आइतबार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको साहित्य चौतारी कार्यक्रम अन्तर्गतको ८ औँ श्रृंखलामा कृति विमोचन गरियो ।
नारी दिवसको सन्दर्भ पारेर नारीलाई विशेष केन्द्र बनाएर लेखिएको अनेसास जापानका सल्लाहकार समेत रहनुभएका डा. विजय ज्ञवालीको कृति ‘अमोहा’को विमोचन गरिएको थियो ।
उक्त कार्यक्रममा अनेसास केन्द्रका अध्यक्ष प्रकाश पौडेल ‘माइला’,समीक्षक राजकुमार बानियाँ, लेखक आन्विका गिरी र लेखक डा. विजय ज्ञवालीको उपस्थिति रहेको थियो ।
संस्थाका महासचिव रविन शर्माको सञ्चालनमा रहेको उक्त कार्यक्रम सदाझै नेपाली राष्ट्रिय गानसहित सुरुवात गरिएको थियो ।
विमोचन समारोहका लागि मात्रै कार्यक्रममा उपस्थित संस्थाका अध्यक्ष गिरिजा गैह्रेले उपस्थित अतिथिहरुमा आभार व्यक्त गर्दै कृति सफलताको शुभकामना सहित छोटो मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा उपस्थित अन्य अतिथिहरुले विमोचित कृतिमाथि आ-आफ्नो धारणा व्यक्त गर्दै कृति सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो भने आम मानिसका कथा भएकाले सबैलाई एकपटक कृति अध्ययन गर्न पनि अनुरोध गर्नुभएको थियो ।
लेखक ज्ञवालीले छोरीलाई केन्द्र बनाएर लेखिएको भए तापनि यो एक बाबुको मनोविज्ञानसँग सम्बन्धित कृति रहेको कुरा जानकारी गराउँदै औपचारिक विमोचन कार्यक्रमको आयोजना गरिदिने अनेसास जापान च्याप्टर साथै कृति प्रकाशित गरीदिने सांग्रिला बुक्स नेपाल प्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको थियो ।
कृति विमोचनका अतिरिक्त कार्यक्रममा केही प्रश्नोत्तर तथा अन्य साहित्यिक विषयमा छलफल समेत गरिएको थियो ।
आन्विका गिरीले प्रकाशनका विषयमा, राजकुमार बानियाँले डायस्पोरिक साहित्य र नेपाली साहित्यका विषयमा र प्रकाश पौडेलले अनेसास र यसको भूमिकाका विषयमा विचार व्यक्त गर्नुभएको थियो ।
अनेसास जापान च्याप्टरले आगामी दिनहरुमा पनि साहित्यिक अन्तरक्रियाका कार्यक्रमहरु निरन्तर गर्दै जाने र साहित्य प्रेमी महानुभावहरुबाट साथ र सहयोग प्राप्त गर्ने विश्वास व्यक्त गर्दै करिब १:३० घण्टा चलेको उक्त कार्यक्रम समापन गरिएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।