सूर्यको रश्मिमा समाहित सातवटा रंगले जब आफ्नो सम्मिलित प्रतिभा देखाउँछ तब ऊ इन्द्रेणी कहलाउँछ | त्यसरी नै आफ्नो बोलिने वा लेखिने भाषाले पनि हाम्रो हृदय छुने प्रतिभा देखाउँछ तब ऊ साहित्य कहलाउँछ | हाम्रो अर्थपूर्ण बोलिलाई चिन्हद्वारा लिपिबद्ध गरी पूर्णअर्थ प्रकट गरिने व्यवस्था साथै श्रोता वा पाठकको मनमा तरंग प्रकट गर्न सक्नु नै एउटा दर्बिलो र सग्लो भाषाको परिचय हो | मानिसको अन्तर्मन र मानस पटलमा उब्जिएर सलबलाएका भावहरू श्रृंखलाबद्ध रुपमा प्रकाशित भए त्यसलाई सफल साहित्यको दर्जा दिनु समुचित हुन जान्छ | साहित्यले सदैव सबैको हित नै गर्ने गर्छ जबसम्म त्यसमा विषादि फैलिँदैन |
फरक फरक गाउँ, अञ्चल वा देशमा अनि समयको अन्तरालमा एउटै देशमा वा भाषामा केही न केही अन्तर आउने गर्छ र कहिलेकाहीँ त्यो अन्तर विवादित विषय बन्न पुग्छ | त्यसैले स्थान र कालको प्रभावलाई न्यून गरी एकरुपता ल्याउन हाम्रा अग्रज भाषाविद्हरूले निरन्तर अभ्यास गरिरहेकै छन् | दशकपछि दशक बित्तै जाँदा र भाषाले विश्वभरि छरिएर रहेका भाषाप्रेमीलाई समेट्न समय समयमा सुधार गरी संरक्षण र सम्बर्धन गरी आएको छ | व्यक्ति, संघ, संस्था, सभा, समिति, परिषद् आदि विभिन्न नाममा संगठित भई काम गरेको पाइन्छ | भाषा विकास र प्रबर्धनमा विश्वका विकसित भाषाका दाँजोमा आफ्नो भाषालाई डोहोर्याई आधुनिक यान्त्रिक युगमा विश्व स्तरीय बनाउन सरल, रोचक र सुमधुर साथै टंकण प्रणालीमा पनि सहज बनाउन एक दर्बिलो संघ, संस्था वा सभा आवश्यक हुन्छ जो वैश्विक स्तरमा मान्यता प्राप्त होस् |
नेपाली भाषा नेपाल राष्ट्रको राष्ट्रभाषा हो अनि आजभन्दा तीन दशकअघि नै भारतवर्षको संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्ति भई यसको मर्यादा र परिसर अझ बढेको छ | यसबाहेक पनि हाम्रो छिमेकी मुलुक भुटान राष्ट्रमा पनि नेपाली भाषाको विशेष स्थान छ | भुटानमा प्रजातन्त्र आन्दोलन चल्नुअघि त्यहाँ नेपाली भाषामा पठन-पाठनका लागि विद्यालयहरू पनि खोलिएका थिए | नेपाली भाषी मूलका मानिस संसारको जुनसुकै मुलुकमा आफ्नो रोजीरोटीको लागि वा उच्चशिक्षाको लागि गई उतै जागिर गरी बसोबास गरे पनि आफ्नो भाषालाई सगौरव व्यवहार गरी विश्वभरि फैलाउन पनि मद्दत गरेका छन् | आफ्नो भाषा, कला, संस्कृतिले त्यस मुलुकमा पनि गहिरो छाप छोडेको पाइन्छ | विश्वभरि छरिएर बसेका नेपाली भाषी जनताले त्यस देशको विकसित भाषाको उत्कृष्ट साहित्यिक कृतिहरू आफ्नो भाषामा अनुवाद गरी आफ्नो साहित्य भण्डार दर्बिलो बनाएका छन् | त्यसै गरी आआफ्नो भाषाका उत्कृष्ट रचनाहरू विश्वभरि विभिन्न भाषामा अनुवाद गरी आफ्नो भाषालाई विश्वव्यापी बनाउन सफल भएका छन् |
भारतवर्ष देशभरि छरिएर बसेका नेपालीभाषीहरूमा दार्जीलिंग र सिक्किमपछि नै असममा सर्वाधिक संख्यामा रहेको जनगणना तथ्यांकले बताउँछ | आञ्चलिक स्तरमा भाषा साहित्यमाथि चर्चा-परिचर्चा गर्दैै त्यसको विकास अनि लेखकका रचना पाठगर्न साथै पुस्तक रुपमा प्रकाशित गर्न भिन्न भिन्न नामले भाषिक संघ-संस्था खोलिए पनि असम नेपाली साहित्य सभाजस्तो संस्थाले त्यसको जिम्मेवारी वहन गरेको छ | असमजस्तो सानो प्रान्तमा ‘नेपाली साहित्य परिषद्, असम ‘ र ‘असम नेपाली साहित्य सभा’जस्ता एउटै उद्देश्यका संस्था जन्मिई हिलो छ्यापाछाप गर्न अघि सरेपछि मुर्धन्य व्यक्तिहरूको पहलमा एकीकरण गरी सिर्फ असम नेपाली साहित्य सभा राखेर आजका मितिसम्म जिम्मेवारीका साथ काम गर्दै आएको पनि छ |
ब्रिटिस शासनकालमा एलाहावाद विश्वविद्यालयले १९११ सनमा साथै १९२१ सनमा कलकत्ता विश्वविद्यालयले पठन पाठन गर्न स्वीकृत गरेको नेपाली भाषा देश स्वतन्त्र भएपश्चात् एकाएक बाहिरियो | भारतभरि छरिएर बसेका नेपाली भाषी पुन: सडकमा उत्रिन बाध्य बने | भाषा मागको प्रथम स्मारक पत्र देशका सर्वोच्च पदाधिकारी राष्ट्रपतिलाई १९५६ सनमा चढाइएको थियो | त्यस्तै १९७१ सनको मार्च महिनामा दार्जीलिंगका सांसद रतनलाल ब्राह्मणले संसदमा नेपाली भाषामै शपथवाक्य पाठ गरेर मात्रृभाषाप्रतिको प्रेम र महत्व झल्काइदिएका थिए | देशका विभिन्न प्रान्तबाट आआफ्नै तरिकाले संगठित हुँदै भाषा माग चर्किन थालेको थियो | सन् १९७१ सनको जुलाई महिनामा ओदालगुडी जिल्लाको गोल्मागाउँमध्ये अंग्रेजी विद्यालय परिसरमा दरंग नेपाली छात्र संघको दुई दिने अधिवेशनमा असम नेपाली साहित्य सम्मेलन जन्म भएको थियो | उक्त सम्मेलनले नेपाली अध्युसित गाउँका विद्यालयहरूमा नेपाली एमआइएल प्रवर्तन गर्ने जमर्कोको थालनी गरेको थियो | यसै गरी १९७२ सनको जनवरी महिनामा अखिल भारतीय नेपाली भाषा समितिको जन्म दार्जीलिंगमा भएपश्चात् भाषा माग र प्रबर्धनको लागि कम्मर कसी मैदानमा उत्रेको थियो, १९७२ सनमा ।
ओदालगुडीमा ‘मंगलदै नेपाली भाषा समिति ‘ गठन गरी भाषा साहित्यको क्षेत्रमा संगठीत रुपमा कामअघि बढ्दै गयो | भारतवर्षभरि छरिएर रहेका नेपाली भाषा साहित्यका क्षत्रीय संघ, संस्था, समिति, परिषद् एकत्रित पार्न सिक्किमको “साहित्य परिषद्” ले १९९० सनमा नेपाली भाषाको अभिवर्तन बोलायो जसले “भारतीय नेपाली राष्ट्रिय परिषदको जन्म लियो | सभापति तत्कालीन सिक्किमका मुख्यमन्त्री नरबहादुर भण्डारी र सचिव सानु लालामा रहेका थिए | उक्त परिषद् र अखिल भारतीय नेपाली भाषा समितिको जोडदार भाषा माग आन्दोलनमा सिक्किमकी सांसद दिलकुमारी भण्डारीको अथक प्रयासमा १९९२ सनको अगस्त महिनाको २० तारिखमा बसेको संसदले भारतीय संविधानको आठौं अनुसूचीमा सर्वसम्मतिले भाषा माग विधेयक गृहीत गर्यो | यसको साथ साथै लामो संग्रामको अन्त पर्यो अनि साहित्य संस्थामा ठूलो जिम्मेवारी पनि आई परे | फुटेर होइन जुटेर काम गरे लक्षप्राप्ति सहज बन्छ भन्ने उक्ति चरितार्थ भयो |
असम राज्यमा नेपाली भाषालाई डोर्याउने एक मात्र संस्था असम नेपाली साहित्य सभा हो | वर्तमान समयमा यस साहित्य सभाले गर्नै पर्ने कामहरू पनि धेरै छन् | सरकार सधैं जनताको जनसंख्यामाथि निर्भर गर्छ कि त्यो भाषा बोल्ने मानिसहरूको जनसंख्या कति छ र स्तरीयता कत्तिको छ | त्यसैले सभाले प्रकाशित गरेका र अन्य प्रकाशित कृतिलाई सभाले मान्यता दिएको कृतिको मापदण्ड उच्च हुन अति नै जरुरी देखिन्छ | त्यसैले स्तरीयता कायम राख्न प्रकाशित भएका कृतिहरूको विज्ञ-भाषाविद्हरूबाट मूल्यांकन गरी छनौट हुनु अति जरुरी हुन्छ |
वर्तमान समयमा असम साहित्य सभाको काँधमा धेरै जिम्मेवारी आइपरेका छन् | भाषागत परिसंख्या निर्धारण गरी सरकारसमक्ष तथ्यांक प्रसारण गर्नु | नेपाली भाषी विद्यार्थीको संख्याको आधारमा शिक्षक नियुक्ति माग गरिनु | पाठ्यपुस्तक तैयार गरी सरकारद्वारा निशुल्क प्रकाशन गरिनु | प्राथमिक विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म स्तरीय पाठ्यक्रम प्रस्तुत गरिनु | नेपाली भाषामा विद्यावारिधीको लागि सोध गर्नेलाई विश्वविद्यालयले अनुमति साथै आर्थिक सुविधा उपलब्ध गरिदिनु | मूर्धन्य लेखकहरूलाई सम्मानसूचक साहित्यिक पेन्शन उपलब्ध गरिदिनु साथै नवीन स्रष्टाहरूलाई प्रोत्साहन स्वरुप एककालीन आर्थिक सहयोग राशि प्रदान गरिनु | भाषा जगेडा गर्न शब्दकोषको समयोपयोगी प्रबर्धन र प्रकाशनको चाँजो मिलाउनु | राष्ट्रिय स्तरमा साहित्य अकादमीजस्तो संस्थाले नेपाली भाषीका बौद्धिक स्रष्टाहरूलाई उहाँहरूकै घरआँगनमा गई सम्मान प्रदान गरिनु आदि कामहरू साहित्य सभाजस्तो संस्थाले सरकारसँग सहकार्य गर्दै गरिआएको छ र थोरै-धेरै यसमा उपलब्धी पनि हासिल गरकै छ | त्यसैले असम नेपाली साहित्य सभाको काँधमा आजको एक्काइसौं शताब्दी अनुकूल वैश्विक स्तरीय भाषा कसरी बनाउने र यसको लागि बुनियाद कसरी निर्माण गर्ने त्यस विषयमा कम्मर कसी मनोनिवेश गर्न समयको आह्वान रहेको छ |
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।