“म त यतै छुटेँ, मायाको सागरमा तिमीले बाँध हालेपछि
उजाड भयो मेरो जीवन, तिमिले मायामा साँध हालेपछि”
दक्षिण कोरिया आएपछि पहिलोपटक नेपालीहरुको जमघट भएको कार्यक्रममा पुग्दा कार्यक्रम हलभित्र यही गीत गुञ्जिरहेको थियो । निक्कै नै सुललित शब्द, लय र स्वरमा बजिरहेको यो गीत सुष्मा रानाहँमाले लेखेकी हुन् भन्ने कुरा अलि पछि मात्रै थाहा भयो । त्यसरी मैले गीतकारको रूपमा चिनेको सुष्मा कोरियामा आयोजना हुने साहित्यिक कार्यक्रमहरुमा नियमित र सक्रिय सहभागी भइरहने कवि हुन् । साहित्य लेखनको मूलधारले राँटो छोड्ने समुदाय, विषय र आवाजहरुलाई आफ्नो मुख्य आवाज बनाउने उद्देश्य बोकेको इतर आवाज साहित्य समाज दक्षिण कोरियामा आबद्ध भएर कविता लेखनमा सक्रिय सुष्माको पहिलो कविता कृति हो “आमाको तासफोटो”।

दिलिप बान्तावा (दक्षिण काेरिया)

फिनिक्स बुक्सले हालै बजारमा ल्याएको यो सङ्ग्रहका बारेमा कविको स्पष्टीकरण छ, “देशमा हुँदा नजिक लाग्ने आकाशका तिनै ताराहरु विदेशमा भइरहँदा टाढा हुन् या अलि साना हुन् ? अझै ठम्याउन सकेको छैन । खेतबारीसँगै किसानलाई आफ्नो हलो, कोदालोको माया भएजस्तै हरेक मानिसलाई आफ्नो पहिचान, वर्ण, जात, धर्म, साथै थातथलोप्रतिको माया उत्कट हुँदो रहेछ ।” कविको यही भनाइ सङ्ग्रहभित्रका कविताहरुले पुष्टि गर्दछन्।

तासफोटो, आफैँमा नोस्टालिक लाग्छ यतिखेरको समयमा । ३६ स्न्याप भएको रिल याशिका क्यामेरामा राखेर साँची साँची फोटो खिचेको समयले डेढ दुई दशक नाघिसके छ । सम्झिन्छु त्यतिबेला खिचिएका फोटोहरु कुनै दराजको फोटो एल्बममा कुचुक्क परेर बसेका छन्, कुनै फोटो गाउँको सिकुवाको भित्तामा सिसाको फ्रेमभित्र हावाले हल्लाएर गुजुमुज्ज पारामा बसेका छन्। किनभने यतिखेर गाउँमा न त हावाले हल्लाएर भत्काएको त्यो फोटो फ्रेमलाई मिलाउने मान्छे छन् न त जरुरत नै । न त छ कसैसँग दराजभित्रको फोटो एल्बम पल्टाउने फुर्सद नै । हामी सबै यान्त्रिक समयको दास भइसकेका छौँ र भइसक्यौँ, सायद डिजिटलाइज्डको नाममा अल्जाइमर बिरामी । किनभने हाम्रा स्मृतिहरु यत्ति भुत्ते भइसके कि सानोभन्दा सानो कुराको जानकारी पनि आफ्नो दिमागमा राख्नै सक्दैनौँ र नै त हरपल विद्युतीय Gadgets को सहारा लिन बाध्य छौँ । तर सुष्मा रानाहँमाले परदेश बसेर सम्झिनुपर्ने धेरै कुराहरुलाई आमाको तासफोटो रहेको फ्रेममा सम्झिएकी छिन् ।
४६ वटा लामा छोटा कविताहरु सबैले आ-आफ्नो भार थामेका छन् । सङ्ग्रहको शीर्षक शब्द “आमा” को बारेमा धेरैवटा कविता भनिएको छ । आमा सन्तानहरुका लागि आफैँमा कहिल्यै पुरानो नहुने गहकिलो शब्द त हुँदै हो । यद्यपि कतिपय अवस्थामा आमाप्रति प्रश्नहरु उठ्ने गर्दछन् समाजमा । तर लाग्छ ती प्रश्नहरु सन्तानका तर्फबाट आमाप्रति उठाइएका होइनन् । आमाको भूमिका पूरा गर्न डराउने डरपोकहरुका लागि मात्रै हो । आमा त सारा ब्रह्माण्ड हुन् । सन्तानका लागि आमा त सार्वभौम र अक्षुण रहन्छिन् ।
“आमाकै काखमा हुर्केर म
आइपुगेँ ती समुन्द्रहरु तरेर यहाँसम्म
आज मेरै खुशिलाई पच्छ्याउँदै
चाउरिएका रेखाहरु लम्काइरहेकी छिन आमा
थुप्रै रहरहरु फुत्किसकेको अङ्गालो फिँजाएर
पर्खिरहेकी छिन् टाढिएका मुटुहरुलाई अङ्गाल्न।”
(आमाको तासफोटो)
“भोको पेटको दु:खका डल्लाहरु फोरिरहन्थिन आमा
हुन्थ्यो पसिना र आँशुसँगै रुझ्नुको दैनिकी”।
(छोरा)
सङ्ग्रहको करिब आधा जति कविताहरु विषयगत कम अनुभूति र आफ्नै मनसँग बढी खेलिरहेका भेटिन्छन् । ती कविताहरु प्रवासमा मेसिनसँग आफ्नो दैनिकी दौडाइरहेका हर प्रवासीहरुको कहानी हुन् । तिनमा आफ्ना परिवार, आफन्त, प्रियसी या आफूले पल पल समय बिताएका आफ्नै लेकबेसीका अमिट सम्झनाहरु प्रतिबिम्बित भएका छन् ।
तिमीले भात खाने झर्के थाल
अडेसिइरहेकै छ भित्तामा उसैगरी
पानी पिउने ताबे आम्खोरा एकोहोरो उभिइरहेकै छ
जाँड पिउने डबकाहरुले, घोप्टिएरै
तिमी निस्किएर हिँडेको दिशातर्फ
एकोहोरो नियालिरहेका छन् ।
मन न हो सम्झना त आइहाल्छ
पाखामा बुकिफूल फुल्दा
सिरेटो चल्दा
मालिङ्गो झ्याङ्मा न्याउली रुँदा
घाम झुल्किँदा, डुब्दा।
(स्वप्निल चाह)
यतिबेला
यादहरुको छाललाई उछिनेर
मनहरुको किनारै किनार
रेगिस्तानको बालुवा बनेर तिमी उभिएको छौ
स्मृतिको तट नाँघेर वितृष्णाहरु बगिरहेका छन्
गहिरो समुद्रको कथाको पात्र पो हौ कि तिमी
या गढ्तीरको कहानी हौ ?
अथवा
गरम जवानीको शीतल शीतल साँझ बिहानी हौ
थाहा छैन तिमी के के हौ ?
(छाल)
छालले सोध्यो
बतासले सोध्यो
रङ रङ छुट्टिएर पानीले सोध्यो
अनि ढुकढुकीले खोज्यो
(तिम्रो बारे)
मान्छे न हो । हर कोहीसँग उस्तै संवेदना र मानवीय स्वभाव व्याप्त हुन्छ । आजको प्रविधिले साँघुरो बनाउदै गइरहेको भौतिक समाज र त्यहाँभित्र बाँचिरहेका रोबोटजस्ता मान्छेहरुमा अहिले देखावटी सम्बन्ध र बनावटी समभाव मात्र भेटिन्छ । जसले गर्दा हर मान्छे आज मान्छेहरुकै भिडमा पनि नितान्त एक्लो महसुस गर्दछ । आफ्नो मनको पीर, व्यथा, दर्द र बेदनाहरु मात्रै नभएर आफ्नो उत्साह, हर्ष र खुसीहरुसमेत उन्मुक्त भएर पोख्न सकिने ठाउँ छैन । यस्तो अवस्थामा कविले यहाँ बरु निर्जीव चिजहरुलाई आफ्नो अनुभूति सुनाउँछिन् ।
मेरो एक्लोपन थाहा थियो तिमीलाई
र त परदेशी ढुकढुकी छामिरह्यौ
मेरो दिनचर्या अर्थात् तिम्रो मुलुकको कहानी
तिमीलाई सुनाउन पाउँदा मात्रै
कपास झैँ हलुका भएको आभास हुन्थ्यो आफूलाई
कोही आत्मिय मान्छेलाई सुनाउँदैछु जस्तै
रिक्तताहरु पखालिएर महसुस हुन्थ्यो
हर सन्ध्याले डोराउँदै तिमीकहाँ ल्याउथ्यो मलाई।
(तालपार्क)
भनिन्छ, जुन माटोमा हाम्रो सालनाल गाडिएको छ त्यो माटो नै प्रिय हुन्छ । सायद आफूले पहिलोचोटि टेकेको धरतीप्रतिको कर्तव्यबोध गराउने भनाइ होला यो । र सत्य कुरा यो पनि हो कि, जहाँ हामीले हाम्रो सुन्दर बाल्यकाल बिस्तारै छोडेर आयौँ, हाम्रो जवानीको श्रम र पसिना त्यही पोख्यौँ, त्यो माटो जहाँको कण कणमा हाम्रो परिश्रमको अवयवहरु जोडिएका छन्, निश्चय नै त्यो माटो, त्यो ठाउँ जो कोहीका लागि प्रीय हुन्छ । चाहे जतिसुकै चमकधमक र विकासको त्यो आकाशे उचाईमा पुगेको किन नहोस् । हामीले पौरखले भिजाएको माटो जति कहिल्यै आफ्नो लाग्दैन । सङ्ग्रहभित्रका अधिकांश कविताहरुले यही कुराको पैरवी गरेका छन् ।
मस्तिष्कको उच्च प्रयोगले भौतिक विकास द्रुत गतिमा गर्‍यो र गरिरहेको छ, आजको मानव समुदायले । तर मानवीयता विस्तारै गुणात्मक रुपमा ह्रास हुँदै गइरहेको देख्न सकिन्छ । किनभने मान्छेले भौतिक वस्तुमा आधारित विकासको सूचकको प्रतिपादन गर्‍यो र त्यही सूचकलाई माथि पुर्‍याउन निरन्तर कुदेको कुद्यै छ । तर उसले आफ्नो मानवीय जिम्मेवारीलाई भने आफ्नै खुट्टाले कुल्चेर दौडिरहेको छ । तर यथार्थ यो हो कि मेसिनसँग चल्ने मान्छेको स्वभावले एक दिन ऊ पनि बिग्रिएको मेसिन मिल्काइएजस्तै बेकामे भएर भौतिक विकासको बजारबाट मिल्काइन्छ । र आफ्नो जिन्दगी सास्तीको ठेलागाडामा बोकेर फुट्पाथमा बाँच्नुपर्दछ ।
उमेर जस्तै ओइलिँदै गएका
फर्सीका मुन्टाहरु
सखरखण्डका पातहरु
फिँजाएर बाटोछेउ
ग्राहक कुर्न थाल्छिन् हजुर आमा ।
हजुरआमा डुब्न लागेको घाम हुन्
डुब्न लागेको घामको साथी अँध्यारो साँझ हो
हजुरआमाका दौँतरी यही अँध्यारो साँझ
र यिनै ओइलाएका सागपात हुन्।
(हजुरआमाको ठेलागाडा)
सुन्छु
तारेभीरमा अहिले पनि
सिर्सिरे बतास चल्दा
बताससँगै उत्तिस र भीरफूलका पातहरु नाच्दा
तिनै पातहरुका लयसँगै गीत गाउँछौँ रे !
दुर्भाग्य !
कतैबाट उडिआएका चराहरुले
गीतका शब्द लुछेर
सेल्मे, टेम्के र चखेवा भञ्याङ्ग बेगिएपछि
तिम्रो ओठमा रित्तो भाका मात्रै हुन्छ रे !
त्यो निर्जन एकान्तमा
कसले सुन्छ तिम्रो गीत ?
नगाऊ अब त्यो पुरानो गीत
बरु यो परदेशमा
भरिदिँदैछु म तिम्रै गीतलाई नयाँ लय
तिम्रो सम्मानमा
लेखिदिँदैछु म तिम्रै भाकाका शब्दहरु ।
(बाबालाई पार्सल)
आफ्नो सन्तानहरुका लागि सङ्घर्षको कुनै पनि हद बाँकी नराख्ने बाबालाई सम्मानको पार्सल पठाएर गाउँकी लिम्दे फुफूलाई सम्झिँदै कवि घरदेश फर्कन्छिन् । घरदेशमा दैनन्दिन् घटिरहेका कहालीलाग्दा असामाजिक घट्नाहरु र तीसँगै चुँडिइरहेका असङ्ख्य सपनाका कोपिलाहरुको पक्षमा शाब्दिक आक्रोश पोखिन थाल्छ । राज्यले सदियौँदेखि किनारामा बाँच्न बाध्य बनाएको सिमान्त समुदाय र वर्गका मान्छेलाई केवल मान्छे भएर बाँच्नसमेत मुस्किल छ । उनीहरु बाँचिरहेका त छन्, तर वैकल्पिक नागरिकका रुपमा बाँचिरहेका छन् । चाहे जातीय भन्नुस् या वर्गीय या लैङ्गिक वा भन्नुस् साँस्कृतिक वा भौगोलिक सिमानाका हिसाबले । राज्यको केन्द्रीय आँखाको “स्पट लाइट”ले जहाँ जहाँ देखाउँछ त्यसैलाई मात्र देश ठान्नेहरुका लागि सङ्ग्रहको मध्य भागपछिका कविताहरु पेचिलो लाग्न सक्छन्।
कानुन लाग्ने भनेको त गोरु काट्नेलाई हो
बलात्कार गर्नेलाई होइन
हत्यारा लोग्नेलाई होइन
हैन भ्रष्टाचारीलाई
यस मानेमा कि यो देश उनीहरुको हो ।
(सम्झनाहरुलाई सम्झना)
जतिबेला
आरनमा फलाम पिटिरहेथ्यौ तिमी
जोरजोरले पिटिरहेथ्यौ
र फलामको आवाजमा
तिम्रो चीत्कार मिसिएर झनै कर्कश हुँदै थियो ।
भोटको लालसामा केही रोज्न लगाए भने
अरु केही नमाग उनीहरुसँग
र आशा पनि नगर
सिर्फ
स्वतन्त्र भएर बाँच्न पाउने
तिम्रो खोसिएको अधिकार माग
(स्वस्तिक आशाहरु)
ढुक्क नहुनु
फूलको बीभत्स हत्या गरेर फालेँ भनेर
बरु होसियार हुनु
फूलका लाशहरु ब्युँझिए भने
पक्कै बिजाउनेछ तीखा काँडाहरुले
(सम्झिनु)
अनि यसैमा जोडिएर आउँछ लैङ्गिक असमानताको मुद्धा । लैङ्गिक विभेदका विरुद्ध भएका र भइरहेका विद्रोहहरुका कुरा । यसको फेहरिस्त छोटो छैन न त सीमित नै । संरचनागत हिसाबले हाम्रो सम्पूर्ण प्रणालीमै स्थापित पुरुष प्रभुत्ववादी व्यवस्थामा महिलाहरु कत्ति प्रताडित छन् र उनीहरु कुन मनस्थितिमा बाँच्दछन् भन्ने कुरा यी हरफहरुले बताउँछन् ।
सुन
म भोक सहन सक्छु
तिर्खा सहन सक्छु
निद्रा सहन सक्छु
पीडा सहन सक्छु
मसँग यी सब सहन सक्ने आदत छ
अहँ
म सक्दिनँ
अन्याय सहन सक्दै सक्दिनँ
कसैको अत्याचार सहन्न मँ
(नारी)
कथित आधुनिक समयमा मान्छे स्वतन्त्र भएको भ्रममा बाँचिरहेको छ । तर ऊ त्यही आधुनिकताको दास भएको कुरा स्वीकार्न तयार छैन । मान्छे किस्ता किस्तामा आफ्नो जिन्दगी बाँचिरहेको छ । यतिखेर सग्लो जिन्दगी बाँचिरहेको मान्छे भेट्नु “मुस्किल हिं नहिं ना मुम्किन् है” । एउटै मान्छेलाई २४ घन्टा मात्रै निगरानी गर्नुभयो भने उसका २४ वटा स्वरुपहरु देख्नुहुनेछ र दुविधामा पर्नुहुनेछ कि आखिर यो मान्छे हो चाहिँ के ? दुनियाँलाई रङ्गिन जिन्दगी बाँचेको देखाउने मान्छे स्वयं भने कत्ति खण्डहर भएर बाँचेको हुन्छ, त्यो त हामी आफैँ प्रमाण छँदैछौँ । अर्थात् दुनियासँग लुके पनि खुदसँग लुक्न सक्दैन मान्छे ।
यतिबेला
कसैको स्केच कोर्न यो हात तम्सिएर
मनको खुला एक पानामा
आफ्नै रगतको मसी चोबिरहेको छ
आफ्नै रगतको मसी मात्रै चोबिरहेको छ।
(रातो स्केच)
नेपालको राजनैतिक र साँस्कृतिक मैदानमा पहिलोपटक सबैभन्दा धेरै चर्चामा आएको विषय छ “खुवालुङ”। देख्नेहरु यसलाई केवल सप्तकोशी बन्न लागेको (अरुण, तमोर र दुधकोशीको संगम) त्रिवेणीमा पानीको बीचमा अड्किएको भीमकाय ढुङ्गा देख्दछन् । तर किरात सभ्यतालाई आफ्नो ठान्नेहरु सो ढुङ्गालाई आफ्नो प्रागऐतिहासिक थलोका रुपमा पवित्र र महत्वपूर्ण ठान्दछन् । किरात सभ्यताको सगोल आस्थाको प्रतीक मानिएको खुवालुङकाे चर्चा बिनामुन्धुम पूर्ण हुन सक्दैन । मुन्धुम यो सभ्यताको जीवन पद्धती हो । “आमाको तासफोटो” भित्र यही मुन्धुमका लयहरु भेट्न सकिन्छ केही कविताहरुमा ।
कसले चुँडाउन खोज्दैछ तानको धागो ?
र कसले च्यात्न खोज्दैछ बोजुले बुनेको फेङ्गा ?
कसले मेट्न खोज्दैछ मेरो मुन्धुम ?
र कसले मार्न खोज्दैछ मेरो लयदार भाषा ?
अहो, मेरो साकेला !
आमाले तान बुन्दा बुन्दै जन्मिएकी हुँ म ।
(आदिबासी)
रैछाकुले
तिमीले रचेको सृष्टि
आज यसरी जगतमा फैलिएका छन्
तिमीले खिपेर बनाएको
बजाएको बिनायोका धुनहरु
अझै गुन्जदैछन्
तिमीले खनेका बाटाहरु तन्किदै अझै परपरसम्म ।
(तयामा)
घरमाथिको मेरिलाभो
घरछेउकै केराको पात
मुन्धुमी हावाले फर्फराएपछि
सदा झैँ ट्याम्केको कापबाट उदाउँछ घाम
तब सुरु हुन्छ घर घरमा
तुवाचुङ् र साकेला थानहरुमा
ढोल झ्याम्प्टाहरु बज्नु ।
(उँभौली उधौली)
समग्रमा “आमाको तासफोटो” समकालीन समयको ‘अलार्म’ हो।  यसले बाध्यतावश परदेशिएकाहरुको मनको विरह बोलेको छ । बिछोडिएका मनहरुको सुसेली कथेको छ । सँगै पछिल्लो डेढ दुई दशकयता जबर्जस्त ढङ्गले नेपाली समाजमा बहसको केन्द्र खोज्दै मडारिरहेको पहिचानको विषयलाई मूलभूत रुपमा समावेश गरेको छ । क्लिष्ट तथा परम्परागत बिम्ब, मिथक र सौन्दर्यको पक्षबाट हेर्दा सङ्ग्रहभित्रका कविताहरु वाहियात लाग्नु अस्वभाविक छैन । सुष्मा रानाहँमाहरुको अभियान नै त्यो परम्परागत प्रवाहमा बगिरहेको एउटै खाले रङमा सबै खाले रङ मिसाएर अझ सुन्दर प्रवाह बनाउनु हो । त्यो अभियानका लागि यो सङ्ग्रह मजबुत इँटा बन्नेछ ।
यति हुँदाहुँदै पनि सङ्ग्रह पढिसकेपछि केही अपेक्षाहरु जागै रहेको आभास हुन्छ । कतिपय कविताहरु आवस्यकताभन्दा अलि बढी लामो भएका हुन् कि । कविताहरुको  भाव सबल हुँदाहुदै पनि धेरै ठाउँमा अभिव्यक्तिका तरिकाहरु चित्त बुझ्दो लाग्दैनन् । त्यसकारण कविताको भाव र संरचनागत सौन्दर्यलाई समायोजन गर्न सके अझ शक्तिशाली बन्नेछन् । पानीको छालले जति धेरै हिर्काउँछ त्यति नै किनाराको ढुङ्गा सुन्दर बन्दछ । त्यसैले कविताहरुको हरेक पङ्तिमा कवि मनको छाल बिनाउद्विग्न पटक पटक ठोक्किइरहेमा अझै सुन्दर बन्ने कुरामा दुई मत नहोला ।
लेखक : सुष्मा रानाहँमा
कृति : आमाको तासफोटो
बिधा : कविता संग्रह
मूल्य : रु.२७५
प्रकाशक : फिनिक्स बूक्स