नेपाली साहित्य समाज (नेसास) क्यानडाको भर्चुअल कविता वाचनको तेह्रौं कार्यक्रम मार्च २८ मा सम्पन्न भएको छ। नेपालीहरूको महान चाड फागु-पूर्णिमासमेत परेकाले कार्यक्रम विशेष बनेको थियो। क्यानडामा पनि बिस्तारै जाडो जाने र ताता दिनहरू आउने यो याम अत्यन्त आकर्षक हुन्छ।

कार्यक्रममा कविहरूमा उल्लास र उमङ्ग प्रस्ट देखिन्थ्यो। क्यानडाका विभिन्न सहरबाट उपस्थित कविहरूले कार्यक्रममा कविता, गीत, गजल र मुक्तक वाचन गर्नुभएको थियो ।

अमेरिकाबाट समेत केही कविहरूको उपस्थिति रहेको थियो। कविता, गीत, गजल र मुक्तक वाचन गर्नेहरूमा सुरेन्द्र राजभण्डारी, अनुजा घिमिरे, गोपीकृष्ण काफ्ले, रेखा किरण पौडेल, तुलसी धरेल, युवराज भण्डारी, रविन थपलिया, पुण्यसागर मरहट्टा, मुक्ति गौतम, खेम गुरागाई, शशी तिमल्सिना, मोहन खरेल, अनुप “आयु”, राजेन्द्र कार्की, गोविन्द सिंह रावत, पारू पाण्डे, ऋषि दाहाल, प्रशान्त खनाल, राजन प्रसाद पोख्रेल, जयराम सिँखडा, शर्मिला पोख्रेल, गीतकार रवि बस्नेत र नेपाली भाषी भुटानी कवि भानु ढुङ्गाना हुनुहुन्थ्यो। गीतकार डा. तुलसी धरेलको लेखन र गायक प्रेम भट्टचनको स्वरको गीतको भिडियो पनि कार्यक्रममा सार्वजनिक गरिएको थियो।

कार्यक्रमको सञ्चालन संस्थाका महासचिव मोहन खरेलले गर्नु भएको थियो भने सभाको समापन समाजका अध्यक्ष खेम गुरागाईले गर्नु भएको थियो। समापन मन्तव्यमा सभापति गुरागाईले नेपालीहरूको चाड फागु पूर्णिमाको सन्दर्भमा सम्पूर्ण सर्जक र श्रोताहरूलाई शुभकामना व्यक्त गर्नु भएको थियो। वहाँले फागुले सबैको जीवनमा रङ्गहरू थपियोस् भन्दै कार्यक्रम सफल बनाएकोमा सबैलाई धन्यवाद दिनु भएको थियो।

कार्यक्रममा सर्जकहरूले वर्तमान राजनैतिक परिप्रेक्ष्यमा तीखो प्रहार गरिएका रचनाहरू, फागुको सन्दर्भमा सिर्जित रङ्ग र जीवनका कविताहरू, नेपाली माटोको माया, गाउँको सम्झना, प्रेम, वात्सल्य तथा अन्य समसामयिक विषयमा सिर्जित रचनाहरू वाचन गर्नुभएको थियो ।

देशमा विद्यमान गरिबी, पलायन, भ्रष्टाचार, विकृति, भेदभाव र अर्कोतिर सरकार र हुने खानेहरूको बीचको विरोधाभाषपूर्ण अवस्थाको सटीक चित्रणदेखि धर्मको नाममा सत्य युगको चर्चा गरेर नथाक्नेहरूप्रति तीखो प्रहार समेत कविहरुले गर्नुभएको थियो । अमेरिकामा भइरहेको बन्दुक आतङ्क र सामूहिक हत्याको विषयको मार्मिक कविता पनि सुनाइएको थियो। पुण्यसागर मरहट्टाको भर्खर दिवंगत नेता नवीन्द्रराज जोशीको सम्झनामा आमाको भावना समेटेर लेखिएको “नगएको मेरो छोरा” शीर्षकको कविताले उपस्थित सबैलाई भावुक बनाएको थियो।

मुक्ति गौतम