विक्रम सम्वत् २०७२ पुसको कुरो हो, तीर्थराज अधिकारी श्रीमती सीतासहित ज्वाइँछोरी रमेश–मन्दिरा खनाललाई भेट्न अमेरिकाको  ओहायो राज्यबाट म बसिरहेको विस्कन्सन राज्यको म्याडिसन सहरमा आउनु भएको रहेछ ।

भेडा भेडासँगै, बाख्रा बाख्रासँगै भनेझैं उहाँ म्याडिसनमा साहित्यिक साथीहरुको खोजीमा लाग्नु भएछ । यसै क्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका तत्कालीन अध्यक्ष पदम विश्वकर्माले साहित्यिक धाराको पानीका तिर्खालु अधिकारीलाई यो पङ्तिकारको नाम दिनु भएछ । त्यसै बीच मलाई तीर्थराज अधिकारीबाट फोन आयो । भोलिपल्ट उहाँकै छोरीज्वाइँको निवासमा हाम्रो सुमधुर भेट भयो । यो भेट मेरो सम्झनाको पर्दामा अमिट छाप बनेर आज पर्यन्त रहिरहेको छ ।

मुक्तकमणि- तीर्थराज अधिकारी

निजामती सेवा अन्तर्गत लेखा प्रशासनजस्तो भावनात्मक रूपले निरस विधामा लामो समय काम गरी निवृत्त एउटा साहित्यकारलाई भेट गर्न जाँदा मैले २५ मिनेट जति ड्राइभ गर्ने क्रममा बाटोभर वहाँप्रति अनेक अड्कलबाजी गर्दै गएँ । नेपालमा निजामती सेवाको प्रभाव त्यति सकारात्मक नभएर नै होला उहाँप्रतिको मेरो मूल्याङ्कनमा  निम्न चरित्रको विम्ब कल्पित भयो । बोली तौलने, कुरा चपाउने, ठालु हुने, हाकिमीपन देखाउने, किन्तु, परन्तुजस्ता जालेमाले शब्दहरूको प्रयोगमा निपूर्ण हुनुहुन्छ होला भन्ने मनमा लागेको थियो । तर जब हाम्रो भेट भयो, मेरा सारा कल्पना वाफ बनेर उँडे । उहाँ त आफ्ना भावना, चाहना र अनुभूतिहरू निसङ्कोच र मर्यादापूर्वक एकैचोटी सविस्तार खन्याउने छलकपटविहीन सरल र सरस व्यक्ति पो हुँनुहुँदो रहेछ । स्वभावमा सामन्तीपन र व्यवहारमा अहंको गन्ध रत्तिभर थिएन । बरु एउटा शिक्षित र संस्कारी ब्यक्तिमा झल्कने गुणहरूले सम्पन्न व्यक्तिको रुपमा प्रस्तुत हुनु भयो । मलाई लागिरह्यो- ‘म सभ्य, सुसंस्कृत, शिक्षित व्यक्तिसँगको उठबसमा छु, सहचर्यमा छु’ । साथसाथै यो पनि सोचेँ कि -‘आफ्नो साख गुमाएको निजामती सेवाको एउटा दुर्लभ असल पूर्वकर्मचारीसँग वार्तालापमा छु’ जस्तो मैले ठानेँ। ।

त्यतिखेर लामै समय भलाकुसारीमा बितायौँ हामी दुवैले । म बेलाबेला उहाँको अनुहार नियाल्थेँ, त्यहाँ उज्यालो प्रकाशको साम्राज्य देखिन्थ्यो । दुवै आँखाबाट निश्चलताको रोशनी प्रवाहित भईरहेजस्तो पाउँथेँ । त्यतिखेर उहाँले दुईचार वटा मुक्तकहरू पनि सुनाउनु भयो । अभिव्यक्ति कलामा चुम्बकीय आकर्षण रहेछ । हामीले आआफ्ना पुस्तकहरू आदानप्रदान ग¥यौं । केही व्यवहारिक र पारिवारिक गफगाफ पनि हार्दिकतापूर्वक सम्पन्न भए । उहाँकी धर्मपत्नी सीता मेडम हँसिलो मुद्रामा वार्ताको साक्षी भइरहनु भयो ।

राजेन्द्रप्रसाद अर्याल (अमेरिका)

तीर्थराजसँगको यो भेटघाट र रसबसले मलाई अझै पनि लोभ्याइ रहन्छ । यो पहिलो परिचय एउटा स्मृतियोग्य घटनाको रुपमा रहेको छ। उहाँ एउटा सुदर्शन व्यक्तित्व मात्र नभई माया र करुणाले भरिएको सहृदयी साहित्यकार हुनुहुँदो रहेछ।

हामी दुई परिवारभित्र रहेको जैविक रसायन मिलेर नै होला, उहाँहरू म्याडिसनबाट फर्की गएपछि पनि निरन्तरको फोन सम्पर्कमा रहिरहेका छौँ ।आपसी संझना र मायाका बाडुली पठाई रहन्छौँ । साहित्यिक र पारिवारिक गफगाफ हाम्रो नियमित दिनचर्या बनेको छ ।

सन् २०१८ मा अमेरिका र क्यानाडाका साहित्यकारहरूको जमघट क्यानाडाको नायग्रा फल्सको किनारामा सम्पन्न भएको थियो । त्यहाँ हामी दुई बुढाबुढीले तीर्थराज र उहाँको परिवारसँग दोश्रो भेटघाट गर्ने अवसर मिल्यो । त्यो हार्दिकतापूर्वक भएको छोटो भेटवार्ता मेरो मन मस्तिष्कमा ताजै छ । यसरी थोरै समयमा पनि एउटै पेटका दुई भाइसरह अभिन्न भएर बसेका छौँ, हामी अमेरिकामा ।

तीर्थराजको जीवनको सुगन्धमा अनेकौँ बास्नादार फूलहरूको संमिश्रण छ तापनि साहित्यिक व्यक्तित्त्वको रुपमा उहाँको परिचय प्रकाश सर्वथा प्रज्वलित छ । उहाँका कविता, मुक्तक, गीतका पुस्तक तथा सीडीहरू प्रकाशित र प्रसारित छन् । कविता बिधाभित्रको मुक्तक लेखनमा उहाँको उच्च स्थान छ । उहाँ मुक्तकमणिको पदवीबाट विभूषित हुनुहुन्छ । नेपाली साहित्यका अनगिन्ती पाठकहरूले उहाँका पुस्तकहरू, सिर्जनाहरू अध्ययन तथा श्रवण गरेर आनन्दित  भएका पाउँछौँ हामी ।

उहाँका सिर्जनाहरू विशेषतः प्रकृति प्रेम र वर्णन, चेतनाको प्रवाह, माटोका माया, धर्म, संस्कृतिप्रति गर्व, असङ्गतिप्रति व्यङ्ग्यभावले सिन्चित हुनुकासाथै शृङ्गारिक, लालित्यमय, सरल र बोधगम्य छन् । रचनाहरू अध्ययन गर्दै जाँदा त्यसले पाठकको हृदयमा स्पर्श गरिहाल्छ र एउटा मिठासपूर्ण आनन्दको स्पन्दन पैदा हुन जान्छ । लामो समयसम्म पाठकको मन मस्तिष्कमा सकरात्मक छाल तरङ्गीत गराइरहने क्षमता राख्दछन् ।

तीर्थराज अधिकारीले मुक्तक विधाका आफ्ना पुस्तकलाई अंग्रेजी भाषामा पनि अनुवाद गराउनु भएको छ । दुई भाषामा पुस्तक प्रकाशन गराउनु अत्यन्तै प्रशंसनीय काम हो । यसले अन्तर्राष्टिय बजारमा समेत आफनो उपस्थिति जनाउन पाएको छ र नेपाली सहित्य प्रचारित हुन सकेको छ । यो नेपाली साहित्य क्षेत्रमा ठूलो उपलब्धि हो ।

अर्कोतर्फ सुन्दर मर्मस्पर्शी गीत रचना गर्नमा उहाँ खप्पिस हुनुहुन्छ । तीमध्ये केही ख्यातिप्राप्त गायक, गायिकबाट स्वरबद्ध गरी नेपाली सङ्गीत क्षेत्रमा प्रसारित छन् । विशेष गरी ʻलमजुङको यादमा’ शीर्षकको गीत नौलो प्रकृतिको छ । त्यस गीतमा लमजुङ जिल्लाको तत्कालीन सबै गाविसहरूको वर्णन छ । त्यसमा जिल्लाको भौगोलिक, ऐतिहासिक, साँस्कृतिक परिचय मात्र छैन त्यसको महत्त्वलाई समेत उजागर गर्न सफल भएको छ । यो गीतले प्रत्येक लमजुङेहरूलाई भावनात्मक रुपबाट एकतामा बाँध्ने काम गरेको छ । पुर्खाको आदिम थलोप्रतिको स्नेह र ममता जतनसाथ मनभित्र साँचेर राख्न सम्पूर्ण लमजुङेहरूलाई यस गीतले उत्प्रेरित गर्दछ । यस्तो गीत सिर्जना गर्नुभएकोमा म उहाँलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।

तीर्थराज अधिकारी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजसित पनि सम्बन्धित हुनुहुन्छ । बोर्ड अफ ट्र्स्टीको सदस्य हुनुहुन्छ।  समाजले आयोजना गरेका विविध कार्यक्रकहरूमा  सहभागी भई विश्वका विभिन्न देशहरूको भ्रमणमा क्रियाशील हुनुहुन्छ ।

विद्यार्थीकालमा होस् या कर्मचारी हुँदा वा सामाजिक सङ्घसङ्गठनमा कार्यरत हुँदा किन नहोस्, उहाँको सक्रियता निकै नै अग्रपङ्तिमा देखिन्छ । वहाँले सभापति, अध्यक्ष, उपसभापति, कार्यकारी सदस्यजस्ता महत्वपूर्ण अगुवा पदहरूमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको पाईन्छ । यसबाट बुझ्न सकिन्छ कि उहाँमा नेतृत्व क्षमता उच्च छ । धेरैको साथ, सहयोग र विश्वास आर्जन गर्न सक्ने खुबी देखिन्छ। सरल, हक्की स्वभाव र फराकिलो चिन्तन छ र नै अगुवाइ गर्न, प्रतिनिधि हुन सम्भव भयो। त्यसैले भन्न सकिन्छ- तीर्थराज ठुलो समूह, इष्टमित्र, बन्धुबान्धवहरूको सहयोग, सद्भाव र प्रेमको शीतल सर्वतमा सधै घोलिन चाहनुहुन्छ । यी सबैसित सन्तुलित ब्यवहार कायम राख्न उहाँ सक्नुहुन्छ ।

तीर्थराज अधिकारी विद्यालयकालदेखिनै राजनितिक नशामा हुनुहुन्थ्यो । अन्याय, अत्याचारको विरुद्धमा बोल्ने उहाँको स्वभाव थियो । तर यो स्वभाव तत्कालीन पञ्चायती व्यवस्थाले पचाउन सकेन र विद्यार्थी जीवनमै उहाँ जेल पर्नुभएको थियो । यसले अझ उहाँलाई राजनैतिक रूपले देशको परिस्थिति बुझ्न सक्ने बनाएको थियो । यसपछि उहाँ विद्रोह बोकेर भए पनि जिबिकोपार्जनको लागि जागिरे जीवनमा प्रवेश गरेको देखिन्छ ।

तीर्थराजले वि.सं. २०३२ मा लोकसेवा आयोग उर्तीण गरी शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गर्नु भएको देखिन्छ। लामो अबधिको यो सेवामा जम्मा एउटा मात्र प्रमोसन पाई २०६१ सालमा लेखा समुहको उपसचिवबाट उहाँ निवृत हुनुभयो । प्रशासन सेवाबाट समूह परिवर्तन गरी लेखा समूहमा जाने निर्णय नै उहाँको पदोन्नतिमा बिर्को लाग्न जानु सरह भएछ । उपल्लो तहको शैक्षिक योग्यता र लामो अनुभव हुँदाहुँदै पनि विषयगत भिन्नताले गर्दा पदोन्नतिमा केही बाधा, समस्या भयो कि ? आफू सरह वा कनिष्ठ साथीभाइसमेत  सचिव तथा मुख्यसचिव भई सक्दा पनि टुलुटुलु हेरेर बस्नुपर्ने नियतिको सिकार हुनुभयो । यसरी  निष्ठुरी समयले जागिरे जीवनमा पदोन्नतिको सवालमा वहाँलाई ठग्न पुगेको देखिन्छ ।

लमजुङ जिल्लाको दुराडाँडा त्यस भेगको एउटा जागरुक बस्ती । शैक्षिक, राजनैतिक चेतनाको दृष्टिले उपल्लो थलो । क्षमतावान् र विद्वानहरूको वासास्थान । त्यस्तो हरेक दृष्टिकोणले उर्वर भूमिमा जन्मनु भएका तीर्थराज अधिकारीले आफ्ना बाबुबाजे र वंशजको मात्र शिर उँचो पार्नु भएन, नेपाली साहित्यलाई देशविदेशमा समेत चिनाउने काम गरेर नेपाल र नेपालीको समेत इज्जत बढाउने काम गर्नुभएको छ ।

जीवनको आरोहअबरोहमा सुखदुख दुवै हुन्छन् । अभाव र दुःखमा बग्ने आँसुको स्वाद र सुख, सन्तोषमा पुलकित हुँदाको हर्षानुभूति दुवै व्योहोर्नु भएको छ, अधिकारीले । जाँगरिलो, कहिल्यै फुर्सद लिन नचाहने अनि कर्ममा विश्वास गर्ने उहाँ ७७ वर्षे उमेरमा पनि लक्का जवानसरह उर्जाशीलभै साहित्य साधना र घरायसी व्यवहारमा क्रियाशील हुनुहुन्छ ।

विभिन्न क्षेत्रमा लागेर तीर्थराजले नाम मात्र कमाउनु भएन,आफना सन्ततिहरुलई पनि समयसापेक्ष उचित शिक्षा दिई शिक्षित सम्पन्न र जागरुक बनाउनु भएबाट उहाँ एक सफल पिता र अभिभावकको रुपमा पनि चिनिनुहुन्छ । तीन छोरी र एक छोराका पिता तीर्थराजका सबै परिवार गरी १९ जना अमेरिकामा नै बसोबास गर्दै आएका छन् । इज्जतपूर्वकको पेशा व्यवसायमा क्रियाशील छन् ।

यतिखेर एउटा सानो प्रसंग जोड्न मन लाग्यो । उहाँको जेठो ज्वाइँ रमेश खनाल र छोरी मन्दिरा म बसेकै सहर म्याडिसनमा दुईतीन वर्ष बस्नुभएको थियो । भलादमी र सज्जन व्यक्तित्वका धनी रमेशजी साहित्यमा समेत रुचि राख्नु हुन्छ । पेशागत हिसाबले राम्रो काम पाई उहाँ अर्कै राज्यमा स्थानान्तरण हुनुभएपछि एकातर्फ तीर्थराजको यो ठाउँमा आगमनमा ब्रेक लाग्यो । अर्कोतर्फ रमेशजीसँग प्रत्यक्ष उठबस हुन पाएन । रमेशजीको स्थानान्तरणको घटना सम्झने बित्तिकै एउटा असल घरपरिवार र मित्रको अभावको महसुस भई हृदय निचोरेको कागती जस्तो हुनपुग्छ, मेरो ।

तीर्थराजको उन्नति,प्रगति र हरेक सफलताहरुमा उहाँकी अर्धाङ्गिनी सीता अधिकारीको ठूलो भूमिका छ । तीर्थराजज्यूले नै मलाई भन्नुभएको छ कि आफ्नो पेवापात सङ्कलन गरी पतिको पुस्तक प्रकाशनमा आर्थिक सहयोग गरी प्रकाशकीय भूमिका निर्वाह गरेको कुरा । हरेक क्रियाकलापमा पतिलाई उत्साही बनाउने, प्रेरित गर्ने साथै वातावरणलाई स्वभाविक र गतिशील बनाई दिनुभएको छ । पतिको सिर्जनाको पहिलो पाठक बनी भावनात्मक रुपबाट प्रोत्साहित गर्नु भएको छ । अझै स्पस्ट रुपमा भन्न सकिन्छ कि तीर्थराजको जीवनको भुँइचालो थाम्नु भएको छ । उध्रिएका सपनाहरु सिलाउनु भएको छ र प्रीति पोख्दै दिलभित्र छुट्टै मिठो र पोसिलो भावना बनेर बस्नु भएको छ, सीता अधिकारी । त्यसैले तीर्थराजको सफलताको भागीदार सीता अधिकारी पनि हुनुहुन्छ ।

एटलान्टिक महासागरमा ढलपलढलपल गरेर जसरी पानीको जवानी छचल्केको छ, त्यसैगरी नेपाली साहित्यको क्षेत्रमा त्यसमाथि मुक्तक विधामा तीर्थराजको योगदान छचल्केको पाउँछौ, हामी । अझ भन्न सकिन्छ, मुक्तक विधाको सुन्दर जीवाणुले संक्रमण गरेको एउटा असल साहित्कार हुनुहुन्छ, तीर्थराज । मुक्तक क्षेत्रमा एउटा पारिलो घाम भएर उदाउनु भएको छ, मिसिसिपीको सङ्लो जल भएर बगिरहनु भएको छ, तीर्थराज अधिकारी ।

तीर्थराजको कृतिहरूका उज्यालोमा नेपाली साहित्य र सभ्यता देशविदेशमा मुस्कुराइरहेका छन् । उहाँको आवश्यकता र खाँचो नेपाली साहित्यका लागि सदासर्वदा छ । आगामी दिनमा सुन्दर कृतिहरूका अपेक्षा गर्दै स्वस्थ र दीर्घजीवनको शुभकामना ।