बेलायत बसाइँ सर्नुभन्दा अगाडि मलाई लाग्थ्यो, यहाँका स्त्री पुरुषमा समान अधिकार छ । महिलाहरूले पीडा सहनुपरेको छैन । यति विकसित यो देश, सम्झिन्थेँ यहाँ लिङ्गभेद छैन, छात्रछात्राहरू एउटै स्कुल जान्छन् । सम्झेको थिएँ यो रानीको देश, अनि आइरन लेडीले एक दशक हाँकेको देश । यहाँको मन्त्रिमण्डलमा आधा पुरुष आधा महिला मन्त्रीहरू होलान् भनेर ।
कुरो त्यसो रहेनछ । पछि थाहा भयो मेरो सोचाइ गलत रहेछ । बिस्तारै यहाँको जीवन भोगाइपछि अनुभव हुनथाल्यो । यहाँ पनि नेपालमा जत्तिकै लिङ्गभेद रहेछ । नारी दिवस पारेर गरिने कार्यक्रम र बेलाबेलामा सुनिने सञ्चारका स्रोतबाट ज्ञान भयो- महिलाप्रतिको असमानता टड्कारो रूपमा यहाँ पनि विद्यमान् रहेछ । क्रमश: यो देशप्रतिको मेरो सकारात्मक धारणामा परिवर्तन आउन थाल्यो । कार्यलयमा हुने महिलाप्रतिका असमान पारिश्रमिक र दुर्व्यवहार; समाज र घरपरिवारमा हुने हत्या, हिंसा र बलात्कार; फुटबल खेलमा हुने सेक्सिजम् इत्यादिले मलाई कहिले काहीँ खुबै पिरोल्छ । यो देशमा कुकुर त्यति मर्दैनन् होला बरु, कैयौँ महिला बलात्कृत हुँदा रहेछन् गल्लीमा । त्यत्तिकै महिलाहरू कार्यलय, सार्वजानिक स्थल र घरमै यौन दुर्व्यवहारबाट पीडित हुँदा रहेछन् । एउटा सङ्गठनको पुरुष प्रबन्ध निर्देशकको तलब सालको एक लाख हुँदा त्यस्तै अर्को सङ्गठनको महिला प्रबन्ध निर्देशकको तलब आधा लाख हुँदोरहेछ ।
सन् २०१५मा डेभिड क्यामरन प्रधानमन्त्री हुँदा उसको मन्त्रिपरिषद्मा मुठ्ठीभर महिला मन्त्री भएको हुँदा उसले खुबै आलोचना खेप्नुपरेको थियो । चर्चका तल्ला स्तरमा थुप्रै महिला भएता पनि ‘आर्चिबिसोप’ भनिने ठुलो पदाधिकारी महिला हुन नपाउने रहेछन्, पुरुषमात्रै रहन पाउने नियम रहेछ । बल्ल हिजोआज यो पदमा एक महिला आएकी छिन् ।
नेपाल छँदा बेलायती महिला र पुरुषमा केही भिन्नता छैन भनेको सुन्दा त महिला पुरुष एउटै शौचालय जान्छन् भनी कल्पना गर्थेँ । शौचालय त के विद्यालय पनि किशोर किशोरीका लागि फरक फरक हुँदा रहेछन् । केटालाई छुट्टै केटीका लागि छुट्टै ग्रामर स्कुलहरू देख्दा पञ्चायत पालाका कन्या स्कुल र काठमाडौँको पी.के क्याम्पसको याद आयो । मेरो छोरालाई केटाहरूमात्रै पढाइ हुने ग्रामर स्कुलमा भर्ना गराउनु पर्दा पिर लागेथ्यो । कतै समलिङ्गी बन्छ कि भनेर ।
सभ्य र शिक्षित बेलायती महिलाको व्यवहार पनि हाम्रा नेपाली महिलाको जस्तो नहोला भनी ठान्दथेँ । नेपाली महिला अर्काको कुरा काट्छन, सासु-ससुरासँग मिलेर बस्न सक्दैनन्, लोग्नेको आर्जनमा बढी आस्रित हुन्छन् भनेर भन्ने गरिन्छ । बेलायतका महिलामा पनि दुरुस्तै ती गुणहरू देख्न पाउँदा महिला संसारको जुनसुकै ठाउँका भए पनि सबै ठाउँका एउटै हुँदा रहेछन् भन्ने लाग्यो । आफ्ना भाइबहिनी र आमाबालाई असाध्यै माया गर्ने; लोग्नेपट्टिका लाई भने पटक्कै मन नपराउने बानी हुँदो रहेछ । चाखलाग्दो विषय त यो देशमा यति विघ्न पारपाचुके किन हुन्छ भनेको त एउटा प्रमुख कारण लोग्नेको सम्पत्ति पाउन पो रहेछ।
अझ आश्चर्य लाग्दो कुरो त के पो पाएँ भने, साधारण मानिसले पढ्ने दैनिकी ‘सन’ भनिने पत्रिकाको तेस्रो पानामा त अर्धनग्न युवतीको फोटो छापिँदो रहेछ जसलाई ‘पेज थ्री गर्ल’ भनेर जानिन्छ । पत्रिकाका प्रबन्ध निर्देशक महिला न रहेर हो या अरू कारणले, यस्तो छाडा प्रचलनलाई किन यहाँका महिलाले बिरोध नगरेका ? ब्यापारिक फाइदाले होला त्यसो गरेको । बल्ल हिजोआज आएर सुन्नमा आएको छ कि लामो समयसम्मको आन्दोलनपछि यस पत्रिकाले ‘पेज थ्री गर्ल’ हटाएछन् ।
नेपाली र बेलायती महिलामा अलिकति एउटा भिन्नता के पाइन्छ भने टेलिभिजनमा अन्तर्वाता दिनपर्यो भने महिला अघि सर्दा रहेछन् अझ परिवार कतै घुम्न जाँदा लोग्नेले भन्दा स्वास्नीले ड्राइभिङ बढी गरेको पाइन्छ ।
सभ्य समाज अनि मानवाधिकार र स्वातन्त्रताको जननी भनेर परिचित देश बेलायत, यहाँ यस्तो अमानवीय व्यवहार देखिँदा मैले सधैँ प्रश्न गर्ने गर्छु- आखिर महिला र पुरूषमा किन यस्तो भिन्नता ? कतै महिला र पुरुषको आनुवंश, शरीर, व्यवहार इत्यादि भिन्नताले गर्दा समान अधिकारबाट बन्चित हुन परेको त होइन ?
मुस्लिम राष्ट्रहरूमा महिलाहरू अमानवीय व्यवहारको सिकार भएको देख्दा म भित्र अझै के प्रश्न तेर्सिन्छ भने, के साँच्चिकै महिला मानवको श्रेणीमा पर्दछन् त ? कि कतै पुरुष यस पृथ्वीमा जलचरजस्तै अगाडि आए र महिला स्थलचर जनावरजस्तै पछि आए ? फलस्वरूप विकासको क्रममा पुरुष मानव भैसकेका र महिला अझै पनि अमानवको अवस्थामा छन् र ? त्यसो हुन नपर्ने, किनकी बाइबलले केटा र केटी दुवैलाई भगवान्ले यस धरतीमा एउटै समयमा पठाए भन्दछ । दुवै जातको अस्तित्व एकै समयमा सुरु भयो भने एक मानव र अर्को अमानव त हुन नपर्ने ! त्यसो हो भने किन महिलालाई अमानवीय व्यवहार त ? हामी मानव मात्रै के कमी के बढी भन्ने महसुस गर्छौँ, के समानता हो के असमानता हो बुझ्दछौँ तर मानवका यी दुई जातिमै यतिको असमानता देखिँदा पुरुषमात्रै मानव र महिला मानव होइनन् भन्ने शङ्का जाग्छ ।
अब अर्को प्रश्न के तेर्सिनछ भने- कतै महिलाको आफ्नै व्यवहारले गर्दा अमानवीय व्यवहार भोग्नु परेको त होइन ? कतै उनको शारीरिक रूप र ढाँचाले त्यसो भएको त होइन ? हामीले भन्ने गर्छौँ नि कसैले कसैलाई कुटपिट गर्यो र असमान व्यवहार गरियो भने त्यो मानवीय व्यवहार भएन भनेर । यस्तो अवस्थामा कि त पीडा दिने कि त पीडा लिने मध्ये एक कतै मानव होइनन् कि भन्ने शङ्का उब्जिन्छ । यदि दुवै मानव हुन्थे भने यो खाडल नतेर्सिनु पर्ने ।
महिलाहरू पुरूषभन्दा शारीरिक रूपमा धेरै भिन्न हुन्छन्, साना हुन्छन्, बाल लामो पाल्छन्, शरीरमा रौँ कम हुन्छन्, प्रजननका अङ्ग भिन्न हुन्छन्, एउटै भाषा बोले पनि बोलीको स्वर भिन्न हुन्छ, पुरुष सरह बलियी हुँदैनन् । जसले गर्दा पुरुषले शारीरिक प्रतिस्पर्धामा सधैँ उछिन्छन् । पुरुषहरू छिटो दौडन्छन्, गरुङ्गो भारी बोक्दछन्, महिलाभन्दा माथि उफ्रन र लामो छलाङ मार्न सक्छन् । महिलाहरू ढिला हुन्छन् । झनै नौ महिना बच्चालाई पेटमा बोक्दा उनीहरूको शरीर भारी हुन्छ । शरीर भित्रको अनुवंश पनि त फरक हुन्छ र यसैगरी उनको व्यवहार र पहिरनमा पनि फरक हुन्छ । उनीहरू रङ्गीबिरङ्गी सारी, कुर्ता लगाउँछन्; छोटो र पारदर्शी चोली र स्कर्ट पहिरन्छन्; हातमा चुरा, आँखामा गाजल, ओठमा लाली, गालामा पाउडर, घाँटीमा तिलहरी, नङ्गमा पालिस इत्यादि लगाएर आकर्षक बनाउँछन् । यसो गर्नु एउटा कला हो र त्यसको सम्मान गर्नु पनि मानवीय गुण हो । तर कतै महिलाको यो शृङ्गारिक कला अधिकार हनन् र अमानवीय व्यवहारलाई प्रोत्साहन गर्ने तत्व त बनेको छैन ? शारीरिक बनोट त परिवर्तन गर्न सकिन्न क्यारे, तर यी लाउने, हिँड्ने व्यवहारलाई परिवर्तन गरी पुरुषजस्तै बनाउन सकियो भने कतै छिट्टै समान अधिकारको हकदार हुन सक्छन् कि ! उनीहरू भन्ने मेरो धारणा ।
होइन भने, सिघ्रगामी परिवर्तनका लागि महिलाले आतङ्ककारी रूप लिन पर्छ कि भन्छु म त । १११ वर्ष भैसकेछ विश्वका महिलाहरू आफ्ना हक र अधिकारका लागि एकजुट भएका । तर यसको प्रगति भने कछुवाको चालमा छ । अब यसरी यथास्थितिमा बसे पूर्ण अधिकार पाउन अर्को १०० वर्ष लाग्ने देख्छु । सभा, दिवस र भासणमै सीमित हुने हो भने सोभियत सङ्घ र नाटो देशहरूको शीतयुद्धले छेकेको बर्लिन पर्खाल भत्किन समय लागेजस्तै यो असमानताको पर्खाल भत्किन समय लाग्नेछ । शीघ्र अधिकार खोज्ने हो भने अब आन्दोलनको झिल्कालाई युद्धको राँको बनाउन पर्छ कि ? नेपालमा माओवादीले हतियार नउठाएको भए निरङ्कुश राजतन्त्र आज ढल्ने थिएन र राजनैतिक समावेशी र सङ्घियता आउने थिएन । आइससको युद्ध जस्तै बन्दुक र तोप उठाएर तर्साउन सके मात्रै त्यो समान अधिकारको फल पुरुष र महिलासँगै बसेर उपभोग गर्ने थिए कि ।
त्यसैले के भन्न मन लाग्छ भने- छोड महिला हो लिपिस्टिक पाउडर लागाएर हिँड्न र घरमा छोराछोरीलाई काख च्यापेर बस्न । त्याग महिला हो भान्सामा डाडु पन्यु समातेर बस्न । ती कोखा र हातमा अब बन्दुक समाऊ । छोड डोकामा पानीको गाग्रो बोक्न । अब सिक ती डोकामा बारुद बोक्न । बच्चा जन्माएपछि लामो सुत्केरी बिदा र सुत्केरी भत्ता खाएर आफ्नै खोपीमा नबसेर लोग्नेलाई बच्चा हेर्ने जिम्मा दिएर तिमी काममा फर्क । वीर र शाहसी बन पुरुषजस्तै । अनि हेर त कसरी समान अधिकार पाउन सक्दैनौ । प्राणीमध्येमा हामी मानव हौँ, त्यसैले भनिन्छ हामी सभ्य छौँ । तर अझै यसलाई केलाउने हो भने महिला र पुरूषमा को मानव हो भन्ने प्रश्न तेर्सिन्छ । यी भिन्नताले गर्दा हामी दुवै मानव हुन सक्दैनौँ । एक पशु एक मानव हुनपर्छ भन्ने मेरो धारणा ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।