यौटा देशको
मनभरि कुरा खेलाएर
रमाउने गर्छु म
कुन्नि किन
अचेल !
थाहा छ के हजुरलाई
म कुन देशको कुरा गर्दैछु ?
हजुर, म त्यही देशको कुरा गर्दैछु
जहाँको राजा हो
प्रेम !
जहाँकी रानी हो
शान्ति!
हजुर, म त्यही देशको कुरा गर्दैछु
जहाँको न्यायालयमा
न्यायाधीश छन्
बुद्ध !
जहाँको अस्पतालमा
डाक्टर छन्
यीशु!
त्यहाँ सजाय भनेकै दया हो
त्यहाँ औषधि भनेकै माया हो।
हजुर, म त्यही देशको कुरा गर्दैछु
जहाँ राम र मोहम्मद
अँगालो मारेर
प्रेमकै कुरा गर्छन् ।
महावीर र लाओत्से
टाउको जोडेर
न्यायकै कुरा गर्छन् ।
जहाँ जराथुस्त्र र मोजेस
विषालु भाइरसहरू
धपाइरहेका हुन्छन्।
जहाँ दुखाइ र रुवाइ जाती पार्ने
उपायहरूको नतुरिने भण्डार छ ।
त्यहाँ रुपियाँ चल्दैन, माया चल्छ
त्यहाँ चापलुसी चल्दैन, सत्य चल्छ
त्यहाँ षड्यन्त्र चल्दैन, न्याय चल्छ
त्यहाँ आतङ्क चल्दैन, शान्ति चल्छ
त्यहाँ लोभको जाल बिछाउने
माकुराको अस्तित्व नै छैन ।
असन्तुष्टिको बिगुल फुक्ने
दुई मुखे राजनीतिको त बास नै छैन ।
हजुर, म त्यही देशको कुरा गर्दैछु
यौटा त्यस्तै देशको
मनभरि कुरा खेलाएर
रमाउने गर्छु म
कुन्नि किन
अचेल !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।