अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) जापान च्याप्टरले दुई दशक लामो जापान अनुभवलाई सँगाली स्वदेश फर्कन लाग्नुभएका संस्थाका पूर्व अध्यक्ष तथा संरक्षक बेलुकाजी थापाको बिदाई कार्यक्रम भर्चुअल रुपमा फेब्रुअरी २१ तारिक आइतबारका दिन सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष गिरिजा गैह्रेको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा संरक्षक, सल्लाहकार, कार्यसमिति परिवार, आजीवन सदस्य, बोर्ड अफ ट्रस्टीका सदस्य, पत्रकार, विभिन्न संघ-संस्थाका व्यक्तित्व तथा अन्य विविध क्षेत्रका व्यक्तित्वको उपस्थिति रहेको थियो ।
राष्ट्रिय गानसहित सुरुवात भएको उक्त कार्यक्रम संस्थाकी उपाध्यक्ष सुमीत गिरीको स्वागत मन्तव्य, सदस्य डा. वैकुण्ठ भट्टको प्राविधिक संयोजन तथा महासचिव रविन शर्माको सन्चालनमा सम्पन्न भएको थियो । उपस्थित व्यक्तित्वका केही साहित्यिक सृजनाहरुले कार्यक्रम साहित्यमय तथा अझ रोचक पनि बनेको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तित्वहरुले बेलुकाजी थापालाई शुभयात्राको कामनासहित उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो भने जापानमा रहँदै गर्दा जापानस्थित नेपाली समुदायका खातिर उहाँले पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै बेलुकाजी थापाले आफ्नो सर्वप्रिय संस्था अनेसास जापानका प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै उपस्थित सबैजनामा आभार प्रकट गर्नुभएको थियो । सोही सन्दर्भमा उहाँले दुई दशक लामो समयको अनुभवसहित भविष्यमा स्वदेशका लागि आफूले सुरु गर्न चाहेको केही योजना पनि सुनाउनु भएको थियो ।
अन्त्यमा आफ्नो व्यक्तिगत तथा कार्यसमिति परिवारको तर्फबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सबैजनामा धन्यवाद ज्ञापन तथा बेलुकाजी थापाको आगामी यात्रा सफलताको शुभकामनासहित संस्थाका अध्यक्ष गिरिजा गैह्रेले कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।