१. आमुखः
अचेल गीतको अभिव्यक्ति पक्षमा ह्रास आएको र गीत हल्का–फुल्का र सस्तो भएको गुनासो जनसाधारण र संगीत पारखीवर्गबिच रहेको देखिन्छ। उरण्ठेउला र पश्चिमी अन्धानुकरण गरिएका गीतका अल्बम बजारमा यत्र-तत्र उपलब्ध हुन्छन्। यस्ता खाले गीत विशेष गरी किशोरावस्थाका श्रोताहरूले बढी रूचाउने गरेको देखिन्छ। यस्ता गीतहरू बर्खे च्याउ जस्ता हुन्छन् जो समयको फेरामा विश्मृतिको गर्भमा विलुप्त भइहाल्छन्। यद्यपि गम्भीर शब्द-रचना, मिठो संयोजन, सांगीतिक धून र सुमधुर स्वरद्वारा त्रिपक्षीय संयोजन भएका गीतहरू भने चिरस्थायी, शाश्वत, सर्वस्पर्शी र सदाबहार बन्दछन्। आज पनि नेपाली संगीत जगतका नारायण गोपाल, अरूणा लामा, तारा देवी, भक्तराज आचार्य़, अम्बर गुरूङ, गोपाल योञ्जन आदिका गीतहरू एउटा ठुलो श्रोता समुदायबिच उत्तिकै लोकप्रिय छन्। अहिलेका पप र रक गीत मन पराउने किशोर श्रोताहरू उमेर बित्दै गएपछि गम्भीर गीत खोज्न थाल्छन् औ शब्दको भाव गाम्भीर्य पहिल्याउँछन्।
यसै सन्दर्भमा गम्भीर, सुमधुर, सललित र सर्वसम्प्रेषित गीतहरू रचना गर्ने एक प्रतिभा हुन् पुष्कर पराजुली। उनी एक सफल र उपल्ला दर्जाका गीतकार हुन्। भारतका नेपाली गीतकारहरूमा प्रमुखतः हरिभक्त कटुवाल, अगमसिंह गिरी, नरदेन रूम्बा, जस योञ्जन प्यासी, गोपाल योञ्जन, पुरण गिरी, वलि सुब्बाका लहरमा पुष्कर पराजुलीको पनि नाम जोड्नुपर्छ। उनी पछिका गीतकारमा कमल रेग्मीको कलम पनि दह्रिलो छ।
२. गीतकारको सामान्य परिचय:
पुष्कर पराजुलीको जन्म ७ जनवरी १९७१ मा कलकत्तामा भएको हो। उनका बाबु श्री टिकाराम पराजुली कलकत्ता पुलिसमा जागिरे थिए। उनको प्राथमिक शिक्षा कलकत्ताबाट नै भएको हो। पछिबाट सिलगडीको डा. आइ बी थापा विद्यालय भर्ना भई यसैबाट माध्यमिक परीक्षा उत्तीर्ण गरेका हुन्। यसपछि सिलगडी कलेजबाट उच्च माध्यमिक. खरसाङ कलेजबाट नेपाली विषयमा सम्मानसहित स्नातक सन् १९९२ मा उत्तीर्ण गरेको हुन्। यसै गरी सन् १९९४ मा नेपाली विषयमा स्नातकोत्तर समाप्त गरी १९९५ मा विश्वविद्यालय अनुदान आयोगको राष्ट्रीय शिक्षा परीक्षा उत्तीर्ण गरी विद्वत्-वृत्ति पाएका हुन्। उनी २००१ देखि सिलगडी महाविद्यालयमा नेपाली विषयका लेक्चरर भएका थिए भने २००५ देखि उनी उत्तर बङ्गाल विश्वविद्यालयको नेपाली विभागमा प्राध्यापन गर्छन्। उनी गीतकारका अतिरिक्त एकजना साहित्य समालोचक पनि हुन्। संगीतका क्षेत्रमा पनि उनी दक्ष छन्। उनीलगायत अन्य संगीतकार र कलाकार मिली गठन गरिएको आरोही सांगीतिक टोली सिलगड़ी भेकमा सक्रिय छ।
गीतकारका रूपमा श्री पराजुली विद्यार्थी कालदेखि नै सक्रिय छन्। सन् १९९२ मा निर्मित नेपाली कथानक चलचित्र भूलमा गीत लेखेको थिए। त्यस्तै गरी कृष्ण घतानीद्वारा संगीतबद्ध अल्लारे कान्छा गीति अल्बममा पनि उनका गीत रहेका छन्। सफल थापाको रूद्राक्ष अल्बममा पनि गीत दिएका छन्। हाई-वो फिफ्टी फाइभ। तीबाहेक अन्य अल्बम र फिल्ममा पनि गीत लेखेका छन्। आजसम्म श्री पराजुलीका गीतमा उदितनारायण झा, साधना सरगम, पूर्णिमा (सुषमा श्रेष्ठ), रामकृष्ण ढकाल, सत्यराज आचार्य, आभास, आनन्द कार्की, जगदीश शर्मा, सफल थापा, नीलामणि राई, बिरेन खाती आदिले गीत गाइसकेका छन्। उनी आफै संगीतका पारखी हुनाले धूनमा गुन्गनाउँदै लेख्दा उनका गीतहरू स्वतः गेयात्मक बन्छन्।
सफल गीतमा जे जे तत्व,, लक्षण, गुण र विषेषता चाहिन्छन्, ती सबै कुरा पराजुलीका गीतमा पाइन्छन्। गीतमा हुनुपर्ने गेयात्मकता, लयात्मकता, एकोन्मुखता, मधुरता उनका गीतहरूमा पाइन्छन्। गहुँद्वारा निर्मित आँटा र मैदाको भेदजस्तै सामान्य कविताभन्दा अझै मिहिन र परिशोधित रूपमा गीत हुन्छ। उनका गीतहरू हार्दिकता, वैयक्तिकता, शब्दार्थ संयोजन, वर्ण संयोजन र छनौट आदिले गर्दा श्रुतिमधुर बनेका छन्। उनका गीतका प्रत्येक पंक्तिमा आउने अक्षरको संयोजन तथा मात्रा, लय, सुर, ताल, वलाघात आदिको सहयोगद्वारा मधुर लय सञ्चार गरिएको पाइन्छ।
३. पराजुलीका गीतहरूको विषयगत प्रवृत्ति:
उनका गीतहरूमा पाइने भाव र विषयवस्तु खोतल्दा हामी निम्न कुराहरू पाउँछौं-
- रूमानी भाव
- प्रकृतिको प्रतीकीकरण र मानवीय भावसँगको तादात्मकता।
- प्रगतिमुखी स्वर
- आशावादी स्वर
- लोकतत्वको आंशिक प्रयोग।
- ग्रामीण जनजीवन र शैली।
- वैयक्तिक अनुभूतिको साधारणीकरण।
- अनेकार्थकता।
- एउटा मिहीं दर्शन।
- प्रेमको सस्तो भावुकता भन्दा सिर्जनात्मकता तिरको झुकाव।
- युगीन सन्दर्भको प्रस्तुति।
- जातीय अस्तित्व चेतना
- बालगीत।
३.१ हृदयमा उठेका स्वतः
स्फूर्त भावलाई निर्वाध रूपमा अभिव्यक्ति दिनु रूमानीत्व हो। गीतकार पराजुलीका गीतहरू पनि प्राकृतिक र श्वाभाविक भावोत्तेजनालाई कुनै कठिनाइ नपरी सहज, सरल र सरस रूपमा अभिव्यक्त छन्। जीवनमा आइपर्ने उकाली-ओराली, घाम-पानी जस्ता हरेक पक्षलाई श्वाभाविक स्वर दिने काम गरेका छन्। प्रेमपरकता, मानवता, प्राकृतिक चित्रण, कल्पनाको प्राचुर्य, परम्परागत चिन्तनप्रति द्रोह, अतीतप्रति मोह, नवीनता र आत्माभिव्यञ्जना जस्ता रूमानी तत्वहरू पराजुलीका गीतमा पाइन्छन्।
छछल्कियो धर्तीभरि घामको मुटु छिरीबिरी
हुलबाट पोखिेको पक्षी गाना चिरीबिरी
अँध्याराको घुम्टो खोल मेरी माया
नछेक उज्यालो मुहारमा दोछायाँ।
———— ———–
दीयो जले पछिल्तिर कालो हुँदो रै छ
रिसाउँदा ईश्वर पवि अर्को हुँदो रैछ
के छ र भर दुनियाँको, कुरा फेर्ने जमानाको
आफ्नै बोली कहिले-काँही झर्को हुँदो रैछ।
उनका गीतमा नव निर्माणप्रति आग्रह, युगीन चेतना, मानवता प्रेम, व्यष्टिमा समष्टी र समष्टीमा व्यष्टि पाइन्छन्। व्यक्तिलाई व्यक्तिगत पर्ने प्रभाव सामूहिकसिद्ध हुन्छ। उनी सांसारिक तापबाट द्रवित भई आफ्ना भावलाई अभिव्यक्ति दिन्छन्। उनका समग्र गीत नै रूमानी वा स्वच्छन्द भावभित्र समाहित छन्। गीतहरूमा पाइने रूखपात, बसुन्धरा, साँझ-बिहान, बादल, बतास, हिमाल, पहाड, हिमचुली, उकाली –ओराली, जङ्गली फूल, घाम-जून, आकाश-पाताल, माटाको गन्ध, पँधेरो, घामपानी, धूँवा, झरी, भाबर, मौसम, वनचरी, कोइली, चियाबारी, कुइरो, बरपीपल, चौतारी, बाँझो, धरती जस्ता शब्द-शब्दावलीले गीतकारको प्रकृतिक चेतना परिलक्षित हुन्छ। यस संग्रहमा रहेको एउटा गीत ‘पृथ्वी बोले’ मा सिङ्गै गीतनै पर्यावरण चेतनामा आधारित छ। मान्छेले आफ्नो स्वार्थ-पूर्तिका लागि वन फँडानी, डड़ेलो, कारखानाको धूँवाँ आदि जस्ता कुकृत्यले हाम्रो बसुन्धरा र पर्यावरण सन्तुलनमा चाप र दुष्प्रभाव परेको तथ्य पुष्टी गरेका छन्-
रूख-पात हुन् मेरा गहना
तीर्थस्थल हुन् नदी-नाला
हावामा कालो-मैलो धूवाँले मेरो सास थुनिन्छ
डड़ेलो नलाऊ मेरो छातीमा ढुकढुकी नै आतिन्छ।
३.२.
यस संग्रहभित्रका गीतमा आशावादी स्वर स्पष्ट रूपमा देखिन्छ। सांसारिक जीवन भोगाइको क्रममा आइपर्ने सुखसँगै दुःख-कष्टबाद गीतकारलाई कहिले-काँही कता-कता निराशाबोध हुन्छ नै यद्यपि उनमा निराशाभन्दा आशावादी स्वर नै टडकारो देखिन्छ। संग्रहको पहेलो गीतमा नै बेरोजगार युवाको गुनासोभित्र समेत आशावादी स्वर देखिन्छ-
ओएसिसको बाटो खोज्दै हिँड्छ हाम्रो मन
कहिलेकाँही पिँउन पाए प्यास बढ्छ झन्।
गीतकार यस संसारमा मर्न होइन जिउँन चाहन्छन्। बाँचेरै संसारमा आफ्नो ठाँउ खोज्छन्, घोर अन्धकारमा पनि बिहानीको उज्यालाको अपेक्षा गर्छन्। अँध्यारो हटी उज्यालो छाएको यसरी व्यक्त गर्छन्-
म मर्न चाहन्न जिउन देउ मलाई
तिम्रो संसारमाभित्र ठाउँ देऊ मलाई
उज्यालो भो साथी, हिमचुली त्यो माथि
चड्यो घामको लालिमा।
————-
मर्न मन लाग्दैन हो जिउँदै मरिसके पनि
कतिचोटी मर्यौं तर बाँच्नै मन लाग्छ।
कुइरोभित्र बादलको तन्ना ओडेर उभेको म
घामछायाँसित मितेरी लाउने उकाली-ओराली म।
संग्रहका प्रायः गीतहरूमा निराशामा आशा, अँध्यारामा उज्यालो देखिन्छ भने मान्छेको सुषुप्त अवस्थामा रहेको जिजीविषा नै प्रवल देखिन्छ। आशाले नै जीवनलाई बाँच्न सिकाउँछ भन्ने शाश्वत सत्य परिलक्षित हुन्छ।
३.३
उनको गीत फुल्ने ठाउँ गीतसंग्रहका गीतहरूमा लोकतत्व पनि पाइन्छ। हाम्रो तादिदेखि संचित अनुभव र ज्ञानलाई लोकगीतका रूपमा कतै कतै व्यञ्जित छन्। उनका गीतमा सामूहिकता, मौखिक परम्परा, मनोरञ्जनात्मकता आदि कुराहरू लक्षित छन्। संग्रहको पहिलो गीतमा रहेको इन्दरे मिन्दुरे हो भन्ने रहनी अंश विषेश गरी उत्तर बङ्गालको एक बासिन्दा राजबंशी सम्प्रदायको लोकभाकाको एउटा रूप हो। यद्यपि तिब्बती भाषामा पनि छैन भन्ने अर्थमा मिन्दू शब्द प्रयोग गर्छन्।
कुटुमा कुटु हजुर सुपारी खानु सालबारी हाटैको
न फोन आयो न चिठी आयो परदेशी दाज्यैकोष
माथिको झ्याउरे लोकलयका अतिरिक्त हाम्रो लोकलय असारे(रसिया), मादले गीतको पनि प्रयोग छ-
दुइतिरबाट बगेको पानी
भुँमरी पर्यो भेटमा, झमझम रसिया
छुपु है छुपु धान है रोपूँ
असारे मासे खेतमा झमझम रसिया
दशै औंला हातको राजै दशै दिनको दशैं
आकाशको उड्यो बादल, लैबरीमा ठोक मादल
भागिसक्यो पानी झरी
धानका बाला झुलेसरि नाचौं रमाइ रमाइ।
३.४.
संग्रहका बालगीतहरूमा धेरै बाललोकगीतहरूलाई आधार बनाई लेखिएको छन्। उदाहरणस्वरूप राजाको भोटे कुकुर उम्क्यो, यति यति पानी , हरबर हरबर आदिलाई लिनसकिन्छ। हाम्रा समाजमा यस्ता बाललोकगीतहरू अँग्रेजी स्कूलहरूमा सिकाइने नर्सरी राइमको अतिक्रमणले गर्दा दिन परदिन अस्तित्व हराउँदै जानलागेको बेला तिनका पंक्तिहरूलाई आधार बनाई नयाँ समाजअनुरूप वैज्ञानिक पद्धतिअनुसार बालगीत कथिएको छ (भूमिका, पुष्करद्वीप र गन्धर्वगण, रामलाल अधिकारी, पृष्ठ ११)। एक प्रकारले भनौं भने यसमा संग्रहीत प्रायःजसो बालगीतहरू नै लोकगीतमा आधारित नै हुन्।
३.५.
प्रस्तुत गीत फुल्ने ठाउँ संग्रहमा प्रेमतत्व प्रबल र प्रमुख रूपमा पाइन्छ। यद्यपि यहाँ प्रेमको सस्तो र कोरा भावुकताभन्दा नवोन्मेष र सिर्जनात्मकतातिरको झुकाव नै बढी मात्रामा पाइन्छ। यहाँ प्रेम सिर्जनाको मुहान बनेको छ-
प्रेमको पहाड़ हुन्थ्यो भने तेञ्जिङ चडिरहन्थ्यो
सागर मायाको हुन्थ्यो भने कोलम्बस डुलिरहन्थ्यो।
तिम्रो मेरो दुनियाँमा जब फूल फुल्यो
त्यहीँबाट सृजनाको अर्को मूल फुट्यो।
————————-
प्रस्तावना मेरो भयो पिरतीको
शुरू गर कहानी
एउटा साँझ एउटा रात
फेरि एउटा बिहानी।
३.६.
गीतकार पराजुलीको प्रस्तुत गीतसंग्रहमा हाम्रो जातीय आस्तित्विक चेतना पनि परोक्ष रूपमा परिलक्षित छ। हामीले हाम्रो अस्तित्वका निम्ति गरेको संघर्ष, हामी किनारीकृत भएको, हामी नजरअन्दाज भएको कुरा कता कता तर स्पष्टतः स्वर दिएका छन्। हामीले हाम्रो अस्तित्वको युद्ध मिले अझै गर्नुपर्छ-
तिमीले पनि गाउनु पर्छ हाम्रो नयाँ गीत
एउटै छ हाम्रो युद्ध एउटै हुन्छ जीत।
हाम्रो पहाड़ सधैं सधैंको कुइराले ढाकेको छ, जुन निराशा, असन्तोष, आक्रोश, अविकास र अव्यवस्थावो प्रतिविम्बन हो। हाम्रो आफ्नो घर, बाटो, माटो, प्रण र दाम छैन भन्ने भावलाई यसरी अभिव्यक्ति दिएका छन्-
जङ्गल त छ दाउरा छैन
गाउँ त छ बाटो छैन
आफ्नै अन्न उब्जाउने सानो बारी माटो छैन
आफू बस्ने घरमा पनि आफ्नो कुनै नाउ छैन
के भनुँ खै संसारमा अर्को यस्तो ठाउँ छैन।
३.७
संग्रहभित्रका गीतहरूमा गीतकारका मौलिक दर्शन, विचार र बौद्धिक पक्ष पनि झल्कन्छन्। उनले अनुभव गरेका विचार भावना र चिन्तन कतै कतै मिठा मिठा सूक्तिका रूपमा पनि अभिव्यक्त भएका छन्। जीवन र जगतलाई हेर्ने उनको आफ्नै दृष्टिकोण र दर्शन छन्। यस्ता कतिपय विचार र दर्शन शाश्वत् मूल्यका छन् भने कतै आफ्नै निजी छन्-
राक्षससित देउताको कुरा गर्नु हुन्न
आँधी चल्दा ज्यानभन्दा केही प्यारो हुन्न।
आफ्नै मान्छेबाट पनि घात हुनसक्छ
जाँदा जाँदै कुनै मोडमा रात पर्न सक्छ।
दीयो जले पछिल्तिर कालो हुँदो रैछ
…………………………………..
माया गर्ने मान्छेसित जून तारा हुन्न
छातीभित्र मुटु हुन्छ अरू केही हुन्न।
३.८.
गीतको मौलिक चिन्तनभित्र युगीन चेतना र त्यसले जन्माएको विभिन्न अवस्थालाई पनि दर्शाएका छन्।उनका दृष्टिमा वर्तमान युग पीडादायक छ। विश्वासिलो र भरपर्दो छैन। मान्छे- मान्छेमा विश्वास छैन, मान्छेका बिच भावना र सम्बन्धको दूरत्व बढेको छ, सुख शान्ति छैन। मान्छे घोर य़ान्त्रिक र संवेदनशून्य बनेको छ-
मान्छेभन्दा मान्छे आज धेरै टाडा भो
सबै भन्छन् दुनियाँ यो कति सानो भो।
मान्छे मर्दा मान्छेले रून बिर्सियो
दौडा दौडी जमनाले भन के दियो।
यतिसम्म कि वर्तमानमा प्राकृतिक पर्यावरणको सन्तुलन पनि बिग्रिएको छ, वनविनाश भएको छ-
जङ्गलैभरि सुनाखरी वैलेर झर्दैछ
फूलको कुरा के गर्नु छ र जह्गलै मर्दैछ।
———————————–
कोलाहल छ यता उता मन डुल्छ कताकता
खबर लिन जान्छु भनी हावा नै छ बेपत्ता।
उनका निम्ति वर्तमान नै शंकाग्रस्त छ-
आजभोलि ढुङ्गालाई नि पीर पर्न थालेको छ
देउता भनी मान्छेले उसलाई पुज्न छाडेको छ
३.९
संग्रहमा रहेका सत्रवटा बालगीत बाल-बालिकाका निम्ति सुस्वादु, रोचक र रमाइला छन्। यहाँ गीतकार स्वयम् ससाना बालबालिका भई तिनका मन र हृदयमा विचरण गरी बालसुलभ भावाभिव्यक्ति दिएका छन्। उनीहरूका कलिला मस्तिष्क र हृदयमा आउने अति कोमल भावना, दया, माया, स्नेह, संवेदनशालतालाई जतिसक्तो समेट्ने कोशिश गरेका छन्। बाल मस्तिष्कको निस्वार्थता, निष्छलता र कौतूहलतालाई सहज रूपमा पक्रन सकेका छन्।
टपटप बलेंसीमी पानी चुँहुदैछ
गड्याङ गुडुङ आकासमा बादल गर्जदैँछ
आमा भनिदेउ बादललाई
पानी पार्न बन्द गर
आज खेल्न जाँनलाई अबेर ङउँदैछ।
बाल-बालिकाको मनमा पाप पसेको हुँदैन। उनीहरूमा उँच-नीचको भावना हुँदैन, हुन्छ भने बरू ठुलाहरूले सिकाएर मात्र हुन्छ-
म राजा तिमी प्रजा भन्छन् साथीहरू
सबै राजा सबै प्रजा भन्छु म त बरू।
सासाना नानीहरूहरूलाई बिहान सबेरै उठी पढ्न लेख्न वा अरू काम गर्न गर्नुपर्छ, समयको महत्त्व बुझाइदिनु पर्छ भनी यसरी बालककै मुखबाट भनिएको छ-
झुल्के घाम बढिसक्यो कहिले फर्कदैन
तिमी किन पर्खिबस्छौ समय पर्खदैन।
शहरमा हड़तालका दिन खुल्ला सड़कमा बाल-बालिका रमाइलो मानी क्रीड़ा कौतूक गर्छन् तर आफ्नै उमेरका काँधमा थोत्रे बोरा लिएर भुँइतिर प्लास्टिक र अरू के के चिज बटुल्ने बाल-बालिका देख्दा उनीहरूका कोमल भावनाको संवेदनशीलतालाई यसरी व्यक्त गरिएको छ-
हाम्रो स्कूत छुट्टी च तर उनीहरू त जाँदैछन्।
झोलाभित्र किताब छ कि भूँइमा के के टिप्दैछन्।
मुहारभरि ध्वाँसो र धूलो जीउमा चिथ्रा टाला छन्
साँच्चै त्यस्ता छैनन् क्यारे हेर्दा जस्ता काला छन्।
दार्जीलिङको टोयट्रेनलाई लिएर एउटा सुन्दर बालगीत यसरी लेखिएको छ-
कुकु छकछक गर्दै हिँड्छ डाँड़ा-काँड़ा गाउँ
दार्जीलिङको सानो रेल टोयट्रेन यसको नाउँ।
बालमस्तिष्कमा नै वन-जङ्गल वा उद्भिदको महत्त्वबारे यसरी प्रकाश पारिएको छ—
आज एउटा बिरूवा रोपे भोलि रूख हुन्छ
बोट-बिरूवा मासिनाले पछि दुःख हुन्छ।
मान्छे बिना बाँच्न सक्लान् बोच बिरूवा बरू
रूख-पातबिना हुँदैहुन्न मर्छन् मान्छेहरू।
संग्रहमा रहेका यति यति पानी, राजाको भोटे कुकुर, हरबर हरबर जस्ता परम्परागत बाललोकगीतमा आधारित भए पनि तिनलाई नयाँ चिन्तन र नयाँ शब्दमा नयाँ गरी प्रस्तुत गरिएको छ।
४. पराजुलीका गीतको मूल्याङ्कन र उपसंहारः
यिनका अतिरिक्त गीतकार पराजलीका गीतहरूमा कतै लागु पदार्थको दुर्व्यसनको समस्या छ (द्रष्टव्य गीतको बोल आनन्दको दुखभित्र)। भने कतै नर-नारीको नैसर्गिक प्रेमाकर्षण, चाहना, उत्सुकता, जिज्ञासा र बैंसालु कुत्कुतीका अनुभूति छन्।कतै गरीब र गरीबीको चित्रण छ त कतै चियाबारीको हरियाली र चियाकमान बन्दबाट उब्जेको सम्स्याको वर्णन छ। कहीँ पहाड़को भौगोलिक सुन्दरताको वर्णन छ त कहीँ दार्जीलिङको जीवनरेखा राजमार्ग को आत्मव्यथा छ। उनका गीतमा शब्द प्रयोग र तिनका अर्थबहुलता नै शिल्पगत वैशिष्ट्य हुन्। सरल, ठेट र कोमल शब्हरू जोडेर नै गम्भीर चिन्तन, अनुपम सौन्दर्य र सर्व-संवेद्यता प्रदान गर्ने उत्कृष्ट गीतहरूको सिर्जरना गरेका छन्। यसबाट उनको शिल्प र कापिगरी दक्षता देखिन्छ।
यसरी समग्रमा अध्ययन गर्दा पुष्कर पराजुली एक सफल र कुशल गीतकार हुन्। उनका गीतहरू कताकता हरिभक्त कटुवाल, गोपाल योञ्जन, कालीप्रसाद रिजाल, दिनेश अधिकारीका गीतहरूसित सरलता, सम्वेद्यता, यथार्थता, दाऱ्शनिकता, शब्दगत मितव्ययिता, भावगत गहनताका आधारमा मेल खाने देखिन्छन्। वास्तवमा, पराजुली नै उनीहरूकै हाराहारीमा उभिन सक्ने दह्रा गीतकार हुन्। प्रकृतिसँग मानवीय भावनाको तादात्म्यता, प्रेमका विवध रूपको वर्णन, शब्दचयनमामा चमत्कारिक कोमलता, कतै लोकतत्वजन्य आद्यबिम्बको प्रयोग, अनेकारथता र युगीन चेतनाको प्रस्तुती आदि जस्ता पक्ष र प्रवृत्ति नै उनका गीतका वैशिष्ट्य हुन्। जे होस् नेपाली गीत लेखनका फाँटमा पराजुली एक सशक्त प्रतिभा हुन्।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।