्रस्टाहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि प्रतिभा राणाले नारी स्रस्टाहरुको उपस्थितिमा मात्रै आयोजित उक्त फरक खाले कार्यक्रमको प्रशंसा गर्दै देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा कुशल मंगलको कामनासहित नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको थियो ।
रचना वाचन समेत गर्नुभएकि राणाले अनेसास जापानले गरिरहेका कार्यको प्रशंसा गर्दै सन् २०२० मा अनेसास जापानको आयोजना र व्यवस्थापनमा सम्पन्न ऐतिहासिक सम्मेलनको सम्झना गराउँदै दूतावासले समेत उक्त सम्मेलनमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभएको थियो भने आगामी दिनमा पनि साथ र सहयोग रहने कुराको जानकारी गराउनु भएको थियो ।

यसैगरी सुष्मा ओमाता, गृष्मा पौड्याल, जयन्ती मगर `सरगम’, विन्दा पराजुली बराल, लीला राना मगर, सरिता ढकाल, सयपत्री थुलुङ, मन कुमारी अँगाई, रचना रचु, लक्ष्मी रेग्मी, भूमिका अधिकारी पौडेल, सुजाता देवी शर्मा, शर्मिला थापा कार्की, मीना निरौला, माया ठकुरी, इन्दु सुबेदी पौडेल, मञ्जु गिरी, प्रकृति फुयाँल, सजिना मोक्तान, दीपा घिमिरे, सविना रेग्मी, प्रविना बराल, रिआना बोगटी लगायतका स्रस्टाहरुले समेत पारिजातलाई सम्झदै र नयाँ वर्षको शुभकामनासहित रचना वाचन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा अनेसास जापानका अध्यक्ष गिरिजा गैह्रे, अनेसास केन्द्रका अध्यक्ष प्रकाश पौडेल ‘माइला’ र अनेसास बोर्ड अफ ट्रस्टी अध्यक्ष गीता खत्रीद्वारा प्राप्त शुभकामना सन्देश कार्यक्रम सञ्चालकले पढेर सुनाउनुभएको थियो । गैह्रेले एउटा सपनालाई पुरा गर्न पाएकोमा खुसी व्यक्त गर्दै साथ र सहयोगका लागि सबैजनालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
केन्द्रीय अध्यक्ष माइलाले कार्यक्रमको प्रशंसा गर्दै ऐतिहासिक यस कार्यक्रमको भविष्यमा खोजी र मूल्यांकन हुने विचार व्यक्त गर्नुभएको थियो । यसैगरी गीता खत्रीले यस कार्यक्रमले पारिजातको साहित्यिक देनको महिमा बढाउनुका साथै नारी स्रस्टाहरुलाई थप हौसला प्रदान गर्नेछ भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
साथै अनेसास जापानका पूर्व अध्यक्षहरु,सल्लाहकारहरु साथै आजीवन सदस्यहरुले उक्त कार्यक्रमको प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
संस्थाको फेसबुक पेज अनेसास जापान पेजबाट लाइभ गरिएको उक्त कार्यक्रममा संस्थाकी सदस्य सजिना मोक्तानले स्वागत मन्तव्य राख्नु राख्नुभएको थियो भने संस्थाकी सह-सचिव सविना रेग्मीले सञ्चालन गर्नुभएको थियो ।




