समकालीन कविका कविता माथि बोल्न निकै होमवर्क र होसियारी चाहिन्छ किनभने कविताको एक परिभाषा वा परम्परित परिभाषाले तिनलाई सही ढङ्गले अर्थ्याउन सक्तैन।हिजोआजको सिर्जनामा एउटा भाषाका शब्दभण्डारले नभ्याएर साइबर जगतबाट शब्द वा सङ्केत प्रयोग गरिएको पाइन्छ।तिनलाइ बुझ्न अनेक दृष्टिकोणका सिद्धान्त र दर्शन-विज्ञानको अध्ययन आवश्यक हुन्छ। डा. खिलानाथ शर्माले उनको अध्ययन,अनुभव र कल्पनाको जुन कुरा भन्न खोजेका छन त्यसलाई अभिव्यक्त गर्न नेपाली शब्दकोशका शब्दले मात्र नपुगेर विशेष गरी जीव विज्ञानका तकनीकि शब्द उनले प्रयोग गरेका छन् ।

शब्दको पनि जीवन-मृत्यु हुँदो रहेछ। व्यवहारमा नआएर कतिपय शब्दहरु मृतप्राय अवस्थामा छन भने कति नयाँ शब्द जन्मिरहेका छन। नयाँ शब्दलाई स्वागत गर्नु जिउँदो भाषाको लक्षण हो। डाक्टर कवि खिलानाथले नयाँ अतिथिहरुलाई खुल्ला हृदयले स्वागत गरेका छन। कविको विचार सफा छ, पूर्वाग्रह र अन्धविश्वासको त्यहाँ कुनै स्थान छैन।

अन्धविश्वास विकासको बाधक तत्त्व हो। यसले व्यक्तिलाई, समाजलाई कसैलाई भलो गर्दैन। हाम्रो समाज तथा देश  अन्धविश्वास र कुरीतिहरुबाट मुक्त हुन सकेको छैन। आज पनि बोक्सी डाइनी भनेर निरपराध मान्छेलाई मार्ने, पुत्र सन्तान जन्मेन भनेर नारीलाई दोषारोप गर्ने, दाइजो, पर्दा, जातपात आदि  अनेकौ कुप्रथाहरुले समाजलाई अन्धकारमा राखेको छ।

निर्दिष्ट ढाँचागत शिक्षाव्यवस्थाले अन्धविश्वासलाई हटाउन नसक्तो रहेछ। शिक्षाव्यवस्था अनुदार र ढाँचागत भयो भने त्यसबाट अन्धविश्वासलाई पो बल मिल्दो रहेछ। विज्ञान मानसिकताले मात्रै अन्धविश्वासलाई हटाउन सक्तो रहेछ। आवेगको भेलमा बग्ने होइन, कुनै पनि कुरालाई जुक्तिले विचार गरेर हेर्नु, त्यसको व्याख्या विज्ञानसम्मत तरिकाले गर्नु र यसरी विज्ञानलाई जनप्रिय पार्ने कुरामा ध्यान दिनु उचित रहेछ। डा. खिलानाथका कविताले त्यही सन्देश दिएका छन।

अंग्रेजी तथा अन्य उन्नत भाषामा विज्ञान साहित्य विकसित भएको सय वर्ष नाघिसक्यो। एच जी वेल्सले १८९८ मै द टाइम मशीन जस्तो आख्यान लेखेर हलचल मच्चाएका थिए भने हाम्रै देश भारतमा पनि विज्ञान साहित्यको परम्परा त्यति छोटो छैन। नेपाली साहित्यमा भर्खरै मात्र फाट्ट फुट्ट दुइ एक कृति निस्किन थालेका छन। यतिखेर दुइजना चिकित्सकले चिकित्सा विज्ञानका कुरालाई जोडेर कविता संकलन नै प्रकाशित गराएका छन। ती हुन डा. कमल छेत्रीको मनका कुरा र डा. खिलानाथ शर्माको मेरो माइक्रोस्कोप

दुबैजना डाक्टर कविले सहज सरल तरिकाले भन्ने प्रयास गरेका हुन तर विज्ञानका पदावली प्रयोग नगरी उनीहरुले  धर पाएनन। त्यसैले आम पाठकका लागि यी कविता संग्रह केही जटिल बने पनि चबाउनै नसकिने फलामका चिउरा भने होइनन। नारिकेल फलमिदम भनेर अलिकति कष्ट गर्नु पर्छ। भित्र स्वादिष्ट पौष्टिक तत्व फेला पर्छ नै।

यस लेखमा डा. खिलानाथ शर्माको प्रयोगशालाको माइक्रोस्कोपमा के कस्ता डेटा आएका छन अनि तिनको सूक्ष्म परीक्षण गरेर कवि डाक्टरले के निष्कर्ष निकालेका छन त्यसमाथिको विमर्श प्रस्तुत गरिएको छ।

मेरो माइक्रोस्कोपमा कवि खिलानाथ शर्माका एकचालीसवटा कविता पाँचवटा खण्डमा निम्न प्रकारले राखिएका छन ——

खण्ड क(क्यान्सर — तीनोटा कविता)

मेरो माइक्रोस्कोप, मौनता, महत्वाकाङ्क्षा

खण्ड ख(रोगी संसार — चारवटा कविता)

मधुमेह,हृदयाघात,क्षयरोग, पक्षाघात

खण्ड ग(महामारी — पाँचवटा कविता)

सङ्क्रमण,मृत शहर,आत्मनिर्भरता,अनुसन्धान, कोरोना

खण्ड घ(कविता संसार — यस खण्डमा सबैभन्दा धेर,तेइसवटा कविता छन)

खण्ड ङ(कृत्रिम बुद्धिमत्ता — छवटा कविता)

मानव शरीर,विज्ञान,प्रकृति,भोक,रोगी, मृत्यु

(जम्मा- ३+४+५+२३+६=४१)

पहिलो खण्डको क्यान्सर विषयको मेरो माइक्रोस्कोप शीर्षकको कविता यस संग्रहको सबैभन्दा महत्वपूर्ण कविता हो किनभने कवि जुन डेटा र फोटोका आधारमा कुनै निष्कर्षमा पुगेका छन ती उनको माइक्रोस्कोपबाट प्राप्त भएका हुन। त्यसैले कविले उनको कृतिको नाम पनि मेरो माइक्रोस्कोप राखेका छन। माइक्रोस्कोपमा देखिएको जीवकोषको गठन र कार्यप्रणाली कविलाई आफू बाँचेको भूगोल जस्तै लाग्छ। क्यान्सर कोषिकाले आम कोषिकाको आहार खाएर द्रुतगतिमा बढ्न थाल्छन। पूंजीवाद र उपभोक्तावादले निम्त्याएको एउटा सकसपूर्ण वातावरण, दिनदिनै गहिरो हुँदै गई रहेको आर्थिक असमानता, अनि पूँजीवादिहरुको हैकमवादकै कारण आज विश्वको एउटा वर्ग प्रताड़ित छ। क्यान्सरले ग्रस्त शरीरमा अरु सामान्य कोशिकाहरु जस्तै, उनीहरुले पनि दिन दिनै मर्दै बाँच्नुपर्ने अवस्था छ। क्यान्सर कोषलाई मार्न मरीजलाई केमोथेरापीको डोज दिइन्छ तर त्ससले उल्टो असर गर्छ। उपचारको यो तरिका कविलाई लोकतन्त्रका नाममा पुँजीवादी शासन व्यवस्था थोपरिदिए जस्तो लाग्छ । हमलाकारी क्यान्सर कोषिकाका विरुद्ध आफैं युद्ध लड्न चाहन्छन शरीरका आम कोषिकाहरु। केमोथेरापी चाहिँदैन भन्ने आम कोषिकाहरुको  आवाज सुन्छन कवि डा. खिलाऩाथ——-

त्यसले हामीलाई पङ्गु बनाउँछ

अनि आफैं मर्न बाध्य बनाउँछ

हामीलाई हाम्रो लडाँइ आफैं लड्न देऊ

हामीलाई आफ्नो रक्षा आफैं गर्नदेऊ।

यस पछिको कविता छ मौनता। मौनतामा डाक्टर कविले लामो अन्तरालसम्म समाजलाई बोल्नबाट बंचित गराएको अवस्थामा उत्पन्न हुने स्थितिबारे सचेत गराएका छन। जसरी क्यान्सरमा कोशिकाहरुको डीएनएमा हुने म्युटेशन हामीलाई थाह हुन्न, ठीक त्यसैगरी मौन समाजले कुन समयमा उग्र रूप धारण गर्छ त्यो हामीले ठीक अडकल लगाउन सक्दैनौ। पहिले तिनीहरुने क्यान्सर कोषिका भनेर परिचय दिँदैनन। विस्तारै डीएनए र आरएनएहरुले म्युटेसन गरेर शरीरको संरचनालाई भताभुङ्ग पारिदिन्छन। हाम्रा जासुस कवि लुकेर उनको माइक्रोस्कोपमा तिनका सबै गतिविधि हेरिरहेका हुन्छन, षडयन्त्रको पत्तो  लगाउँछन अनि बायोप्सी रिपोर्टमा कार्सिनोमा भनेर जजमेन्ट सुनाउँछन।

क्यान्सर खण्डको तेस्रो कविता महत्वाकाङ्क्षा ब्लाड क्यान्सरको प्रतिवेदन, यसले इकोलोजीलाई सङ्केत गरेको छ। शुरुमा शरीरमा रगतको कमी हुन्छ। उपचारको क्रममा मरीजको बोन म्यारो परीक्षणमा रक्त कोषिकाको क्यान्सर भन्ने पत्ता लाग्छ। बोन म्यारो परीक्षणमा उऩी रक्त कोषिकाहरुमा आएको अनौठो परिवर्तन—– औसत आठ हजारबाट तिनको संख्या दुइ लाख पुगेको देख्छन। रक्त कोषिकाहरुको आकारमा, संख्यामा बेरोकटोक बढोत्तरी हुनु क्यान्सरको कारण बन्दछ। मानव शरीरमा विभिन्न तत्वहरुको सन्तुलन रह्यो भने मात्र शरीर स्वस्थ्य रहन्छ भन्ने कुरालाई कविले सुन्दर तरिकाले इकोलोजीसँग दाँजेर मननयोग्य मन्तव्य गरेका छन। मान्छेको महत्वाकाङ्क्षाले गर्दा बेरोकटोक गाडी मोटरको संख्या बढ्दो छ, बेरोकटोक वनस्पति ध्वंस गरिएको छ अनि यसरी प्रदूषण फैलिँदो छ। पर्यावरणको सन्तुलन विनष्ट हुनुको मूल कारण मान्छेको महत्वाकाङ्क्षा हो भनेर पत्ता लगाउँदै संयम भएन भने, अङ्कूश लगाइएन भने डाक्टर कविले भयङ्कर परिणामको चेतावनी दिएका छन।

किन छ संयमको महत्व

किन छ अङ्कूशको महत्व

किन छ शरीरको संरचनामा प्रोटोअङ्कोजिनसको महत्व

कहिल्यै सोच्ने गरेका छौ तिमीले ? (पृ १२)

खण्ड (ख) को रोगी संसारमा मधुमेह, हृदयाघात, क्षयरोग र पक्षाघात रोगका कारक तत्वहरु रिपोर्टमा आएका छन अनि तिनको निराकरण पनि प्रेस्क्राइब गरेका छन डाक्टर कविले। हरहर तिर्खा लाग्नु, भोक लागिरहनु, हात पैताला झमझम गर्नु आदि मधुमेह रोगका लक्षण हुन। मधुमेह रोगीका मृगौला र हृदयको कार्यक्षमता घट्दै गएर समस्या उत्पन्न भए पछि मरीज प्रेसक्रिप्सन बोकेर औषधी पसलमा पुग्छ। चिनी गुलियो हुन्छ। केटाकेटीलाई भुल्याउन आमाले गुलियो खानेकुरा दिएको कवि सम्झिन्छन । अहिले उऩलाई लाग्दैछ चिनी त षडयन्त्रकारी रहेछ। मधुमेहको जढ यही रहेछ। चिनीको कार्बोहाइड्रेट र तेलको कोलेस्ट्रोलले स्ट्रेस हर्मोनसँग मिलेर रक्तसञ्चारमा व्याघात जन्माउँदा रहेछन। बहुजातिक कम्पनीहरुले तिनै चीजहरु सुन्दर प्याकेटमा हामीलाई बेचिरहेछन. य़सरी ती कम्पनीहरुले परोक्ष रुपमा हामीलाई बिमारी पारेर लुटेका छन। मुटुमा रक्तसञ्चार व्याघातप्राप्त  भए पछि बाइपास सर्जरी गराएर पैसा लुट्ने तिनै कम्पनी हुन्। पक्षाघात हुने कारण पनि सोही रहेछ। क्षयरोग कवितामा कविको राष्ट्रवादी भावना अभिव्यक्त भएको छ। क्षयरोगले पीडित देशको नागरिक पनि संक्रमित हुन्छ। कवि भन्छन तिमी देशका सच्चा नागरिक हौ भने तिमीलाई पनि त्यसको असर पर्छ।

देशलाई ज्वरो आउँदा तिमीलाई पनि आउनु पर्छ

देशको छाती दुख्ता दुख्नै पर्छ तिम्रो पनि छाती

उसको खोकीबाट हुनै पर्छ तिमी पनि संक्रमित

थुक्नै पर्छ रगतका ढिकाहरु तिमीले पनि। ( पृ २१)

देश स्वस्थ्य रहे मात्र देशका नागरिकहरु स्वस्थ्य रहन्छन भन्ने कविको राष्ट्रवादी भावना स्तुत्य छ।यी र यस प्रकारका अरु धेरै बीमारीका बहुजातिक कम्पनीले औषधी पसल खोलेर बसेका छन, किसिम किसिमका सर्जरीका उपकरण र विशेषज्ञहरुलाई राखेर व्यापार चलाएका छन। डाक्टर कवि हुनाले हो अथवा कवि डाक्टर हुनाले, हामीले भोगेका कुराहरु साह्रै घतलाग्दो शैलीमा अभिव्यक्त भएका छन—-

वास्तवमा उसलाई थाहा छैन—

ती औषधीहरुले गर्दा उ बाँचिरहेको छ वा

उसले गर्दा ती माल्टी-नेशनल कम्पनीहरु बाँचिरहेका छन। (पृ १७)

खण्ड (ग) अन्तर्गत पाँचवटा कविता कोभिड19  महामारीका विषयमा रचिएका हुन। यसको पहिलो संक्रमण  कवितामा कोभिडको वीजाणु कति द्रुतगतिमा आयो अनि कति छिटै सारा विश्वलाई आफ्नो चपेटमा लियो भन्ने कुरा छन भने मृत शहर आत्म निर्भरता  कवितामा मान्छेलाई  उसको औकात स्मरण गराउने प्रयास छ। रोटीको गोलाइ र पोलाइले एउटा उर्जाबाट अर्को उर्जामा परिवर्तित हुने भौतिक शास्त्रको स्थापित मान्यतालाई मान्दै जीवनलाई क्षणभङ्गुर मानेको छ।   ज्ञानी-विज्ञानी भएँ, सबै कुरा जानें भनेर मान्छे  घमण्ड गर्छ तर प्रकृतार्थमा विश्व ब्रह्माण्डको असीमित ज्ञानभण्डारबाट उसले एक छेउ पनि कोट्याउन सकेको छैन। यो कुरा कोभिड 19को महामारीले प्रमाण गरेको छ। अनुसन्धान कवितामा कवि भाषाविद, अर्थशास्त्री, दार्शनिक, विज्ञानी सबैलाई प्रश्न गर्छन—–

के भन्दैछ त्यसले, के खोज्दैछ त्यसले अनि आफ्नो निर्णय सुनाउँछन — विज्ञानले अनुसन्धान गर्न नसकेका कुराहरु पनि धेरै छन यस पृथिवीमा। कोरोना शीर्षकमा अथवा कोरोनालाई विषय बनाएर कति कविता लेखिए त्यसको लेखाजोखा छैन। यस खण्ड (ग) का पाँचै वटा कविताको विषय कोरोना छ भने पाँचौं कविताको शीर्षक पनि कोरोना रहेको छ।

सारा विश्वलाई थर्कमान पार्दै अहिले वुहानको फर्जी परिचय-पत्र बोकेको सन्त्रास-अतिथि कविको आगनमा उभिएको छ। कुनै पनि मुहूर्तमा ऊ भित्र छिर्न सक्छ। यता कवि भने कविता लेख्नमा तल्लीन छन्। वाह्यिक दृष्टिमा यो बिम्ब हास्याष्पद लाग्न सक्छ तर कविलाई कविता माथि, कविताको शक्ति माथि विश्वास र भरोसा छ। जन्मे पछि मृत्यु अवधारित छ, दुइचार दिन अघि पछि मात्र हो। जीवन छउञ्जेल कवि अमर सृष्टिकर्ममा रमाउन चाहन्छन।

वुहानको फर्जी परिचय-पत्र बोकेर

आज उ मेरै घरको सिकुवामा उभिएको छ।

अनि म मेरै घरभित्र बसेर

कविता लेख्न लागेको छु

आज तिम्रो बदला लिन यो संसारमा

यो भन्दा ठूलो हतियार मसँग छैन (पृ ३५)

यतिञ्जेल कविले अपरम्परित विषयमा कविता लेख्ने अभ्यास गरे। अब उनी कविता संसार खण्ड (घ)मा प्रवेश गरेका छन। यसमा उनका तेइसवटा कविता परेका छन। यस अघि कोरोनाले दैलो घच्घच्याउँदा समेत उनी कविता लेखिरहेका थिए। किनभने उनले बुझेका छन — मान्छेको मृत्यु हुनसक्छ तर कविताको मृत्यु हुँदैन। दुइचारवटा गद्दार शब्द, एक दुइवटा विश्वासघाती वाक्य छन भन्दैमा कविता मरिहाल्दैन, कविताको मृत्यु हुँदैन भन्ने कवितामा कविताको असीमित शक्ति र शाश्वत स्वरुप अभिव्यक्त भएको छ। कविताको गुदी बाहिरी सतहमा हुँदैन, भित्र पुरिएको छोपिएको हुन्छ। कलुषित राजनीतिले, सामाजिक विसङ्गतिले र अनेक भौतिक तत्वहरुले कतिपय शब्दलाई भुत्ते पारेको हुन्छ, तिनको शक्ति ह्रास भएको हुन्छ। कवितालाई शब्दब्रह्मले नै जीवन्त र शक्तिमान पार्छ भन्ने कविको ठहर छ ।

साहित्यलाई धेरैले शब्दको खेल भनेका छन तर कवि खिलानाथ भने सोझै गहिरो अर्थ वहन गर्ने काव्यिक अभिव्यक्ति प्रस्तुत गर्दछन जस्तै—-

घडी त मेरै हो

तर समय कसको देखाइरहेको छ काँटाले ?

कविता संसार शृङ्खलाको पाँचौ कविता छ प्लुटो। सोलर सिस्टममा पहिले नवौं ग्रह प्लुटो थियो तर ग्रहहरुको सूचीबाट उसको नाम कर्तन भएछ। कवि भन्छन ग्रहको सूचीबाट पो नाम काटियो अस्तिव्त त मेटिएको छैन। इबराको ‘वस्तुता’को अवधारणा अनुसार हामीले  जतिनै व्याख्या विश्लेषण गरे पनि सूचीमा नाम थपे पनि हटाए पनि ‘वस्तुता’ अपरिवर्तनीय हुन्छ। कवि ढाँडस दिँदै भन्छन—-

निराश नहुनु तिमी बरु खुसी मनाउनु

असन्तुष्ट मान्छेको स्मृतिबाट तिमी अब ओझल भइसकेका छौ

लाखौं ताराहरुसँग मिलेका छौ

स्वतन्त्र भएर व्रह्माण्डमा चम्किनलाई। (प्लुटो)

बार कोड ग्लोबल विश्वमा स्वत्व आरोप गरिएको कुनै वस्तु वा थोकको परिचयसूचक सङ्केत र संख्या हो। बार कोडका लामा धर्काहरु कविलाई कैदखानाका मोटा अग्ला अभेद्य दिवार जस्तै लाग्छन। तल्लो श्रेणीका कृषक-श्रमिकले उत्पादन गर्छन तर प्रोडक्टलाई पेटेन्ट गरी मुनाफा लुटने अर्कै हुन्छ, बार कोड टाँसेर व्यापार गर्ने अर्कै हुन्छ।बार कोड कवितामा बार कोडको बिम्बले कविले बहुजातिक कम्पनीको लुटराजलाई सङ्केत गरेका छन। कालो बादल  शीर्षकको कवितामा भारतको लोकतान्त्रिक व्यवस्थामा स्वजाति शोषित वञ्चित प्रताडित भएको कुरालाई काव्यित अभिव्यक्ति दिएका छन। यस कविताले दीर्घदिनको गोर्खाल्यान्ड माँगलाई सङ्केत गरेको छ।

धर्ती आफ्नै हो तर हाम्रो भन्न पाउनु छैन

आँगन आफ्नै हो तर यहाँ खेल्न पाउनु छैन

वन पाखा आफ्नै हो तर यहाँ सुसेल्न पाउनु छैन

मैदान आफ्नै हो तर यहां रमाउन पाउनु छैन। (कालो बादल)

भइगो नि त बिर्खे किन देख्छस सपना, नहाँस्न बिर्खे यसरी कवितामा पनि कविले गोर्खाल्यान्डको  प्रसङ्ग ल्याएर स्वजाति ठगिएको कुरा नै  भनेका हुन।

अनि कहिले भनिदियो र सत्ताले

तँ उभिएको धर्तीलाई तेरै हो भनेर? (नहाँस्न बिर्खे यसरी)

शोषण उत्पीडनका नयाँ नयाँ तरिका निस्किँदैछन । बडा बाबू, म जुत्ता, बिर्खे आदि कवितामा शोषणका कुरा छन भने तिनै कवितामा शोषकलाई चेतावनी पनि छ—- त्यहाँका कारखानाहरुमा अब नयाँ साइरनको आवाज सुनिँदैछ। जसले तिम्रो युगको अन्त्य भएको घोषणा गर्दछ। (पृ. ७३)

कतिपय कवितामा सत्तापक्षलाई कविले व्यङ्गप्रहार गरेका छन। प्रधान मन्त्रीलाई पनि उनले व्यङ्गको झटारो हानेका छन  मन की बात  पदावलीले। (पृ ८३)

मानवीय सम्वेदनाहीनता युगले भोगेको वर्तमानको क्रूर वास्तविकता हो। मलामी कवितामा त्यो व्यक्त भएको छ।  कवि खिलानाथले उनका कवितामा विज्ञानका जटिल कुराहरुदेखि लिएर गाउँका सबल्टर्न  बिर्खेहरुका कुरासम्म समेटेका छन। गहिरिएर हेर्दा के देखिन्छ भने उनले चिकित्सा विज्ञानका रिपोटलाई समेत मानवीय सम्बेदनासँग जोडेर हेरेका छन। त्यसैले उनका  कविताको मूलस्वर नै मानवीय सम्वेदना हो।

खण्ड (ङ) कृत्रिम बुद्धिमत्ता

मान्छे सम्वेदनाहीन भएको करूण बिम्ब पाइन्छन यस खण्डका कवितामा। मानव शरीर निर्माण हुँदैछ, दुरुस्त म जस्तै तर चेतनाशून्य। यो यन्त्र हो रोबोट। विज्ञानमा पनि चेतनाशून्य यन्त्रमानवको तर्साउने बिम्ब छ। फ्रांन्केस्टेइऩको जस्तै राक्षस बनेको छ यन्त्रमानव।

मभित्रको गेलिलिओ नजरबन्द छ

मभित्रको न्युटनले आत्महत्या गरिसकेको छ

मभित्रको आइनस्टिनले प्राण त्यागिसकेको छ

अब म ओपनहाइमर भएको छु

चेतनाशून्य भएको छु

एउटा कृत्रिम यन्त्र भएको छु । (पृ. १०३)

प्रकृति कविताको मुख्य कथ्य पनि मान्छेको कृत्रिमता नै हो। मान्छेले जंगल सखाप पार्यो, पर्यावरणको सन्तुलन बिगार्यो अनि अहिले ऊ प्रकृतिप्रेमीको स्वाङ पार्छ। आफ्नो बार्दलीमा सयपत्रीको बगैचा उमार्छ। कस्तो बिडम्बना, ऊ प्रकृतिलाई आफ्नो अधीनमा राखेर प्रकृतिप्रेमी बन्न चाहन्छ।

त्यसैले लेख्तैछु भोकमाथि एउटा कविता—- भोक शीर्षकको कविताले मनन गर्न बाध्य गराउँछ, विवेकको सिर्कनाले हिर्काउँछ। भोक नै रहेछ सबै काम कुरा गर्ने गराउने तत्व— कविको निर्क्योल हो यो। रोगी— यो कवितामा पनि रोगको उपचार गर्ने व्यक्ति  डाक्टर रुटिन मुताबिक रोगीको जाँच गर्छ, कुनै मानवीय  सम्वेदना छैऩ. मानों उ पनि मान्छे नभएर कुनै यन्त्रविशेष हो । मृत्यु भनेको समाप्ति हो । मृत्यु नामको कविता यस कविता संग्रहको शेषमा राखिएको छ। कविताको मृत्युलाई सङ्केत गर्ने कविको उद्देश्य होइन। कविता अजर अमर छ भन्ने कुरा कविले भनिसकेका छन। यतिखेर मान्छेका इन्द्रियहरुले काम गर्न छोडिसकेका छन। आँखा— मेरा निम्ति अन्धा छन,कान— मेरा निम्ति बहिरा छन, मुख— मेरा निम्ति लाटो छ—-मेरो जीवनको लक्ष्य अरुले नै निर्धारण गरिदिएको छ। यसरी मान्छे कृत्रिम बनेको छ, यन्त्र बनेको छ सम्वेदनाहीन। यस्तोमा मृत्युको कुनै प्रासङ्गिकता नै रहेन। मृत्युको मृत्यु भएको छ।

यस संग्रहका कवितामा कविले पहिले नदेखिएका माइक्रोस्कोप, बारकोड, प्लुटो आदि बिम्बहरु प्रयोगमा ल्याएका छन भने कुनै कवितामा उनको अभिव्यक्ति व्याख्यात्मक रहेको पाइन्छ।कलाले सिँगारिएको छ भने कुनै पनि विषय कविता बन्दो रहेछ। धेरै वर्ष अघि अंग्रेजी भाषामा लेखिएको कविता आज पनि सम्झिरहेको छु। अलजेब्रा विषयमा लेखिएकोहल एन्ड नाइट कविताको शीर्षक नै यस प्रकारको x+b+z=y+b+z हास्यात्मक रहेको छ। बौद्धिक पाठकले कवितामा नवीनता मन पराउँछ। तीक्ष्ण अनुभूति, नूतन बिम्ब र गहिरो व्यङ्ग कतै मृदु हास्य मिसिएको  रोचक शैलीमा पाठकलाई तान्ने शक्ति हुन्छ।

यतिखेर भारतीय नेपाली कवितामा नित्य नव प्रतिभाहरु देखिँदै छन । ती नवीन सर्जकहरुले प्रतीक र बिम्ब, नवीन शिल्प चेतना र प्रयोगले नेपाली कवितामा नयाँ आयाम थपेका छन, नेपाली साहित्यको दिगन्त अझ परसम्म फैलिएको छ। यसरी उत्तरआधुनिक प्रवृतिलाई अँगालेको नेपाली कविताको वर्तमानको स्थिति उत्साहजनक छ। समकालीन नेपाली साहित्यमा डा. खिलानाथ शर्माको मेरो माइक्रोस्कोप  उत्तरआधुनिक प्रवृतिलाई प्रतिनिधित्व गर्ने उत्कृष्ट काव्यकृति हो।

मेरो माइक्रस्कोप (कविता संग्रह)

डा. खिलानाथ शर्मा

श्रीधाम एपार्टमेन्ट, प्रणामी मन्दिर रोड, शिलगढी

प्राकाशक —सम्बोधन पब्लिकेशन,

कालचक्र रोड, सालुगढा, जलपाइगढी (प.ब.), २०२१

पृष्ठ संख्या ११६ प्लस, मोल- रु. २००