म्यान्मा अर्थात् हामीले चिनेको बर्मा, जहाँ १३५ जनजातिहरूको बसोबास छ । कुल जनसङ्ख्या लगभग ५.४ करोड छ । विगत १५० वर्षदेखि म्यान्मामा १.५ लाख नेपाली भाषी गोर्खालीहरू बसोबास गर्दै आएका छन ।

ज्ञानबहादुर थापा ‘बगाले’ (बर्मा)

थाइल्याण्ड, लाओ, चाइना, इन्डिया, बङ्गलादेश म्यान्मा देशका छिमेकी राष्ट्रहरू हुन् । आज म्यान्मामा भर्खरै मौलाउँदै गरेको प्रजातन्त्रलाई सैनिक तानाशाहीले हतियारको बलमा कू गरेको छ । म्यान्माको इतिहासलाई हेर्ने हो भने सन् १८८५ मा अंग्रेजले आफ्नो उपनिवेश बनाएको थियो । उक्त उपनिवेशबाट सन् १९४८ मा आएर स्वतन्त्रता प्राप्त गरेको हो ।

सन् १९४८ बाट सन् १९५८ सम्म प्रजातान्त्रिक सरकारले देश चलाएको थियो । जनजातिहरूले गणतन्त्र माग गरेको आधारमा सेनाले प्रथमपटक कू गरेर शासन चलाउन थाल्यो । आजसम्म सन् १९६२, १९८८, २०२१ गरी तीनचोटि सेनाले प्रजातन्त्रमाथि निर्मम कू गरिसकेको छ । एक प्रकारले भन्ने हो भने सन् १८५८ बाट २०१५ सम्म तानाशाही सेनाकै शासन थियो भन्न मिल्छ । सन् २००८ मा सेनाले आफूले चाहेजस्तो संविधान तयार पारेर आफ्नै सेनाबाट रिटायर भएर खोलेको यूडिपी पार्टीलाई सत्ता सुम्पियो । सन् २०१५ मा पुनः आम निर्वाचन गरेको थियो । त्यस निर्वाचनको मध्यवधि निर्वाचनमा बल्ल आउँसान सूचीको पार्टीले चुनाव लड्यो ।

वास्तवमा सन् २००८  को संविधानलाई प्रजातान्त्रिक संविधान भन्न मिल्दैन । २५% सैनिक सांसदहरू निर्वाचनमा नउत्रीकन प्रतिनिधि सभामा स्वतः नियुक्त हुने प्रावधान राखेको छ । राष्ट्रिय सुरक्षा परिषद्मा सेनाकै प्रतिनिधि बढी छ । त्यसैकारण राष्ट्रपतिले सेना सञ्चालन गर्ने अधिकार छैन । यस प्रकारको संविधान लागू गरी सेनाले पछाडिबाट हैकम चलाएको थियो । जनताहरू यस संविधानलाई रुचाएका थिएनन् । संशोधन गर्न पनि ७६% को आवश्यक पर्ने भएकाले सेनाको २५% बाट १ जना फुटेर आएमात्र सम्भव हुने भयो तर त्यो असम्भव नै थियो । सन् २०१५ मा आउँसान सूचीको पार्टी नेसिनट लिक फर डिमोकरेसीले बहुमत लिएर २०२० सम्म ५ साल सत्ता चलायो । २०२० नोबेम्बर ८ मा भएको आम निर्वाचनमा नेत्री आउँसान सूचीको पार्टीले नै सर्वाधिक ९०% बहुमतले जित्यो । सेनाको समर्थक पार्टी यूडिपी नराम्रोसँगले पराजित भयो । यो हार तानासाही सेनापतिका लागि स्वीकार्य भएन । त्यसैले निर्वाचनमा धाँदली भएको भनेर बीसचोटिसम्म सरकारलाई र अदालतलाई उजुरी गर्यो । तर वास्तविकता अर्कै थियो ।

निर्वाचन अन्तर्राष्ट्रिय निग्रानीमा निश्पक्ष भएको थियो । सन् २०२१ फेब्रुवरी महिना १ तारिक नयाँ प्रतिनिधि सभाको
बैठक आयोजन गर्ने दिनमा नै चुनाव धाँदली भएको निउ पारी सेना नायक मिनआउलान्ले कू गर्यो र शासन हातमा लियो । देशको राष्ट्रपतिलाई र नेत्री आउँसान सूची लगायत सबै सांसदहरूलाई हिरासतमा लियो । म्यान्माका शिक्षित वर्ग, डाक्टर, इन्जिनियर, प्रोफेसरदेखि लिएर शिक्षकलगायत सर्वसाधरण जनताहरू सडकमा उत्रिएर विरोध जनाइराखेका छन् । कर्मचारीहरू सिबिल डिस वोभिडियनस CDM मा उत्रिएर कार्यालय जान बन्द गरेका छन् ।

तानाशाही सैनिक शासनविरुद्ध करोडौँको सङ्ख्यामा सबै वर्गका जनताहरू सडकमा उत्रिएका छन् । निरंकुश सैनिक तानाशाहीको विरुद्ध उत्रिएका कर्मचारीहरूलाई आर्थिक सहयोग गर्न चन्दा सङ्कलन गरिराखेका छन् । तानाशाहीले निहत्था जनताहरूलाई वाटार केनुन, लाठी मात्र नभएर सनाइपरले गोली प्रहार गरी दमन गरेको छ र १७ जनाको हत्या पनि भइसकेको छ । मानव अधिकारविरुद्ध हतियारको बलमा थिचोमिचो गरेको छ । १४४ मासल ल लागू गरी राति राति घरभित्र पसी हजारौँको सङ्ख्यामा पक्राउ गरेको छ । यति हुँदाहुँदै पनि प्रजातन्त्र पुनः वाहालीका लागि जनताहरू उत्तिकै विरोध जनाइराखेका छन् । सङ्घर्ष गरिराखेका छन् ।

यहाँ विशेष कुरा के छ भने आन्दोलनलाई नेत्रित्व दिने कुनै एक नेता भनेर तोकिएको छैन । एउटा रेलको इन्जिनको पछाडि थुप्रो डिब्बाहरू हुन्छन् तर यहाँ प्रत्येक डिब्बामा एक एक इन्जिन छ । यस आन्दोलनलाई मुख्य गरी Generation Z युवाहरूले नेतृत्व गरिराखेका छन् । यहाँ करोडौँको सङ्ख्यामा नारा लगाउँदै आन्दोलन गरे तापनि कुनै पनि राष्ट्रको सम्पत्तिमाथि तोडफोड गरेको भेटिँदैन । जुलुसमा हिँडेकोले खाने कुरा खाएर फ्याँकेको फोहोरलाई टिप्दै हिँड्ने स्वयंसेवकहरूको जत्था नै छ । सडकमा भीड शान्त भएपछि कुनै फोहोरमैला देखिदैन । सेनाको विरोध गर्छन् तर कसैको घरभित्तामा विरोध जनाउने शब्दहरू कोर्दैनन् । सम्बन्धित ठाउँमा मात्र कोरेको देख्न पाइन्छन् ।

आन्दोलनमा हिँड्नेहरूका लागि खाना, फलफूल, सरवत र पानी जताततै वितरण हुन्छ । खाना पसलहरूले आन्दोलनमा उत्रिएका जतनताहरूलाई निःशुल्क खाना खुवाउने गर्छन् । पुलिसको गोली प्रहारबाट बँच्न भागेका युवाहरूलाई आफ्नो घरढोका खोली भित्र लुकाउँछन् । आन्दोलनको दमन गर्न पुलिसको साधनहरू आउनजान नसकून् भनेर आफ्नो गाडीलाई सडकबीचमा रोकिदिएर चक्काजाम गराउँछन् । जनताहरू अहिंसाको सिद्धान्तलाई अगाडि सारेर शान्तिपूर्वक नारा लगाउँदै आफ्ना मागहरू मागेर आन्दोलन गरिराखेका छन् । बरु सैनिक तानाशाहीले उल्टो शान्तिपूर्वक आन्दोलन गरेका जनताहरूलाई आतङ्कित बनाउन गुण्डाहरूलाई भाडा दिएर गुलेली, छुरी, चक्कुले प्रहार गर्न लगाएको छ ।

जनताहरू अशान्त छन् । असुरक्षित छन् । पत्रकारहरू कहिले पक्राउ गर्ने हो भनेर त्रासित छन् । सोसल मिडियाबाट सैनिक शासनविरुद्ध बोल्नेहरूलाई खोजीखोजी पक्राउ गरेको छ । बीस सालसम्म कैद गर्ने कानून लगाएको छ । सोसेल नेटवर्क, इन्टरनेटहरूमा पनि अवरोध खडा गरेको छ । यति हुँदाहुँदै पनि म्यान्माका जनताहरू निडर सडकमा उत्रिएका छन् । अन्तर्राष्ट्रिय दवाब तथा संयुक्त राष्ट्रसंघको अनुरोधलाई टेरपुच्छर लगाएको छैन तानाशाहीले । अहिले म्यान्मा र म्यान्माका जनतालाई विश्वका सबै राष्ट्रहरूको सहयोगको खाँचो छ । नेपाल पनि संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र हो । एउटा सार्वभौम सत्ता सम्पन्न प्रजातान्त्रिक राष्ट्र हो । त्यसैले मानव अधिकारका लागि प्रजातन्त्रका लागि र म्यान्मामा बसोबास गर्ने नेपाली भाषीका लागि आफ्नो पराराष्ट्र निति जेजस्तो भए पनि हाल म्यान्मामा भइरहेको घटनालाई नजरअन्दाज नगरी अन्यायको विरुद्ध आवाज उठाउन अनुरोध छ ।