साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

आफ्नै जन्मदिनको सन्दर्भमाः सय वर्ष बाँच्ने उद्घोष !

अथर्व वेदमा यौटा संस्कृत श्लोक छ,  "जीवेम शरदः शतम्" । यो भनेको सयवर्ष बाँच भनेको हो । अहिलेको आधुनिक-उत्तर आधुनिक वैज्ञानिक आविष्कारले पनि मनुष्यको आयु बढाउन नयाँ चिकित्सा पद्धतिको विकास गरेका छन् । तर मानिसहरूले आयु घटाउने प्रशस्त अवसर पनि आफैँले उत्पन्न गरेका छन् ।

महाकवि देवकोटाले लेखेका थिए, उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक !

महाकविले चन्द्र छुने उद्देश्य राख्ने सपना देखाए, त्यो त पुग्यो नै । अहिले मङ्गल ग्रहको यात्रामा छन् यस धरतीका मनुष्य ।

बुढापाकाहरू शतायु होस् भन्दथे । आशिर्वाद दिन्थे ।

अथर्व वेदमा यौटा संस्कृत श्लोक छ,  “जीवेम शरदः शतम्” । यो भनेको सयवर्ष बाँच भनेको हो । अहिलेको आधुनिक-उत्तर आधुनिक वैज्ञानिक आविष्कारले पनि मनुष्यको आयु बढाउन नयाँ चिकित्सा पद्धतिको विकास गरेका छन् । तर मानिसहरूले आयु घटाउने प्रशस्त अवसर पनि आफैँले उत्पन्न गरेका छन् । प्रकृति दोहन र कृत्रिम बन्नु यसमा प्रमुख रूपमा जिम्मेवार देखिन्छन् ।

गोविन्द गिरी प्रेरणा (अमेरिका)

अचानक सन् २०१९ मा विश्वमा देखा परेको कोभिड-१९ ले विश्वका मानिसहरूको सातो लिइदिएको छ । यो पङ्क्ति लेखिरहँदा १७ अप्रिल २०२१ शनिवार ५ बजे अमेरिकाको पूर्वीय समयसम्ममा संसारमा कोरोनाबाट तीसलाख उन्नाईसहजार सत्र मानिसहरूको जीवनको इहलीला समाप्त भएको छ । यतिबेला एककरोड त्रियासीलाख त्रिचालीसहजार सातसय छ जना यस रोगबाट आक्रान्त अवस्थामा छन् जसमध्ये एकलाख छहजार सातसय उनन्साठी जना गम्भीर अवस्थामा कि त आइसियुमा छन्, या भेन्टिलेटरमा जसमध्ये धेरैको मृत्यु हुने प्रायः निश्चित छ ।

यस्तो बेलामा आफ्नो ६४औँ जन्मोत्सवको बेला म १०० वर्ष बाँच्ने उद्घोष गरिरहेछु ।

यो आफैँमा विसङ्गतिपूर्ण लाग्न सक्छ । तर मैले यो उद्घोष निराधार गरेको भने होइन ।

पहिलो कुरा त कोरोनाको महामारीको बीचमा म भारत, नेपाल र अमेरिका तीन देशमा बसेँ र आफूलाई र आफ्नो स्वास्थ्यलाई  कसरी लामो समय बाँच्ने बनाउन सकिन्छ भन्नेमा चिन्तन, मनन र त्यसलाई अलम्बन गर्ने प्रयास थालेँ । त्यस प्रयासको लक्षण यति प्रबल रूपमा देखियो कि मलाई १०० वर्ष बाँच्न सकिन्छ भन्नेमा पूर्ण विश्वास हुन थाल्यो ।

कतिपय परिचितहरू भन्दछन्, जिन्दगी गजबले वाँचियो, अब गर्न केही बाँकी छैन ।

अर्थात् उनीहरू मृत्युको तयारीमा छन् ।

तर म त्यस्तो अवस्था र मनस्थितिमा छैन ।

म साहित्य लेखनमा पदार्पण गरेको ४५ वर्ष भयो । मलाई साहित्यमा के के न जान्ने छु जस्तो लाग्थ्यो । मैले मौलिक लेखेका २६ कृतिहरू प्रकाशित छन्, सम्पादन अनुवादका अरू १० कृति प्रकाशित छन् । मलाई क्या लेखेँ भन्ने थियो । त्यो त फगत भ्रम रहेछ । यस बीचमा ती सबैलाई फर्केर हेर्दा आफूलाई त पिँधमा पो देख्छु । मलाई ज्ञान भयो, म अज्ञानी छु । यो ज्ञान नै मेरा लागि प्राप्ति भयो । त्यसैले मेरो अज्ञानता दूर गर्न र ज्ञान हासिल गर्न पनि मैले १०० वर्ष बाँच्न पर्ने भो ।

मभन्दा १०।१५ वर्ष कान्छा साथीहरू मभन्दा निकै वृद्ध भएका छन् । उनीहरू जीवनको अन्तिम किनारमा पुगेको अभिव्यक्ति दिन्छन् । तर म त जीवनको मध्यतिर पो पुग्दैछु भन्ने लाग्दैछ ।

त्योभन्दा पनि मैले यतिन्जेल जीवनमा जे जति जानेँ, त्यसलाई बाँड्न बाँकी छ । मैले यतिन्जेल जे लेखेँ त्यो त सिकारुको अभ्यासमात्र थियो । वास्तविक लेखन त अब पो सुरु गर्दैछु भने, त्यो लेख्न पनि मैले १०० वर्ष नबाँची भयो र ?

विश्वमा कतिपय लेखकहरू सानो उमेरमै बितेका छन् र त्यो सानो उमेरमै जीवन्त कर्म गरेर सदा सम्झनलायक भएर गएका छन् । हाम्रा मोतीराम भट्ट हुन् कि ज्याक केरुवाक वा स्यामुयल बेकेट । महाकवि देवकोटाकै पनि आयु थोरै नै हो । तर हामीसँग दृष्टान्तका लागि गत वर्ष बितेका राष्ट्रकवि माधव घिमिरे छन्, सयवर्ष बढी बाँचे । सत्यमोहन जोशी सयमा बाँचिरहेछन् ।

कर्मका लागि बाँच्न केही बाधा छैन । कर्म गर्दै जाँदा मानिसलाई कर्मले नै हरेक वर्ष बूढो होइन, तरुनो बनाउँदै लैजान्छ । मानसिक खुराक, मानसिक बल र उद्देश्यपू्र्ण बँचाइ नै १०० वर्ष बाँच्नका लागि अचुक टनिक हुन् पूर्ण रूपले अर्ग्यानिक । शरीरका सबै अङ्ग, मन, मस्तिष्क र सोच सबै स्वस्थ भएमात्र मान्छे तरुनो हुँदोरहेछ ।

हुन त मान्छेहरू मलाई उमेरभन्दा कलिलो भन्छन् । जति उमेरको हुँ, त्यस्तो देखिन्न भन्छन् स्वदेशी विदेशी सबैले । तर यसो हुनुमा एक दुई दिन वा एक दुईवर्षको अनुशासनले सम्भव भएको होइन । जति ढिलो सुते पनि बिहान सधैँ समयमा उठेर बिहानी कर्मको निरन्तरतामा मैले कहिल्यै सम्झौता गरिनँ । दैनिक गरिने योगाभ्यासमा कहिल्यै सम्झौता गरिनँ । कैयन् जिब्रोका स्वादमा रमाउने कुराहरू कटौती गर्दै गएँ । सकारात्मक सोचलाई प्राथमिकता दिँदै गएँ । म धार्मिक प्रवृत्तिको मान्दिन आफूलाई, तर त्यसको अनुशासनलाई चाहिँ मान्दछु र अध्यात्मलाई अँगाल्न प्रयास गर्छु, यिनले पनि जीवनमा, उमेरमा, बँचाइमा ठूलो महत्त्व राख्दछन् भन्ने बुझेँ । जीवनका स्वाभाविकता, प्रकृतिसँगको निकटता, अनुशासन यी सवले मलाई १०० वर्षे तन्नेरीको सोचलाई बल पुर्‍याएका छन् ।

मैले सानामा साइकल सिक्दा मेरा पिताले भन्ने गर्नुहुन्थ्यो, बाबु, साइकल तिमीले जति बिस्तारै चलाउन सक्छौ, त्यसले तिमीलाई उति नै पर्फेक्ट बनाउँछ, हुइँक्याएर होइन । यो कुरा त्यतिबेला मैले बुझ्न सकेको थिइनँ । हुइँक्याउनुमा बहादुरी र सफलता देख्थेँ । तर अहिले बुझिरहेछु, खानभन्दा नखान सक्ने मनोबल उत्तम हो । लिनुभन्दा दिनुमा बढी आत्मसन्तोष हुन्छ । सबैलाई बाँडेर अन्तमा आफूले खानुमा जुन र जति आनन्द छ, आफूले पहिले र ठूलो भाग लिनुमा कदापि हुन्न । यस्तो हितकारी सोचले पनि मानिसलाई बुढ्यौलीतिर जानबाट जोगाउँदो रहेछ ।

 

भर्खरै मैले जीवनमा गर्नुपर्ने केही महत्त्वपूर्ण कामको सूचि बनाएँ । त्यो सूचिअनुसारको कामका लागि १०० वर्षको उमेर जरुरी छ । बाँकी काम भ्याउन अर्को जन्म लिएर आउँला भन्ने पनि कुरा भएन । पुनर्जन्मको बारेमा यसै भन्न सकिन्न । पुनर्जन्म भैहालेछ भने पनि पुराना अधुरा कर्महरूलाई निरन्तरता दिन सकिने देखिंदैन । किनभने आजसम्म त्यस्तो गर्ने कोही फेला परेको छैन, कोरा विश्वास वा अन्धविश्वासको कुरा भने अलग्गै हो ।

जल सिञ्चनको प्रतीक्षामा अनेक वनस्पति छन्, तिनलाई जल सिञ्चन गर्नु छ र तिनमा पालुवा लागेको हेर्नु छ ।

कैयन् भोका जीवहरूलाई खान दिनु छ ।

माया प्रेममा तड्पिनेहरूको लामो लाम छ, तिनलाई स्नेहिल औँलाले सुम्सुम्याउनु छ ।

बाटो बिराएर यात्रामा अलपत्र अनेक यात्रीहरू निकास खोजिरहेछन्, तिनलाई मार्ग निर्देशन गर्नु छ ।

नयाँ विषय र शैलीमा लेख्नका लागि औँला सक्सकाइरहेका छन्, तिनलाई अभिव्यक्ति दिनु छ ।

दुनियाँलाई बताउनु छ, मैले सिक्दै गरेको सिकाइको कथा । यतिन्जेल जानेको भनेको प्राथमिक शिक्षामात्र हो, हाइस्कुल, कलेज, विश्वविद्यालय पुग्न बाँकी छ ।

सिक्नु छ, दुनियाँलाई हँसाएर आफू खुसी हुन, दुनियाँलाई दिएर आफू सन्तुष्ट हुन ।

यी सबका लागि त उमेर चाहियो नि । समय चाहियो नि ।

मैले जीवनमा यतिन्जेल जानी नजानी गरेका गल्तीहरूलाई मेट्नु पनि त छ । तिनलाई पखालपुखुल गर्नु छ ।

दिदीले भाइटीकामा सधैँ तेलको घेरामा राख्नुहुन्छ, यमराजको बाटो छेक्न । तर भाइटीकापछि त्यो तेलको घेरा नाघेर बाहिर निस्कन्छु सबैजस्तै । तर अब त्यो घेरा ननाघी जीवनलाई यमराजको खतराबाट मुक्त हुन चाहेको छु, सयवर्षसम्म ।

सयवर्षमा नसकिने छन् भने पनि मेरा कामहरू, अलि छिटोछिटो गरूँला, बढी मेहनत गरूँला, कम थकाइ मारूँला, कम सुतूँला, कम अल्छी गरूँला, सयवर्षमै सकाउने मेलोमेसो गरूँला । सयवर्षको उमेर त मलाई नभई भाको छैन र हुन्छ भन्ने विश्वासको जगमा म बोलिरहेछु, लेखिरहेछु ।

नाङ्गा रुखमा पालुवा पलाएर वातावरण रमाइलो बन्दैछ । सडकमा साइरनहरू बज्न कम भएको छ । कताकता टाढा टाढाबाट आवाज आएजस्तो लाग्छ:

जीवेम शरद: शतम् ।

आँखा चिम्लन्छु, तर कानमा सङ्गीतझैँ गुन्जन्छ:

जीवेम शरद: शतम्

भित्तामा आवाज प्रतिध्वनित भएझैँ लाग्छ:

जीवेम शरद: शतम्

साहित्यको सत्कर्मका लागि म सयवर्ष बाँच्ने छु । मेरो अन्तरात्माले भनिरहेछ आफैँलाई :

जीवेम शरद: शतम्

सप्तर्षीहरूले वेदवाणी आकाशवाणी गरेझैँ लाग्छ:

जीवेम शरद: शतम् ।

दुनियाँका मेरा सबै प्रियजनहरूलाई विनयपूर्वक म सयवर्ष बाँच्ने उद्घोष गदर्छु ।

प्रतिक्रिया
Loading...