आलेख गर्भ
एक साँझ, त्यसै अलमस्त बसिरहेको थिएँ । अमेरिकाको ओक्लोहमाबाट प्राध्यापक विश्वराज अधिकारीले मलाई फोन गर्नुभयो र भन्नुभयो – एउटा कार्यक्रम छ, कुनै उपन्यासको बारेमा केही बोलिदिनु न ।
मैले सहज उत्तर दिएको थिएँ – भइहाल्छ नि सर ।
मैले यति सहजै ‘हुन्छ’ भन्नुको कारण भर्खर एउटा नेपाली उपन्यास पढिसकेर थन्क्याएको थिएँ ।
त्यसको केही घण्टापछि फेरि विश्वराज अधिकारी सरको फोन आयो – सर कुनै विदेशी भाषाको उपन्यासमा बोल्नुपर्ने भयो ।
मैले अलिक हच्किएर भनेको थिएँ – सर, यता आएर मैले कुनै विदेशी उपन्यास त्यो हिसाबमा पढेकै छैन ।
अनि उहाँले भन्नु भएको थियो – माक्सिम गोर्कीको ‘आमा’ पढ्नुभएको होला नि ?
अनि मैले झट्ट सम्झेँ । हो त नि, उहिले आफ्ना चढाव उमेरमा वामपन्थी राजनीतिक आस्थाबाट वेष्ठित भइरहँदा सो पुस्तक मैले तीनपल्ट पढेको थिएँ । तीन भाषामा पढेको थिएँ । पहिलोपल्ट अङ्गे्रजी सिक्ने अभिप्रायका साथ अङ्ग्रेजी भाषाको ‘मदर’ पढेको थिएँ । कति बुझियो, कति बुझिएन तर स्वादको धित भने मरेन । अनि सोही पुस्तक हिन्दीको ‘मा’ पढेको थिएँ । अङ्ग्रेजीभन्दा हिन्दीमा झन् धेरै स्वाद आएको थियो, तर धित भने मरेको थिएन । अनि नेपाली भाषामा अनुवाद भएको ‘आमा’ पढेर आफ्नै भाषाको स्वादमा धित मार्ने प्रयास गरेको थिएँ । यसले मलाई एउटा नैतिकवान् वामपन्थी बनाउन झन् मद्दत गरेको थियो । त्यो अब्बल पुस्तकका बारेमा केही मेरो निजी धारणा भन्न मन लागेको छ ।
संयोग यस्तो भयो कि कार्यक्रम भएन, तर आलेख तयार भयो । धन्यवाद विश्वराज सर ।
विषय प्रवेश
यो ‘आमा’ उपन्यासको रचनाकाल सन् १९०६ हो । विश्वभरि अत्यन्त प्रख्यात भएको यो उपन्यास रुसी उपन्यासकार म्याक्सिम गोर्कीको कृति हो ।
सन् १८६८ मा रुसमा जन्मेका उपन्यासकार म्याक्सिम गोर्कीको स्वर्गवास सन् १९३६ मा भएको थियो । उनले यो उपन्यास रुसी भाषामा सन् १९०६ मा आफ्नो अमेरिका भ्रमणका बेला लेखेका थिए । रुसी माउ भाषामा लेखिएको भए पनि सर्वप्रथम यो उपन्यासलाई सन् १९०६ मा अङ्ग्रेजी भाषाको एप्लेसन म्यागाजिनमा छापिएको थियो । त्यसपछि मात्र सन् १९०७ मा रुसी भाषामा प्रकाशित भएको थियो ।
अचम्मको कुरा के छ भने, यो उपन्यास संसारका अनगिन्ती भाषामा अनुवाद भएको छ । कतिवटा भाषामा अनुवाद भयो ? भन्न गाह्रो छ । करोडौँ प्रति छापियो होला यो पुस्तक । वामपन्थी तथा समाजवादी आन्दोलनलाई उकास्न लेखिएको हुनाले विश्वभरका वामपन्थी तथा कम्युष्टिहरूको बीचमा यो पुस्तक धर्मग्रन्थ जस्तै भयो । संसारभरिका मान्छेलाई कम्युनिष्ट बनाउन यो पुस्तक प्रयाेग गरियो । यत्तिमै यो पुस्तकको महत्ता सकिँदैन । वामइतर वा पूँजीवादीहरूको पनि यो पुस्तक प्रिय थियो । कारण यसमा कोरा भाषण मात्र थिएन, कलाले छपक्कै छोपेको थियो । धपक्कै बलेको थियो । स्वतन्त्रताको उद्घोष गरिएको थियो ।
यो पुस्तक यति विश्व प्रख्यात भएको थियो कि यसको कथानकमा आधारित भएर विभिन्न भाषामा धेरैवटा सिनेमा बनेको छ । सन् १९२६ मा साइलेण्ट फिल्म बन्यो Vsevolod Pudovkin को निर्देशनमा । सन् १९३२ मा जर्मन Bertoit Brecht ले पनि सिनेमा बनााए । सन् १९५५ मा Mark Donskoy ले सिनेमा बनाए । Gleb Pantilov ले १९९० सिनेमा बनाए । यसैगरी सन् २०११ मा यही कथावस्तुका आधारमा भारतको तमील भाषामा इल्याइग्नन नामको सिनेमा बनाइएको छ ।
साहित्यमा लागेर रचना गर्ने साहित्यकारहरूले यो उपन्यासबाट बुझ्नु पर्ने उदेक लाग्दो कुरा के हो भने ‘आमा’जस्तो कालजयी र अब्बल विश्वविख्यात उपन्यास लेख्ने म्याक्सिम गोर्कीका अरू उपन्यासहरू भने त्यति प्रख्यात र सफल भएनन् । उनी यही उपन्यासका कारणले अमर बने । त्यसकारण लेखनी भनेको सधैँ एकैनासको हुन्छ भन्ने होइन ।
प्रयोजन
म्याक्सिम गोर्कीले यो ‘आमा’ उपन्यास लेख्नुको मूल कारण रुसमा तत्कालीन अवस्थामा भइरहेको समाजवादी आन्दोलनलाई उकास्नु थियो । उनी आफैँ बोल्सेभिक आन्दोलनका अनुयायी थिए । जार सरकारले बोल्सेभिक क्रान्तिमा लागेका हुनाले म्याक्सिम गोर्कीलाई देश निकाला गरेको थियो । देश निकाला भएका बेला उनी अमेरिका गएर बसे र यो कृतिको निर्माण गरे । गोर्की आफैँ क्रान्तिकारी आन्दोलनमा प्रत्यक्ष होमिएका हुनाले उनले यो अनुभवलाई उपन्यासमा उतारेका छन् ।
यो उपन्यासले मुख्यतः दुई घटनामा आधारित भएर उपन्यासको विषयवस्तु बनाएको छ । उपन्यासको पहिलो प्रयोजन सन् १९०२ मा Sornovo मा भएको मे प्रदर्शन तथा यसमा जारले गरेको दमनलाई मिहिन पाराले उजागर गर्नु रहेको छ । दोस्रो प्रयोजन सन् मे १९०५ मा बोल्सेभिकहरूले जारको तानाशाही विरुद्ध गरेको विद्रोह असफल भएपछि सर्वहारावादी आन्दोलनको जोसलाई जीवित राख्न वा हौसला दिन यो उपन्यास लेखिएको थियो ।
पठकहरूलाई झन् उदेक लाग्न सक्छ कि यो उपन्यास सत्य घटनामा लेखिएको थियो । Annaa Zalomova र उनको छोरो Piotr Zalomov दुवै गोर्कीका आफन्त थिए । जारका विरुद्धको आन्दोलनमा छोरोलाई जार शासनले कैद गरेपछि आमाले सो आन्दोलनलाई अघि बढाएको सत्यकथा थियो । त्यही सत्य घटनालाई आधार मानेर गोर्कीले यो ‘आमा’ उपन्यास लेखेका हुन् । त्यो सत्य घटनामा कलात्मक पुट यति धेरै हालिदिए कि उपन्यास संसारभरिको अब्बल बन्यो । सत्य घटनालाई आधार मानेर साहित्य सिर्जना गर्ने साहित्यकारले सत्य घटनालाई कलात्मक साहित्यिक पुट कसरी दिने भन्न सिक्न पनि यो उपन्यास पढ्नै पर्ने हुन्छ ।
थिम
उपन्यासभित्र बुनिएको कथानकको केन्द्रीय थिम समाजवादी आन्दोलनलाई उकास्नु नै हो । सन् १९०५ को रसियन विद्रोहमा रुसको एउटा उद्योगमा काम गर्ने मजदुर वर्गमा गएर एउटी महिलाले खेलेको भूमिकालाई उजागर गरेर आन्दोलनको गतिलाई तीव्र बनाउनु यसको थिम रहेको छ । त्यसैले समाज परिवर्तन गरी समानता, स्वतन्त्रता तथा अधिकार प्राप्तिका लागि विद्रोह गर्ने सचेतना जगाउने पक्ष यो उपन्यासको थिम हो ।
पात्र
उपन्यासमा धेरै पात्र छन् । अनेक खाले पात्र छन् । यति धेरै पात्रलाई उपन्यासमा उन्न सक्नु उनको आख्यान लेखनको खुबी हो । उपन्यासको आमा पात्रको रूपमा Pelageya Nilovna Viasova पात्र छिन् । उनको छोरो पावेल अर्को मुख्य पात्र हुन् । यसबाहेक नतासा, सासा, लडमिला र सोफिया पात्र पनि महत्त्वपूर्ण छन् । यी पात्रहरू उपन्यासमा प्रोटागोनिस्ट याने सकारात्मक तथा अग्रगामी परिवर्तनको सन्देश बोकेका छन् । संवाहक छन् ।
एन्टागोनिस्ट पात्रमा पावेलको बाबु छ । उपन्यासको आमा बुझाउने मूल पात्र पेलेग्याको श्रीमान् रक्स्याहा तथा कुलतको छ । ऊ श्रीमतीलाई पिट्छ । बच्चा याने कि उपन्यासको मूल नायक पात्र पावेललाई हुर्काउँदैन । बाबु पात्र एक दिन मर्छ । अरू एन्टागोनिस्ट पात्रमा न्यायाधीश, जार छन्, जमिन्दार, मिलमालिक तथा पुलिस छन् । यी समाज परिवर्तनका विरोधी छन् । यी स्वतन्त्रताको विरोधी छन् ।
अन्तर्य
यो उपन्यास पढिरहँदा मलाई यस्तो भइरह्यो कि यो उपन्यास यति विधि विश्व विख्यात हुनुको कारण के होला ? वास्तवमा जुन मान्छेले यो उपन्यास पढेको छैन, उसलाई उपन्यासको तत्त्व बुझ्न निकै गाह्रो हुन्छ । उपन्यास विन्यासका कडीहरू पर्गेल्न हम्मेहम्मे हुन्छ । यो उपन्यासमा केही यस्ता तत्वहरू छन् जसले उपन्यासलाई संसारभरि विश्वविख्यात बनाएको छ ।
के छन् त मुख्य अन्तर्य कुराहरू ?
उपन्यासले सर्वहारावादी समाजवादको मूल्यलाई र त्यो प्राप्त गर्ने विद्रोहलाई व्यक्त गरेको छ । यो थिममा संसारमा हजारौँ उपन्यासहरू लेखिएका छन् । तर ‘आमा’ उपन्यासमा कथावस्तुको अग्रगम्यताका साथ कला पक्ष बेजोड आएको छ । यो उपन्यास पढेपछि उपन्यासमा कला पक्ष कसरी प्रविष्ट गर्ने भन्ने कुरा प्रष्ट हुन्छ । त्यसैले विश्वविख्यात हुनुको एउटा कारण यो उपन्यासभित्र कला सम्पे्रषण हो ।
खासमा उपन्यासभित्र एउटी मायालु आमाको तस्वीर छ । त्यो मायालु आमाको जुझारु तस्वीरले विश्वका सन्ततीको भावनालाई मार्मिकताका साथ प्रभाव पार्छ । कथानकको सुरुमा आमा आफ्नो छोराले क्रान्तिकारी पुस्तक पढ्न थालेको देखेर चिन्तित छिन् । यो कुरा एउटी आमाको लागि यथार्थ हो । आन्दोलनमा लागेर हुने क्षतिका बारेमा छोराको चिन्ता र जारको भयलाई हेर्दा एउटी आमा चिन्तित हुनु स्वाभाविक हो । यो प्रसङ्गमा आमाको सन्तानप्रति हुने गरेको कमलो मन यसको अन्तर्य हो ।
उपन्यासभित्र एउटी क्रान्तिकारी आमाको तस्वीर पनि छ । उनै आमाले समाज परिवर्तनका कुरा बुझेकी छिन् । क्रान्तिकारी बाटो बुझेकी छिन् र आमा आफैँ समाजवादी आन्दोलनको एउटा हिस्सा एउटा अगुवा हुन पुगेकी छिन् । संसारभरका आमाको लागि यो गर्वको विषय हो ।
तत्कालीन रुसी समयमा महिलालाई कमजोर र अबला ठानिन्थ्यो । यही कुराको विरुद्ध आवाज उठाउन उपन्यासभित्र महिलाको तागत र चेष्टा तथा शक्ति देखाइएको छ । महिलाको साहस, बहादुरी चरित्र र समाज परिवर्तन गर्न दत्तचित्त प्रवृत्ति पनि देखाइएको छ । महिलालाई अवमूल्यन गरिएको छैन । बरु उच्च मूल्याङ्कन गरिएको छ । उपन्यासभित्र आमा मात्र होइन, उपन्यासका पात्र नतासा र सासा, लडमिला र सोफिया जस्ता महिला पात्र पनि सङ्घर्ष र विद्रोहको प्रतीक भएका छन् । यसले महिला पनि समाज परिवर्तनको अग्रमोर्चामा डट्न सक्छन् भन्ने सन्देश प्रवाह गरेको छ । यो पक्ष संसारभरका महिलाका लागि उच्च गौरवको विषय हो ।
समाजको परम्परावादी धारले धनी व्यक्तिलाई समाजवादी आन्दोलनमा लागेको सहज मान्दैन । तर धनी हुनु र समाजवादी आन्दोलनकारी हुनु दुवै अलग अलग कुरा हुन् । समाजवादी आन्दोलन भनेको विचार हो । यो कुरा पुष्टि गर्न उपन्यासमा नतासा पात्र धनी व्यापारीकी छोरी भए पनि बाबुको आदेश उलङ्घन गरी र सुखसुविधा परित्याग गरी क्रान्तिकारी आन्दोलनमा लागेकी छिन् । र सासा जमिन्दारकी छोरी धनी परिवारको भए पनि समाज परिवर्तनको आन्दोलनमा अग्रसर भएकी छिन् । यो प्रसङ्गले यसले आन्दोलनमा धनी पनि लाग्नु पर्छ भन्ने सन्देश प्रदान गरिएको छ । धनी भन्नु र समानताको आन्दोलन दुई बेगल कुरा हुन् भन्ने तथ्य प्रष्ट पारेको छ ।
उपन्यासभित्र आन्दोलनको विरोध गर्ने र प्रतिगमनमा उत्रने बुर्जुवा वर्गलाई पाठ सिकाउन उपन्यासमा आफ्नै जमिन्दार बाबुलाई सासा पात्रले ‘रोबर’ याने कि गरिब किसानको लुृटाहा भनेबाट आन्दोलनको स्पिरिट देखाइएको छ । आफ्नो परिवार भन्दा आन्दोलनको महत्त्व ज्यादै हुन्छ भन्ने प्रष्ट्याइएको छ ।
उपन्यासभित्र रुखो आन्दोलनको कथा मात्र छैन । कर्कस मेसिन मात्र छैनन् । सासा पावेलको प्रेम प्रसङ्ग पनि छ । यो प्रेम प्रसङ्गले मायाको जीवनको मीठो सत्यलाई उजागर गरेको छ । प्रेम शाश्वत हो भन्ने कुरा देखाइएको छ । सासा पावेललाई माया गर्छिन् । सासा जार विरोधी आन्दोलनमा भाग लिएर जेल परेकी छिन् । उनीहरू बीचको अस्पश्र्या माया निकै नमूना र भावुक खालको छ । प्रेमिल दिलभित्र छुन्छ । यसले अधिकांश सामान्य प्रेमिल मान्छेको मन पनि जितेको छ ।
यसैक्रममा आन्दोलनमा लागेकी कठोर आमाको दयालुपन, स्नेहशील मन देखाइएको छ । अर्थात् उपन्यासमा आमाको बहु रूपको चर्चा छ । आमा क्रान्तिकारी र कठोर छवी मात्र होइन, प्रेमको प्रतिमूर्ति हो भनी प्रस्ट पारिएको छ । आमा छोराको प्रेम देखाइएको छ । आमा दयालु छिन् । छोरालाई ‘खोखोल’ प्यारो नामले बोलाउँछिन् । छोरा पावेल आमालाई ‘नेन्को’ नामले बोलाउँछ । यी दुवै प्रिय सम्बोधन हुन् आमा छोराका ।
यो उपन्यासले मान्छेको स्वभाव केलाउन पनि सफल भएको छ । मे आन्दोलनमा नेतृत्व गरिरहेको पावेलको सुरक्षालाई लिएर आमा र प्रेमिका सासा दुवै चिन्तित भएका छन् । जस्तो सुकै क्रान्तिकारी भए पनि मानवीय सम्वेदना हुने गर्छ भन्ने सन्देश उपन्यासले प्रदान गरेको छ ।
उपन्यासमा आमाले छोराले ल्याएको पुस्तक पढेकी छिन् । शिक्षित भएकी छिन् । संसार बुझेकी छिन् । आन्दोलन भनेको किन र के का लागि हो भन्ने कुरा बुझेकी छिन् । एउटा सामान्य महिलाले पनि सङ्घर्षका दौरान शिक्षित हुन सक्छन् भन्ने सन्देश दिएको छ । उनको घर क्रान्तिकारीको भूमिगत बस्ने ठाउँ भएको छ । समाज परिवर्तनको मुद्दामा सहभागी हुन पाएकोमा गर्व महसुस गरेकी छिन् आमाले ।
¬
आमाको क्रान्तिकारी रूप देखाउनका लागि एउटा घटनालाई उभ्याइएको छ । फ्याक्ट्रीले आफ्नो परिसरमा रहेको कवाडी सामान हटाउन मजदुरको ज्यालाबाट एक रुवलमा एक कोपेक घटाउने निर्णय गरेपछि ट्रेड युनियन गठन गरेर आन्दोलन गरेका छन् । पावेलले यसको नेतृत्व गरेका छन् । छोरा कैद परेपछि त्यसको नेतृत्व आमाले गरेकी छिन् । आमाले क्रान्तिकारीका पर्चा पम्पलेट तथा सामग्रीहरू फ्याक्टीमा पुर्याउने कामलाई जिम्मेवारी पूर्वक निभाएकी छिन् ।
उपन्यासभित्र आमाका त्यागका दर्द छन् । आन्दोलनका लागि आमाले भनेको एकहरफ हेरौँ– हाम्रा सन्तान हाम्रा हृदयका टुक्रा हुन् । तिनीहरूले आफ्नो जीवन स्वतन्त्रताका लागि दिन्छन् । त्यसै विचारविहीन भएर मर्नु भन्दा विचारसहित भएर स्वतन्त्रताका लागि मर्नु राम्रो । यो भन्दा बढी एउटी आमाले के गर्न सक्छिन् ?
अब उपन्यास अन्त्यतिर आउन थालेको छ । जेल परेको पावेललाई अदालतमा क्षमा माग्न भनिदा पावेलले दिएको वयान निकै मर्मस्पर्शी छ । सायद यो वाक्य उपन्यासभित्रको सशक्त बिज वाक्य हुनु पर्छ । पावेलले न्यायाधीशलाई इङ्गित गर्दै भनेका छन् –
हे न्यायाधीशहरू हो, हो म तिमीहरूले ठानेको समाजको विरुद्ध छु । तिमीहरूले प्रतिनिधित्व गरेको समाजसँग कुनै पनि हालतमा सम्झौता नगर्ने शत्रु हौँ हामी । र तिमीहरूका पनि शत्रु हौँ । हामीले हाम्रो युद्ध नजितेसम्म कुनै हालतमा पनि मेलमिलाप गर्ने छैनौँ । तिमीहरू, हाम्रा मास्टरहरू सबै दास हौ । तिमीहरू आत्मा बेचुवा दास हौँ । हामीहरू भौतिक दास मात्र हौँ ।
बयानपछि कोर्टले पावेललाई साइबेरियामा निर्वासित गरेको छ । बाहिर धेरै मजदुरका साथमा आमा उभिएकी छिन् । मजदुरहरू पावेलको अदालतको बयानलाई लिएर आमा गौरवान्वित भइरहेकी छन् । पावेलले दिएको बयानको लाखौँ कपी छापिएका छन् । र यो कार्य गर्ने लडमिला समातिएकी छिन् । उनले त्यो बेला कराएर प्रतिक्रियावादीलाई भनेकी थिइन् – हे मानसिक गरिबहरू हो, रगतको समुद्रले पनि सत्य परिवर्तन गर्न सक्दैन ।
अन्त्यमा यो उपन्यासको सार कुरा भनेको मान्छे भएर अन्यायका विरुद्ध आन्दोलन गर्न नसक्ने वा नगर्ने हो भने त्यस्ता मान्छेलाई भनिएको छ – You poor, sorry creatures.
कथानक सार
एउटी आमाको क्रान्तिकारी सङ्घर्षको कथा हो ‘आमा’ । गरिबी, भोका, नाङ्गा, तथा फ्याक्ट्रीमा शारीरिक काम गर्ने मजदुरको अन्तस्करणको कथा हो आमा । गरिब दुःखीको उद्धार गर्ने महान कार्यमा ज्यानको बाजी लगाएर लागि परेकी एक महिलाको कथा हो ‘आमा’ । उपन्यासको प्रारम्भमा आमालाई जहिले पनि छोरो पावेल बाबुजस्तै कुलतको हुने हो कि भन्ने चिन्ता लागिरहन्छ । बाबुले झैँ जीवन स्वाहा पार्छ कि भन्ने सोची रहन्छिन् आमा ।
तर कथा सकारात्मक पक्षबाट अगाडि बढ्छ । छोरो पावेलले फ्याक्ट्रीमा काम गर्न थाल्छ । फ्याक्ट्रीमा काम गर्दागर्दै क्रान्तिकारी समूहमा लाग्न पुग्छ । पहिले त क्रान्तिकारी पुस्तकहरू ल्याएर पढ्न थाल्छ । पछि जनमुक्तिको लागि पावेलले क्रान्तिकारी समाजवादी आन्दोलनमा लागेर उद्योगका मजदुरहरूमा क्रान्तिकारी भावनाको विस्तार गर्न थाल्छ । उसले थाहा पायो कि समाजमा परिवर्तन गर्न एक दिन मजदुर सक्षम हुनेछन् । किनकि शत्रु त्यति शक्तिशाली छैन, जति सोचिन्छ । फ्याक्ट्रीमा आन्दोलन गरेबापत जारले पावेललाई साइबेरियामा निर्वासित गरिदिन्छन् । यसपछि सो काम आमाले गर्न थाल्छिन् । यसपछि लगभग कथा सकिन्छ ।
उपसंहार
फ्रेन्च दार्शनिक जिन ज्याक्स रुसो (१७१२–१७७८) ले भनेका थिए – मान्छे स्वतन्त्र जन्मन्छ, तर ऊ जताततै चेनले बाँधिएको पाउँछ ।
हो, मान्छेले खोज्ने स्वतन्त्रता पनि यही समाजले बाँधेको साङ्लोलाई चुँडाउनु हो । राज्यले अन्यायपूर्वक बाँधेको साङ्लो चुँडाउन वलिदान गर्नु भनेको आन्दोलन हो । यही थिममा लेखिएको यो आमा उपन्यास रुसी साहत्यिमा मात्र होइन, संसारकै साहित्यमा यो पुस्तकको योगदानलाई आँकलन नै गर्न सकिन्न । अजर र अमर छ । यसबाहेक मैले यो पुस्तकका बारेमा अरू के भनूँ ?
त्यसकारण लेनिनले यो पुस्तकका बारेमा भनेको कुरा निकै सान्दर्भिक छ । उनले यो पुस्तकका बारेमा भनेका थिए –
यो एउटा यस्तो पुस्तक हो जसको उत्कृष्ट महत्त्व छ, जसलाई पढेपछि क्रान्तिकारी आन्दोलनमा आवेगमा, वा नुबझी लागेका व्यक्तिले पनि थाहा पाउने छन् कि किन आन्दोलनमा लागेका थियौँ ।
र अन्त्यमा उपन्यासकी आमा पेलेग्या निलोभा पावेलकी मात्र आमा भएकी छैनन् । सबै रुसी कमरेडकी आमा भएकी छिन् । सबै रुसी कमरेडकी मात्र आमा होइन, संसारभरिका सबै मान्छेको मुक्तिकामी आमा भएकी छिन् । समानता र स्वतन्त्रताको विगुल फुक्ने आमा भएर बाँचेकी छिन् । यस्तो बेजोड उपन्यास लेख्ने म्याक्सिम गोर्कीलाई सलाम ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।