साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

“आँखीझ्यालभित्र”बाट मणिपुर नियाल्दा 

निबन्ध लेखनमा परिपक्वता हुनुभएकी मणिपुरवासी भवानी अधिकारी (अध्यक्ष, नेपाली साहित्य परिषद् मणिपुर)द्वारा रचित आँखीझ्यालभित्र मणिपुर, निबन्धसङ्ग्रह पाठ गर्ने मौका पाएँ । उहाँको यो पुस्तक पढेर प्रतिक्रिया नलेखी मनले मानेन । उहाँ आलेख एवं निबन्धलेखनमा निपुणता अर्जित गरेर नेपाली साहित्यजगत्लाई आफ्नो योगदान पुर्‍याउँदै हुनुहुन्छ । मेरो बौद्धिक क्षमतामा प्रतिक्रिया दिने परिपक्वता न भएता पनि मनमा उब्जिएका केही कुराहरू कोर्ने दुःसाहस गर्दैछु ।
हुन त म पनि मणिपुर भूमिमा जन्म लिएको एक भारतीय नागरिक हुँ । यो पुस्तक पढ्नु अघि म मणिपुरमा बसोबासो गर्ने गोर्खाली समाजबारे केही सामान्य ज्ञान राख्दछु भन्ने मिथ्यामा रहेछु । मेरो मिथ्यालाई यो पुस्तकले छर्लङ्ग पारिदियो । लेखकले नेपाली भाषी(गोर्खाली)को सन् 1826 बाट इतिहास सिर्जन भएको अंशहरूलाई सङ्क्षिप्त रूपमा समाहित गरेर पुस्तकको रूपमा पस्किनुभएको छ जसमा साहित्य, धर्म-संस्कृति र सामाजिक विकासलाई स्थान दिएको छैन भनेर भन्दा लेखकप्रति अन्याय हुन्छ ।
हर्कबहादुर लामगादे रोहित (मणिपुर)

भारतको प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले मणिपुरको सुन्दरता देखेर ‘ज्वेल अफ इन्डिया’ को उपनाम दिए । यस उद्धरणको वृतान्त परिचय ‘कौब्रुका शरणमा’ अध्यायमा पाइन्छ जसमा कौब्रुको हरियाली सुन्दरता साथै मणिपुरलाई नौँ डाँडाले घेरेको सौन्दर्यको कलात्मक ढङ्गले वर्णन गरिएको छ । वर्णन पढ्न लाग्दा पाठकलाई कौब्रु पहाडको दर्शन गरे जस्तो प्रतीत हुन्छ । मलाई चाहिँ भयो । पुस्तकमा कौब्रुको सुन्दरताको वर्णन साथ-साथै लेखकले धार्मिक एवं सांस्कृतिक पहलुलाई पनि बलियो ढङ्गले मुठारेका छन् र कौब्रुको वरिपरी फेदमा बस्ने गोर्खाली समाज साथै हिन्दूधर्मका अनुयायीको धार्मिक अस्थालाई दर्शाएका पनि छन् । कुनै धार्मिक कार्यक्रम गर्दा, पूजाकार्जे गर्दा कौब्रुबाबाको नाम उच्चारण एवं वन्दना गरिन्छ; विस्मय पोख्दा, बाचा-कसम खादा कौब्रुको नाम स्मरण गरिन्छ । कौब्रुको आशीर्वादले नै नेपाली भाषी आफ्नो धर्म-संस्कृति एवं विरासतलाई लिएर जीवन यापन गर्दै छन् भन्ने लेखक आत्मविश्वासका साथ भन्नुहुन्छ । मणिपुरको सामाजिक औ जातिय समीकरण पनि जान्न पाइन्छ लेखकका कलमबाट । नेपाली भाषीको भौगोलिक बसोबासोलाई वर्णन गर्दै लेखकले मणिपुरको कुनाकाप्चामा भएका बस्तीलाई नछोडी लेखमा सुरक्षित स्थान दिनु भएको छ । गोर्खाली मृदुभाषी हुँदै यहाँका सम्पूर्ण समाजसँग सामान्जस्यपूर्वक बसेको महत्वलाई प्रकाश हाल्नुभएको पनि पढ्न पाइन्छ ।

मणिपुरमा गोर्खाली समाजले मनाउने एक चाडलाई पनि नछुट्टाईकन व्याख्या गरेको पढेँ । सबै चाडलाई एकै चोटि पाठन गर्दा देउसीभैली, तीजको रमझम, दसैँको खुसी, तिहारको प्रकाश, भाइटीकाको हर्षोल्लासले एकै चोटि मनमा पदार्पण गर्दछ । पश्चिमी सभ्याताले जति नै थिचोमिचो गरे पनि मणिपुरेली गोर्खाली धर्म, संस्कृति, चाडबाडलाई साँचेर राखेको सन्दर्भलाई लेखकका आत्मविश्वासी शब्दले बाँधेको छ ।
पाठकको रूपमा यो पनि जान्न पाएँ कि नेपाली साहित्यको इतिहासको उद्गमकाल सन् १९५६मा आषारानीको नेतृत्वमा ‘मणिपुर नेपाली साहित्य समिति’ को गठन गरेर नेपाली साहित्य विकासको श्रीगणेश भएको हो । त्यसपछि पनि साहित्य गतिशील भएको उल्लेख जान्न पाइन्छ । मणिपुरको सवाई-१८९३मा तुलाचन आलेले लेखेको सुरवाती क्रमलाई सम्झिँदै वर्तमानमा युवा कवि सकरज चापागाँईसम्मको मणिपुर साहित्य विकासको इतिहास पढ्दा सन्तुष्टिको सास स्वतः फेरिँदो रहेछ।
सम्बन्धित पोस्टहरु
मणिपुरमा गोर्खाली समाजको अस्तित्वमा प्रश्न आई रहन्छ र थोरै जनसङ्ख्यालाई थाहा होला कि मणिपुरको महाराज बुद्धचन्द्रको नेपालकी राजकुमारी ईश्वरी देवीसँग १८ जुन, सन् १९४१मा विवाह भएको थियो । ८ जुन १८९१ मा सहिद सुवेदार निरञ्जन सिंह क्षेत्रीले मणिपुर प्रदेशको रक्षार्थ फाँसीको फन्दालाई सहर्ष चुमेका थिए । यो गौरवतापूर्ण विरासत औ अस्तित्वबाट हामी सबै अनभिज्ञ छौँ । म पनि थिएँ तर यो पुस्तकले मेरो यो अन्धकारलाई पन्छाई दियो । यो सोधात्मक निबन्ध सबैका लागि मर्दै गरेको प्राणमा औषधिको रूपले काम गर्छ भन्ने विश्वास छ ।
हामीले दैनिक जीवनमा भेटी राख्ने पं. बद्रीशरण खतिवडाको विशेषतालाई जानेको छैनौँ । उहाँले १६ विश्व शान्ति महायज्ञ र ४०० माथि पुराण वाचन गरेको एवं उहाँको धार्मिक जनजागरणमा पनि उत्कृष्ट योगदान मानेर मणिपुर सरकारदेखि लिएर मानव संसोधन विकास मन्त्रालय भारत सरकार र अन्य सङ्गठनले पुरस्कृत गरेको सद्ज्ञान हामी जस्ता पाढकलाई कहाँ थाहा थिया र ! लेखकले पं. बद्रीशरण खतिवडामार्फत नेपाली भाषीले पाएका गौरवपूर्ण भूमिकालाई राखेर प्रशंसनीय कार्य गरेको म जस्तो सामान्य पाठकलाई लाग्यो ।
मणिपुरबाट गोर्खालीको अरू राज्य वा देशमा पलायन केही वर्षदेखि चलिरहेको छ । यो गोर्खा जनजातिनिम्ति घातक सिद्ध हुँदैछ र यसरी नै चलिरह्यो भने परिणाम अझ घातक हुनेछ । यो पलायनदेखि लेखक अति कष्टमा परेको उहाँको वर्णनमा देखियो । यो समय सान्दर्भिक विषयले उदाहरणात्मक शैलीमा पाठकको मन छुन बाध्य पारेको छ । यो पलायन सम्बन्धी निबन्ध सबै मणिपुरको नेपाली भाषीले पढ्न अति आवश्यक छ । यस्ता लेखले मात्र सबैको मार्ग प्रष्ट गर्छ भन्ने मेरो विश्वासमा थप दृढता बढेको छ ।
यो निबन्ध सङ्ग्रह पढ्दा लेखकको कलात्मक ढङ्गले धेरैको मन छोएको छ । निबन्धमा कुनै पनि सानो भावनालाई/विषयलाई रोचक शैलीमा शब्द एवं भावलाई न दोहोर्‍याई विस्तार दिइएको पाइन्छ । चुनिएको विषयमा उठान पछि व्याख्या गर्दा व्यापकताको गहराईले पढ्नमा रुचि बढाउँछ । वर्तमान समयको दैनिक वार्तालापमा अङ्ग्रेजी शब्दको प्रभुत्व अधिक मात्रामा बढेको छ । साहित्यिक भाषा एवं शब्द विलीन हुँदैछ । यो परिवेशमा लेखकले भाषा र वाक्य रचनामा साहित्यिक बास्ना दिएर हामी जस्ता सामान्य पाठकलाई जटिलताको अनुभव गराएका छन् । पाठकलाई नूतन शब्द जान्न बाध्य बनाएका छन् । लेखकले कुनै पनि विषयमा वर्णन गर्दा, विस्तार दिँदा, उदाहरण दिँदा मणिपुरलाई बिर्सिनु भएको छैन । उहाँको मणिपुरप्रतिको प्रेमभावना लेखमा छछल्किएको छ। लेखकका भावना धार्मिक, सांस्कृतिक एवं सामाजिक तत्वले रङ्गिएको थाहा पाइन्छ ।
आँखीझ्यालभित्र मणिपुर निबन्धसङ्ग्रह पढेर बौद्धिक विकास हुनु औ मणिपुरमा बस्ने गोर्खालीको इतिहाससँग परिचय पाउनु स्वभाविक छ । पुस्तकको उदेश्य पनि यही होला । आशा होइन पूर्ण विश्वास छ, यो पुस्तक समान आउने दिनमा पनि लेखक भवानी अधिकाकारीको गुणात्मक कृति पढ्ने अवसर पाइन्छ ।
प्रतिक्रिया
Loading...