वरिष्ठ आख्यानकार डाक्टर ध्रुवचन्द्र गौतमले देशबाहिर बसेका नेपालीहरुले मुलुकको हरेक क्षेत्रको विकासका लागि योगदान गरेको बताउनु भएको छ। एनआरएनए भाषा,साहित्य,संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिको साप्ताहिक अनलाइन कार्यक्रम ‘प्रवासी प्रवाह’ को आइतबारको ३५ औं शृंखलाका अतिथि रहनु भएका आख्यान पुरुषका रुपमा सम्मानित साहित्यकार गौतमले देशबाहिर बसेर पनि नेपाली भाषा, साहित्यका लागि नेपालीहरुले योगदान गरिरहेको र त्यस्तो योगदानले देशलाई जोड्ने काम गरेको बताउनु भयो।
लेखन र सिर्जना भनेको कुवा खनेर पानी निकाले जस्तै हो जति रसायो उति आनन्द आउँछ भन्दै उहाँले सिर्जनामा सन्तुष्ट भएर बस्न नसकिने समेत विचार व्यक्त गर्नु भएको छ।
‘कुनै रचना र सिर्जनामा सन्तुष्ट भएर बस्न कहाँ सकिन्छ र ? त्यही असन्तुष्टीले नै अर्को अझ परिस्कृत सिर्जनाको हुटहुटी लगाउँछ र त निरन्तर लेखनमा लागिन्छ’ गौतमले कुराकानीका क्रममा भन्नुभयो।
नेपाली उपन्यास र कथा विधामा ६० भन्दा बढी कृति सिर्जना गरिसक्नु भएका डाक्टर गौतमले कुराकानीका क्रममा आफुले १० वर्षको बाल्यकालदेखि नै कविता लेखनमार्फत साहित्यमा कलम चलाउन थालेको स्मरण गर्नु भएको थियो।
‘पारिवारिक र वीरगंजको त्यो बेलाको माहौलले नै लेखन र सिर्जनामा मलाई उत्प्रेरित गर्यो’भन्दै उहाँले आफ्नो रुचिको क्षेत्रमा निरन्तर लेखिरहन नयाँ पिँढीका सर्जकहरुलाई सुझाव दिनु भएको छ।
आफू पछिल्ला केही वर्ष यता कथा लेखनमाभन्दा बढी उपन्यास लेखनमा नै रमाइरहेको भन्दै उहाँले आफ्नो पछिल्लो प्रकाशित कृति ‘चकमन्नमा एकान्त’का बारे पनि चर्चा गर्नुभएको थियो।
गौतमले लामो समय अध्यापन पनि गर्नु भएको छ। २०४० सालमा उहाँको उपन्यास ‘अलिखित’ले मदन पुरस्कार प्राप्त गरेको थियो भने अर्को उपन्यास ‘तथाकथित’ले २०५९ को साझा पुरस्कार प्राप्त गरेको छ। कयौं गीत र टेलिफिल्म एवं चलचित्रका कथासमेत लेख्नु भएका गौतमको ‘कट्टेल सरको चोटपटक’ को कथामा चलचित्र ‘बासुदेव’ बनेको छ। ‘एक शहरमा एक कोठा’ लामो टेलिसिरियल बन्यो। ‘अग्निदत्त±अग्निदत्त’ अर्को उहाँको चर्चित कृति हो।
आख्यान पुरुष गौतमसँग प्रवासी प्रवाह संचालक समूहको तर्फबाट भगवती बस्नेत, गौतम दाहाल र नीलम कार्की’निहारिका’ ले जिज्ञासा राख्नुभएको थियो।
उहाँसँगको कुराकानीको पुरा भिडियो यहाँ हेर्न सकिनेछ। https://www.facebook.com/113289480362194/videos/242247160708348/
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।