नेपाली भाषासाहित्य, कला र संस्कृतिको उत्थानमा लागिपरिरहेको सक्रिय संस्था अनेसास कोरिया च्याप्टरले नारी दिवसको अवसर पारेर यही मार्च ७ तारिख नेपाली समय साँझ ६ बजेदेखि नेपाली भाषासाहित्यमा समर्पित रहदै संसारको विभिन्न देशबाट साहित्य सृजना गरिरहनुभएका नारी स्रष्टालाई समेटेर नारी विशेष कार्यक्रम गर्न लागिरहेको छ।

जुम प्रविधिको भर्चुअल माध्यमबाट सम्पन्न गरिने सो कार्यक्रममा अमेरिका, बेलायत, क्यानाडा, जापान, नेपाल र कोरियालगायत थुप्रै देशका नारी स्रष्टाहरूले आफ्ना रचनाहरू प्रस्तुत गर्नेछन् ।

विगत लामो समयदेखि अनेसास कोरियाले कविता, गजल,मुक्तक जस्ता सबै विधामा सन्तुलन राखेर विभिन्न साहित्यिक कार्यक्रमहरू गरेको स्मरण गर्दै यस कार्यक्रममा पनि हरेक विधामा कलम चलाउने अधिक नारी स्रष्टालाई उपस्थित गराई नेपाली साहित्यमा नारीको योगदानलाई उच्च सम्मान गर्न लागिएको च्याप्टर अध्यक्ष प्रमोद सारंगले बताउनु भयो ।
यस्तै विभिन्न र पृथक कार्यक्रम गर्दै अगाडि बढीरहेको कारण नेपाली साहित्यिक संस्था अनेसास कोरियाले विश्वव्यापी लोकप्रियता हासिल गरेको र आगामी दिनमा पनि अझ नयाँ-नयाँ भिन्न खालका कार्यक्रमहरू गर्दै नवीन सोचका साथ संस्था अगाडि बढ्ने कुरा कार्यक्रम संयोजक डीआर सूर्यले प्रष्ट पार्नुभयो।

वरिष्ठ साहित्यकार माया ठकुरीको प्रमुख आतिथ्यमा हुने सो कार्यक्रममा विशेष अतिथिमा बोर्ड अफ ट्रष्टीकि अध्यक्ष साहित्यकार गीता खत्री र अतिथिमा अनेसासकी क्षेत्रिय उपाध्यक्ष बाबा बस्नेत रहनु हुनेछ भने रचना वाचन तर्फ कवि तथा साहित्यकारहरू मोमिला जोशी ,राधिका गुरागाईं,गीता कार्की,सन्ध्या पहाडी,समाश्री,दीपा राई पुन,रेणुका सोलु,तारा अधिकारी,सरला श्रेष्ठ,मञ्जु गुरुङ,सरू बस्नेत,सुशिला खड्का हसिना,उर्मिला कार्की,जीविका अश्रु,सुमित स्मित,ममता कर्माचार्य र मञ्जीला अनिल रहनुहुनेछ।

अनेसास कोरियाले विगतका दिनहरूमा भानु जयन्ती, देवकोटा जयन्ती, श्रष्टा –कलाकार सम्मान र हरेक नयाँवर्षमा बृहत् कवि गोष्ठी आदि कार्यक्रमहरू गर्दै आएको छ । साथै, काव्य -सुधाको त्रैमासिक रूपमा अतिथि कवि रचना कार्यक्रम र साप्ताहिक रूपमा विश्वव्यापी रचना वाचन कार्यक्रम सम्पन्न गर्दै आएको छ।