नेपालमा लामो समयसम्म सरकारी सेवामा रहेर सेवानिवृत हुनुभएका तीर्थराज अधिकारी हाल ओहाओ, अमेरिकामा हुनुहुन्छ । नेपालमा हुँदा उहाँले विभिन्न कृतिहरूको लेखन एवं प्रकाशन गर्नुभएको पाइन्छ । जूनकिरी-कविता सङ्ग्रह २०५३, ऐना-कविता सङ्ग्रह २०५७, तीन लय तेर्ह गीत-गीति सङ्ग्रह २०६०, झटारो-मुक्तक सङ्ग्रग २०७०, यो कस्को हात- कविता सङ्ग्रह २०७०, बिरिम फुल- मुक्तक सङ्ग्रह सन् २०१६ उहाँका प्रकाशित कृतिहरू हुन् ।
साहित्यलाई अति माया गर्ने र नेपाल साहित्यको विकासमा सक्रिय रहन रुचाउने अधिकारी नेपाल सरकारको सेवामा हुँदा जुन जुन स्थानमा स्थानान्तरण भएर जानुभयो ती स्थानहरूमा नेपाली साहित्यको विकासमा सक्रिय योगदान पुर्याउनु भयो । हाल अमेरिका प्रवासमा रहँदा पनि अधिकारी नेपाली साहित्यको विकासमा सक्रिय हुनुहुन्छ । पाको उमेरमा पनि अथक रूपमा लागि रहनुभएको छ ।
उहाँद्वारा लिखित मुक्तकसङ्ग्रह बिरिम फुल मैले पढेपछि त्यो कृतिले मलाई यति छोयो कि त्यस कृतिको चर्चा नगरी बस्न सकिनँ । अन्य पाठकहरूलाई पनि बिरिम फुलबारे भन्ने विचार गरेँ ।
बिरिम फुलको प्रभावस्वरूप नै उक्त कृतिको छोटो परिचर्चा गर्ने प्रयास गरेको छु । भनिन्छ, त्यो कृति प्रभावकारी मानिन्छ जुन पढेपछि पाठकको मष्तिष्कमा त्यो कृतिमा भनिएका कुराहरू लामोसमयसम्म घुमिरहन्छन् । मैले बिरिम फुल पढेको धेरै समय भयो तर त्यस सङ्ग्रहमा भएका मुक्तकहरू अहिले पनि मेरो दिमागमा घुमिरहेका छन् । तिनले दिएका सन्देशहरूले मलाई आकर्षित गर्न छोडेका छैनन् । घडी घडी मेरो मानसपटलमा आउँछन् ।
जीवन र जगत्लाई नजिकबाट हेरेर, जीवन र जगत्का शूक्ष्मभन्दा शूक्ष्म कुराहरू बोध गरेर, तिनका अर्थ खोज्नु र बुझेपछि ती अर्थहरू पाठकहरूसमक्ष सरल किसिमले राख्नु अधिकारीको बेजोड विशेषता, कौशल वा क्षमता हुनपुगेको छ । मैले पढेका केही मुक्तहरूमा, प्रेमका कुराहरू बढी उल्लेख गरिएका पाएको छु । प्रेमका कुराहरू गर्नुपर्छ । जीवन प्रेममा नै अडिएको छ तर प्रेमभन्दा बाहिर पनि अति महत्वपूर्ण कुराहरू छन् जुन हामीले बाँच्दा भोग्नुपर्छ । ती कुराहरू अति महत्वपूर्ण मात्र होइन तिनले जीवन-मार्गदर्शकका कार्य गरेका हुन्छन् । आफ्ना मुक्तकहरूका माध्यमबाट अधिकारीले जीवनका अनेका पक्षहरुको प्रभावकारी किसिमले दर्शन गराउनुभएको छ । जीवनका अप्ठ्याराहरूलाई पनि बोध गराउनुभएको छ ।
“फूल र अक्षता पूजाको थालीमा सजाइरहने छु
सारा जिन्दगीलाई ख्वामितकै सेवामा कजाइँरहने छु
जहिलेसम्म मेरा यी दुई हात काटिदैनन् प्रभु !
हरपल हजुरकै खुसीका लागि ताली बजाइरहने छु”
“शान्त समाजमा अशान्ति बढाउन थाल्छ
धार्मिक सहिष्णुता भँडाउन थाल्छ
मूर्ख मनुष्य चुचुरोमा पुग्यो भने कतै
माथिबाटै ढुङ्गा मुढा लडाउन थाल्छ”
माथिक पङ्क्तिहरू तीर्थराज अधिकारीद्वारा लिखित बिरिम फुलबाट उद्धरण गरिएको हो ।
मानव स्वभावमा देखिने विचलन, विरोधाभाष, विग्रह, वैमनष्यता, स्वार्थ, लोभ आदिलाई अधिकारीले विशिष्ठ किसिमले मुक्तकका माध्यमबाट विश्लेषण गर्नुभएको छ । ती विश्लेषणलाई प्रभावकारी किसिमले पाठकहरूसमक्ष प्रस्तुत पनि गर्नुभएको छ । यो कारणले गर्दा जीवन दर्शन गराउने अनेक मुक्तकहरूले भरिएको यो सङ्ग्रह ‘बिरिम फूल’ एक संग्रहणीय कृति हुनुपुगेको छ । यो एक यस्तो कृति हुन पुगेको छ जुन पटक पटक पढ्दा पनि फेरि फेरि पढ्न मन लाग्छ । मुक्तकमा भनिएका कुराहरू सर्वकालीन एवं कालजयी हुन गएकोले पनि त्यस्तो हुन पुगेको हो । मुक्तकहरूमा व्यक्त गरिएका अधिकारीका विचार, अनुभव, भोगाइ कालजयी छन् ।
म यो मुक्तकसङ्ग्रह पढ्न मात्र होइन पढेर आफ्नो मनको र घरको पुस्तकालय राख्न अनुरोध पनि गर्दछु ।
भनिन्छ, आजभोलि पारिश्रमिक दिएर वा आफ्न्तलाई आफ्नो कृतिको समीक्षा गर्न लगाइन्छ । यो भनाईमा के कति सत्यता छ मलाई थाहा भएन । तर तीर्थराज अधिकारी, जसले यो बिरिम फुल लेख्नुभएको छ उहाँसँग मेरो कुनै साइनो छैन, र उहाँलाई मैले चिनेको छ महिना पनि भएको छैन। यो पुस्तक समीक्षाको आशय र उद्देश्य केवल राम्रो कृति पढ्न, तिनको गहिरो अध्ययन एवं मनन् गर्न पाठकहरुलाई आग्रह गर्नु हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।