नेपाली भाषासाहित्य, कला र संस्कृतिको उत्थानमा लागिपरिरहेको सक्रिय संस्था अनेसास कोरिया च्याप्टरले नयाँवर्ष २०७८ को अवसरमा शुभकामना आदानप्रदान सहितको बृहत् रचना वाचनसँगै २०२० मा आयोजना गरिएको कोरियाव्यापी खुला कविता प्रतियोगितामा विजयी भएका कविहरूलाई पुरस्कार वितरणको कार्यक्रम आयोजना गर्ने भएको छ।

नेपाली साहित्यमा लामो समयदेखि योगदान गर्दै आउनुभएका वरिष्ठ साहित्यकारहरू शैलेन्द्र साकार,रमेश श्रेष्ठ,गोवर्द्धन पूजा र महेश पौड्यालको आतिथ्यमा सम्पन्न हुन लागेको सो कार्यक्रममा नेपाली साहित्यमा सर्वाधिक लेखिने विधा कविता,गजल र मुक्तकको क्षेत्रमा कलम चलाइरहनु भएका वर्तमान समयका चर्चित साहित्यकारहरू रोशन परियार,मनोज विश्वकर्मा, सुनिता खनाल,लक्ष्मण गगन,कपिल अञ्जान,दिलु थापा मगर,प्राञ्जल,रामचन्द्र शर्मा र ऋद्धिमा रिजालको उपस्थिति रहने र स्रष्टाहरूलाई सम्मान गर्ने आयोजकले जनाएको छ ।

त्यसैगरी गत वर्ष सम्पन्न भएको कोरियाव्यापी कविता प्रतियोगितामा विजयी हुनुभएका कविहरू क्रमशः युवराज फुँयाल, निर्दोष शिव र माधव लम्साललाई पुरस्कार प्रदान गरिने कुरा कार्यक्रमका संयोजक आर. एन.ले बताएका छन् ।

विगत लामो समयदेखि अनेसास कोरियाले कविता, गजल,मुक्तक जस्ता सबै विधामा सन्तुलन राखेर विभिन्न साहित्यिक कार्यक्रमहरू गरेको स्मरण गर्दै यस कार्यक्रममा पनि हरेक विधामा कलम चलाउने अधिक स्रष्टालाई उपस्थित गराएर नेपाली साहित्यको श्रीवृद्धिमा लागिरहने कुरा पनि अध्यक्ष प्रमोद सारंगले बताएका छन् । कार्यक्रम
जुम मिटिङको माध्यमबाट च्याप्टरको फेसबुक पेजमार्फत लाइभ हुने आयोजकले जनाएको छ ।