देशबाहिर छरिएर रहेका नेपाली युवाहरुको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही मे १ तारिख अर्थात् वैशाख १८ गते आयोजना गरिँदैछ । गैर आवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले संयुक्त रुपमा पहिलोपटक यस्तो साहित्यिक प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।

प्रतियोगितामा १९ वर्षभन्दा कम उमेरका नेपाली मूलका युवायुवती सहभागी हुनेछन् । यस प्रतियोगितामा नेपाली भाषाको कवितामा पहिलो हुने एक जनालाई एक हजार डलरको पुरस्कार प्रदान गरिनेछ । यसैगरी दोस्रो हुनेलाई पाँच सय डलर र तेस्रोलाई तीन सय डलर पुरस्कार प्रदान गरिनेछ । यस्तै अङ्ग्रेजी भाषामा लेखिएको उत्कृष्ठ एक कवितालाई दुई सय डलर पुरस्कार प्रदान गरिनेछ ।

वरिष्ठ कवि बैरागी काइँला मूख्य निर्णायक रहनुहुने प्रतियोगितामा नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमूख प्राध्यापक डाक्टर हेमनाथ पौडेल र डाक्टर विन्दु शर्मा निर्णायक रहनुभएको छ । त्यस्तै, अङ्ग्रेजी कविताको निर्णायकमा साहित्यकार महेश पौड्याल रहनुभएको छ ।

प्रतियोगिता आयोजनाका लागि एनआरएनएको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समिति र अनेसासले अनेसासका महासचिव एवं एनआरएनए अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्लेको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिले यसअघि सार्वजनिक सूचना आव्हान गरी प्रतियोगितामा सहभागिताका लागि युवा सर्जकहरुलाई कविता माग गरेको थियो । सोही अनुसार गत जनवरी २५ तारिखभित्र प्राप्त भएका कवितालाई प्रतियोगितामा सहभागी गराइने आयोजक समितिका संयोजक साहित्यकार वाग्लेले जानकारी दिएका छन् । ‘प्रवासमा रहेका बालबालिकालाई नेपाली भाषा, साहित्य तथा संस्कृति र नेपाली माटोको पहिचान तथा माया जगाउने उद्देश्यले यस्तो प्रतियोगिता गर्न लागिएको हो’ संयोजक वाग्लेको भनाई छ ।

एनआरएनएका पूर्व कोषाध्यक्षसमेत रहेका एनआरएनएको भाषा, साहित्य,संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिका अध्यक्ष हिक्मत थापाले दुई संस्था सहकार्य गरेर पहिलोपटक यस्तो साहित्यिक र सिर्जनात्मक प्रतियोगिता गर्न लागिएको जानकारी दिए । थापाकाअनुसार, भर्चुअल (जुम) प्रविधिमार्फत् आयोजना हुने प्रतियोगितात्मक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गङ्गाप्रसाद उप्रेती प्रमूख अतिथि रहनुहुनेछ । यसैगरी दोश्रो पुस्ताका एनआरएन साहित्यकारहरु, देशभित्र र प्रवासका नेपाली वरिष्ठ साहित्यकारहरुसहित एनआरएनए र अनेसासका पदाधिकारीहरुसमेत सहभागी हुनेछन्।

‘यस कविता प्रतियोगिताले अनेसास र एनआरएनए प्रवासमा नेपाली भाषा,साहित्यको विस्तार र समृद्धिमा नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा अगाडि सँगै जानसक्ने मार्ग प्रशस्तसमेत गरेको छ’,  अनेसास अन्तर्राष्ट्रिय समितिका अध्यक्ष प्रकाश पौडेल माइलाले भन्नूभयो, ‘साथै दोश्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपाली भाषा साहित्यलाई माया गरिरहन प्रेरणा दिनेछ ।’

प्रतियोगिताका लागि विश्वभर छरिएर रहेका नयाँ पुस्ताका नेपाली मूलका सर्जकहरुको रचना प्राप्त भएका छन् । जसमध्ये निर्णायक समितिले नेपाली भाषाका उत्कृष्ठ १० वटा कविता छनौट गर्नेछ भने तीन वटा कविता अङ्ग्रेजी भाषाबाट छानिने छ । छानिएका तिनै रचनाका सर्जकहरुलाई प्रतियोगितामा आआफ्ना कविता प्रत्यक्ष वाचन गराइनेछ। यसरी वाचन गरिएकामध्ये उत्कृष्ठ तीन नेपाली र एक अङ्ग्रेजी भाषाको कवितालाई निर्णायकहरुले विजेता घोषित गर्नेछन् ।