नेपाली साहित्यमा महानन्द पौडयाल एक विशिष्ट कथाकार, अन्वेषक, निबन्धकार, चिन्तक, तार्किक, हकी र निर्भीक साहित्यकारको नाम हो। उनी १९ जनवरी, १९३१ मा कालिम्पोङको बमबस्तीमा बाबु खडानन्द र आमा विष्णुकुमारी पौड्यालको घरमा जन्मिएका हुन्। उनले औपचारिक शिक्षाका क्रममा त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट नेपाली विषयमा स्नातकोत्तर अध्ययन गरेका हुन् भने प्रायःजसो दार्जीलिङ-सिक्किमतिर शिक्षण र शिक्षा विभागतिर आवद्ध थिए। उनी केही वर्ष नेपालमा तत्कालीन प्रधानमन्त्री डा तुलसी गिरीको विशेष सचिव भएर नेपालमा पनि काम गरेका थिए। उनी आफ्नो जीवकालमा तेह्रदेखि चौधवटटा सरकारी जागिर खाएका थिए। उइनको पहिलो जागिर एक दिन शिक्षण थियो भने काम गर्दै छोड्दै गर्थे। अन्तमा भने उनी सिक्किम सरकारको शिक्षा विभागमा पाठ्य पुस्तक निर्माण एकाइका निर्देशक रही अवकास लिएका हुन्। उनी पाँडे काजी कथा लेखेर एक समयमा सिक्किमबाट निष्काषण उनी देश खाइ शेष भएका व्यक्तित्व थिए।
श्री पौड्यालले आफ्नो युवावस्थामा रामकृष्ण शर्मा, पारसमणि प्रधान, अगमसिंह गिरी, सिद्धिचरण श्रेष्ठ, नरबहादुर दाहाल आदिसित साहित्यिक संसर्ग र सम्पर्कमा रहेका थिए। उनी अझ पारसमणि प्रधानसित पैंठेजोरी गर्न सक्ने क्षमता राख्थे। उनका मौलिक, अनूदित र अनुसन्धानात्मक गरी एघारवटा पुस्तक, तेह्रवटा जति पुस्तक र पाठ्यपुस्तकको लेखन, सम्पादन र प्रकाशन, आठवटाजति साहित्यिक पत्रिकाको सम्पादनमा सरिक थिए। सिक्किममा नेपाली साहित्यिक परिवेश सिर्जना गर्न उनी धेरै सक्रिय रहेका हुन्। पुस्तकको अध्ययन, लेखन, प्रकाशन तथा साहित्यिक पत्र-पत्रिका सम्पादन प्रकाशन एवं साहित्य पढाउँदै उनले आफ्नो सम्पूर्ण जीवन साहित्यलाई समर्पित गरेका थिए।
उनले नेपाली साहित्य सम्मेलन पुरस्कार (दार्जीलिङ), भानु पुरस्कार (गान्तोक), शिवकुमार राई पुरस्कार (नाम्ची), डा पारसमणि प्रधान पुरस्कार (कालिम्पोङ) जस्ता पुरस्कार तथा सिक्किम सम्मान, काठमाडौंबाट साहित्यिक पत्रकार सङ्घबाट सम्मान, बसिबियाँलो कालिम्पोङ, आदिबाट अभिनन्दित र सम्मानित भएका थिए। उनको कृतित्वमाथि मूल्याङ्कन गरिएका पुस्तकमध्ये ‘करूणादेवी धर्मार्थ गुठी, गान्तोक’बाट प्रकाशित ‘महानन्द पौड्याल : उनका विविध कृतिहरू’ तथा सलुवाबाट प्रकाशित ‘परदेशी’ पत्रिकाले ‘महानन्द पौड्याल अभिनन्दन अङ्क’ प्रमुख हुन्।
पौड्याल मूल रूपमा एक सफल कथाकार हुन् भने संस्मरण पनि प्रशस्त लेखेका थिए। उनी नवचेतनावादी धाराका एक यथार्थवादी कथाकार हुन्। उनका कथामा इतिहास चेतना, सामन्ती व्यवस्थाको विरोध, नारीको हक र समानाधिकारको सन्देश, लोकतत्वको प्रयोग, सामाजिक य़थार्थवाद, मनोविज्ञानका विभिन्न पक्षको समुचित प्रयोग पाइन्छन्। उनका केही कथाहरू जस्तै ‘पाँडे काजी’, ‘हवल्दार’, ‘अपूर्व देशभक्ति’, ‘बूढाबूढी’ आदि कथा इतिहाससित गाँसिएका थिए। इतिहासका अलिखित पानाहरूलाई कथावस्तु बनाई जीवन्त पारी पाठकहरूलाई वास्तविकता भ्रम सिर्जना गर्न उनी सिपालु थिए। यसैगरि उनी मान्छेका मनका अन्तर-कुन्तर चहारी मनोवैज्ञानिकता दिन पनि सक्षम थिए भने यौन मनोविज्ञानलाई पनि आफ्ना पात्र-पात्रामार्फत् कथालाई जीवन्तता दिने गरेका थिए।
पौड्यालले लेखन भाषा सशक्त, स्पष्ट, शुद्ध र धाराप्रवाह पाइन्छ। उनी लेख्दा प्रायः जसो छोटा छोटा वाक्यमा आफ्नो भनाइलाई खुलस्त हुने गरी व्यक्त गर्छन्। प्रायः ठेट नेपाली शब्दहरू प्रयोग गर्छन्। अतः उनी विशिष्ट भाषा र शैलीबाट मानिसको आन्तरिक जीवनका अन्तर्निरीक्षण तथा निम्न ग्रामीण नेपाली समाजको पर्यवेक्षण गर्न सक्षम थिए। उनी आफ्ना कृतिहरूमा देशप्रेम, जातीय सद्भावना र साहित्यिक उत्थान गरी समाजलाई विशिष्ट बनाउन चाहने साहित्यकार हुन्। अतः एक विशिष्ट कथाकार, एक निर्भीक समालोचक, एक दक्ष निबन्धकार, एक दत्तचित्त साहित्यिक अनुसन्धाता, एक कुशल पाठ्यपुस्तक लेखक र एक प्रखर अनुवादक पौड्यालले नेपाली साहित्यलाई प्रायः पाँच दशकअघिदेखि विशिष्ट योगदान दिएका हुन्।
उनको निधन २०१८ मा निजी निवास पाकिम सिक्किममा भयो। उनीसँघै आफ्ननो समयको राजनैतिक, साहित्यिक, सामाजिक चिन्तनको अवसान भयो। सिक्किम दार्जिलिङको विगतका संस्मरण र सिङ्गो इतिहास विलुप्त भई गर्भमा पस्यो। उनी आफ्नो समयका दरिला सम्म्भ थिए। उनी शरीरले मात्र ‘जायन्ट’ नभएर साहित्य लेखनमा पनि ‘जायन्ट’ थिए। परैबाट एक व्यक्तित्वशाली महानन्द पौड्याल अब देख्न पाइन्न तर उनको लेख, निबन्ध कथाहरू भने उच्च भएर रहनेछन्।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।