समलिंगी प्रेमीहरु

प्रेमको नसामा पागल थिए

निर्वस्त्र ती पागलहरुका

प्रेम कहानी सुन्न

अनि रतिक्रिया हेर्न

भेडाहरु लालायित थिए

जो सधैँ रमिता हेर्न रमाउथे ।

 

राजेन्द्र कार्की (क्यानाडा)

जतातै थियो भेडाको भीडभाड

नग्न क्रिडा हेर्ने

अलिकति लज्जाबोध नभएका जमातहरू

प्रणय मिलनको भोजमा रमाउँदै

उत्सव मनाइरहेका थिए

नाच गान गरिरहेका थिए

अनि भनिरहेका थिए

प्रेम त यस्तो पारदर्शी हुनुपर्छ

जाइलाग्दै नग्नता ओल्याउनेसँग ।

 

महल र दरबारमा

एकलौटी भोग विलास गर्ने स्वार्थले

गरिएको आसक्त प्रेम

टुट्ने निश्चित नै थियो, टुटेछ

फेरि पागल भएर

वस्त्र च्याता च्यात गर्दै

आफू पुरै वस्त्रबिहिन हुँदा पनि

पूर्वप्रेमीलाई कुरीकुरी गर्छन्

नाङ्गिएको पटक्कै अनुभूति छैन

तर भेडाहरु मस्त रमेका छन्

पागल प्रेमीको पीडा  प्रहसनमा ।

 

बिछोडको दशामा

होस गुमाएर नाङ्गै

उज्यालोमा दौडिएका पागलहरु

धोकाले चर्किएका सारङ्गी रेट्दै

पीडाका गीतहरु गाइरहेका छन्

तिनै पीडाका गीतहरुमा

नृत्य देखाउँदै छन् भेडाहरु

खै त्यो नृत्य के को लागि हो ?

 

मौसमसँगै रङ्ग बदल्ने

अजीवका समलिंगी प्रेमीहरुको

न मिलन न बिछोडको टुंगो छ

उनीहरुको एउटै टुङ्गो छ

जो मिलन र बिछोड दुबैमा पागल हुन्छन्

त्यो पागलपनमा रमाउँदै

शहरका गल्ली र सडकदेखि

टुंडिखेल र माइती घर मण्डलासम्म

किन बेसुर दौडन्छन् भेडा जमातहरु ?