देशबाहिर छरिएर रहेका नेपाली युवाहरुको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ। प्रतियोगिता यही मे १ तारिख अर्थात् वैशाख १८ गते आयोजना हुँदैछ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले संयुक्त रुपमा पहिलोपटक यस्तो साहित्यिक प्रतियोगिता आयोजना गर्न लागेका हुन्। प्रतियोगितामा १९ वर्षभन्दा कम उमेरका नेपाली मूलका युवायुवती सहभागी हुनेछन् । यस प्रतियोगितामा नेपाली भाषाको कवितामा पहिलो हुने एक जनालाई एक हजार डलरको पुरस्कार प्रदान गरिनेछ।
यसैगरी दोस्रो हुनेलाई पाँच सय डलर र तेश्रोलाई तीन सय डलर पुरस्कार प्रदान गरिनेछ। प्रतिस्पर्धामा अंग्रेजी भाषामा पनि हुनेछ । उत्कृष्ट अंग्रेजी कवितालाई दुई सय डलर पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिता आयोजनाका लागि एनआरएनएको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समिति र अनेसासले अनेसासका महासचिव एवं एनआरएनए अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्लेको संयोजकत्वमा विशेष समिति गठन गरिएको थियो । समितिले सार्वजनिक सूचना आव्हान गरी प्रतियोगितामा सहभागिताका लागि युवा सर्जकहरुलाई कविता माग गरेको थियो। सोहीअनुसार गत जनवरी २५ तारिखभित्र प्राप्त भएका कवितालाई प्रतियोगितामा सहभागी गराइने आयोजक समितिका संयोजक साहित्यकार वाग्लेले जानकारी दिएका छन्।
‘प्रवासमा रहेका बालबालिकालाई नेपाली भाषा, साहित्य तथा संस्कृति र नेपाली माटोको पहिचान तथा माया जगाउने उद्देश्यले यस्तो प्रतियोगिता गर्न लागिएको हो’ संयोजक वाग्लेको भनाइ छ।
एनआरएनएका पूर्व कोषाध्यक्ष समेत रहेका एनआरएनएको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिका अध्यक्ष हिक्मत थापाले दुई संस्था सहकार्य गरेर पहिलोपटक यस्तो साहित्यिक र सिर्जनात्मक प्रतियोगिता गर्न लागिएको जानकारी दिए। थापाका अनुसार, भर्चुअल (जुम) प्रविधिमार्फत आयोजना हुने प्रतियोगितात्मक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती प्रमुख अतिथि रहनु हुनेछ। यसैगरी दोस्रो पुस्ताका एनआरएन साहित्यकारहरु, देशभित्र र प्रवासका नेपाली वरिष्ठ साहित्यकारहरुसहित एनआरएनए र अनेसासका पदाधिकारीहरु समेत सहभागी हुनेछन्।
‘यस कविता प्रतियोगिताले अनेसास र एनआरएनए प्रवासमा नेपाली भाषा,साहित्यको विस्तार र समृद्धिमा नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा अगाडि सँगै जान सक्ने मार्ग प्रशस्त समेत गरेको छ’, अनेसास अन्तर्राष्ट्रिय समितिका अध्यक्ष प्रकाश पौडेल माइलाले भन्नुभयो । ‘साथै दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपाली भाषा साहित्यलाई माया गरिरहन प्रेरणा दिनेछ,’ पौडेलले भन्नुभयो ।
प्रतियोगिताका लागि विश्वभर छरिएर रहेका नयाँ पुस्ताका नेपाली मूलका सर्जकहरुको रचना प्राप्त भएको छ। जसमध्ये निर्णायक समितिले नेपाली भाषाका उत्कृष्ठ १० वटा कविता छनोट गर्नेछ भने तीन वटा कविता अंग्रेजी भाषाबाट छानिनेछ। छानिएका यिनै रचनाका सर्जकहरुलाई प्रतियोगितामा आ आफ्ना कविता प्रत्यक्ष वाचन गराइनेछ। यसरी वाचन गरिएमध्ये उत्कृष्ठ तीन नेपाली र एक अंग्रेजी भाषाको कवितालाई निर्णायकहरुले विजेता घोषित गर्नेछन्। वरिष्ठ कवि वैरागी काइँला मुख्य निर्णायक रहनुहुने प्रतियोगितामा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राध्यापक डा. हेमनाथ पौडेल र डाक्टर विन्दु शर्मा निर्णायक रहनुभएको छ भने अंग्रेजी कविताको निर्णायकमा साहित्यकार महेश पौडेल रहनु भएको छ।
कार्यक्रमलाई विभिन्न सामाजिक सञ्जाल, गैरअवासीय नेपाली भाषा, साहित्य, संस्कृति एवं सम्पादा एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पेजहरूबाट प्रत्यक्ष प्रचारण गरिने जनाइएको छ । विदेशमा बस्ने नेपालीका सन्तानले अफ्नो भाषा, साहित्य, संस्कृति र सम्पदा नबिर्सिऊन् भनेर नेपाली भाषा र साहित्यमा काम गरिरहेका दुई महत्त्वपूर्य संस्था मिलेर यो कार्यक्रम गरिएको हो । पहिलो पटक गरिन लागिएको यो कार्यक्रममा सोचेभन्दा बढी रचना प्राप्त भएको र यसले अयोजकहरूको उत्साह बढाएको संयोजक वाग्लेले साहित्यपोस्टलाई बताउनु भयो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।