तिमीलाई खोजी बिताउँला जीवन
खोज्दा पाउने जपने छु मन्त्र
तिम्रा चरण कमलमा मित्र
यस जन्मको काम-क्रोध
समर्पण गर्ने सामर्थ्य देउ
न आउ तिमी मित्र
म गरीबका झोपडीमा।

– विश्व

आउँदो आइतवार बिहान आठ बजे आउनु होला म पर्खने छु। गरीब कहाँ पाइला पारी दिए म धन्य हुनेछु।

तपाईंको ‘विश्व’

मैले एउटा साधारण पत्रमा एक पल्ट भेट्ने समय निश्चित गरिदिनुहोस्‌ भनी लेखेकाले उहाँका यस जवाफले स्वयं लज्जित भएँ। आफ्ना देशमा मात्र न भएर विदेशमा पनि प्रख्यात कवि “विश्व’- विजय कुमार “विश्व’ । ठिकै हो कविमा कवि नै हुनुहुन्छ।

हिँड्नु अघि धेरै बेर विचार गरें, धोती फेरेरै सानो चन्दनको धर्को लाउँ कि; मेरा पहिले कै पैण्ट सर्टमै यसै- नत्र नयाँ सूटमा ठूलो टाई लाउँकि…? होइन तड्क-भड्क विनाका कवि हुनुहुन्छ। उहाँका देश विदेशमा प्रकाशित भएका कविताहरूका प्रत्येक पंक्तिहरूमा “म”- “छ” शरीर- आत्मा यस्तो जीवन- त्यस्तो जीवन, अनि भक्तिको मात्र सम्बन्ध- साँचो सम्बन्ध, यस्तै मात्र हुन्थ्यो। उहाँकै एउटा कविता आकाशवाणीमा बिहान अनि बेलुका भजन कार्यक्रममा कति नयाँ उत्साह, नयाँ जोस स्वच्छ विचारको उदय स्वत गराउँछ । हिजो मात्र एउटा साप्ताहिक पत्रिकामा भेटाएको थियो

मेरो मार्गदर्शन गर मित्र
पथ भ्रमित हुँ
मायाका बन्धनबाट
तिम्रा स्वर्गका बाटिकामा तानी देउ।

– बाबुजी यही हो “माया कुटिर’ ।
– होइन होला, तिमीले अन्तै ल्याए जस्तो छ।
– अंत होइन। यही हो, सोध पुछ गर्नु होस्‌, होइन रहेछ भने एक पैसा पनि न दिनु होला, यहीं पर्खेर बसौंला ।

भवानी अधिकारी (मणिपुर)

साँचै रहेछ। गेटमै सेता ढुङ्गामा स्पष्ट लेखेको थियो । त्यस रिक्शावालालाई दश पैसा धेरै दिएँ। खुशी-खुशी गयो । अँ…माया कुटिर। झोपडी । कत्रो रहेछ ईंटा र पत्थरको झोपडी। एक तलो, दुई तलो तीन तलो सबै भन्दा माथि चीनाको छानाको रूप खानदानी, ठूलो खानदानको झलक देखिन्थ्यो। लोहाको ठूलो गेट विस्तारै उघारेर साफ सुन्दर त्यस गल्लीमा हिँड्दासम्म जूत्ता फुकाल्नु पर्ने हो कि झैं भान भयो । यता – उता हेरेर कलिङ बेलको सुइज थिचौं कि भन्दै थिएँ त्यसै बखत एउटा साफ युवक त्यस बेला शहरमा प्रचलित फिलम गाना गुनगुनाउँदै, बगैंचा तर्फबाट निस्के। मैले नमस्ते गरेर परिचय दिँदै आफू आएको कारण बताएँ।

– बस्तै गर्नु होस कुनै काममा जानु भएको छ, आउनु हुनेछ।
– हुन्छ।

त्यो कोठो निकै ठूलो थियो; समय अनुसार आधुनिक सजावटका साथ खेलकुदका समानले सजाएको कोठो । एक छेउ तिर पूर्व अनि पश्चिमका मासिक, साप्ताहिक अनि अरू विभिन्न किसीमका पत्रिका मध्य एउटा निकालेर हेरेँ। म विश्वास गरौं कि न गरौं। कोठाका चारै तिर हेरेँ। अनेक किसीमका चित्र टाँगिएका थिए। ठूल्ठूला दुई चार वटा चित्र अति व्यवस्थित तरिकाले टाँगेका थिए। कुन किसीमका होलान्‌ यी कवि। सोचे जस्तो केही छैन; शिखा, चन्दन धोती,-कुर्ता केहीको संकेत छैन; साहेप जस्ता ईश्वरको आत्मा परमात्माको केही कुरो छैन। त्यस कुना तर्फ टाँगेको कैलेण्डर कुनै वासनामा डुबेकीको जस्तो छ, लुगा नाउँकै मात्र लाएको छ; तृष्णाका ज्वालामा जले जस्तो छ।

– सर, चिया
– थैंक्यू।

चिया दिएर जानेलाई ध्यानले हेरें, । नौकरनी जस्ती पनि छैनन्‌। होइन भन्न पनि गाह्रो छोरी हुन कि ? कि बुहारी? आफन्तै हुन भने यसरी अपरिचितका सामु आउने थिइन, दिन्थे आउन ? कि चलन यस्तै छ कि ? तर कवि त अविवाहित हुन भनी पढेको थिएँ। कोई होला भए पनि यो उनको कैलेण्डर चाहिँ सुहाएन। कति मिलाएर टाँगेको । माझको रवि ठाकुरको मूर्तिलाई हेरेँ। दुवैको पहिरनको विषयमा सोच्दै चिया खाएँ।

– हलो मिस्टर शर्मा।
– हल्लो सर।

असम्जस्ततामानै हात मिलाएँ सूट टाई माझ त म पश्चिमको पश्चिमानै – आफू पनि भएको अनुभव भयो। कविलाई भेट्न आएको भए पनि मेरो नाउ… । अर्कै कोई भए…? नत्र कवि भनेको । हाम्रो पहिले भेट भएको छैन, न मैले देखेको हुँ न उनले। केही क्षण कुरा पछि कवि विश्वनै रहेछन्‌।

– ए तपाईँ कवि विश्व’?
– यस
-ओ सोरी, क्षमा गर्नु होला न चिन्नाले। मेरो नाम…
– आई. नो ! इम्फालबाट ?

– हजुर ! सारो भेट्ने इच्छाले, नाम सुनेको धेरै भो। यस शहरमा पनि धेरै पल्ट आइ्यो। तर…पारा कहिलै परेन। यस पल्ट चाहिँ न भेटी भएन भनी आएको।
– अब के सेवा गरौं त?
– यसै तपाईंका साहित्यका विषयमा- |
– नो-नो मिस्टर शर्मा माफ गर्नुहोस । मेरा साहित्यका विषयमा म केही जान्दिन। तपाईहरूले विश्लेषण गर्नुपर्ने हो। अरू विषयमा भए हुन्छ।
– राम्रो कुरो हो। छलफल गर्ने होइन , केही एक दुई कुरा जान्न मन लागेको मात्र… ।
– मेरा आफ्ना कविताका बारेमा म केही जान्दिन। अरू नै कुरा गरौं भन्ने विन्ती।
– होइन कविज्यूले जवाफ दिन सक्ने एक दुई प्रश्न मात्र। म त केही न बुझेर आएको हुँ। यसै कहिले काहिँ म पनि कविता लेखि टोपल्छु।
-ओ, आई.सी. शर्मा पनि कवि हुनुहुन्छ।
– कवि नै त होइन। स-साना कविता यसै… ।
– तब त झन राम्रो। एकै क्षण बस्नुहोस है, म आई हाल्छु। मैले हेर्दै- सम्झेँ-

मेरा पुराना फाटेका पोकामा
तिम्रै लागि ल्याएको कोशेली
तिमीले तिरस्कार गर्दैनौ, थाह छ
तिम्रै त हो सबै
मेरो पाँच रङ्गे लुगा
फाटे पछि तिम्रै हो
एक-एक रङ्ग
…………..
…………..
…………..

वातानुकुलित कोठो। केही क्षणमा लुगा फेरेर निस्के। पूरै फेरेको त होइन, माथिबाट ठूलो कमीज लाएको मात्र हो। बसे, छेउमै बसे । हर समय मुस्कुराई रहने-

अविरल बगी रहेने मेरा आँसु
तिम्रो अनुहारको मुस्कराहट
देख्न न पाइने यस भवसागरमा
कसरी कता ख्याउँ यो नाउ
तिम्रो सहाराविना ।

कुराकानी शुरू भयो । मेरो पनि पूरै परिचय दिएँ। उनको त मैले अनुहार मात्र न देखेको, सबै थोक सुनेको। केही नयाँ सुने नजानेको जान्न पाउँछु कि भनी आएको। बेला-बेलै उनलाई राम्ररी हेर्नु बाहेक अरू केही जान्न पाइन। मैले फेरि सोधें- विश्वज्यू, तपाईंको ‘तिमी’ भनेको चाहिँ को हो त ?

– आउने जति सबैले यही कुरा सोध्ने गर्छन्‌, म पनि एउटै उत्तर दिन्छु-
– कठविज्यू प्रश्न पूरा भएको छैन।
– भन्नुहोस्‌
– कुरा के भने – दिएका प्रश्नको उत्तर पढियो, सुनियो- ‘तिमी’ उ, स्त्री, कृष्ण, अल्लाह, जेजस……. । यो त कविताको “तिमी” हो । मैले जान्न चाहेको, आफुले लेख्दा आफुलाई छुने. …अनुभूति हुने।
– भन्नु होस्‌।
– तिमी’ शब्दको प्रयोग गरेर लेख्दा कविजीका भावनामा देखिने झलक, आँखामा आउने दृश्य, नयाँ नयाँ विचारका तरङ्गमा आउने ‘तिमी’ त्यो को होला, कस्तो होला, के होला ?

भनेर उनी हुक्का सल्काउन लागे । धेरै बेरसम्म गुड गुड गुड गरी रहे। बेला-बेला म तिर हेरि रहे। मैले पनि एउटा चुरोट निकालेर सल्काएँ। एकै पल्ट धुँवा छोड्यौं। सोफामा आरामले ढल्के। म धेरै बेरसम्म पर्खी रहेँ। उनी मलाई हेरि रहे। मलाई रिस-रिस उठ्यो। के मेरो प्रश्न गराई सही भएन । सोध्नु न हुने प्रश्न त होइन। जवाफ दिन अप्ठ्यारो प्रश्न गर्नु असभ्यको सूचक हुन्छ। उनले मैतैलाई (मणिपुरी) के सम्झेलान। मैले पिता-पुर्खा बदनाम गर्ने काम त गरिन।

– शर्मा भान्सा भएको छैन होला।
-हुन्छ म होटलमा…..।
– हुँदैन हामी सँगै न खाए हुँदैन। यति टाडाबाट आउनु भएको, पाहुनलाई यसै छोड्न सकिँदैन। ए रीना, रीना।

रीना आइन । उमेरदार युवती भात पकाउन लाए। मलाई लाज लाग्दै भए पनि माने। (भयो नै त होटलको आठ रूपियाँ त बाँच्यो) मैले न माने पनि उनले छोड्ने थिएनन् ।

केही समय कुराकानी भयो । मैले मेरो प्रश्न फेरि दोहोरयाइन । उनले पनि कुरा घुमाए। मैले धेरै कुञ्जा खोजिन। डर केही शान्त भयो। अलि-अलि प्रश्न गरेँ। उनले पनि केही सोधे। मन नलागि-लागि मैले पनि करैले जवाफ दिएँ। उनले सबै जवाफहरू मज्जाले दिए। एक दम साधारण आफ्नै मान्छेको जस्तो निसंकोच उत्तर दिए, कुरा-कानी, सोधपूछ छलफल भयो।

भान्सा गर्ने ठाउँको तयारी देख्दा, आश्वर्य नलागि छोडेन। पश्चिम तिरका प्रख्यात ठूला पदधारीहरूको चिया खाने समानहरू जस्तो धेरै देखिन्थ्यो। थोरै होइनन्‌ व्यञ्जन | त्यो एउटा चानो त सानो छैन माछाको हो कि मासु हो। मलाई सोध्दै सोधेनन्‌। रीनाले पस्किइन। बाहुन नै भए पनि पहिले देखि अभ्यस्त न भएको त लाज मर्नु हुने थियो। त्यो चीज भारतको जस्तो थिएन, पश्चिम तिरको नत्र पूर्वको भए धेरै टाडा पूर्व तिरको हुनुपर्छ। धेरै मीठो, काट्न पनि कति मिलाएर काटेको, लामो समयसम्म खान सकिने । हिजो चाँडै खाएको र आज विहान नास्ता न गरेको दाउ पर्यो । धेरै तिरका कुरा-कानी गर्दै हामी दुवैले खाँयौ। भुडी भरिन लागे पछि फेरि सम्झेँ ।

लरक लरक हिँड्ने हाती
अंधकारपूर्ण जीवनको गोरेटो
दुबैमा तिम्रो रूप
म को हुँ ऊ को हुन
तिम्रो सृष्टि होइन र
स्वयं बंधनमा पर्ने यस जालबाट
शरणमा लेउ तिग्रा शरणा

… … …

– शर्माज्यू, मटन त बन्दै खानु भएन, मीठो भएन कि ?
– धैरै मीठो, कति हो कति कुन खाउँ खाउँ भएँ हजुर।
– अंतमा एक पल्ट त थपौं।
– होइन; अयो मरी आम्मै ……. ।

उनको अंतको त सानो होइन। म त आतिएँ; रेल यात्राको शरीर थाकेकै छ। आफैं धमाधण थप्छन्‌ के उपाय छ र….
– री…ना…

रीना आएर उभिइन। कविहरूका कविता याद आए रक्शी- सुन्दरी- कविता । मैले रीनालाई धेरै बेर हेरें क्यार; उनी गए पछि मात्र म हेरि रहेको रहेछु भन्ने भान भयो। म यसो फर्कदा कविले मुस्कुराउँदै म तिर ध्यानले हेरेको देखेर मलाई केही लाज लाग्यो।

– शर्माको प्रश्नको जवाफ दिन्छु।

मेरो प्रश्न उनले बिर्सेका रै’ न छन्‌, मैले त उति जरूरी पनि ठानेको थिइन। सबै जवाफ दिन्छु भन्दै उनले मलाई धेरै पल्ट धन्यवाद दिँदै, कुरा घुमाएर भने.. मेरो ‘तिमी’ निर्जिव आकाशको ‘तिमी’ होइन शर्मा जीउँदो हाड मासु भएकी उनी हुन्‌। मैले कलम समाउँदा मात्र होइन हिँड्दा बस्दा, खाँदा सुत्दा हर समय मेरा आँखामा उस बेलाको जुनेली माझ सेता घुम्टो भित्रका बलिन्द्र आँसुसँगको मुस्कुराहट

(तिमी
रातको जुनेलीमा
सेता घुम्टा भित्र
आँसुसँगका मुस्कुराहटमा
किन आउँछौ मेरा सामु बारम्बार)

…सुन्नु भो नि शर्मा ? त्यो रात हाम्रो अंतको दिन थियो। ऊ टाडा गइन, आफ्नो देश बाहिर, कुनै एउटा ऊ सँग । ऊत गइन मेरो प्राण पनि लिएरै गइन। मैले आफुलाई रोक्न सकिन, आजसम्म सकिन, सक्दिन पनि।

(समर्पित मेरो प्राण
व्यर्थको यो मूल्यहिन प्राण
तिम्रा चरण कमलमा
तिमीबाटै आएको
तिमीमै मिल्नै पर्ने हो
……….
……..। )

…..यस जीवनमा कति आए । धेरै उतेजना लिई आउने उति । मैले नजिकै भएर हेरें शर्मा । तर त्यो मुस्कराहट कतै देख्न पाइन ।

कुरा सुन्दा सुन्दै उँघेको मलाई थाहा नै भएन; कुरा पहिले नै टुङ्गयो भन्ने थाहा भयो। नाम न बताई उनले टुङग्याए। मैले पनि सोधिन। सोध्न तीव्र इच्छा थियो, भद्रपन देखाएँ, सोधिन। बेलुका विदाईका समय लाज मान्दै सोधेँ। तर उनले –

– नाउँ-साउँ भनेर के गर्नु – के फायदा छ र ? छोटकरीमा अहिले ऊ छन्‌, सुखमा होलिन भन्ने विश्वास छ, म पनि सुख्नैमा छु, विचार मग्न छु। होइन र। शर्माले पनि देख्नु नै भयो। लौ न त फेरि भेटमा ।

– नमस्ते।

तब मैले पढेको सुनेको त्यो भक्तिको कुरा त्यो चाहिँ के हो। मैले भक्तिको अर्थ बुझ्न न सकेको हो कि बुझाउन न सकेको ।

अनि उनको पठन कक्षमा राखेका टेलिविजनमा कता-कता कुनै तीर्थमा मेलाका समय कुनै स्वामीले केही भनेको सुनेको हुँ, पूरा याद रहन सकेन- धेरै जसो ‘धर्म’, ‘आत्मा’, ‘परमात्मा’ शब्दहरू सुनेझै लाग्छ।

भोलि पनि भेट्न आउँछु भनी निधो गरेको छ। कवि त होनन्‌; लेखक हुन्‌; दलित-पीडित समूहका निम्ति क्रान्तिकारी लेखहरू लेख्ने लेखक हुँ भनी आफुलाई चिनाए। गरीबहरूको साथी हुँ भने। उनको कलम यु.एस.ए. को पारकर होला, भारतको डोरिक हुन सक्ला भनेका हुन्‌ । भोलि म फेरि भेट्न जानु र?