प्रत्येक महिनाको अन्तिम आइतबार नियमित रूपमा नेपाली साहित्य समाज क्यानडाले साहित्यकारहरूको भर्चुअल कविता वाचनको कार्यक्रम आयोजना गर्दै आइरहेको छ। यसै सन्दर्भमा कविता वाचन कार्यक्रमको बाह्रौं शृङ्खला फेब्रुअरी २८ मा सम्पन्न भएको छ।
क्यानडाका विभिन्न सहरबाट उपस्थित कविहरूले कविता र गजल वाचन गरेका थिए, अमेरिकाबाट समेत केही कविहरूको उपस्थिति रहेको थियो। कविता वाचन गर्नेहरूमा सुरेन्द्र राजभण्डारी, अनुजा घिमिरे, गोपीकृष्ण काफ्ले, रेखा पौडेल, तुलसी धरेल, युवराज भण्डारी, रविन थपलिया, पुण्यसागर मरहट्टा, मानकाजी श्रेष्ठ “जेना”, रविन्द्र लम्साल, मुक्ति गौतम, खेम गुरागाई, शशी तिमल्सिना, मोहन खरेल, शिशिर पाण्डे, अनुप न्यौपाने र पुष्प आचार्य हुनुहुन्थ्यो।
कार्यक्रमको सञ्चालन संस्थाका महासचिव मोहन खरेलले गर्नु भएको थियो भने सभापतित्व समाजका अध्यक्ष खेम गुरागाईले गर्नु भएको थियो। कार्यक्रमको सुरुमा सभापति गुरागाईले साहित्य समाजलाई विशुद्ध साहित्यिक संस्थाको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै पदीय पगरीले भन्दा साहित्यिक श्रृजना र कर्मले नै साहित्यकारको पहिचान दिने बताउनु भयो।
अघिल्लो कार्य समितिले गर्दै आएका कुराहरुलाई निरन्तरता दिने बताउँदै उहाँले अघिल्लो कार्य समितिलाई राम्रो कामको लागि धन्यवाद समेत दिनुभयो।
कार्यक्रममा कवि तथा गजलकारहरुले वर्तमान राजनैतिक परिप्रेक्ष्यमा तीखो प्रहार गरिएका रचनाहरू, आउँदै गरेको नारी दिवसको सन्दर्भका, आप्रवासीहरूका कथा व्यथा समेटिएका श्रृजनाहरू, प्रेम, वात्सल्य तथा अन्य समसामयिक विषयमा श्रृजित रचनाहरू वाचन गरिएका थिए।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।