गाउँको निक्कै प्रतिष्ठित परिवार, सबै गाउँलेले मानेका । सबैले सम्मान गर्ने । सात बैनी छोरी, दुई भाइ छोरा । घरबेटी बाबै परमलोक बसाइँ धेरै अघि नै सरिसकेका थिए । आमै, सात छोरी, दुई छोरा, एउटी बुहारी, दुई नाति–नातिनी । ठुलै परिवार, सुखी परिवार, साहै्र गुणी परिवार ।

कसैको कुभलो नगर्ने । बाटैको घर । मेला–पात, हाट–बजार मात्र नभएर इम्फाल सहर जानुपर्दा पनि उही घरको आँगन नटेकी नपुगिने । परिवारमा सबै अति फर्साइला । मानौ, सुख र खुसीको अति दया र मायको भण्डार नै छ त्यो घरमा ।

बाटो हिँड्नेलाई चिनेको होस् वा नचिनेको, एकक्षण बसाएर दही–मही नभए पनि चियापानी ,चिसोतातो दिएपछि मात्र बिदा गर्ने । यसरी गाउँमा सबैका लागि प्यारो परिवार थियो त्यो । गाउँ–छिमेक मात्र नभएर वरपरका गाउँ–समाज, बटुवा–व्यापारी सबैले यस परिवारको गुणगान गाइरहेका हुन्थे ।

संस्कारी परिवारमा हुर्किएका छोरा–छोरी सारै फर्साइला थिए । मिहनेती, जाँगरिला, फुर्तिला, उज्यालो मुहारका थिए उनीहरू । गाउँको गारे घर माटोले पोतिएको भए पनि कुनै महलभन्दा कम थिएन । सफा चिटिक्क, चिल्लो सुकिलो, अन्न बालीहरू उस्तै फस्टाउने । अनासको श्वहः नै यस घरमा बास गरेको थियो पक्कै । बाजेले बनाएको घर, बाबुले पनि छोडेर गइसकेका । मेरो त्यस घरसँग चिनजान हुँदा छोराको थाप्लोमा जिम्मेवारी आइसकेको थियो ।

२००१ को कुरा हो । उनीहरूको घरमा ग्रहशान्तिको लागि बिजुवा राख्न भनी पापालाई धामी पक्डिन आए । साँझको समय, हामी सबै घरैमा थियौँ । त्यस घरको ठूलो छोरा र उनको एकजना साथी आएका रहेछन् । दुई बोतल आराखा राखेर पापालाई ढोगे । म आफ्नै काममा व्यस्त थिएँ । भोलिपल्ट उनीहरूको घरमा चिन्ता गर्न जानुपर्ने भयो । राईको मुन्धुम अनुसार माङपा धामीलाई चिन्ता राख्नु छ भने आराखा दुई बोतल राखेर बोलाउनुपर्छ । राईहरूले त्यसलाई बिजुवा पक्डिनु भन्दछ । बिजुवा पक्डदा आराखाको बोतलले पुज्नु पर्दछ । मरेका पितृहरूलाई बाटो लाउनु छ भने चार बोतल र ग्रहशान्ति, घरको रापझाप मात्रै हो भने दुई बोतल आखारा चाहिन्छ ।

पापाको ढोले म जाने भएँ । दिनको ३ बजेको हुनुपर्छ, हामी पुग्यौँ । पुगेर केहीसमय नमस्कारको आदान–प्रदानमै बितिगयो । मैले घुङरिङ सेउली मागेर थान–थपनाको लागि जग्गा बनाउन लागेँ ।

म आँगनमा बसेर घुङरिङ खिप्दै थिएँ, कसैले सोध्यो, “तपाईँ त के सारो सिपालु हौ ! के–के बनाउनु भा’को यस्तो मज्जाले ?”

“यसलाई हाम्रो परमपरा अनुसार घुङरिङ भनिन्छ । बिजुवाहरूले यसलाई आ–आफ्नो तरिकाले यसरी फुर्काको तला बनाएर थान बनाई उकार गर्दछन् ।”

“ए ! तपाईँ त मुन्धुम निक्कै जान्नुहुँदोरहेछ । तपाईँ पनि धामी हो ?”

“होइन । म धामीको छोराचैँ हुँ । म ढोले हुँ ।”

“निक्कै खुबी रहेछ तपाईँसँग त । हाम्रो कला–संस्कृतिको कुरा पनि निक्कै जान्नुहुन्छ होला है ?”

“अलिअलि । अनी तपाईँ चैँ कुन बैनी ?”

“अन्तरी हो है मचैँ ।”

“आमामा…. कति बैनी हौ तपाईँहरू ?”

“किन तर्सिनु भा’को ? मात्रै सात बैनी त हो ।”

“हाहाहाहाहाहा ……….”

“किन हाँस्नु भा’को ?”

“मात्रै सात बैनी भन्नुहुन्छ, तपाईँलाई कति बैनी हुनु थियो र ?”

“हाहाहाहा…. तपाईँ त निक्कै मजा किया पो हुनुहुँदोरहेछ ।”

“तपाईँ पनि निक्कै फर्साइली, हँसिलो र सुन्दर हुनुहुन्छ ।”

“होइन है ! अरू चैँ होला, तर म सुन्दर त छुइनँ ।”

“के भन्नु भा’को ? तपाईँ निक्कै मीठो बोल्नुहुँदोरहेछ । मलाई तपाईँको बोली, हाँसो र स्वभाव मन पर्यो ।”

“लु, यसरी त हुँदैन है ! आज अघि भर्खर त भेट भा’को हाम्रो ।”

“के भयो त ? परिचय त भयो नि हैन ?”

“हो, त्यो त । त्यसो भए मैले नयाँ साथी पाएँ ।”

“हो र ? हामी साथी बन्नु सक्छौँ र ?”

“किन नसक्नु र ? सक्छौँ नि । कि तपाईँ केटीहरूसँग साथी गर्नुहुन्न ?”

“मैले त्यसो भनेको होइन ।”

“अनि किन सोध्नु भा’को ?”

“तपाईँलाई नै अप्ठ्यारो हुन्छ कि बा भनेर ।”

“ए ! मेरो चिन्ता नलिनू । म सानो मनको केटी होइन के ।”

“ए ! कत्रो छ तपाईँको मनचैँ ? हेरौँन । हाहाहाहा….”

“हिहीहीहीही….. कस्तो हँसाउनु भा’को ? मन देखाउन मिल्थ्यो भने म थुप्रै साथीभाइहरूको मन निकाल्दै हेर्ने थिएँ ।”

“अनि तपाईँको नामचैँ ?”

“बिना । तपाईँको ?”

“सनीराम राई ।”

“ए, हो ? सनीराम…. ! कस्तो नसुनेको नाम ? कसले राखेको तपाईँको नाम यस्तो ?”

“म आफैँले । किन मन परेन तपाईँलाई ?”

“राम्रो छ । तर मुखलाई अप्ठ्यारो लाग्यो र नि ।”

“होर ?”

“हजुर ।”

“मेरो नौरानको नाम त दिलीप हो कि, तर यो नाम अरू थुप्रैको रहेछ हो । जहाँ जाँदा नि दिलीप .. भनेर बोलाउदा हेर्नैपर्ने, बा आफैँलाई पो हो कि भनेर । त्यसैले कसैसँग नमिल्ने नाम राखेको हुँ के ।”

“ए ए…. मान्नुहुन्छ भने एउटा कुरा भनुम् ?”

“भन्नू न……..”

“नाम फेर्नु हौ ।”

“किन नाम फेरौँ के अब ? बल्ल त यो नामले परिचित हुँदैछु ।”

“मलाई केटाहरूको एउटा नाम मन पर्छ । मैले मेरो यो गाउँको केटा साथीहरूलाई कति भनेँ, तर कसैले मेरो मन पर्ने नाम राखेनन् । तपाईँको मुहार अनि स्वभावसँग ट्याक्कै सुहाउँछ । त्यो नाम राखौँ न ल तपाईँको ?”

“किन नि नमानेको चैँ ?”

“खै !”

“भन्नू न त, सुनौँ ।”

“राहुल ! राहुल राई ।”

“हाहाहाहाहाहाहा…….”

“किन हाँस्नु भा’को ? खिल्ली उडाउनु भा’को मेरो कुरालाई ?”

“होइन । यो नाम त फ्लिममा शाहरूख खानले बेसी चलाउने नाम हो । त्यसैले यो नाम मन पराउनु भा’को ?”

“खै ! तर यो नाम सारै मन पर्छ हौ मलाई ।”

“हुन्छ । म आजबाट तपाईँको राहुल भए है !”

“मेरो नै त नभनूम् होला ! नामचैँ राहुल है आजबाट ।”

दुवै जना सँगै हाँस्यौँ । ठूलो खित्का छाडेर ।

“तपाईँलाई चैँ मेरो नाम मन पर्यो ?”

“तपाईँको त राम्रै छ नाम । मन पर्यो है मलाई त । तर, म पनि केटीहरूको नाममध्येमा एउटा नाम असाध्यै मन पराउँछु ।”

“के नाम हो ? भन्नू न, सुनौँ ?”

“शर्मिला । मेरो पहिलो गलफ्रेण्डको नाम पनि शर्मिला नै थियो ।”

“अनि अहिलेको चैँ ?”

“अञ्जना राई ।”

“कहाँको ?”

“सिक्किम ।”

“त्यसो भए म आजबाट तपाईँको शर्मिला ल ! मलाई शर्मिला भनेर बोलाउनू न है !”

“हुन्छ । यो त खुसीको कुरा हो मेरो लागि ।”

०००

समयको रफ्तारसँगै हाम्रो मित्रता पनि गतिशिल बन्दै गयो । भेटघाट तथा कुराकानी पनि बाक्लिदै गयो । त्यो घरमा मेरो उपस्थिति पनि सामान्य बन्न पुग्यो ।

त्यस घरका अन्य छोरीहरू पनि फर्साइला, हँसिला नै भएकाले सबैसँग मित्रवत नाता गाढा हुँदै गयो । शर्मिलासँग भने मैले नसोचेको गहिरो मित्रता बन्न पुग्यो । साच्चै भन्दा ऊ बराबरको मेरो अन्य कोही केटा साथी पनि थिएनन् । हामी एकअर्कालाई दुई दिन नदेख्दा केही छुटिगएजस्तो, केही बिर्सिरहेजस्तो महसुस गर्न थालेका थियौँ ।

मैले उसको आमालाई दिदी भन्थेँ । साइनोमा हामी चेली–माइती पथ्र्याैँ । मेरो घर मायाङखाङको माथि डाँडा रोकिबा बस्तीमा थियो भने उनीहरूको मोहिङबाट ६ माइल माथि काङपोक्पीमा थियो । हाम्रो घरबाट म हिँडेर उनीहरुको घर जाँदा, घरदेखि डाँडा निक्लेर ओरालो १५ मिनेट जति हिँड्नु पथ्र्याे । त्यसपछि आसाम–मणिपुर राज्य राजमार्ग हिँडेर चाङाबुङसम्म आइपुग्यो र चाङाबुङको केही अघिल्तिरबाट ओरालो झर्दा नुनपानी खोला पुगिन्थ्यो । खोला तरेर उकालो ३० मिनेट जति तेर्सै हिँडेपछि शर्मिलाको घर आउँथ्यो ।

हाम्रो मित्रता यतिसम्म भइसकेको थियो कि मेरो घरमा शर्मिला हप्ता दिन आएर बसी भने अर्काे हप्ता मेरो बास उसको घरमा हुन्थ्यो । हाम्रो यसखालको मित्रतामा हाम्रा परिवारहरूको तर्फबाट पनि कुनै रोकथोक थिएन । उनकोमा होस् वा मेरोमा, साँझ सबै परिवार नै बसेर सुख–दुःखका गफ हुन्थे । हाँसी–मजाक चल्थे । ओछ्यान पसेर सबै निधाएपछि पनि हामी दुई आ–आफ्नो ओछ्यानबाट अध्यारोमै भए पनि गफ गथ्र्याैँ । पूरै रात बात मार्दा पनि हाम्रो गफ सकिदैन थियो ।

मोहिङ, सातमाइल, पाँच माइल, राई बस्ती, कालापहाढ, इराङ, सेनापति, हाम्रै शान्ति बस्ती, सबै ठाउँमा कार्जे–कार्यक्रम हुँदा हामी पुग्थ्यौँ । रात र दिनमा हामी दुईलाई फरक नै थिएन । त्यसो त मलाई ऊप्रति नकरात्मक सोच कहिल्यै आएन पनि । र, हामीले एकअर्कालाई सधैँ तपाईँको सम्बोधन गर्यौँ । झुकिएर पनि तिमी भनेनौँ ।

हामीलाई गाउँ–समाज, साथी, वारिपारि, परिवार, कसैले कुनै दिन नराम्रो शब्द भनेनन् । राम्रो मित्रतालाई नराम्रो नजरले हेरेनन् । सबैको हाम्रो मित्रताप्रति सम्मान थियो । विस्तारै, समयसँग हामीमा पनि परिवर्तन आयो । विशेष उसको परिवारमा थाम्नै नसकिने भुइँचालो गयो ।

बाजेले बनाएको घर, बाबुले पनि छोडेर गइसकेका । उनको जेठा दाजुको थाप्लोमा परिवारप्रतिको सारा जिम्मेवारी थियो । समयले कालो बादल लिएर आयो । आमा निक्कै लामो बिराम परेर बाबु गएकै सहर जानुभयो । बाँकी थियो जेठा दाजु–भाउजूको सहारा, त्यो पनि एकदिन बरण्डाको कोठामा झुण्डिएर दाजुले आत्माहत्या गरे । एक परिवारमा त्योभन्दा ठूलो बज्रपात अरू के नै पो हुन सक्छ र ?

दाजुका दुई नानीहरू सानै थियो । भाउजू पनि एक साल पर्खिएर अर्कैसँग पैला हिँडिन् । काईली छोरी नागालेण्ड लियाईबाट फर्किदा पहाडको बाटोमा गाडी लड्दा टाउकोमा ठूलै चोट लाग्यो । त्यस चोटले उनको मानसिक अवस्थामै असर पुर्यायो । महिनौं अस्पताल बसे पनी बीसको उन्नाईस हुन सकेन ।

जन्तरी बहिनी मणिपुरी समुदायको केटासँग भगिछिन् । यो सबपछि कान्छीको पढाइमा ठूलै धक्का पर्यो । अन्तत; अन्तरी यानि शर्मिला दिल्ली जाने भइन । कान्छाको पनि सन्तुलन बिग्रियो । म पनि इम्फालबाट पोस्टिङ भएर उडिसा भुवनेश्वर पुगेँ । हाम्रो मित्रतामा पनि बादल लाग्यो ।

त्यसबेला मणिपुरमा मोबाइल थिएन । बाटो त्यही, घर त्यही । घर त्यही भएर पनि त्यहाँ पस्नुको कुनै तुक थिएन । आखिर घरसँग बात मार्न मिल्दैन । बात मारे पनि घरले फर्काउदैन । अब त त्यो घरको आँगन नटेकेको पनि वर्षाैँ भयो । जहाँ शर्मिला छैन, त्यहाँ मेरो पाइला टेकिन पनि नचाहेका हुन् ।

लामो अन्तरालपछि, फेसबुकमा साथी बिनाको नामबाट रिक्वेस्ट आयो । मैले त आज आफूलाई राहुल राई ‘बोगिको’ नामले परिचित गराएको छु । उनी भने पुरानै बिना नै रहिछिन् । मेरी साथी शर्मिला बन्न खै किन सकिनन् ? के मेरो मित्रतामा कुनै दाग थियो ? प्रश्न अनुत्तरित नै छ ।

उनै मेरो मित्रतामा मात्र शर्मिला बनेकी बिनाको कोसेली हो मेरो नाम । जुन नाम आज मेरो परिचय बनेको छ ।

राहुल राई ‘बोगिको’ कथासंग्रह “मिताेप”बाट