होटेल “मिटीङ भिउका” पछाडिपट्टि साना मैदानमा आज पनि मिटिङ चल्दैछ । सभानेत्री टाड्डाबाट हेर्दा आइमाई जस्ती छन्‌ लोग्ने मान्छे भए पनि माइक्रोफोनमा सुनिने स्वर आइमाईकै हो, रिसाएको भाषण छ ।

– सबैले जानेकै कुरो हो, निशा, रक्सी खाई कोई मान्छे राम्रो भएको छ भने निकाल्नु होस् । अभक्ष खाई निख्खरो रूप भएको, स्वस्थ्य, चिल्लो चापुल्लो, बुद्धिमान, मान्ने गुन्ने भएको कोई मान्छे निकाल्न सक्नु हुन्छ भने भन्नु होस् । हामीले दिनै सुन्दै आएका छौं, रक्सी खाई स्वास्नी कुटेको, साना नानीहरू लथालिङ्ग भएको, बाटा-घाटाको लडाइँ झगडा, काटा काट भएको, मानिस मारेकाेसम्मन घटना छन् ‌। यो सबै निशा-पानीकै कारण हो । त्यसैले निशा पानी खान पूरै बन्द गर्नु पर्दछ।

अनुः भवानी अधिकारी

निशा प्रयोग नगर्नाले हुने लाभको पालैसँग विस्तार गरियो । अन्तमा निशा पूर्णरूपले बन्द गरिने अपील गरियो । तालीको गड्गडाहट धेरैबेरसम्म सुनियो । “मिटिङ भिउ’ होटेलका साना-साना कोठामध्ये एउटा धेरै साँघुराे कोठामा विश्रामसँग आरामले बसेका तीन जना ती भद्र मानिसहरूले पनि आपसमा हेरा हेर गर्दै विस्तारै ताली मारे । एक भद्र मानिसले भने-

– बहिनी एक-एकपल्ट थप न ।

– तातो कि ?

भित्र-भित्रैका आवाजले सोधिन् ।

– अँ ! तातो ।

भद्र मानिसले जवाफ दिए । अझ भन्दै गए- ए बहिनी, तिम्रा ती अघिका तारेका ठूला चाना तीन वटा थप न ।

– तताउ है बहिनी। चिसो टोक्दा त दाँत ठुख्छन्‌।

उमेर ढल्केका बिहानका चन्दनको डाम अलि-अलि रहेका भद्र मानिसले विस्तारै भने, “उमेर ढलेपछि त दाँत पनि निउँ खोज्दा रहेछन।

धैरैबेर पछि भने जति चीज ल्याएर राखिदिइन् । होटलको चलनअनुसार थप्दै गइन् । अलिक जवान व्यक्ति भने पानी खाँदासम्म घुटुक्क निल्दछन् ।

पर मिटिङ चल्दैछ । होटेलका साना साना कोठा विस्तारै भरिदैछन् ‌। बहिनी सबै कोठाको माग पूरा गर्न कुदेकी कुदैछन् ‌। टाढा पर अपिल गरी नै रहिएकोछ ।

अपिल, माग; अनि अपिल दुवै अ-आफ्ना ठाउँमा चल्दैछन्‌ । घामले विश्राम लिएपछि अपिल अलि पातलो हुँदै गयो र पछि त्यो स्थान सुनसान भयो । बेलुका ढिलो हुँदै गएपछि माग बढ्दै गयो । समाचार पत्रमा आफ्नो भाषाको होस अथवा अर्को भाषा कतिमा हो कतिमा निशा बन्दको मात्र, सामयिक पत्रपत्रिकामा छोटोदेखि लिएर लामोसम्म लेखहरू कति लेखिए । पढ्न र सुन्न साह्रै मन पर्ने, राम्रा लेख, बुद्धिको विकास गर्ने मात्र; गान्धीवाद, बुद्ध, मानवतावादका आधारका मात्र; धनवाद, मुरादावाद, इलाहवाददेखि लिएर कानपुर, नागपुर काञ्चीपुर सबै थर्काउने । आकाशवाणीको लीला, भविष्यवाणी पाला, विणापाणीको कविता, चन्द्रपाणीका गद्य एकभन्दा एक राम्रा; जवान बूढा सबैले प्रशंसा गरेका लेखहरूको परिश्रमिक पनि राम्रै थियो होला। होटेल बारमा राखेका त्यस सानो दूरदर्शनमा एउटा नाटक चल्दै छ। झुप्रामा बस्ने कतै सानो काम गर्ने एउटा व्यक्ति मातेर लर्खराउँदै फर्क्यो। बिहानैदेखि भोकी ती स्त्रीले आफ्नो सानी नानीलाई काखमा लिएर मकैको लिटो मुछेको देखिन्छ। कुच्छाको मुख काटे जस्ता ससाना चार-पाँचवटा नानीहरू वरिपरि बसेका छन् ‌। त्यो व्यक्ति चिच्याउँदै खाने कुरा दे भन्दै छ । सबै नानीहरूले बाबुको अवस्था देखेर डरले आमालाई वरिपरिबाट घेरे । नानीहरूबाट तान्दै त्यस व्यक्तिले रूदै गरेकी त्यस स्त्रीलाई चुल्लाका छेउमा लगेर बेसरी कुट्यो । अलिक ठूली छोरीले यसरी दिनै सताउनुभन्दा त हामी सबैलाई आजै एकैचोटि मार्नु होस् भनिन् । चुह्लाेमा धिप धिप गर्दै बलेको दाउरो निकालेर हल्लिँदै बिडींको टुक्रो सल्काउन खोज्दै गरेको बाबुले राता-राता आँखाले छोरीलाई हेर्यो, दाउरो समाएको हात केही स्थिर भएझैँ भयो, आँखा अझै राता देखिए । मुख अझै डरलाग्दो राक्षसको झैँ देखियो । नाटक हेर्नेमध्ये एउटाले मेजमा धेरै बेरदेखि राखेको पेग च्यप्प समातेर स्वाट्टै पिएर मुण्टो अर्कातिर फर्काए । ऊसँग बसेको दुई जनाले मुसुमुसु हाँस्दै नयाँ सप्लाई गरेको बोतललाई पिँधमा ट्याक्क हानेर बिर्को करक्क घुमाए । भोलिपल्ट काङजैबुङका एक कुनामा कामबाट रिटायर भएका साफ वृद्व तीव्र चार जना आराम गरेर बसिरहेका वृद्वले खुशी खुशी भने ‘अँ ! यसरी एकै दिनमा १५०-१५० पकडे त एक दुई वर्षमा सबै पकडी सकिन्छ होला ।’ छेउकै अर्का साथीले भने अनि…… त्यो पकडेको माल चाहिँ के गरिन्छ ? सबै साथीले उनीतिर हेरे- भयो त अब ! पकडेको मात्र त समाचारमा छ- अनि के भयो त । पकड पछि छैन, छैन त खाएनन, न खाए त भै गयो नि जाऔँ जाडो भयो । एक जना जुरूक्क उठेर ठिङ्ग उभिए । के कामबाट रिटायर भएका हुन यिनलाई जान्न सकिएन । ऊ धेरैबेरसम्म विश्राममा उभिए । सबै विस्तारै उठेर हिँडेँ । त्यो सानो सभा त्यहीँ समाप्त भयो।

एक-दिन ‘लैशेम-तुशेम’ क्लबले छेउमै भएका साहित्य अनि संस्कृतिका संस्थानसँग मिलेर एउटा “ठूलो जनसभा (मिटिङको) आयोजना गर्यो । एक जना भ्याउने मन्त्रीलाई प्रधान अतिथि बनाइयो, त्यस क्षेत्रका गण्य-मान्य एक जना वृद्धलाई सभापति बनाइयो । स्त्री, पुरूष, बूढा जवान कतिले भाषण दिए । रिसाएर बोल्ने पनि थिए, विस्तारो लामो स्वरमा लयसँग बोल्ने पनि थिए; अड्किई अड्किई बोलेको हो कि होइन जस्ता पनि कोही थिए । सभापतिचाहिँ माइक्रो फोनै छोपेर बोलेझैँ थिए । सुन्नुहुने मात्र थियो । भद्र मन्त्रीज्यूका लेकचरलाई धेरै धन्यवाद दिइयो । उहाँका विचारमा निशासँग सम्बन्धित सबै खाने कुराहरू, एकै भएर बन्द गर्न पर्ने कुरा भयो । सारा देशको पुनः जय भयो । देशमा स्थिरताको शासन चलाए । बितेको केही महिना, केही वर्षअघि भएका चुनावका समयमा उनले हतार-हतार बेला बेलामा लेखेका डायरीका पन्नामा बल पेनको राता स्याहीले लेखेको त्यो हिसाब राम्ररी लेखेको मैलै हेरे-

माइक – रू. ३५.७५ पै.
गाडी + तेल रू. १४६.३५ पै.
चुरोट + बीड्डी रू. २३.०० पै.
पान रू. ३०.०० पै.

युवकहरूको ख्वाई पिई (दवाई पानी) रू. २५०.०० पैसा।

यस्ता पन्ना एउटा मात्र होइनन् ‌। धेरै पन्ना छन् ‌। सबै पन्नामा अरू आइटम कुनै धेर कुनै थोर छन् ‌। तर अन्तको आइटम भने सबै पन्नामा अझै अझै धेरै थियो । युवकहरूको खान-पिन (दवाई पानी) । पटक्कै बिरामी नभएका हृष्ट-पुष्ट स्वस्थ्य युवककर्मीहरूको दवाई पानी । अति जरूरी जस्तो कतिका माझमा छोड्नै नहुने जस्तो गरेर लेखेको छ ।

पाँच दश दिनपछि यस शहरका सबै सडकहरू हुँदै एउटा ठूलो पदयात्राको कार्यक्रम भयो । धेरै लामो पदयात्रीको ताँत थियो । शान्तिपूर्णको यात्रा थियो । रङ्गीबिरङ्गी यात्रीहरू । हेर्दा हर्षले गद्‌-गद्‌ भइयो। यो यात्राको लामो पंक्ति काङजै बुङमा समुद्र झैँ देखियो। मिटिङले कुरा टुङ्गयाइयो । रोक-टोक गर्ने विषयको दोस्रो मिटिङ हो। यस शहरका प्रख्यात-प्रख्यात कतिले भाषण दिए । अझै कति भाषण दिए । अझै कति भाषणा गर्ने तरखरमा छन् । उसबेला ‘मिटिङ भीउ’ होटेलका साना कोठामा तीन वटा गिलास छन्- खालि; अहिले मात्र खनिएका | बिहानको सकेर, बेलुकातिरको पनि शुरू नभएको , माझमा मान्छे पातलो भएका हुनाले ती तीनवटा गिलासले केहीक्षण आराम गर्न पाए ।

मान्छे पल्याकपुलुक हेरेर तीनैवटाले कुरा गरे ।

पहिलो- अहिले ती तीन जना को-को हुन चिनेको छ ?

दोस्रो- राम्ररी चिनेको छैन। सधैँ आउने होइनन्‌ जस्ता थिए। अँ ! एउटा चाहिँ भाषा पढाउने शिक्षक जस्ता थिए, भाषा किसिम- किसिमको बोल्थे ।

तेस्रो- साफ देखिने माँझमा बस्ने एउटाचाहिँ कुनै ठूला नेताका छोरा नाति होलान्,‌ सानातिना कुरा गर्दैनन्‌।

पहिलो- एउटाचाहिँ ? चन्दनवाला चाहिँ ?

तेस्रो – ऊ त गिलास उठाउँदासम्म फाइल पल्टाए जस्तो गरेर उठाउँथे । कतै आफि्सिमा काम गर्छन्‌ होला । तारेको खाने कुरासम्म धेरैबेर पेन्डिङमा राखे।

पहिलो – त्यो सबै होइन । पछि हुने त जान्दिनँ । अहिले-अहिले त त्यो पर मिटिङमा चिच्याएको त सुन्दै छौ नि ।

(नेपथ्यमा मिटिङ सकिएको, सभापतिको भाषण अलि-अलि सुनियो । तीनैवटाले ठाडा कान लाएर केहीबेर सुने ।)

पहिला गिलास फेरि भन्न लागे-

पहिलो – यो मिटिङ गर्ने व्यवस्था मिलाउने हाम्रा युवकहरू मात्र हुन्, थाकेका युवकहरू (व्यवस्था मिलाउँदा थाकेका) । कहिलेकाहीँ यसरी नै मात्र आराम पाइन्छ ।

पहिलो अनि दोस्रो गिलासले लामो “अँ” सँग केही टाउको निहुराए। मिटिङ सकिएर बजाएका माइकमा युगल गीत डुई कलाकारले लामो स्वरमा स्वर तान्दै गाए । राम्रो सूरको गीत थियो; “मिटिङ भिउ’ होटलमा तीनवटै गिलासले पनि तालमा ताल मिलाउने हुन् कि।

इम्फाल ३०.११.७८